डा.खोमराज खरेल
विश्वका शक्तिशाली देशसमेत नोवल कोरोना नामक भाइरसका सामु आत्मसमर्पण गर्न बाध्य भएकाले नेपालजस्ता सानो अर्थतन्त्र भएका तथा अल्पविकसित देशका लागि ठूलो चुनौती बन्ने सम्भावना छ ।
यो अदृश्य भाइरसले आर्थिकमात्र नभएर मानवीय क्रियाकलापलाई समेत नराम्ररी प्रभाव पारेकाले विश्वका ठूला अर्थतन्त्र भएका देशसमेत त्राहिमाम् बन्दै गएका छन् । यसले गर्दा अबका दिनमा एकातर्फ धनीबाट गरिब देशमा दिइने सहयोगमा कटौती हुने सम्भावना बढ्दै गएको छ भने अर्कोतर्फ श्रमको गतिशीलतालाई समेत नकारात्मक प्रभाव पर्ने विश्व बैङ्कको बेरोजगारी प्रक्षेपणबाट स्पष्ट हुन्छ । नेपालजस्तो सानो अर्थतन्त्र भएको र विदेशी मुद्राको सञ्चिति वैदेशिक श्रमबजारमा निर्भर हुनुपर्ने बाध्यता भएकाले यसबाट नेपालले ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ ।
आर्थिक क्रियाकलापको सङ्कुचनका कारण नेपालको आन्तरिक र बाह्य श्रमबजारमा रोजगारीका अवसर घट्दै गएका छन् । विश्वबजारबाट करिब ३० प्रतिशतमात्र रोजगारी गुमेर स्वदेश फर्किएमा कम्तीमा १५ देखि २० लाख बेरोजगार जनशक्ति नेपालमा थपिने सम्भावना छ । यसका लागि नेपाल सरकारले अल्पकालीन र दीर्घकालीन तयारी गर्नुपर्छ ।
विप्रेषण आयको आधार भनेको वैदेशिक रोजगारी हो । आव २०७४÷७५ मा विप्रेषण आयका रूपमा औपचारिक माध्यमबाट करिब ७५५ अर्ब रुपियाँ देशमा भित्रिएको देखिन्छ जुन नेपालको कुल गार्हस्थ उत्पादनको करिब २५ प्रतिशत बराबर हुन आउँछ । कोरोनाले गर्दा नेपाली कामदारले विश्वबजारमा रोजगारी गुमाउने सम्भावना बढ्दो छ । नेपालको अघिल्ला वर्षको विप्रेषणमा कम्तीमा ३० प्रतिशतमात्र गिरावट आएमा करिब २२६.५ अर्ब बराबरले कमी आउने देखिन्छ जुन कुल गार्हस्थ उत्पादनमा ५ प्रतिशत गिरावट हुने देखिन्छ । अब कोरोनाले गर्दा विप्रेषणमा गिरावट आई विदेशी मुद्राको सञ्चितिमा पनि कमी आउने देखिन्छ ।
कोरोनाले औद्योगिक क्षेत्रलाई नराम्रोसँग असर पार्दैछ । बन्दाबन्दीले गर्दा अधिकांश उद्योग बन्द भएकाले लामो समयसम्म यसले उत्पादन तथा आर्थिक क्रियाकलापमा प्रभाव पार्दछ । विदेशी पर्यटकको भ्रमणलाई मात्र रद्द गर्ने होइन, स्वदेशीलाई समेत आन्तरिक भ्रमणमा नियन्त्रण गर्न‘पर्ने बाध्यता आयो । पर्यटनक्षेत्रको कुल गार्हस्थ उत्पादनमा करिब दुई प्रतिशत योगदान रहेकोमा यस वर्ष यो क्षेत्रको जीडीपीमा योगदान घट्ने निश्चित भइसकेको छ ।
बन्दाबन्दी तथा सरकारले विषम परिस्थितिमा अपनाउनुपर्ने उदार नीतिका कारणले राजस्व परिचालन हुन सहज अवस्था देखिँदैन । बैङ्क तथा वित्तीय र बीमाका क्षेत्रमा पनि यसको नकारात्मक प्रभाव परिसकेको छ । यी क्षेत्रमा बचत, ऋण, ब्याजदर र जनशक्ति जस्ता विषयमा समस्या क्रमशः देखिन थालेका छन् । बीमाक्षेत्रले लगानी क्षेत्रमा विविधीकरण नगरेमा प्रतिस्पर्धी बोनस दर कायम गर्न मुश्किल पर्ने देखिन्छ । यसैगरी नेपाली मुद्राको क्रयशक्ति तथा विनिमय दर क्रमशः घट्न थालेको छ ।
सिक्नुपर्ने पाठ
