logo
२०८१ मंसिर १४ शुक्रवार



नेकपामा व्यक्तित्व टकराव

विचार/दृष्टिकोण |


नेकपामा व्यक्तित्व टकराव


गोपाल खनाल

चिनियाँ नेता ल्यू शाओचिले लेखेको ‘असल कम्युनिष्ट कसरी बन्ने ?’ पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) मा किन चिनियाँ नागरिक आकर्षित भए भन्ने ‘फ्याल्सब्याक’ पनि छ । साम्यवाद, सर्वहारावर्गको शासन जस्ता शब्दावली बुझेरमात्र उनीहरू पार्टीमा आकर्षित भएका थिएनन् । एउटा विश्वास थियो–कम्युनिष्ट पार्टीले चीन बचाउँछ ।’ शायद उनीहरूले जापानविरुद्ध चीनको लडाइँ अनि क्रान्तिकारीहरूको व्यवहार देखेका थिए र कम्युनिष्ट नेतृत्वप्रति विश्वास जाग्यो । माओ, देङ स्याओपिङदेखि वर्तमान राष्ट्रपति सी चिनफिङप्रतिको निरन्तरको विश्वास त्यसैको प्रमाण हो । पश्चिमाले ढाल्न प्रयोग गरेका पूर्वाग्रही सूचनाका निरन्तर प्रवाहले बेइजिङ विभाजित भएन । सिञ्जियाङ, ताइवान, तिब्बत र हङकङबाट छेड्न खोजेको युद्ध पनि सफल भएको छैन ।
‘सीपीसीले चीन बचाउँछ’ भन्ने बुझाइ र विश्वासले चीन महाशक्तिउन्मुख छ । महाशक्ति अमेरिका कोरोना युद्धमा तुलनात्मक कमजोर देखिँदा चीन भने महामारीविरुद्धको वैश्विक युद्धको नेतृत्व गरिरहेको छ । नेपाल कोरोनाविरुद्धको युद्धमा सफल देखिएको स्रोतले होइन, पूर्वतयारी र घरेलु एकीकृत शक्तिले हो । सरकारको प्रभावकारी तयारीको विश्वले प्रशंसा गर्दा सत्तारुढ पार्टीकै केही नेता भने प्रशंसा गर्न चाहनुहुन्न किनकि त्यसोगर्दा प्रधानमन्त्रीको पक्षमा बोलेको ठहर्छ, जो अहिले गर्नुहुन्न भन्ने उहाँहरू ठान्नुहुन्छ ।
सत्तारुढ नेकपा इतिहासकै सबैभन्दा अनुकूल समयको सबैभन्दा प्रतिकूल आन्तरिक विवादमा फस्दैछ । एकजना अध्यक्ष केपी शर्मा ओलीले सरकारको, अर्का अध्यक्ष प्रचण्डले पार्टीको र प्रधानमन्त्री भइसकेका माधव नेपाल र झलनाथ खनाल बरिष्ठ नेता महत्वपूर्ण विभागको नेतृत्वमा हुनुहुन्छ । पार्टीप्रमुख र प्रधानमन्त्री दुवैको अनुभव भएका शीर्ष चारनेता सिद्धान्त र विचारका होइन, व्यक्तित्वको टकरावका वास्तविक पात्र बन्नुभएको छ । पार्टीलाई थप एकताबद्ध र सरकारलाई थप प्रभावकारी बनाउन होइन, कम्युनिष्ट पार्टी र सरकारप्रति बितृष्णा सिर्जना गर्ने प्रतिस्पर्धामा हुनुहुन्छ । यो अस्वस्थ प्रतिस्पर्धामा अन्ततः सबैले हार्नेमात्र हो, जित्ने बाहिरै छन् । आफू अकाट्य हुने, फेरिनै नपर्ने तर अरू अझ कार्यकर्तामात्र फेरिनुपर्ने जनवादी केन्द्रीयताले नेतृत्व भुत्ते बन्दैछ ।
प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्रीको राजीनामा मागेको छैन तर नेकपा एक अध्यक्षले अर्का अध्यक्ष र सरकारको राजीनामा मागिरहनुभएको छ । राजीनामा माग्ने पङ्क्तिमा वरिष्ठ नेता नेपाल र खनाल पनि हुनुहुन्छ । जबकि यी तीनै नेता त्यही राजीनामा प्रकरणका उपलब्धिवश प्रधानमन्त्री बन्नुभएको इतिहास छ । काँगे्रस सभापति गिरिजाप्रसाद कोइरालाले नेपाललाई संसद् प्रवेश गराएर प्रधानमन्त्री बनाउनुभयो भने प्रचण्डले नेपाललाई राजीनामा गर्न बाध्य पारेर खनाललाई प्रधानमन्त्री बनाउनुभयो । खनाल पार्टी अध्यक्ष हुँदा निर्वाचनमा पराजित नेपाल प्रधानमन्त्री बन्नुभयो । गलत अभ्यासबाट सिक्ने हो, दोहोर्याउने होइन ।
