दीनानाथ शर्मा
केही हप्ता पहिले न्यूयोर्कका गभर्नर एन्डर्स कुमोले नर्सिङ होममा कोरोना भाइरस महामारीको सङ्क्रमणलाई ‘सुख्खा घाँसमा लागेको आगोको संज्ञा’ दिनुभएको थियो । २०७७ वैशाख १३ को गोरखापत्र दैनिकले ‘नर्सिङ होममा आश्रित १३ हजारभन्दा बढीको मृत्युले अमेरिका चिन्तित’ भन्ने समाचार प्रकाशित ग¥यो । वैशाख २० को नागरिक खबरले ‘न्यूयोर्कको एउटै नर्सिङ होममा ९८ जनाको मृत्यु’ समाचार प्रकाशित गर्यो । ‘यो अत्यन्तै हृदयविदारक छ । अपूरणीय क्षति भएको छ । असम्भव र अकल्पनीय घटना भएको छ, मैले पत्याउनै सकिरहेको छैन’ भन्दै न्यूयोर्कका मेयर विलडे ब्लसियोले दुःख व्यक्त गरेको अर्को समाचार प्रकाशित भयो ।
बेलायतमा लामो समयदेखि रहँदै आउनुभएका रविजङ लामिछानेले फोन सम्पर्कमा बेलायतका विभिन्न नर्सिङ होममा १२ हजारभन्दा बढी वृद्धवृद्धाको मृत्यु भइसकेको तर कुल मृत्युसङ्ख्यामा नर्सिङ होमको सङ्ख्या सामेल नरहेको बताउनुभएको थियो ।
स्पेन सरकारले जवानहरूको उपचारमा प्राथमिकता देऊ भन्ने आन्तरिक निर्देशन दिएको कुरालाई
ज्येष्ठ नागरिकको उपचारमा संलग्न डाक्टरहरूले सार्वजनिक रूपमै असहमति र असन्तोष व्यक्त गरेको खबर पहिल्यै आएको थियो ।
यी दृष्टान्तले मनमा चसक्क छोएको छ । जीवनको अन्तिम क्षणमा बेसहारा वृद्धवृद्धाहरू राम्रो उपचारविना एकै चिहान हुनुपरेको दुःखद समाचारले कोमल पूर्वीया मनलाई संवेदनशील बनाउनु स्वाभाविकै हो । भूगोलको दूरीले मानव संवेदनाको गहिराइ छोड्न सक्दैन । यद्यपि हामीसँग बन्दाबन्दीको बेला सहानुभूतिको श्रद्धासुमन चढाउनुबाहेक गर्नसक्ने केही भएन ।
अहिले पश्चिमा समाजमा करोडौँ वृद्धवृद्धा वृद्धाश्रम, हेरचाह केन्द्र, नर्सिङहोममा आश्रित छन् । पश्चिमा समाजलाई सभ्य, सुसम्पन्न, सुरक्षित, अधिकारमुखी समाज भनेर दाबी गरिँदै आएको छ । आर्थिक समृद्धिमात्रै होइन, विज्ञान प्रविधिका क्षेत्रमा समेत श्रेष्ठता हासिल गरेको भनिन्छ तर त्यही सभ्य, सम्पन्न र सचेत भनिएका राष्ट्रहरूमा ज्येष्ठ नागरिकप्रतिको अमानवीय, निर्दयी व्यवहार र ज्येष्ठ नागरिकको स्वास्थ्योपचारप्रतिको उपेक्षाभावले पश्चिमा समाजको आपराधिक र स्वार्थी चरित्रलाई प्रष्ट पार्छ । नारा र व्यवहारमा यति ठूलो अन्तर किन हुन्छ ?
