logo
२०८१ मंसिर १४ शुक्रवार



सामाजिक स्मृतिको संरक्षक र संवद्र्धक

विचार/दृष्टिकोण |





डा.कुन्दन अर्याल

गएको साता नेपालका पत्रकारहरूले राष्ट्रिय पत्रकारिता दिवस मनाए । एक सय २० वर्षअघि वैशाख २४ गते साप्ताहिक अखबारका रुपमा ‘गोर्खापत्र’ प्रकाशित हुन थालेको थियो । सुरुवातकालमा ‘मास्टहेड’ मा यसको नाम यसैगरी लेखिन्थ्यो ।
केही वर्षयता नेपालको यो पहिलो समाचार पत्र सुरु भएको दिनलाई नै राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउन थालिएको छ । यही दिवसकै सेरोफेरोमा नेपाली लोकतान्त्रिक आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको तस्बिरसहित २००१ साल असार १० गते यसै अखबारमा छापिएको एउटा सूचना–सामग्री उहाँका परिवारजनले सामाजिक सञ्जालमा प्रस्तुत गरे । ७६ वर्षअघिको त्यो सामग्री छापिएका बेला गोरखापत्र अर्ध साप्ताहिक थियो ।
वीर गणेशमान जेलबाट फुत्किएर क्रान्तिलाई अघि बढाउन जनताको काखमा पुग्नु भएपछि राणा शासकहरूको सातो गएको थियो । छापिएको त्यो इस्तिहारमा राणाहरूको त्यही अत्यास झल्किन्छ । इस्तिहार अर्थात् विज्ञापनका रुपमा गणेशमानलाई पन्ध्र दिनभित्र हाजिर हुन आह्वान गरिएको उक्त सामग्री छापिएको देखिन्छ । यसबाट गोरखापत्रका पत्रकारहरूले त्यही कठिन समयमा पनि पत्रकारिताको केही न केही मर्यादा कायम गर्न खोजेको भान हुन्छ । त्यो इस्तिहार तत्कालीन सरकारले दिएको राजकाज मुद्दाको बात लागी सदर जङ्गी जेलमा कैद परिरहेका सिंहलाई स्वयं हाजिर हुन नआए जुन बखत पक्राउ गरिन्छ, उतिखेरै ज्यान सजाय दिइने चेतावनीसहित जारी गरिएको थियो । त्यस्तोे सार्वजनिक सूचनालाई गोरखापत्रमा विज्ञापन बाहेक अन्य सामग्रीका रुपमा पनि समेटिएको थियो कि थिएन भन्ने सार्वजनिक जानकारी हालसम्म छैन ।
त्यो सूचना र दुवै खुट्टामा नेल लगाइएको तस्बिर नेपालको लोकतान्त्रिक आन्दोलनका पुरातात्विक र ऐतिहासिक महत्वका सामग्री हुन् । छापिएको त्यो सामग्रीले नयाँ पुस्ताका मानिसलाई पनि राणाकालीन नेपालको अवस्थाको झझल्को दिलाउँछ । त्यो बेला जीवित रहेका मानिसले घटनालाई प्रत्यक्ष देखेका वा घटनाका सम्बन्धमा सुनेका थिए । आजका मानिस विगतका ती घटनाका बारेमा घरपरिवार वा समाजमा कतै सुन्छन्, केही भुक्तभोगी आज पनि जीवित होलान् । तर विस्तारै समयक्रममा पहिलो, दोस्रो, तेस्रो वा चौथो पुस्तामा स्मृति हस्तान्तरित हुँदै जान्छ । यसैगरी कुनै पनि समाजको सामूहिक स्मृति कायम रहन्छ जसरी गोरखापत्रमा छापिएको त्यो इस्तिहारले त्यस बेलाको सन्त्रासमय परिवेशलाई झल्काएको छ । त्यसैगरी