logo
२०८१ मंसिर १४ शुक्रवार



चट्याङको विपत्ति

विचार/दृष्टिकोण |




नवराज पोखरेल

अघिल्लो वर्ष नेपालमा चट्याङका कारण मृत्यु हुने सङ्ख्या ८९ थियो । नेपालमा दश वर्षमा आठ सयभन्दा बढीको ज्यान लिएको चट्याङको समय अहिले आएको छ । सुन्दा सामान्य लाग्ने यो मौसमीय विपत्तिको कारण बष्र्सेनि जनधनको क्षति हुने गरेको छ ।
जलवायु सम्बन्धित प्राकृतिक विपत्तिका विविध रूपमध्येको एक चट्याङ हो । चट्याङको कारण एकैपटक ठूलो सङ्ख्यामा मृत्यु नहुनाले यसको चर्चा अरू प्राकृतिक विपत्तिको तुलनामा कम हुने गरेको छ । जङ्गल नजिक, ग्रामीण क्षेत्र र घटना हुँदा तत्काल त्यसको तथ्याङ्क र घटनाको विवरणसमेत नआउने हुनाले नियमित रूपमा पर्ने गरेका असरहरू न्यून चर्चामा आउँछन् ।
चट्याङ एउटा शक्तिशाली विद्युतीय प्रवाहको कारण हुने जोखिम हो । यसमा प्रवाह हुने विद्युतीय शक्तिको तापक्रम सूर्यको सतहको तापक्रमभन्दा तीन गुणा बढी करिब नौ हजार सेन्टीगे्रडसम्म हुन्छ । यो अपार विद्युतीय शक्ति दुई वा दुईभन्दा बढी बादलको गर्जनको कारण उत्पन्न हुन्छ । गर्जनसँगै असीमित विद्युतीय प्रवाह वायुमण्डलमा हुन्छ । बादल ठोक्किने प्रक्रिया एउटै बादलभित्र वा दुईवटा फरक–फरक बादलसँग र कहिलेकाहीँ बादल र जमिनसँग हुने गर्दछ ।
वर्षाको समयमा, पानी परेको वा वायुमण्डलमा कालो बादलको गति अत्यधिक भएको समयमा चट्याङ पर्ने गरेको पाइन्छ । चट्याङको वैज्ञानिक आधार विद्युतीय प्रवाह हो जुन विद्युत् धनात्मक र ऋणात्मक चार्जयुक्त बादल ठोक्किने प्रक्रियाबाट हुन्छ । वायुमण्डलमा नियमित रूपमा हुने यस्तो विद्युतीय प्रवाह तब मात्र क्षतिको कारण बन्छ जब यो जमिनसम्म आइपुग्छ । सामान्यतया वायुमण्डलमा बादलको उचाइ केही मिटरदेखि दश किलोमिटरसम्म हुन्छ ।
घर, भवन, विद्युतीय पोल तथा अन्य टावरहरू साथै अग्ला रुखहरू पनि वायुमण्डलमा हुने विद्युतीय प्रवाहलाई जमिनसम्म ल्याई पु¥याउने माध्यम बन्न सक्छ । ती नजिकै मानवीय बस्ती छ भने त्यस्तो प्रवाहले मानिसको ज्यान लिन सक्छ । यसबाहेक कतिपय आकाशमा उडिरहेका जहाजहरू पनि चट्याङको कारण दुर्घटनामा परेका तथ्यहरू अगाडि आएका छन् । कहिलेकाहीँ विद्युतीय ट्रान्सफर्मर र दूरसञ्चार टावरहरूमा चट्याङ पर्दा सो टावर र टावरसँग जोडिएका व्यक्तिगत विद्युतीय सामग्रीमा पनि क्षति पु¥याएको हुन्छ ।
चट्याङको यथार्थ पूर्व भविष्यवाणी प्रणाली अहिलेसम्म विकसित भएको छैन । तथापि अति सूक्ष्म समयका लागि भविष्यवाणी गर्ने सेन्सरहरू पनि बजारमा पाइने गरेका छन् । चट्याङपश्चात् कहाँ यसले क्षति पु¥यायो भनेर मापन गर्ने संवेदक उपलब्ध हुन्छ । जल तथा मौसमविज्ञान विभागले गतवर्षबाट चट्याङ मापन गर्न देशका नौ स्थानमा त्यस्ता सेन्सर जडान गरी अनुगमन सुरु गरेको छ । विश्व बैङ्कको सहयोगमा विभागले तुम्लिङ्टार, विराटनगर, सिमरा, भैरहवा, काठमाडौँ, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा त्यस्ता सेन्सर राखेको छ । यो सेन्सरले नेपालभरको चट्याङसम्बन्धी तथ्याङ्क अनुगमन गर्दछ । यी मापक केन्द्रबाट चौबीसै घण्टा चट्याङको मापन भइरहेको हुन्छ ।