पश्चिमा समाजले सामूहिक पारिवारिक संरचनालाई विघटन गरेको छ । १८ वर्षपछि छोराछोरी बाबुआमाबाट अलग हुन्छन् । बाँच्ने शैली, कामको प्रकृति रुचि स्वभावले छोराछोरी आमाबुबाबाट धेरै पर पुगेका हुन्छन् । भावनात्मक सम्बन्ध जीवनको पछिल्लो चरणसम्म पुग्दापुग्दै विच्छेद हुन्छ ।
त्यसले ज्येष्ठ नागरिकहरू जीवनको उत्तरार्धमा बेबारिसे बनेका छन् । राज्यले वृद्धवृद्धालाई निर्वाह भत्ता दिएको छ । औकात अनुसारका नर्सिङ होमले भावनात्मक र मानसिक सेवा र सन्तुष्टि दिन सम्भव छैन । अलग स्वभाव, शैली, भावना, रुचि र अलगअलग भाषा, धर्म, संस्कृति भएका ज्येष्ठ नागरिकलाई एउटै प्रकारको यान्त्रिक र औपचारिक सेवाले उनीहरूको मन रमाउँदैन तर पनि सेवाश्रमको शरणमा जान बाध्य पारेको छ सामाजिक संरचनाले ।
राज्यको आवश्यकता र आआफ्नो योग्यता क्षमता अनुसार जीवनको ऊर्जाशील समय देशको सेवामा समर्पित गरेका, राष्ट्रको सान उच्च राखेका हुन्छन् तिनैले । उनीहरू देशका लागि लडे, सेनामा भर्ना भएर । खेतबारी, कारखाना, बन्दव्यापारमा सक्रिय भएर राज्य चलाउँछौं भन्नेहरूलाई रगत र पसिनाले कर चुक्ता गरे । पाखुरीमा तागत हुँदासम्म उनीहरूको महत्व भयो तर आज कोरोना भाइरसको मुखमा उपचार नपाएर मृत्युवरण गर्दैछन् उनै ज्येष्ठ नागरिकहरू ।
पश्चिमाहरू आर्थिक रूपमा सम्पन्न छन् । धनदौलतको कुनै कमी छैन । सरकारको शरणमा बाँच्न बाध्य पारिएका असहाय वृद्धवृद्धालाई मर्ने बेलामा त्यो धनदौलतले कुनै काम दिएन । आखिर मृत्युपछि उनीहरूको सम्पत्ति चर्च, क्लब वा सरकारको हुने होला । आफ्नो आर्जन आफैँ उपभोग गर्न नपाई मर्दैछन् अहिले उनीहरू । बिचरा ! स्वार्थी समाज, मतलवी समाजको चरित्र हो अर्कोलाई कुनै मतलव वास्ता नगर्नु । मानवीय संवेदना र दयाको आत्मा मरिसकेको छ पश्चिमा विश्वमा । कोरोनाको कहरमा आखिर तिनीहरू नै शिकार हुन पुगेका छन् ।
नर्सिङ होममा आश्रित ज्येष्ठ नागरिकले उपचार पाएनन् । राम्रो हेरचाह भएन । अस्पतालसम्म पुर्याउने आफन्त भएनन् । सरकारले नर्सिङ होममा स्वास्थ्यकर्मी पठाएर समयमै स्वास्थ्य परीक्षण गराउने रुचि देखाएन । त्यसैले आज विश्वमा ६५ वर्षभन्दा माथिको उमेरसमूहका ज्येष्ठ नागरिकको मृत्यु बढी छ भनेर तथ्याङ्कले देखाउँदैछन् । २३ लाख कैदी बन्दी अमेरिकाका जेलमा छन् । उनीहरूको अवस्था झन् दर्दनाक छ भनिन्छ । मानवअधिकारको झण्डा बोकेर हाम्रो देशभित्र आउनेहरू कुन दुलाभित्र छिरे ?