सबै समयकालमा हाम्रो सांस्कृतिक इतिहास, सामाजिक मनोविज्ञान, हामीले साक्षात्कार गरेको राजनीतिक दर्शन र विभिन्न भाषाभाषीका प्रयोगकर्ता वा संस्कृतिका अनुयायीहरूले समाजमा सिर्जना गरेका साहित्यहरूमा व्यक्ति–व्यक्तिको स्मृति बाँच्दछ । अनि व्यक्ति–व्यक्तिको स्मृति सामूहिक स्मृतिमा रुपान्तरित हुन पुग्दछ । आज गणेशमान भौतिक रुपमा जीवित हुनुहुन्न तर उहाँको राणाकालीन स्मृति नेपाली समाजको सामूहिक स्मृतिमा रुपान्तरित भइसकेको छ । उहाँ नेपाली जनताको सम्झनामा जीवित हुनुहुन्छ । स्मृतिको यस्तो संरक्षण र संवद्र्धनका लागि आमसञ्चारका माध्यमहरूले उल्लेखनीय योगदान गर्दछन् ।
सामूहिक स्मृतिलाई ताजै राख्न, आम मानिसको मानसपटलमा कुनै न कुनै रुपमा विगतको सम्झनालाई कायम राख्न वा पुस्ता–दरपुस्तामा हस्तान्तरण गर्न आमसञ्चार माध्यमहरू महत्वपूर्ण सावित भइसकेका छन् । पुराना अखबारहरूमा सुरक्षित यस्ता पुरातात्विक महत्वका सामग्रीले पुरानो समयका बारेमा हामीले अघिपछि फिल्म, उपन्यास, नाटक, कथा वा अन्य विधाबाट ग्रहण गरेको बुझाइलाई अझ बलियो बनाउँछन् । त्यसैले पत्रकारिताले तत्कालका लागि सूचना र जानकारी त उपलब्ध गराउँछ नै, विगतका स्मृतिको समेत संवद्र्धन गर्दछ । अनि भावी पुस्ताका लागि स्मृति–अध्ययन हेतु समय र मानव गतिविधिको अभिलेख पनि राख्दछ । एक सय २० वर्षसम्म गोरखापत्रले पनि सचेत वा असचेत अवस्थामा यति गर्दै आएको छ ।
समयको सीमाभित्र बाँधिने समाचारका अतिरिक्त अखबारका पानाहरूमा साहित्य, संस्कृतिका विषयवस्तुलाई दिनहुँ प्रस्तुत गरिएको हुन्छ । यस क्रममा अखबारहरूले सामूहिक स्मृतिलाई जीवन्त राखिरहेका हुन्छन् । व्यक्तिको स्मृति जब साहित्यमा अभिव्यक्त भएर मूर्त हुन पुग्छ, अखबारहरूले ती स्मृतिलाई अझ व्यापक रुपमा समाजमा पुर्याउँछन् । अखबारहरूले समाजलाई नै विस्मृतिमा जानबाट रोक्दछन् । स्मरण शक्तिले मानिसलाई सही निर्णय गर्न र सही बाटो पहिल्याउन अभिप्रेरित गर्दछ । त्यसैले शान्ति, स्थिरता, विकास, अमन–चैन र खुसियालीका लागि सामाजिक विस्मृति खतरनाक हुन्छ ।
आमसञ्चारमा देखिने समाजको प्रतिविम्बका कारण व्यक्तिको तहमा एउटा प्रक्रिया सुरु हुन्छ । त्यस्तो ‘स्केमाटा’ वा सोच्ने ढाँचा वा पद्धतिले मानिसको मस्तिष्कमा विगतको निश्चित छवि निर्माण गराउने गर्दछ । जसले हरेक व्यक्तिलाई घटनाप्रति खास दृष्टिकोण बनाउन उत्प्रेरित गर्दछ, हाम्रा अनुभव र सम्झनाहरूलाई समेत वर्तमान सन्दर्भमा आकार प्रदान गर्दछ । सोच्ने आफ्नो खास ढाँचा वा बुझाइको एकरुपता व्यक्तिले स्वतः हासिल