यथार्थमा चट्याङको पूर्व भविष्यवाणीको वैज्ञानिक प्रक्रिया नभएको हुनाले सामुदायिक सचेतना चट्याङबाट बच्ने उपाय हुन् । व्यवस्थित बस्ती प्रणाली र अग्ला भवन, पोल, टावर निर्माण गर्दा विद्युतीय वा पारमाणविक सुरक्षाको प्रबन्ध गर्नु चट्याङबाट बच्ने उपाय हो । वैज्ञानिक रूपमा चट्याङबाट बच्नका लागि अर्थिङ प्रणालीको स्थापना गर्नुपर्दछ । यसका लागि भवन, टावर वा पोलको माथिल्लो भागबाट सुचालकको प्रयोग गरी धनात्मक र ऋणात्मक चार्जयुक्त विद्युतीय प्रवाहलाई जमिनमा पु¥याई विसर्जन गराइन्छ । अर्थिङ प्रणालीका लागि सुचालक तार र जमिनमा विसर्जन गर्न खोजिएको विद्युतीय प्रवाहलाई तटस्थ बनाउने केही सुचालक र वरिपरि सुचालक ठोस वस्तुको व्यवस्थित प्रणाली विकास गरिएको हुन्छ । यसले वायुमण्डलमा भएको अधिक विद्युत् प्रवाहलाई विसर्जन गर्दछ ।
यसका साथै अग्ला भवनको निर्माण चट्याङको खतराबाट मुक्त छैन । पोल, टावर र अग्ला भवनको निर्माण गर्दा अर्थिङ प्रणाली अत्यावश्यक पर्दछ । ग्रामीण भेगमा अग्ला रुखहरू नजिक वासस्थान नबनाउने, घरहरूको निर्माण नगर्ने र नबस्ने केही पूर्व सावधानी हुन् । बिजुली चम्किने र चट्याङ पर्ने समयमा जङ्गलमा वा अग्लो रुख भएको स्थानमा जानुहुँदैन ।
जङ्गल, वनक्षेत्र नजिकको क्षेत्रमा घर, बस्ती निर्माण नगर्नु श्रेयस्कर हुन्छ । पानी परेको अवस्था तथा चट्याङ पर्ने समयमा धातुका पोल र धातुजन्य वस्तु, विद्युतीय सञ्चालन भएका उपकरण र अरू इलेक्ट्रोनिक्स सामानको प्रयोग नगरिकन बस्नुपर्छ । कहिलेकाहीँ चट्याङ ठूला प्राकृतिक आगलागीको कारण बनेको हुन्छ । नेपालमा प्राकृतिक आगलागीका प्रमाण नभेटिए पनि विश्व वनक्षेत्र क्षति गरेको पाइन्छ ।
साधारणतया वर्षात् र कालो बादल भएको बेला चट्याङको सम्भावना उच्च हुन्छ । त्यसकारण त्यस्तो समयमा घरभित्र हो भने विद्युतीय सरसामानको प्रयोग नगर्ने र चिसो भएर नबस्ने जस्ता व्यक्तिगत सुरक्षाका तरिकाहरू छन् । तथापि समग्र चट्याङको जोखिमलाई न्यूनीकरण गर्न व्यक्तिगत, सामुदायिक र राष्ट्रियस्तरमा सचेतना जगाउनु आवश्यक पर्दछ । अत्यधिक चट्याङ पर्ने स्थानको पहिचान गरी सो क्षेत्रमा सुचालक पोल र अर्थिङ प्रणाली स्थापना गरेमा सम्भावित क्षतिबाट बच्न सकिन्छ ।
(लेखक वातावरण सम्बन्धित काम गर्नुहुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?