झण्डै दुईतिहाइको नेकपा सरकारलाई नेकपा नेतृत्व नै प्रतिस्थापन गर्न किन तयार भइरहेको छ भन्ने मूल प्रश्न नेकपाको मात्रै होइन, राष्ट्रकै प्रश्न हो । आठ लाख सङ्गठित सदस्यको मात्र होइन, तीन करोड नागरिकको चिन्ताको विषय हो । किनभने राजनीतिक दलले राज्य सञ्चालन गर्छन्, ती कमजोर हुँदा राज्य कमजोर हुन्छ । २०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको बहुमतको सरकार उसैले उखेल्दा काँग्रेसप्रति नागरिक विश्वास कमजोर हुँदैगयो, २०५६ मा त्यही दोहोरियो । शेरबहादुर देउवा बारम्बार प्रधानमन्त्री बन्नुभयो तर काँग्रेसको पक्षमा जनविश्वास पुनःस्थापित गर्न सक्नुभएन । कम्युनिष्टको विकल्प काँग्रेस हुनुपर्ने तर देखिएको छैन । तुलनात्मक वैचारिक नेता रामचन्द्र पौडेल पार्टी र संसदीय दुवै मोर्चामा असफल जस्तै देखिनुभयो ।
पूर्वएमाले र पूर्वएमाओवादीको नेकपा शक्तिले निर्वाचनमा बहुमत पायो । नागरिकलाई विश्वास भयो नेकपाले देश बचाउँछ किनकि त्यहाँ नाकाबन्दीविरुद्ध लड्नुभएका ओली हुनुहुन्थ्यो । विश्वमा कम्युनिष्ट रक्षात्मक अवस्थामा पुग्दा नेपालमा सत्तामा पुग्यो । भारतको पश्चिम बङ्गालमा कम्युनिष्ट सत्ता कसरी ढल्यो र अस्तित्वको सङ्घर्षमा छ भन्ने शीर्षनेतालाई थाहा छ । किनकि सीपीएम र सीपीआईसँग रातदिन उठबस गरेको नेतृत्व नेकपामा छतर शक्तिशाली सरकार बनेको साढे दुई वर्षमै नेकपामाथि नेकपाबाटै प्रश्न उठ्दा सकारात्मक सङ्केत गरेको छैन । जब नेतृत्वबाटै नेतृत्वमाथि प्रश्न उठ्छ, कार्यकर्ताले के गर्ने ? नेतृत्वले सरकारमाथि शङ्का गरेपछि नागरिक कसरी आश्वस्त हुन्छन् ? बहुमत राजनीतिक विश्लेषकको निष्कर्ष छ– ‘नेकपा सरकार नेकपाले नै ढाल्छ । नेकपा नेकपाकै कारण समाप्त हुन्छ ।’ यो बहसको विषय हो तर व्यक्तिविरुद्धका अतिवादी र अभद्र टिप्पणीले त्यस्तो अप्रिय अवस्था अस्वीकार गर्दैन ।
विचार, सिद्धान्त, नीति, कार्यक्रमलाई लिएर घरभित्र सत्तागठन र विघटनका मुद्दा उठेका भए स्वाभाविक मान्न सकिन्थ्यो तर विडम्बना !विवाद र द्वन्द्वको केन्द्रमा व्यक्तित्वका टकराव र व्यक्तिगत स्वार्थ छन् । मर्यादाक्रमका आक्रोशदेखि भागबण्डाका असन्तुष्टिसम्म सङ्ग्रहित भएका छन् । सत्ताले बेलाबेला बलजफ्ती सत्ताभ्यास गर्ने र सत्ताबाहिरकाले प्रधानमन्त्री र संसदीय व्यवस्थाको अभ्यासलाई नबुझी विरोधमात्र गरिरहने अवस्थाले नजानिँदो असमझदारी र असुरक्षाको खाडल निर्माण गर्यो । संवादको मात्र निरन्तरता हुँदा विवादले हुर्कने अवसर पाउने थिएन ।
बर्लिनको पर्खाल ढल्दा र सोभियत सङ्घ विघटन हुँदा इतिहासको अन्त्य भन्ने विद्वान्हरूलाई विश्वमा पुनःस्थापित हुँदै गएका समाजवादी सत्ताले गलत सावित गर्दै थियो । त्यतिमात्र होइन, विश्व सभ्यताहरूको सङ्घर्ष र पहिचानको राजनीतिले अब विश्वलाई नेतृत्व गर्नेछ भन्ने विद्वान्लाई पनि राष्ट्रवादी राजनीतिले असफल बनाउँदै थियो । यी दुवै राजनीतिक प्रक्षेपण नेपालको हकमा पूर्णतः असफल भए । २०६४ को संविधानसभा निर्वाचनपछिको राजनीतिमा ती प्रबल हुन खोजेका थिए तर ती नियन्त्रण भए । त्यहाँबाट हुत्तिनुभएका डा. बाबुराम भट्टराई बर्सेनि पार्टी फेर्नुहुन्छ, पहिचानको राजनीति गर्नुहुन्छ, बाहुनप्रतिको उहाँको दृष्टिकोण भर्खर विकृत रूपमा बाहिर आयो । लाग्छ, उहाँ नेपाल एकीकृत भएको हेर्न सक्नुहुन्न, विभाजन गर्न उद्यत हुनुहुन्छ ।