गरेको विगतका सूचना वा स्मृतिका आधारमा अञ्जानमै तय हुनगएको हुन्छ । जस्तो नेपाली समाजमा जंगबहादुर भन्ने नाम नै उपमाका रुपमा स्थापित भइसकेको छ, त्यस नामैले एउटा चरित्र वा प्रवृत्तिको चित्रण गर्दछ । गणेशमानको तस्बिरजस्तै फलामको सिक्रीमा बाँधिएको लोकतान्त्रिक आन्दोलनका सुरुवातकालीन योद्धा टंकप्रसाद आचार्यको तस्बिरले पनि आजसम्मका राणा शासनविरुद्ध उनको संघर्षको स्मृतिलाई जगाउँछ । तत्कालीन शासकवर्गको क्रूरताको झझल्को प्रस्तुत गर्दछ । फिल्म स्मृतिको सबैभन्दा शक्तिशाली वाहक हो तर सामाजिक स्मृतिको संवद्र्धनमा साहित्यका विभिन्न विधा र पत्रकारिताको भूमिका पनि कम महत्वपूर्ण छैन । इन्टरनेटको सुरुवातपछि त इतिहास, दर्दनाक क्षणको सम्झना, नोस्टाल्जिया लगायत विगतका अभिलेखको संरक्षण र प्रसार झन् प्रभावकारी रुपमा भइरहेको छ । हिटलरको मानवताविरोधी कुकृत्य र होलोकास्टको पीडाका बारेमा सामाजिक सञ्जालहरूले पनि झक्झक्याइरहेका छन् ।
एउटा अखबारमा छापिएको तस्बिर वा अक्षर जुनसुकै अन्तरवस्तुबाट व्यक्तिले अर्थ ग्रहण गर्दछ । अर्थ सामग्रीको संरचना वा सामग्रीलाई दिइएको महत्वका आधारमा पनि खुल्ने गर्दछ । सामग्रीका ढाँचाले आवश्यकता अनुसार विगतलाई सम्बोधन गरेको हुन्छ । त्यही कारण पत्रकारिताले व्यापक र बहुआयामिक रुपमा स्मृतिको संवद्र्धन र संरक्षणका लागि जानेर वा नजानेर पनि योगदान पु¥याइरहेको हुन्छ । वर्तमानको आंकलन विगतको अस्पष्ट छापसँग अन्योन्याश्रित रुपमा जोडिएको हुन्छ जसले गर्दा पत्रकारिता सामाजिक स्मृतिका महत्वपूर्ण वाहक बन्न पुग्दछ । पत्रकारहरूले कुनै संचेतनाविना नै अञ्जानमै पनि समाजको स्मरण शक्तिको परख पनि गरिरहेका हुन्छन् । सामाजिक प्राणी भएका नाताले पत्रकारहरूले आफ्नो समाजको स्मरण शक्तिको खास अवस्थाको चित्रण पनि गरिरहेका हुन्छन् । स्मृतिलाई आकार प्रदान गर्न पत्रकारिताले निर्वाह गर्ने भूमिकाका सम्बन्धमा अभिलेख र सम्झनाका लागि समाजको अति महत्वपूर्ण अवयवका रुपमा यसमाथि बढ्दै गएको निर्भरताबाट पनि अनुमान गर्न सकिन्छ ।
आजको समयमा पुरानो स्मृतिलाई जागृत गराउने नयाँ सांस्कृतिक सामग्री तयार गर्नुपर्दा पुरातात्विक महत्वका अखबारदेखि साहित्यिक कृति र विगतका तस्बिरदेखि इन्टरनेटमा सुरक्षित अभिलेखसम्मको प्रयोग गरिन्छ । गोरखापत्रले समय मात्र बिताएको छैन, यसले पुरातात्विक महत्वका इतिहास गाथालाई समेटेर आजसम्म जीवित रहेर नेपाली समाजको स्मरणको एउटा ढुकुटी पनि निर्माण गरेको छ ।
(लेखक त्रिविको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?