बेलायत सरकारले अस्पतालमा मृत्यु हुने नागरिकको मात्रै तथ्याङ्क सार्वजनिक गरेको छ । नर्सिङ होम र ज्येष्ठ नागरिक स्याहारकेन्द्रमा मृत्यु हुनेको तथ्याङ्क होइन भन्दै आएको छ । राज्यहरूलाई ज्येष्ठ नागरिक बोझ भएका छन् पश्चिमा विश्वमा भन्ने कुरा विभिन्न देशका सरकारले उनीहरूप्रति देखाएको व्यवहारले स्पष्ट हुन्छ । स्पेन सरकारले दिएको निर्देशनले समग्र पश्चिमी मुलुकको ज्येष्ठ नागरिकप्रतिको नीति र दृष्टिकोणलाई प्रष्ट पार्दछ ।
पश्चिमी देशहरूमा वृद्धवृद्धाको रेखदेखमा परिवार र सामाजिक दायित्व छैन । वृद्ध आमाबाबुको जीवनको अन्तिम क्षणमा सेवासुश्रूषा गर्नुपर्छ भन्ने नैतिक र मानवीय दायित्व हुँदैन छोराछोरीको । नौ महिना गर्भमा राखेर दशधारा छाती चुसाउने आमाको दुर्दान्त मरणमा शोक व्यक्त गर्ने र दुई थोपा आँसु चुहाउने कोही हुँदैन । कति निर्दयी कति मतलवी र स्वार्थी समाज हो त्यो ! एकल परिवार प्रणालीले कठोर ढुङ्गाको मन बनाइदिएछ छोराछोरी र आफन्तहरूको । उपेक्षा र अपमानको शिकार भएका छन् नर्सिङ होममा बाबुआमाहरू ।
लमजुङ जन्मघर भएका र हाल छोराछोरुी भेट्न अमेरिका पुगेका मङ्गल दाइलाई उतै कोरोनाले भेट्यो । अस्पतालले लिन मानेन । उहाँले त्यहाँ राम्रो उपचार पाउनुभएन । बिचरा ! उतै न्यूयोर्कमा बितेको खबरले दुःखी बनायो । बाग्लुङ नगरपालिका वडा नं. १२ का मेरै छिमेकी कर्णबहादुर केसी नानीको बिहेमा बेलायत जानुभएको थियो । उहाँलाई महामारीले उतै भेटेछ । डाक्टरले उपचार गर्न मानेनन् । अस्पतालले लिएन । आखिर उतै बितेको खबर आयो । उहाँसँगै जानुभएकी श्रीमती र अरु परिवारका सदस्य सबैलाई महामारीले छोयो । नेपालीहरूले अस्पतालमा भर्ना हुन पाएका छैनन् भन्ने खबर सुन्दा दुःख लाग्छ । पश्चिमा मुलुकमा सबैतिर मृत्यु हुनेको सङ्ख्या आप्रवासीको सङ्ख्या बढी छ भन्ने आएको छ । कोरोना भाइरसजस्तो मानवजातिकै खतरनाक दुश्मनसित सबै एक भएर लड्ने बेला उपचार र व्यवहारमा भएको भेदभाव निन्दनीय छ । यो मानव संवेदनाशून्य निर्दयी र आपराधिक राजनीतिक चरित्रले उत्पन्न गरेको विकृति हो । भेदभाव, पक्षपात, अपमान र उपेक्षा एकल पश्चिमा समाजका विशेषता बनेको छ ।
एकल परिवार प्रणाली पश्चिमा समाजमा छ । परिवारमा रमाउने र समूहमा बस्ने अवसरबाट वञ्चित छ प्रत्येक नागरिक । आत्मकेन्द्रित व्यक्तिवादी समाजमा व्यक्तिले अरुको वास्ता गर्ने आवश्यकता देख्दैन । परिवारमा बस्ने सामाजिक वातावरण नभएर स्याहारकेन्द्रमा शरण लिन बाध्य छन् पश्चिमा देशका ज्येष्ठ नागरिकलाई भाइरसले बढार्दैछ । सरकारले वास्ता गरेको छैन । प्रभुले बचाउन सकेका छैनन् ।
यता, सामूहिक पारिवारिक प्रणालीमा खडा छ पूर्वीय समाज । मातृदेवो भव, पितृदेवो भव, अतिथिदेवो भव । यी आदर्श वचन हुन् पूर्वीय संस्कृतिका । यी केवल आदर्श वचन मात्रै होइनन् हाम्रो पारिवारिक र सामाजिक प्रणालीका वैज्ञानिक प्रणाली पनि हुन् । यसभित्र दया, माया, आत्मीयता र मानवताको उत्कृष्ट अभिव्यक्ति छ । सामूहिकता र मर्यादा छ । सहअस्तित्व, समभाव, समन्वय र सहकार्य पूर्वीय संस्कृतिको सौन्दर्य हो । त्यसैले हाम्रो समाजमा ज्येष्ठ नागरिक बेवारिसे हुनुपर्दैन ।
वैश्विक महामारीले विश्वका शक्तिराष्ट्रहरूको आर्थिक तथा राजनीतिक प्रणाली गलत सिद्ध गरेको छ । त्यही गलत आर्थिक राजनीतिक सम्बन्धको धरातलमा उभिएको सामाजिक धरातल पनि भत्केको छ । आफ्नै नागरिकको जीवनरक्षा गर्न नसक्ने, नागरिक जीवनप्रति संवेदनशील नहुने र भेदभाव गर्ने प्रणाली बेकार निकम्मा सिद्ध भएको महसुस गर्दैछन् ज्येष्ठ नागरिकहरू ।
(लेखक राष्ट्रिय सभामा सत्तापक्षका नेता हुनुहुन्छ ।)