रामप्रसाद आचार्य
फेरि चाल्र्स डार्बिनको छनोट र माल्थसको जनसङ्ख्या सिद्धान्त लागू हुँदैछ । मानिसले चाहेर पनि प्रकृतिमाथि विजय प्राप्त गर्न सक्दैन । अस्तित्वका लागि सङ्घर्ष हुन्छ र सक्षममात्र बाँच्न सक्छ भन्ने डार्बिनको सिद्धान्त अनुसार अहिले कोरोना महामारीबाट बाँच्न सङ्घर्ष भइरहेको छ ।
अहिले विज्ञान र प्रविधिको अकल्पनीय विकासले प्रकृतिलाई आफ्नो अनुकूल प्रयोग गर्न सकिन्छ भन्ने धेरैलाई भ्रम थियो । कोरोनाका कारण संसार बन्दाबन्दीमा परेपछि त्यो भ्रम चिरिएकोे छ । प्रकृतिमाथि विजय प्राप्त गर्ने मूर्खतापूर्ण काम नगरी प्रकृति अनुसारको व्यवहार र आचरण गर्नु उपयुक्त विकल्प हो । प्रकृतिले आफ्नो नियम आफैँ बनाएको छ । यो नियमलाई मानव समुदायले पनि पालना गरी आफ्नो जीवनलाई प्रकृति अनुकूल बनाउनुपर्छ । प्रकृति अनुकूल जीवन बनाउन नसके कुनै पनि दिन मानव समुदाय डाइनोसरजस्तै लोप भएर जानेछ ।
इतिहासका विभिन्न कालखण्डमा ठूलाठूला महामारी आए । स्पेनिस फ्लुलाई मदर अफ अल प्यान्डामिक अर्थात् सबै महामारीको आमा भन्ने गरिन्छ । यो महामारीमा सन् १९१८ देखि १९२० सम्म फैलिएको थियो । यसले चारदेखि पाँच करोड मानिसको ज्यान लिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । त्यसबेला विश्वको जनसङ्ख्या एक अर्ब ८० करोड थियो । चिकित्सकहरूलाई माइक्रोअर्गानिज्मका कारण स्पेनिस फ्लू भइरहेको छ र यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने थाहा भएको थियो । उनीहरूले यो भाइरसको साटो ब्याक्टेरियाका कारण भइरहेको छ भन्ने ठानेका थिए । त्यो बेला एन्टिबायोटिक (प्रतिजैविक) नै बनेको थिएन । विश्वको पहिलो एन्टिबायोटिक नै सन् १९२८ मा पत्ता लागेको थियो । फ्लुविरुद्ध लगाइने खोप सन् १९४० मा मात्र सर्वसाधारणका लागि उपलब्ध भएको थियो । सबैका लागि स्वास्थ्य सेवा सम्भव थिएन । स्पेनिस फ्लुले पहिले कुनै पनि महामारीले नगरेको जस्तो हमला गरेको थियो । हार्वर्ड विश्वविद्यालयका अध्येता रोबर्ट बरोले सन् २०२० मा गरेको एक अध्ययनले अनुमान गरेअनुसार अमेरिकामा करिब साढे पाँच लाख मानिस मरेका थिए । भारतमा एक करोड ७० लाख मानिसको ज्यान गयो । त्यस महामारीले संसारभर कुल गार्हस्थ उत्पादनमा छ प्रतिशत गिरावट भएको थियो ।
‘प्यान्डामिक १९१८’ पुस्तककी लेखिका क्याथरिन अर्नोल्डका अनुसार पहिलो विश्वयुद्ध र स्पेनिस फ्लुले एउटा त्रासदी पैदा भएको थियो । कैयौँ देशमा घरबार चलाउन जिम्मेवारी लिने, खेती गर्ने वा व्यापार गर्ने युवा जीवित थिएनन् । योग्य पुरुष नभेट्दा लाखौँ महिला समस्यामा परेका थिए ।
