logo
२०८१ मंसिर १४ शुक्रवार



बेलायतका नेपाली

विचार/दृष्टिकोण |




नरेश खपाङ्गीमगर

कोरोना भाइरस (कोभिड १९) महामारीको केन्द्र पछिल्लो समय युरोप र अमेरिका बनेका छन् । ती देशमा बसोवास गर्ने नेपाली यसको शिकार भएका छन् । हालसम्मको तथ्याङ्कअनुसार सबैभन्दा बढी नेपाली यस महाव्याधिको शिकार बनेको मुलुक बेलायत हो । यहाँ करिब ४० जना नेपालीको मृत्यु भइसकेको छ । मृत्यु हुनेहरूमा ८० प्रतिशतभन्दा बढी भूतपूर्व ‘गोर्खा’ सैनिक र परिवार छन् ।
यसबाट मृत्यु हुनेहरूमा ‘गोर्खा को सङ्ख्या बढी देखिएको छ । यसको पहिलो कारण उनीहरूको जनसङ्ख्या हो । बेलायतको सबैभन्दा पछिल्लो सन् २०११ को जनगणनाले नेपालीको जनसङ्ख्या करिब ६० हजार देखाएको थियो । तथापि धेरै नेपाली त्यतिबेला अवैधानिक रूपमा रहेको र एउटै घरमा सरकारले तोकेको मापदण्डभन्दा बढी बसोवास गरिरहेकाले कतिपयले जनसङ्ख्यामा सहभागिता जनाएनन् । बेलायतभर करिब एक लाख ५० हजार नेपाली मूलका मानिस रहेको अनुमान छ । जसमा कम्तीमा ७० प्रतिशत गोर्खा (भूतपूर्व) समुदायका भएको मानिन्छ ।
इङ्ल्याण्ड र वेल्समा कोभिड १९ बाट ५५ वर्षमाथिका मानिस सबैभन्दा बढी प्रभावित भएको यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक आँकडा छ । बेलायतका भूतपूर्व गोर्खाको ठूलो सङ्ख्या यस उमेर समूहमा पर्छन् । खासगरी बेलायत सरकारको सन् २००८ को निर्णयपछि बेलायत आउने भूतपूर्व गोर्खा अहिले यहाँको सेवानिवृत्त हुने उमेर (६५ वर्षभन्दा बढी) समूहमा पर्दछन् । ६५ वर्षमाथिको उमेर समूहका भूतपूर्व गोर्खा र उनीहरूको परिवारको सङ्ख्या यहाँ करिब १५ देखि २० हजार रहेको अनुमान गरिएको छ । बेलायतमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका मानिसमध्ये ७० प्रतिशत ७५ वर्षमाथिको उमेर समूहको छ । बुढ्यौलीसँगै गाँसिएर आउने अर्को समस्या हो कमजोर स्वास्थ्यावस्था । बेलायतको तथ्याङ्कअनुसार कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा बढी सङ्ख्या पहिल्यै मुटुको समस्या भएकाहरूको छ । त्यसपछि डिमेन्सिया वा अल्जाइमरजस्ता रोगबाट ग्रसितहरू छन् । पहिले कुनै पनि स्वास्थ्य समस्या नभएकाहरू कमै मात्र कोरोना भाइरसको सङ्क्रमणबाट बितेका छन् । धेरैजसो बुढ्यौली अवस्थाका गोरखा भूतपूर्व सैनिक पहिल्यै कुनै न कुनै समस्याबाट ग्रसित छन् । मधुमेह, उच्चरक्तचाप, कोलेस्ट्रोल, बाथ, दम जस्ता समस्या उनीहरूका साझा समस्या हुन् । त्यसैले उनीहरू कोरोना सङ्क्रमणको जोखिममा पर्ने भए ।
