लीलाधर उपाध्याय
नियम बनाइन्छन् तोड्नका लागि त्यो पनि महाभारतजस्तो धर्मयुद्धमा स्वयं श्रीकृष्णले पनि नियम तोड्नु पर्यो । नियमहरू हरेक उत्कर्षमा पुगेपछि तोडिन्छन् वा उल्लङ्घन गरिन्छन् । राजनीतिमा यो नियमको पनि नियम हो ।
हाम्रो संसदीय प्रजातान्त्रिक इतिहासमा प्रजातान्त्रिक भनिने राजनीतिक पार्टीले सत्ता टिकाउन गरेका फोहोरी खेलहरू सम्झे पुग्छ – तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मौजुदा बहुमतको सरकारलाई महाशक्तिशाली बनाउने अभिलाषामा संसद् विघटन गरेको घटना होस् वा सांसद खरिद बिक्री काण्ड हुन्– सबै नियमविपरीत खेलिएका खेल थिए । राजनीति एउटा खेल वा माध्यम मात्र हो । यो सकेसम्म इमानदारीसाथ जनता वा मानवजातिको व्यापक हितका लागि खेलिनुपर्दछ भन्ने मान्यता हो । त्यसैमा नै प्रजातान्त्रिक मूल्य मान्यता रहन्छ । अधिकांश जनताले स्वीकार गरेको नियम वा पद्धति नै प्रजातन्त्र हो ।
यही वैशाख ८ गते जारी र १२ गते खारेज भएका दुई अध्यादेश– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ लाई लिएर नेपाली राजनीतिमा ठूलै तरङ्ग देखिन्छ । विभिन्न किसिमका अड्कलबाजी भएका छन् र हेक्का राख्नुपर्छ, संसदीय गणतान्त्रिक व्यवस्थामा मन्त्रिमण्डल नै शक्तिशाली हुन्छ । यस्ता अध्यादेशका अभ्यासहरू यहाँ पटकपटक भएका छन् ।
राजनीतिका अनेक पाटालाई समयक्रममा सच्याउँदै, परिष्कृत गर्दै अगाडि बढेको इतिहास छ । त्यसमा केके तलमाथि भए भन्ने इतिहासको मूल्याङ्कनको पाटो होला । अध्यादेशको चारदिने म्याराथुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले महसुस गरेर सच्याउन सफल पनि भयो । यसलाई आम जनताले स्वागत गरे । यो आधुनिक प्रजातन्त्रको सुन्दर पाटो र प्रजातान्त्रिक संस्कार पनि हो । सरकारले पार्टी, अन्य दल र आम नागरिकको कुरा सुन्यो । के यो गल्ती हो ? कि आफ्नो ‘बाह्रै टक्का’ गर्नुपथ्र्यो ?
नेपालको संविधान २०७२ जारी गर्नमा नेतृत्वदायी भूमिका खेलेर राष्ट्रिय स्वाधीनता तथा अखण्डता रक्षाको दृढ सङ्कल्पसहित ती मूल्यमान्यताका पहरेदारका रूपमा छवि उच्च बनाउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो दोस्रो इनिङ पनि सफलताका साथ अघि बढिरहेको यथार्थ छ । भुलचुकको समीक्षा गर्दै अगाडि बढ्न सकिन्छ र सक्नुपर्दछ । राजनीतिक सहमति, देश विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, सङ्घीयताको कार्यान्वयन, पुनर्निर्माण, राजनीतिक स्थायित्व, सुशासन, शान्तिसुरक्षा, विश्वब्यापी नोवेल कोरोना भाइरसको सफल रूपमा रोकथाम आदि ओली सरकारका उल्लेख्य उपलब्धि हुन् । मात्र यी कार्यक्रमलाई अझ व्यवस्थित र योजनाब्द्ध ढङ्गले तीव्रता दिनुपर्ने दायित्व सरकारको काँधमा छ । त्यसका लागि अझै समय छ ।
संविधान निर्माणसँगैको नाकाबन्दीविरुद्ध मुकाविला ओली नेतृत्वको सरकारबाटै सम्भव भयो । प्रष्ट अडान, दूरदर्शी कार्ययोजना, चातुर्यपूर्ण राजनीति र समयमा उपयुक्त निर्णय लिने क्षमतायुक्त नेताका रूपमा परिचित प्रधानमन्त्री ओली देशमा हुनसक्ने जातीय, धार्मिक, सांस्कृतिकलगायतका सबैखाले अतिवादबाट समेत देशलाई बचाउन सफल हुनुभएको उहाँका विपक्षीहरूले समेत स्वीकार गरिरहेकै छन् ।
अध्यादेश प्रकरणका कारण नै आरामदायी बहुमतसाथ सरकारको नेतृत्व गर्नुभएका केपी ओलीको नेतृत्व वैधानिकता समाप्त भएको भन्न सकिँदैन र मिल्दैन । जनताले प्रधानमन्त्री ओलीले नै अगाडि सारेका विकास र राजनीतिका एजेण्डालाई अनुमोदन गरी सरकारको नेतृत्व गर्न पाँच वर्षको जनादेश दिएका हुन् । यो शान्ति र स्थायित्वका लागि पनि हो । आवधिक चुनावको माध्यमबाट मात्र सरकार परिवर्तन हुने हो । हो, सामूहिक नेतृत्वमा चल्ने पार्टीमा सबैको योगदान र भूमिकाको कदर गरिनुपर्दछ तर जनताको अपेक्षालाई सत्ताको खेलमा लागेर कसैले पनि भुल्नुहँुदैन । अघि नै परीक्षण भइसकेको व्यक्तिको नेतृत्व हुँदैमा वा नेतृत्व फेरिँदैमा राजनीति सप्रिने होइन । आन्तरिक रूपमा सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने कुरा त झन् नेकपामाथि नै विश्वास नगरिएको भन्न सकिन्छ । किनकि नेकपाले अर्को चुनाव जित्ने जनाधार गुमाइसकेको छैन । अझै ओली सरकारसमक्ष प्रशस्त काम गर्ने अवसर र समय छ जसले नेकपाले अर्को चुनाव जित्ने आधार सुदृढ गर्नुपर्ने हुन्छ । त्यसका लागि दृढ इच्छाशक्ति, सन्तुलनको राजनीति र पूर्ण प्रजातान्त्रिक संस्कारको आवश्यकता देखिन्छ ।
अध्यादेश प्रकरणलाई यतिमात्र भन्न सकिन्छ, कहिलेकाहीँ राजनीतिमा स्वच्छ खेल नहुन पनि सक्छ तर गतिशीलता आवश्यक हुन्छ । महाभारत युद्धमा महान् योद्धा अभिमन्युलाई द्रोणाचार्यले बनाएको चक्रव्यूहमा पस्ने तरिकामात्र थाहा थियो तर निस्कने तरिका थाहा थिएन । यो कुरा जान्दाजान्दै पनि अभिमन्यु चक्रव्यूहमा पसे र वीरगति पाए । अभिमन्युको मृत्युमा महारथिहरूले युद्धको नियम पालना गरेनन् भनेर कर्णलाई मार्नेे समयमा श्रीकृष्णले अर्जुनलाई सम्झाउँछन् वा कर्णवधका लागि उक्साउँछन् । त्यसैले कहिलेकाहीँ परिणाम जेसुकै होस्, कर्म गर्नुपर्दछ त्यही नै राजनीति हो । राजनीति सधैँ स्वच्छ हुने अपेक्षा राजनीति नबुझेर गरिन्छ ।
(लेखक दि राइजिङ नेपालका सहसम्पादक हुनुहुन्छ ।)