त्यसैले प्रश्न ओली सरकारको विस्थापनको होइन, विकास र समृद्धिको हो । नेपालले राजनीतिक स्थायित्वको आरम्भ गर्यो भनेर नेकपाका सबै शीर्षनेताले दर्जनौँपटक सार्वजनिक मन्तव्य दिनुभएको छ । अब नौमहिने सरकार होइन, पाँचवर्षे सरकार दिन्छौँ भनेर शपथ खानुभएको छ । हैसियत अनुसार समानताका आधारमा आलोपालो सरकारको नेतृत्व गर्ने प्रारम्भिक ऐतिहासिक सहमतिलाई समेत पछि धकेलेर पूर्ण कार्यकाल ओली सरकार रहने सहमति भएको छ । सरकारको कार्यसम्पादन पनि विरोधमात्र गर्नुपर्ने तहको छैन । मन्त्रीहरू नेकपाभित्रैबाट छान्ने हो, तुलनात्मक ठिकै मन्त्रीहरू हुनुहुन्छ । जसको कार्यसम्पादन सन्तोषजनक छैन, तिनलाई नयाँद्वारा प्रतिस्थापन गर्न सकिन्छ, यसअघि पनि गरिएको थियो । कोही पनि सत्ता र सरकारमा सधैँका लागि रहँदैन ।
त्यसैले नेकपा नेतत्वले अहिले नेकपाप्रतिको जनविश्वासलाई स्थापित गर्ने समय हो । एकछिनका लागि ओली सरकारको विकल्पमा अर्को सरकार आउला, ठिकै छ तर उक्त सरकारले नयाँ के दिन्छ ? ओली सरकारले भन्दा फरक के गर्न सक्छ ? नेकपाप्रति विश्वास स्थापित गर्ने के छन् त्यस्ता नयाँ सोच ? यी सबै प्रश्न अनुत्तरित छन् । अनुत्तरित प्रश्नहरूको पहाड कसरी नयाँ प्रधानमन्त्रीले छिचोल्न सक्नुहुन्छ ? प्रधानमन्त्री ओलीले पार्टीको सल्लाह र सुझावमा सरकार चलाउनुभयो वा भएन, भित्र बहस गर्दा हुन्छ तर प्रधानमन्त्रीको चर्चामा रहनुभएका र पहिले नै प्रधानमन्त्री भइसकेकाहरू ओलीभन्दा सक्षम र योग्य हुनुहुन्छ ? कार्यकर्ता र नागरिकलाई सोधौँ । ओलीको सबैभन्दा ठूलो पुँजी भनेको उच्च नैतिक बल र आत्मविश्वास हो । त्यो उहाँको ज्ञानबाट प्राप्त भएको हो । घरभित्रका शक्तिहरूलाई कम महत्व दिनुभयो होला तर बाहिरका शक्तिसँग समानान्तर हैसियतमा आफूलाई प्रस्तुत पनि गर्नुभयो । यो ओलीको शक्ति हो ।
यो इतिहास बनाउने बेला हो, इतिहासलाई लज्जित गर्ने बेला होइन । त्यो फुटेर सम्भव छैन, जुटेरमात्र छ । अहिले एकजना प्रधानमन्त्री हटाएर अर्को जना आउँदा आन्तरिक द्वन्द्व चर्कन्छ भने त्यसले विभाजनतर्फको यात्राउन्मुख गराउन सक्छ । अर्थात् अस्थिरताको अन्त्यहीन शृङ्खला सुरु हुनसक्छ । जब नेकपाले देश बचाउँदैन, नागरिकको सुरक्षा गर्न सक्दैन, स्वतन्त्र र सार्वभौम नेपालको रक्षा गर्न सक्दैन भने किन कोही यो पार्टीमा रहन्छ ? किन विकल्प खोज्दैन ? त्यसतर्फ नेतृत्वले सोच्नुपर्छ । सीपीसीले बनाएको बलियो जग त्यही जनविश्वास हो । समस्या त्यहाँ पनि छन् । लाखौँ पार्टी कार्यकर्ता, सेना भ्रष्टाचार आशङ्कामा छानबिनमा छन् । गरिब र धनीबीच खाडल ठूलै छ तर त्यसको समाधानका लागि सी नेतृत्वको पार्टी निरन्तर लागेको छ ।
दर्शनशास्त्रमा प्रयोग हुने शब्द छ– औचित्यवाद । उचित र अनुचित केलाउने नीतिशास्त्रीय मान्यतालाई नेकपा शीर्ष नेतृत्वले बेलैमा बुझे कम्युनिष्ट सरकारप्रति जनविश्वास स्थापित हुनसक्छ ।

(लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?