यसअघि चौधौँ शताब्दीको प्लेगले साढे सात करोडदेखि २० करोड मानिसको ज्यान लिएको थियो । एसियादेखि युरोपसम्म रेशममार्ग हुँदै फैलिएको यो महामारीले एसिया र युरोपको समग्र प्रणाली तहसनहस पारिदियो । युरोपका कतिपय देशमा त ३० देखि ६० प्रतिशत मानिसको मृत्यु भयो । यसकै कारण जमिनदारी प्रथा समाप्त भयो । स्पेनिस फ्लुले विभिन्न देशमा लैङ्गिक सन्तुलन बिगा¥यो ।
सन् १९७६ मा सुरु भएको एचआईभी एड्सले सन् १९८१ देखि सन् २०१२ सम्म महामारीको रूप लिँदा तीन करोड ६० लाख मानिस मरे । हैजाले महामारीको रूप लिँदा सन् १८५२ मा १० लाख र सन् १९१० मा ९० लाख मानिसको ज्यान गयो । त्यस्तै फ्लुजन्य महामारीबाट विभिन्न समयमा गरी दुई करोडदेखि पाँच करोड मानिसको मृत्यु भएको छ ।
टेक्सस ए एन्ड एम विश्वविद्यालयकी अध्येता क्रिस्टिन ब्ल्याकबर्नका अनुसार पहिलो विश्वयुद्ध र स्पेनिस फ्लुका कारण काम गर्ने मानिसको कमी हुँदा महिला काम गर्न बाध्य भए । सन् १९२० सम्म देशका सबै कर्मचारीमा महिलाको हिस्सा बढेर २१ प्रतिशत पुगेको थियो । त्यसै वर्ष अमेरिकी संसद्ले संविधानको १९औँ संशोधन गरेर महिलालाई मतदानको अधिकार दिएको थियो । मजदुर अभावका कारण अमेरिकाको सरकारी तथ्याङ्कअनुसार सन् १९१५ मा प्रतिघन्टा २१ सेन्ट रहेको मजदुरको तलब बढेर सन् १९२० मा ५६ सेन्ट भएको थियो ।
बेलायत र ब्राजिलका विश्लेषकहरूले सन् १९१८ र १९ मा जन्मिएका बच्चाहरूमध्ये कमैले औपचारिक रूपमा कलेजको पढाइ पूरा गरे । यो महामारीले भारतलाई प्रभावित गरेपछि महात्मा गान्धी र अन्य नेताले स्वतन्त्रताको आवाजलाई चर्को बनाएका थिए । सन् १९१८ सम्म भारत ब्रिटिस उपनिवेश बनेको एक शताब्दी भइसकेको थियो । भारतमा त्यसै वर्ष मेमा स्पेनिस फ्लु देखियो । त्यसबाट ब्रिटिस नागरिकभन्दा भारतीय धेरै प्रभावित भए । यो महामारीपछि सन् १९२० को दशकमा धेरै देशमा स्वास्थ्यप्रणालीमा सुधार गरियो । धेरै देशले स्वास्थ्य मन्त्रालय बनाए वा त्यसमा आमूल परिवर्तन गरे । सन् १९१८ मा सामाजिक दूरी महत्वपूर्ण बनेको थियो । त्यसबेला अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीलाई उक्त रोग लागेको थियो । तत्कालीन ब्राजिलका राष्ट्रपति रोड्रिगेज अल्भेसको त स्पेनिस फ्लुकै कारण ज्यान गएको थियो । यो महामारी पहिलो विश्वयुद्धको छायाँमा पर्यो । युद्धका बेला कति सरकारले समाचारमै प्रतिबन्ध लगाएका थिए । त्यसले गर्दा यो फ्लुको धेरै जानकारी बाहिर आउन पनि पाएन । सन् २०१८ मा स्पेनिस फ्लु आएको एक सय वर्ष भयो तर अन्य महामारी त के केही वर्षअघि देखिएको एड्सको जस्तो पनि स्पेनिस फ्लुको चर्चा भएन ।
(लेखक गोरखापत्रका नायब कार्यकारी सम्पादक हुनुहुन्छ ।)