विश्वव्यापी कोरोना (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन सरकारले बाध्यात्मक अवस्थामा बन्दाबन्दी (लकडाउन) आदेशलाई निरन्तरता दिएको छ । बन्दाबन्दी भनेपछि बन्दअवस्था नै हो, यसमा खुकुलो, नरम, विकल्प, जनमुखी, कृषकपे्रमीजस्ता विशेषण वा फूलथुँगा जोड्नु आवश्यक थिएन र छैन पनि । केही कोण र पात्रबाट बन्दाबन्दीमा यिनै विशेषण जोडेर लोकप्रिय हुने मौसमी खेती गरिएका छन् । सरकारलाई कोठे विद्वानहरूबाट घेरा हाल्दै हल्ला गरियो– ‘सरकारबाहेक अन्य सबै जनताप्रति संवेदनशील छन्, जनमैत्री छन् ।’ सामाजिक माध्यमका प्रयोगकर्ताको पण्डित्याइँ अझ रोचक हुने गरेका छन् । सुरुवाल लगाउने भनेपछि दहै्रसँग इँजार कस्नुपर्छ, खुकुलो सुरुवालले इज्जत थाम्दैन । इज्जत नथाम्ने सुरुवाल लगाउनुको अर्थ पनि रहँदैन । सुरुदेखि प्रधानमन्त्री केपी शर्मा ओली कठोर बन्दाबन्दीको पक्षमा हुनुहुन्छ । उहाँले पटकपटक सोध्नुभएको छ– एकातिर सम्भावित विनाश र अर्कोतिर समस्या छ, कुन विकल्प उचित हो ? अवश्य पनि सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ, दिएकै छ । यसैका लागि प्राथमिक उपायका रूपमा बन्दाबन्दी लागू गरिएको छ ! यसबीच खासगरी केही बौद्धिक मनोरञ्जन भए ‘खुकुलो बन्दाबन्दी’ को पक्षमा लेखेर वा बोलेर । कसलाई रहर छ देश तथा समाजलाई बन्दाबन्दीमा राख्न ? बाध्यता प¥यो भने मानिसमात्र होइन ‘भगवान’ ले पनि बन्दाबन्दीका कडाभन्दा कडा अवस्था सामना गर्नुपर्छ । आफूलार्ई श्राप परेपछि ‘शिवजी’ बयरको बोटमुनि लुकेर बस्नुप¥यो ! सहज जीवन भएपछि सार्वजनिक भएका शिवजी लुकेको त्यही बयरको बोट भएको स्थान बदरी (बद्री) र शिव बदरीनाथ बने तर यहाँ त सबका सब पण्डित, अर्ती, उपदेश दिने ! विचार निर्माणमा सामाजिक सञ्जाल सबैभन्दा प्रभावकारी ! त्यही विचारको भीडमा केही जिम्मेवार व्यक्ति पनि बहकिने गरेका छन् । नेतृत्व गर्ने व्यक्ति लोकप्रिय हुने नाममा भीडमा बग्ने होइन । भीडको एण्टी–करेन्ट (वैपरीत्य प्रवाह) मा उभिएर भीड नियन्त्रण गर्न सक्नुपर्छ । त्यही हो नेता, त्यही हो नेतृत्व । प्रधानमन्त्री ओली बन्दाबन्दीको विकल्प देख्नुहुन्न तर अरु केही जिम्मेवार व्यक्तिले पनि अनेक नाम तथा विशेषणका बन्दाबन्दीको विकल्प दिएपछि आजित प्रधानमन्त्रीले सोध्नुप¥यो– ‘बन्दाबन्दीमा सवारी जाम हुन्छ ?’
बन्दाबन्दीले जनजीवन कष्टकर छ । यसबारेमा बहस हुनुपर्ने, विकल्प आउनुपर्ने, कोरोना परीक्षणको दायरा तथा गति तीव्र बनाउने बारेमा बहस गरिनुपर्ने हो तर विद्वानहरूको ध्यान भने ‘बन्दाबन्दी खुकुलो’ बनाउनुपर्छ भन्नेमा छ । के हो खुकुलो बन्दाबन्दी ? बन्दाबन्दी पनि कहिले खुकुलो र कहिले कसिलो बनाउन सकिने बेलुन हो र ? मङ्गलबार बारा, पसा, बर्दिया, काठमाडौँ, भक्तपुरलगायतका स्थानबाट एकैदिन ८४ जना सङ्क्रमित थपिएपछि ‘खुकुलो बन्दाबन्दी’का पक्षमा उभिएकाहरूले के उत्तर दिन सक्छन् ? सरकारले विशेष गरी प्रधानमन्त्रीले विज्ञहरूसँगको निरन्तर सम्पर्क तथा छलफलपछि अवस्थामा पूर्ण सुधार नआएकाले बन्दाबन्दी खुकुलो गर्न नहुने यथोचित बताउनुभएको छ । केवल तर्कका लागि तर्क अथवा क्षणिक लोकप्रियताका लागि विश्वव्यापी स्वास्थ्य समस्यामा खेलाँची गर्नुहुँदैन ।
हो, बन्दाबन्दी मात्र कोरोना नियन्त्रणको अन्तिम उपाय होइन । परीक्षण तीव्र हुन नसकेको, स्वास्थ्यसामग्रीको अभाव वा दैनिक जीवनका असुविधाका बारेमा खुलेर छलफल गर्न सकिन्छ । यस्ता छलफलले सरकारलाई सही बाटो निर्दिष्ट पनि गर्न सक्छ तर लोकप्रिय हुने मोहमा दिइने आदेश, निर्देश वा आग्रहले परिस्थितिलाई नियन्त्रणबाहिर पु¥याउन सक्नेतिर सबैले ध्यान दिनु आवश्यक छ । हवाईमार्ग रोकेपछि तेस्रो मुलुकबाट आउने व्यक्तिबाट हुनसक्ने सङ्क्रमणको सम्भावना रोकिएको छ । करिब दुई महिनाअघि चैत ६ गतेदेखि सरकारले सबै उडान
(राष्ट्रिय, अन्तर्राष्ट्रिय) उडान रोकेको छ तर भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेहरूमा कोरोना सङ्क्रमण बढी देखिएको छ । अबको ध्यान कठोर बन्दाबन्दी र सीमा सील (बन्द) मा जानुपर्ने हो तर अहिले पनि लुकिछिपी भारतबाट नेपालको तराईक्षेत्र अनि तराईबाट सबैभन्दा बढी जनघनत्व रहेको सङ्घीय राजधानी काठमाडौँमा भित्रिएका छन् । यस्तो प्रवृत्तिले सङ्क्रमण अनियन्त्रित हुनसक्छ । अवस्था यति स्पष्ट र जटिल हुँदाहुँदै पनि ‘खुकुलो’ बन्दाबन्दी खोजियो भने परिणाम प्रत्युत्पादक हुनसक्छ ।