कोरोनाको सङ्क्रमणमा बढी पर्ने अर्को कारण हुनसक्छ– भाषाको ज्ञान र स्वास्थ्यसेवामा पहुँचको अभाव । बेलायतको जनस्वास्थ्य इङ्ल्याण्डलगायतका निकायले तयार पारेका कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने उपायहरू समेटिएका सामग्री सबै अङ्ग्रेजीमै छन् । मूलप्रवाहका सञ्चारमाध्यम सबै अङ्ग्रेजीभाषामै प्रकाशन प्रसारण हुन्छन् । जनस्वास्थ्यका विज्ञ, चिकित्सकहरू प्रायःका अन्तर्वार्ता अङ्ग्रेजीमै छन् । औँलामा गन्न सकिने स्थानीय काउन्सिलहरूले नेपाली भाषामा ती उपाय अनुवाद गरेका थिए तर ती सामग्री घरघरमा पु¥याउन नपाउँदै बेलायतमा लकडाउन सुरु भयो । भाषाको अज्ञानताका कारण कोरोना सङ्क्रमणको लक्षण देखिँदा पनि धेरै गोर्खाली सम्बन्धित स्वास्थ्य संस्थामा फोन नगरी घरमै बस्न बाध्य भए । आफूमा कोरोनाको लक्षण देखिएको छिमेकी वा आफन्तलाई भन्दा कतै छिःछिः दुरदुर गर्ने पो हो कि भन्ने चिन्ता व्याप्त छ । समयमै उपचार नपाउँदा उनीहरू बढी प्रभावित भएका पनि हुनसक्छन् ।
बेलायत सरकारले कोरोना सङ्क्रमणबाट बच्न एकान्तवास र सामाजिक दूरीको अवधारणा ल्याएको छ । यो कसरी र को–कोसित पालना गर्ने भन्ने बारेमा बुझाउन नसकिएको देखिन्छ । समाचार सङ्कलनका क्रममा कोरोना सङ्क्रमणका कारण दिवंगत भएका एक गोर्खा भूतपूर्व सैनिकको बारेमा बुझ्दा उनको परिवारका सबै सदस्य स्वास्थ्यसेवा र केयर होममा काम गर्दा रहेछन् । परिवारका सदस्य कम उमेरका र दैनिक भाइरस सङ्क्रमितसित काम गर्दा उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भयो । उनीहरूलाई कोरोना सङ्क्रमण जोखिमपूर्ण भएन तर पहिल्यै विभिन्न रोगको औषधि खानुपर्ने र उमेर पनि पाको भइसकेका आमाबाबाका लागि यो रोग खतरापूर्ण थियो । उनीहरूले आफ्नै आमाबाबासित घरभित्र सामाजिक दूरी र एकान्तवासको नियम पालना नगर्दा दुवैजना भाइरस सङ्क्रमणमा परे । जसमध्ये बाबाको निधन भयो भने आमा उपचारपछि घर फर्किन् ।
वयोवृद्ध अवस्थाबाहेक काम गर्ने उमेर समूहका नेपाली यहाँ अत्यावश्यक सेवाका क्षेत्रमा काम गर्छन् । अस्पताल, केयर होम, ग्रोसरी, जस्ता बन्द गर्न नमिल्ने क्षेत्रमा काम गर्ने उनीहरूले कार्यस्थलमा अरू मानिससित सम्पर्क गर्नुपर्ने हुन्छ । आवतजावतका लागि सार्वजनिक सवारीसाधन प्रयोग गर्नुपर्ने हुन्छ । तर अहिले बेलायतमा बितेका नेपालीहरूको सङ्ख्या र अत्यावश्यक सेवामा काम गर्ने नेपालीको हिस्सा केलाउँदा कम क्षति भएको निष्कर्ष निकाल्न सकिन्छ । बेलायतमा कोरोना सङ्क्रमणबाट अफ्रिकी र एसियाली मूलका मानिस उनीहरूको जनसङ्ख्याको अनुपातभन्दा धेरै प्रभावित भएको पाइएको छ । यसबारेमा सरकारले अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ । समयमै भूतपूर्व गोर्खालाई कोरोनाबाट बच्ने उपाय उनीहरूले बुझ्ने भाषा, सरल शैली र प्रयोगात्मक हिसाबले देखाउन, बुझाउन र पु¥याउन सकिएको भए केही हदसम्म बचाउन सकिन्थ्यो ।

(लेखक किंग्स कलेज लण्डनमा विश्व मामिलामा स्नातकोत्तर गर्दै हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?