कोरोनाको जोखिमबाट बच्न नेपाल सरकारले चालेका कदम र जनताले अपनाएको सजगताले अहिलेसम्म नेपाल प्रतिकूल अवस्था हुनबाट जोगिएको छ । तथापि नेपालले यसबाट पाठ सिकी आगामी दिनमा आइपर्ने परिस्थितिसँग सामना गर्नसक्ने सामथ्र्य बनाउनु जरुरी देखिन्छ ।
जनशक्ति व्यवस्थापन
नेपालले पन्ध्रौँ योजना निर्माण गर्दासम्म देशमा जनशक्ति उत्पादन र उत्पादित जनशक्तिलाई व्यवस्थापन गर्ने उचित नीति बनाउन सकेको छैन । फलतः नेपाली जनशक्ति रोजगारी तथा व्यवसायका लागि विश्वबजारमा फैलिएको छ । अब सरकार तथा निजीक्षेत्रले जनशक्ति व्यवस्थापन उचित योजना बनाई कार्यान्वयन गर्न‘पर्नेछ ।
नेपालमा जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढी कृषिमा निर्भर रहे पनि कृषि उत्पादनमा आत्मनिर्भर हुनसकेका छैनौँ । आ.व. २०१७÷१८ को नेपालको वैदेशिक व्यापारअन्तर्गत खाद्यवस्तु, जीवजन्तु, वनस्पति तेल तथा बोसो पदार्थको विश्लेषण गर्दा नेपालमा रु. ९७.६८५ अर्ब बराबरको व्यापार घाटा देखिन्छ । अहिले नेपालको अधिकांश कृषिमा आश्रित परिवारका सदस्य स्वदेश फर्किने क्रममा रहेकाले उक्त जनशक्तिलाई अल्पकालीन र दीर्घकालीन कृषि योजना बनाई परिचालन गर्न सकेमा कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्ने अवसर हुनेछ ।
अहिलेको महामारी विश्वव्यापी रूपमा फैलिएकाले प्रत्येक देश आफ्नै समस्या समाधानमा लागेका छन् । यसबाट सिक्नुपर्ने शिक्षा हो– कुनै पनि देश आफ्नो देशमा उत्पन्न हुनसक्ने विपत् व्यवस्थापन गर्न स्वयं सक्षम हुनुपर्छ । विभिन्न समयमा उत्पन्न हुने विपत्को सामना गर्न सरकारको योजना र पारदर्शिता तथा व्यक्तिमा अनुशासन आवश्यकता पर्दोरहेछ । विश्वका अन्य देश महामारीको सामना गर्न हम्मेहम्मेको अवस्थामा रहेका बेला चीन एक्लै महामारी नियन्त्रण गर्न सक्षम हुनु सबै देशका लागि शिक्षा भएको छ । नेपाल सरकार र जनताले पनि यस्ता विषम परिस्थितिको आँकलन गरी समाधान गर्न सक्षम हुनुपर्ने देखिन्छ ।
विपत्मा हुने कालोबजारी, भ्रष्टाचार तथा गैरजिम्मेवार प्रवृत्तिलाई नियन्त्रण गर्नसक्ने सक्षम सरकार र जनतालाई मध्यबिन्दुमा राखेर कर्तव्यपालन गर्ने जिम्मेवार कर्मचारीतन्त्रको आवश्यकता पर्दछ ।
पहिचान स्थापित गर्ने अवसर
अहिले विश्वका ठूला अर्थतन्त्र भएका देशमा समेत कोरोनाको सङ्क्रमणबाट प्रभावित जनतालाई रोग र मृत्युुबाट जोगाउन हम्मेहम्मे परेको छ । तथापि नेपाल सरकारले चालेका सावधानीका कदम र नेपाली जनताको धैर्य र अनुशासनका कारण केही हदसम्म नेपाल सफल छ । अबको पाटो भनेको सरकारले आफ्ना कदम वैज्ञानिक र जनमैत्री बनाउँदै जाने र जनतालाई यो भाइरसको आक्रमण हुनबाट जोगाउनु छ ।
सरकार सञ्चालनको शैलीलाई मितव्ययी र पारदर्शी बनाउने, जनप्रतिनिधिलाई जनउत्तरदायी बनाउने, विज्ञको दक्षता तथा अनुभव र आवश्यकताका आधारमा जिम्मेवारी दिने जस्ता संस्कारको नजिर स्थापित गर्न सकेमा यो महामारी समृद्ध नेपाल र सुखी नेपाली भन्ने सरकारको नारा सफल बनाउन सान्दर्भिक हुने देखिन्छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ)