डा. बिन्दा पाण्डे
आज जेठ ३ गते । हामीले नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रित गुमाएको पीडादायी दिन । हामी त्यस दिन चितवनको ज्यामिरेमा भइरहेको अखिल नेपाल महिला सङ्घको राष्ट्रिय भेलामा उहाँहरूका कुरा सुन्ने अपेक्षामा थियौँ तर अपसोच दासढुङ्गामा गाडी दुर्घटना भएको खबर आयो । हामी सबै कार्यक्रम स्थगित गरेर त्यतै लाग्यौँ । आज, भौतिक रूपमा गुमाइएका तर भावनामा सधैँ प्रेरणाका रूपमा जीवित रहनुभएका ती आदरणीय नेताहरूप्रति हार्दिक श्रद्धाञ्जलि ।
त्यो विस्मयकारी घटनापछि हामीले भन्दै आयौंँ, दासढुङ्गा घटनाले दिएको पीडालाई शक्तिमा बदल्नुपर्छ । त्यतिखेर हामी त अलि युवा नै थियौँ । मदन–आश्रितका समकक्षीहरूलाई अझै बढी पीडा भयो होला । त्यसैले पनि मदन र आश्रितको व्यक्तित्व, जीवनशैली र उहाँहरूले नेपाली कम्युनिस्ट आन्दोलनमा पुर्याउनुभएको योगदान र लिन सकिने शिक्षाका बारेमा उहाँहरूका सहकर्मीहरूले गर्नुभएको व्याख्या र विश्लेषणले त्यही पदचाप पछ्याएर अगाडि बढ्न नयाँ पुस्तालाई प्रेरित गर्दथ्यो । हामी मदन–आश्रितको सामीप्यमा रहेर धेरै काम गर्न नपाएका तर दूरीबाट उहाँहरूको आदर्श नेतृत्वको उचाइ अनुभूत गर्दै आएका कार्यकर्तालाई राष्ट्रको स्वाधीनता र जनताको स्वाभिमानका लागि निरन्तर काम गर्न प्रेरित गर्दथ्यो । किनारामा पारिएका जनतालाई मूलधारमा ल्याउन र आवाजविहीनहरूको आवाज बन्दै समानतामा आधारित समाज निर्माणका लागि सामाजिक न्यायका पक्षमा लामबद्ध हुन प्रतिबद्ध बनाउँथ्यो । “आजका युवा हो, भविष्य तिमीहरूको हो । यसर्थ त्यो दायित्व बोक्ने सामथ्र्यवान हुन क्षमता, सीप र साहसका साथ आफूलाई तयार गर“ भन्ने जस्ता प्रेरणादायी भनाइहरूले युवा समुदायमा ऊर्जा थप्ने गर्दथ्यो ।
सर्वहारावर्गको अधिनायकत्वको सोचलाई परिवर्तन गर्दै समकालीन नेपालमा शासनसत्ता सञ्चालन गर्न जनताको मन र मत दुवैबाट अनुमोदित हुनुपर्छ भन्ने लोकतान्त्रिक मूल्यलाई पार्टी नीतिका रूपमा स्थापित गर्ने कुरा सहज थिएन । तर त्यो साहसले नै मदन भण्डारीलई राजनीतिको टाकुरामा पुर्यायो । राजनीतिमा पदीय टाकुरामा पुग्नु एउटा कुरा हो तर उक्त टाकुरामा निरन्तर स्थापित हुनु सर्वाधिक महत्वको विषय हो, जुन कुरा मदन भण्डारीले गर्नुभयो । सत्ताको उच्च पदमा पुगेर मात्र राजनीतिक उचाइ हासिल गर्न सकिन्छ भन्ने कुरालाई मदनको उचाइले त्यतिखेरै खण्डन गरिदिएको थियो । आज पटकपटक पार्टी र राज्यको उच्च पदमा रहेर कार्यकर्ता र आम नागरिकका सामु परीक्षित भइसकेको नेतृत्वले सत्ताको उच्च कुर्सीमा कहिल्यै मोह नदेखाएका मदन भण्डारीको उचाइबाट सिक्ने समय घर्किसकेको छैन ।
“राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन“ भन्ने मदनको भनाइ आधारभूत लोकतन्त्रको विकास र जनताको हितका पक्षमा गर्ने कामका सन्दर्भमा थियो भन्ने लाग्छ तर पछिल्ला दिनमा निर्दिष्ट गन्तव्यलाई समेत भुलेर सीमित व्यक्तिका क्षणिक स्वार्थपूर्तिका सन्दर्भमा समेत मदन भण्डारीको त्यो भनाइ सिरानी हाल्न थालियो । परिणाम सत्ता प्राप्तिका लागि अराजनीतिक गठबन्धन र कुर्सी प्राप्तिका लागि मूलबाटो छाडेर खट्प्वालसमेतको यात्रा हुनथाल्यो । राजनीतिका निष्ठाले जेलनेल र यातना बाध्यात्मक परिस्थितिले ल्याउने एउटा अवस्था हो तर त्यो नै नेतृत्व गर्ने सम्पूर्ण योग्यता होइन भन्ने कुरा पनि मदन भण्डारीले उहिल्यै प्रमाणित गरिसक्नुभएको छ ।
मदन र आश्रितका ती आवाजहरू भौतिक रूपमा बिलाएको आज २७ वर्ष भएको छ । तर त्यसका प्रतिध्वनिहरू नेपाली समाजमा अझ पनि गुञ्जिँदैछन् । तर जति समय बित्दैछ, ती आवाज मधुर बन्दै गएको आभास हुँदा अब डर लाग्न थालेको छ, कतै हिजोका ती स्वाभिमानी गर्जनहरू भोलि कुनै समयको कथा भएर विलीन भएर जाने त होइन ? राजनीतिक टाकुरामा आदर्श बनेका ती विम्बहरू कतै आजको राजनीतिमा देखिन थालेका स्वार्थका धब्बाहरू र मौलाउन थालेका अराजकताका तुवाँलोले छोपिने त होइन ? यो विषयमा सबैभन्दा बढी तिनै समकक्षीहरूले सोच्नुपर्ने हो तर ती दिनका सहकर्मी र समकक्षीबीच आज देखापरेकोे अमर्यादित सम्बन्धहरू, अपारदर्शी र गुटगत गतिविधिहरू र अस्वच्छ उछिनापाछिनले यो आन्दोलनलाई यहाँसम्म ल्याउन जीवनका सुनौला क्षणहरू लगानी गर्ने कार्यकर्तामा मात्र होइन, आम नागरिकमा समेत निराशाका बादलहरू लाग्न थालेका छन् ।
हिजोका समर्पणको उचाइले आदर्श बनेका नेतृत्व आज पदीय उचाइ र स्वार्थकेन्द्रित गतिविधिका कारण धस्सिन थालेको व्यक्तित्वको बारेमा सचेत हुने, आत्मसमीक्षा गर्ने र आ–आफ्नो ठाउँबाट जनानुभूति हुने गरी सच्चिएर देखाउने समय आइसकेको छ । अन्यथा कार्यकर्तामा आएको निराशा र आम नागरिकमा छाएको असन्तुष्टिको हुण्डरीका सामु आज पौँठेजोरीमा कस्सिएका कसैको धरातल बाँकी नरहन सक्छ । आजको खुला समाजमा सूचनाको प्रवाह यति गतिशील छ, कसैका कुरा लुकाएर लुक्ने वा छिप्नेवाला छैन । यसैले फेरि पनि मदन भण्डारीका भनाइ ‘अबको समय जनताको मन र मत दुवैलाई जितेर उनीहरूलाई सँगसँगै लिएर शासन गर्ने समय हो’ भन्ने कुरालाई गहिराइमा मनन गर्न ढिला गर्नुहँुदैन ।
कुशल सङ्गठकको रूपमा स्थापित आश्रितको भनाइ थियो “सङ्घर्षको कुनै सीमा हुँदैन“ । त्यो सामाजिक रूपान्तरणको अभियानलाई जवानीसँग साटेर हिजो सङ्घर्षका हरेक मोर्चामा काँध थाप्ने कार्यकर्ता किनारा लाग्ने र अवसरका साथी स्वार्थ समूहको चौघेराले आज बनेको राजनीतिक उचाइ पनि जोगिन सहज छैन । आजको नेतृत्वले बनेको उचाइलाई कायम राख्दै अभिभावकीय भूमिका कसरी भन्नेतर्फ सोच्ने समय आयो भन्ने अनुभूतिसहित योजना बनाउँदा बुद्धिमानी हुनसक्छ ।
पार्टी एकता र जनताको अपेक्षा
निर्वाचन प्रणालीवाट सायद दुनियाँमा पहिलोपटक कम्युनिस्ट पार्टीको सरकार बनेको तत्कालीन नेकपा एमालेले गठन गरेको नौमहिने सरकार हो । उक्त सरकार बनावटमा अल्पमतको र अवधिले छोटो भए पनि यो नागरिकबीचमा उदाहरणीय बन्यो । त्यतिखेरको राज्यको स्रोत विन्यासको सुरुवातीले गाउँ–गाउँमा पूर्वाधार विकासको जग बसाल्यो । लामो समयदेखि आन्दोलनको नारा बन्दै आएको असमान सन्धि खारेजीको विषय, पुनरवलोकन गर्नुपर्दछ भनेर औपचारिक रूपमा टेबलमा राखी संवादको विषय बनाइयो ।
यी गतिविधिले नेपाली नागरिकको स्वाभिमानमा उचाइ थप्यो । तिनै जनपक्षीय काम दुई दशकसम्म जनताको मत माग्न काम लाग्यो । २०७२ को नाकाबन्दीका बेला “भूगोल सानो वा ठूलो हुनसक्छ । जनसङ्ख्या थोरै वा धेरै हुनसक्छ तर राष्ट्रको अखण्डता, राष्ट्रिय स्वाधीनता र नागरिक स्वाभिमान घटीबढी हुनसक्दैन“ भन्ने अडानले कम्युनिस्ट पार्टीप्रति जनताको अपार समर्थन बढायो । मुलुकमा एकल कम्युनिस्ट शक्ति र कम्युनिस्ट पार्टीको स्थिर सरकार बन्यो भने अरु धेरै जनआकाङ्क्षा पूरा हुनेछ भन्ने जनचाहना उत्कट भयो । २०७४ को निर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टी मिलेर निर्वाचन लडे । जनताले सोही अनुसार मत दिए । समयक्रममा पार्टी एकता गरेको पनि आज दुई वर्ष पूरा भएको छ ।
जनताले दिने जनादेश दिए । पार्टीले गर्ने एकता पनि गरे तर त्यसपछि यसलाई जसरी सशक्तता दिइनुपथ्र्यो हुनसकेन । पार्टी एकताको काम अझै पूरा भएको छैन । संसद्, सरकार र पार्टीबीच आवश्यक समन्वय हुनसकेन तर जे नहुनुपथ्र्यो त्यो हुनथाल्यो । विधानतः पार्टी चलेन । सिद्धान्तअनुसार नेता चलेनन् । प्रद्धतिअनुसार कार्यकर्ता चलेनन् । जनादेशअनुसार सरकार चलेन ! आगामी दिनमा यही सरकारको सक्षमता र सफलतामा उभिएर जनतासमक्ष जाने हो । कुन नेताले के गरे ? दलभित्र शक्ति संरचना कस्तो बन्यो ? शक्तिविन्यास कसरी गरियो ? यो आम जनताको चासोको विषय होइन । जनताको चासो जनताका हितमा कति काम भए ? राष्ट्रिय स्वाधीनता र नागरिकको स्वाभिमानको पक्षमा कति उचाइ थपियो ? यिनै कुराका आधारमा जनताले मत दिने हुन् । व्यक्तिका चर्का कुराको पार्टीको आन्तरिक बहस विवादमा को कति उत्कृष्ट ठहरियो भन्ने आधारमा लोकतन्त्र बलियो हुन्छ भन्ने कसैलाई लागेको छ भने त्यो भ्रम मात्र हुनेछ ।
अब पुस्तान्तरण
दुनियाँमा नेतृत्व हस्तान्तरण सामान्यतया दुई कार्यकाललाई दिने गरिन्छ । कुनै पनि व्यक्तिले आफ्नो क्षमता र योग्यताले भ्याएसम्मको सिर्जनशीलताको प्रयोग एक दशकमा गरिसक्छ । तर दक्षिण एसिया आम रूपमा आफू रहेसम्म अर्को पुस्ताका कार्यकर्तामा क्षमता नै नदेख्ने र पदविना पनि मानवीय मर्यादासहितको आदर्श जीवन हुन्छ भन्ने कल्पना नगर्ने प्रवृत्तिबाट मुक्त छैन । अहिले नेपाल कम्युनिस्ट पार्टी पनि यही दलदलमा फसेको छ ।
नेकपाको उच्च नेतृत्व औसतमा चार दशकदेखि एउटै तहमा रहँदै आएको छ । अनि एक दर्जन नेतृत्वको बीचमा कुन पदमा को र कहिले भन्ने ‘म्युजिकल चेयर’को खेल झैँ चक्कर चलेकै छ । हाम्रो सन्दर्भमा अरु मुलुकमा झँै दुई कार्यकाल वा एक दशक भन्ने कुरा अहिले अव्यावहारिक हुनसक्छ । पार्टीलाई चलायमान बनाउने र नयाँ उचाइमा लैजाने हो भने अब त्यस दिशामा जानुको विकल्प छैन । जनतामा गुम्दै गरेको विश्वास र कार्यकर्तामा ओरालोलाग्दो भरोसालाई पुनः प्राप्ति गर्ने हो भने नेतृत्व आफैँबाट यो पुस्तान्तरणको प्रस्ताव आउन जरुरी छ । आगामी महाधिवेशनपछि पार्टीको कार्यकारी भूमिका र निर्वाचनपछि राज्यसत्ताको कार्यकारी भूमिका पुस्तान्तरणमा जाँदा नेतृत्व पुस्तान्तरणको सहज बाटो तय हुनेछ । अनि यो अनुभवसिद्ध पुस्ता अभिभावकीय भूमिकामा नयाँ पुस्ताको कामलाई नियाल्दै मार्गनिर्देशक बन्न तयार हुनुपर्दछ ।
(लेखक नेकपाका सांसद हुनुहुन्छ ।)