logo
२०८१ मंसिर १४ शुक्रवार



सीमामा अवाञ्छित गतिविधि (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपाल, भारत दुवै देशले विश्वव्यापी कोरोना (कोभिड–१९) को सङ्क्रमणविरुद्ध बन्दाबन्दी लगायतका पहल गरिरहेका छन् । नेपालमा करिब सात हप्ताअघि चैत ६ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरिएकाले तेस्रो मुलकबाट नेपाल आउनेका कारण सङ्क्रमण फैलिने सम्भावना अब कम हुँदै गरेको छ । नेपाल–भारत खुला सिमानाका कारण लकडाउनकै अवधिका पनि लुकिछिपी एक देशबाट अर्को देशमा आउने–जानेका कारण सङ्क्रमण फैलिने सम्भावना उच्च, जटिल अवस्थामा छ । पछिल्लो समय दिनहुँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले भारतले लकडाउन (बन्दाबन्दी) समय थप र कडाइ गरेको छ । नेपालमा पनि यसको विकल्प छैन । खुला सिमाना नहुने मुलुकमा भन्दा निर्बाध दोहोरो आउजाउ हुने नेपाल र भारत दुवैले विशेष चुनौतीको सामना गर्नुपरेको छ ।
पछिल्ला दिन सीमानाबाट दुवैतिरका नागरिक घर जान मात्र लुकिछिपी सीमा वारपार गरेका छैनन्, केही व्यक्ति अवाञ्छित कार्यमा संलग्न रहेको पाइएको छ । यस्ता केही व्यक्तिलाई सीमाक्षेत्रमा तैनाथ नेपालका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । मङ्गलबार भारतीय मालबाहक गाडीमा दैनिक उपभोग्य वस्तुको ढुवानी गर्ने नाममा लुकाइछिपाई ल्याइएको एक करोड नौलाख ६९ हजार भारतीय रुपियाँ विराटनगरमा बरामद गरिएको छ । सो रकमसहित ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान हुँदैछ । यस्तै झापामा सीमाक्षेत्रमा भारतबाट नेपाल छिर्न खोज्नेलाई नेपाल प्रवेश गर्न रोक्ने नेपाली सुरक्षाकर्मीमाथि भारतीय समूहले आक्रमण गरेपछि उनीहरूलाई उतै फर्काउन सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गर्नुपरेको छ । घरेलु हातहतियारसहित आएका एक सयभन्दा बढी भारतीय नागरिकलाई भारत फर्काउन हवाई फायर गर्नुपरेको जानकारी भारतका सम्बद्ध समकक्षी अधिकारीलाई सशस्त्र प्रहरीले गराइसकेको छ । यस्ता गतिविधि रोक्न आफूहरूले सक्दो सहयोग गर्ने भारतीय सुरक्षाकर्मीले पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
लकडाउनका कारण दुवै देशमा अवैध धन्दा गरिआएका समूहले वैकल्पिक बाटो तथा तरिका प्रयोग गर्ने गरेको पाइएको छ । केही यस्ता नेपालीलाई बर्दिया, विराटनगर क्षेत्रमा सवारी साधनमा लागू पदार्थसहित पक्राउ गरिएको छ । बन्दाबन्दीको बेला दुवै देशका सुरक्षाकर्मीको मुख्य ध्यान सङ्क्रमण नियन्त्रणका विभिन्न कार्यमा केन्द्रित हुनुपरेको मौका छोपी हुने गरेका यस्ता गैरकानुनी कार्य रोक्न दुवै देशका सुरक्षाकर्मीबीच अझ धेरै सहकार्य र आपसी सहयोग हुन आवश्यक छ । महामारीको समयमा औषधिका नाममा लागू औषध कारोबार गर्ने अपराधीहरूमाथि थप निगरानी र कारबाहीका लागि उत्तिकै चनाखो हुनु आवश्यक छ । यसरी नै भारतबाट दिनहुँ लुकिछिपी केही नेपाली तथा भारतीय नागरिक नेपाल प्रवेश गरिरहेका छन् । विभिन्न काम विशेषले भारत गएका नेपाली तथा नेपालका सीमाक्षेत्रमा जग्गा भाडामा लिएर खेतीपाती गर्ने गरेका भारतीय कृषक, सीमाक्षेत्रका साना व्यवसायी, दुवैतिर आउजाउ गरेर सामान ओसारपसार गर्ने व्यक्तिहरू रातको समयमा लुकिछिपी आउने गरेकाले नेपाल र भारतमा सङ्क्रमणको जोखिम बढाएको छ । आजसम्मको अवस्थामा भारततिर भन्दा नेपालमा सङ्क्रमण नियन्त्रण रहेको, उपचारपछि क्रमशः सङ्क्रमितहरू निको भई घर फर्किएका कारण पनि नेपाललार्ई सुरक्षित स्थानका रूपमा लिएर सीमाक्षेत्रमा भारतीय नागरिक यहाँ प्रवेश गर्न चाहेका हुन सक्छन् । यसैगरी कृषि तथा व्यापार व्यवसायका नाममा उनीहरू नेपाल प्रवेश गर्न सक्ने भएकाले नेपालले लकडाउनसँगै सीमा क्षेत्रबाट हुने अनधिकृत नेपाल प्रवेशलाई निरुत्साहन गर्नु आवश्यक छ ।
नेपाल भारतबीच विद्यमान विशेष सीमा चरित्रका कारण यसक्षेत्रबाट हुने अवैध धन्दा तथा दुवै देशका नागरिकको लुकिछिपी हुने दोहोरो आवतजावत रोक्न दुवै देशको उच्च राजनीतिक तहमा संवाद हुन जरुरी छ । यसअघि दुवै देशका स्थानीय प्रशासनबीच जो जहाँ छन् तिनलाई त्यहाँ नै सुरक्षित राखेर खाना तथा उपचारको व्यवस्था गर्ने सहमति भइसकेकाले दुवै देशका सीमाक्षेत्रमा तैनाथ सुरक्षाकर्मीले निर्णय पालनामा शून्य सहनशीलताका आधारमा काम गर्नुपर्नेछ । सङ्क्रमण रोक्न एक देशले गरेको पहलमा अर्को देशले सहयोग गर्दै दुवै देशका नागरिकलाई सुरक्षा प्रदान गर्नु नेपाल तथा भारतको उच्च राजनीतिक तहमात्र होइन सीमाक्षेत्रमा तैनाथ सुरक्षाकर्मी तथा त्यस क्षेत्रका नागरिकको पनि सहकार्य आवश्यक छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?