logo
२०८१ मंसिर १४ शुक्रवार



पत्रकारिताको दियो (सम्पादकीय)

विचार/दृष्टिकोण |





आज वैशाख २४ गते गोरखापत्र १२० वर्ष प्रवेशको शुभदिन तथा राष्ट्रिय पत्रकारिता दिवस । कोराना (कोभिड–१९)को विश्वव्यापी सङ्क्रमणको छायाँमा गोरखापत्रले पनि आमनेपालीसरह बन्दाबन्दीमा रहेर सधैँभन्दा भिन्न परिवेशमा आज यो खुसियाली मनाउन बाध्य छ ।
बेलायतमा पत्रकारिता सुरु भएको झण्डै अढाई सय वर्षपछि नेपालमा पत्रकारिताको जन्म भयो । चौतर्फी अन्धकारबीच सुरु भएको नेपाली पत्रकारिताको एउटा दियो आज सहस्र दीपमा परिणत भएको छ । नेपाली समाजले पत्रकारिताभन्दा धेरै पहिला गोरखापत्र चिनेकाले गोरखापत्रले पत्रकारिताको प्रतिनिधित्व मात्रै गरेन, समानार्थ व्यक्त गर्दै आयो । शताब्दी यात्रामा गोरखापत्रले समाचार मात्र बाँडेन, सद्भाव पनि फैलाउँदै आयो । भाषामात्र होइन, नेपाली भाव पनि विस्तार ग¥यो । साहित्यमात्र पस्केन, सहिताय अर्थात् समग्रको हितमा आफूलाई उभ्यायो, उभ्याउनेछ । यात्राको गन्तव्य स्पष्ट र परिभाषित छ । विशाल नद तथा नदी हो गोरखापत्र, जसले जुन कुनामा यसलाई भेटे उस्तै आकारमा बुझे, उसरी नै ग्रहण गरे । निरन्तर प्रवाहित गोरखापत्र उही भाव उही स्वभावमा आज पनि निरन्तर छ, नद र नदीजस्तै ।
पानी कति निराकार हुन्छ, धेरै व्याख्या आवश्यक छैन । नद गोरखापत्रलाई जो जसले आफ्ना औकात अनुसारका भाँडामा राखे, उस्तै देखे । उसरी नै उपयोग गरे । गोरखापत्रले निर्वाह गरेको ऐतिहासिक दायित्वको विवेचना गर्दा ती भाँडालाई सापेक्ष गर्नुपर्छ । राणाकालको खरीको रुखमुनि उभिएर तत्कालीन गोरखापत्रको समीक्षा गर्नुपर्छ । यस्तै गोरखापत्रले निर्वाह गरेको स्वधर्मको पञ्चायती निर्विकल्प मनोविज्ञानका आँखाबाट विश्लेषण गर्नुपर्छ । आजको खुला समाजमा उभिएर गोरखापत्रको विगत र वर्तमान बुझियो भने नदको एक छेउलाई समग्र नद ठानिएसरह हुनेछ । न विगत न विस्तार निरुपण हुनेछ । पत्रकारिताले समाजलाई प्रभावित गरेजस्तै समाजको रङ पत्रकारितामा पनि झल्कने भएकाले नेपालले जेजस्ता समाज र संस्कृतिको अनुभव ग¥यो त्यसको रङ गोरखापत्रमा पर्नु स्वाभाविक थियो । समाजनिरपेक्ष पत्रकारिताको कल्पना कहीँ गरिएको छैन । गोरखापत्र स्वयंले पत्रकारिताका धर्मलाई जस्तै कष्टकर दिनमा पनि कमजोर हुन दिएन, दिनेछैन । हो, गोरखापत्र अर्थात् विशाल नदको पानीलाई तत्कालीन समाजका प्रतिनिधिले कस्तो भाँडामा राखे, कसरी उपयोग गरे भन्ने विषयको ऐतिहासिक विवेचना हुनसक्छ ।
आधुनिक नेपाली पत्रकारिताको पाठशाला मात्र नभएर प्रयोगशाला पनि हो गोरखापत्र, जसले स्वयंमा पनि विभिन्न अनुभव र प्रयोग गर्दै आएकाले जनताबीच विश्वसनीयताको पर्याय बन्नसक्नु यसको सफलता हो । सरकारी स्वामित्व र पेशागत दायित्वलाई सन्तुलित गर्दै स्वच्छ पत्रकारिताको विकासमा गोरखापत्रले पु¥याएको योगदानको दुई कोणबाट मूल्याङ्कन गर्नु आवश्यक छ । एक यसको आगामी संस्थागत विकास र अर्को यसले निर्वाह गर्नुपर्ने भूमिकासम्बन्धी बहस । प्रजातन्त्रमा सरकारले पत्रकारिता चलाउँदैन भन्ने मान्यतामा गोरखापत्र सहमत छ र स्पष्ट गर्न चाहन्छ गोरखापत्र सरकार होइन राज्यसंयन्त्र हो । तसर्थ यसले सरकारभन्दा राज्यलाई सर्वोपरि गर्दै आएको सत्य उजागर छ ।
मुलुकमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै समृद्धिको राष्ट्रिय आकाङ्क्षा तथा अभियानमा सहयात्री बन्ने कामनाका साथ गोरखापत्र नागरिक र राज्यबीच पुल बनिरहनेछ । संविधानतः सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले अङ्गीकार गरेका मूल्य मान्यतालाई जनताको जीवनशैलीमा परिणत गरी समुन्नत नेपाल निर्माणको राष्ट्रिय महायात्रामा सहभागी गोरखापत्रले आफ्नो वर्तमान दायित्व अझ बढी चुलिएको बोध गरेको छ । राज्यप्रदत्त यस्ता भूमिकाप्रति निरन्तर सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दछ ।
प्रकाशनका प्रातःस्मरणीय पात्र तथा पुर्खाप्रति सुसंस्मरण गर्दै गोरखापत्रको क्षमता अभिवृद्धि, मानव संसाधन विकास तथा संस्थानको भौतिक विकासमा सहयोग गर्ने नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा सबैप्रति आभार व्यक्त गर्दछौँ । यसै वर्षबाट विराटनगर र कोहलपुरबाट प्रादेशिक प्रकाशन सुरु गरेको गोरखापत्र आगामी दिनमा जनताको अझ नजिक हुनेछ । हाल ३८ भाषामा प्रकाशित गोरखापत्र देश तथा जनताले सुम्पेका दायित्व निर्वाहमा सतत प्रयासरत रहने प्रतिबद्धता दोहो¥याउँछ । पत्रकारिता जगतको विशाल क्षितिजमा गोरखापत्रलाई उज्ज्वल बनाउन प्रयासरत पत्रकार, गोरखापत्रकर्मी, पाठक, विज्ञापनदाता, वितरक, लेखक, शुभचिन्तक सबैप्रति आभार व्यक्त गर्दछ । सर्वे भवन्तु सुखिनः....।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?