प्रदीप नेपाल
नेपालमा ९० प्रतिशत वामपन्थी नेतामा माक्र्सवाद, लेनिनवादको अभावमा अधुरो हुन्छ भन्ने बुझाइ छ । अर्थात् माक्र्सवाद–लेनिनवाद एउटै हैसियतका दृष्टिकोण हुन् । यी अविभाज्य छन् ।
कहिलेबाट यो सोच नेपालमा भित्रियो अहिले भन्न सकिन्न । हुनसक्छ, नेपालमा माओत्सेतुङ विचारको आयातपछि नेपाल लगायतका दक्षिण एसियाका क्रान्तिकारी पार्टीहरूले माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधारालाई मार्गदर्शक सिद्धान्त माने ।
निकै लामो समयपछि माओत्सेतुङ विचार मार्गदर्शक सिद्धान्त हट्यो तर माक्र्सवाद र लेनिनवाद जुम्ल्याहा दाजुभाइ जसरी हुर्किइरहे । हामीले पढेकै हो– माक्र्सले पुँजीवादको चिरफार गर्नुभयो अनि लेनिनले त्यसको विकास गरेर साम्राज्यवादको चिरफार गर्नुभएको हो । माओत्सेतुङ विचारधारा बहिर्गमन गरेपछि पनि नेपाली कम्युनिस्ट लेनिनवादको उल्टो दौडमा लागिरह्यो । त्यतिबेला हाम्रो लोगो थियो– माक्र्सवाद, लेनिनवाद, जनताको जनवादी अधिनायकत्व ।
माक्र्सवादीहरू भन्छन्– पदार्थले चेतना निर्धारण गर्छ । अर्थात् पहिले भौतिक संसार त्यसपछि मानिसको चेतना । पहिले आँखाले देख्छ, पछि मनले चिन्तन गर्छ ।
यो राजनीतिक कार्यकर्ताका लागि हो, राजनेताका होइन । पुष्पलालपछि एकीकृत या विभाजित सप्पै कम्युनिस्ट पार्टीका नेताहरूले राजनीतिक कार्यकर्ताकै भूमिका खेले । ३५ वर्षसम्म, बारम्बार हार्दा पनि कसैले पराजयको बारेमा आत्मचिन्तन गरेनन् र नेपालको कम्युनिस्ट आन्दोलनको समस्याको चिरफार गर्न सकेनन् ।
यही बिन्दुबाट मदन भण्डारीको राजनेताको राजनीति आरम्भ हुन्छ । पुँजीवाद, सामन्तवादभन्दा बढी प्रजातान्त्रिक हुन्छ भने समाजवाद त पुँजीवादभन्दा बढी प्रजातान्त्रिक हुनुपर्ने हो– चिन्तकहरू यसरी नै सोच्छन् । यही कुरामा मदन भण्डारी समकालीन नेताहरूमा सबैभन्दा माथि हुन पुग्नुभयो । नेतामात्र होइन, चिन्तक र विचारकसमेत हुनुभयो । यही प्रजातान्त्रिक सोचका कारण मदन भण्डारी अरुभन्दा पृथक् हुनुभयो ।
उहाँले पार्टीको स्थायी कमिटी ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रस्ताव राख्नुभयो । त्यतिबेला त्यसको परिचय बनेको थियो– कम्युनिस्ट पार्टीको लोकतन्त्रीकरण । त्यतिबेलाको कम्युनिस्ट पार्टी (एमाले) अहिलेजस्तो भद्रगोल थिएन । कम्युनिस्ट पार्टीको सङ्गठनात्मक सिद्धान्त थियो ‘जनवादी केन्द्रीयता’ । अहिलेजस्तो दुई अध्यक्ष वा सचिवालयले आदेश जारी गर्ने पार्टी कसरी कम्युनिस्ट पार्टी हुन्छ ? यो मैले नजानेको कुरा हो । उतिबेला केन्द्रीय कमिटी सबैभन्दा माथिल्लो हुन्थ्यो । स्थायी कमिटी केन्द्रीय कमिटीको सचिवालय हुन्थ्यो । त्यसैले केन्द्रीय कमिटीले निर्णय नगरुञ्जेल स्थायी कमिटीको एजेण्डा केन्द्रीय कमिटीको सम्पत्ति हुन्थ्यो । केन्द्रीय कमिटीका सदस्यबीच त्यो छलफलको विषय हुन्थ्यो ।
सायद त्यतिबेलाको स्थायी कमिटी ११ वा १३ जनाको थियो । यसको अर्थ जनताको बहुदलीय जनवादको पक्षमा स्थायी कमिटीका छ या सात नेताहरू पनि उभिनुभएको थिएन । यो निकै दुःखद पक्ष थियो हाम्रो पार्टीका लागि । नयाँ जनवादको पक्षमा बहुमत अनि जनताको बहुदलीय जनवादको पक्षमा अल्पमत । बहुमतको पक्षमा खुलेरै लाग्नेमा अध्यक्ष मनमोहन अधिकारी, सहाना प्रधान, झलनाथ खनाल, सी. पी. मैनाली आदिजस्ता तत्कालीन समयमा दिग्गज मानिएका नेताहरू, अर्कोतिर भर्खर भर्खर राजनीतिको मैदानमा देखापरेका मदन भण्डारी ! त्यो अल्पमत–बहुमतको विवादमा अरुको के भूमिका रह्यो मलाई थाहा भएन । माधव नेपाल चाहिँ बहुदलीय नयाँ जनवादको पक्षमा हुनुहुँदोरहेछ । दुवै पक्षलाई मिलाएर लैजाने असल मान्छेजस्तो ।
मदन भण्डारीका सामु दुईटा छनोट थिए– सबै ठूला मानिएका नेताहरूसँग सम्झौता गरेर जाने या आफ्नो मतलाई केन्द्रीय कमिटीसम्म लैजाने । मदन भण्डारीले दोस्रो बाटो छान्नुभयो । सबैलाई थाहै छ– पार्टीको पाँचौँ महाधिवेशनमा जनताको बहुदलीय जनवाद, नेपालको कम्युनिस्ट आन्दोलनमा नवीन विचारका रूपमा ६० भन्दा बढी प्रतिशत ल्याएर अनुमोदन भयो । तर दम्भ थिएन मदन भण्डारीमा । त्यस्तो विशाल मतले जित्दा पनि पराजित पक्षका सबै नेतालाई केन्द्रीय कमिटीमा निर्वाचित गर्नुपर्छ, नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँहरूको महत्वपूर्ण भूमिका छ, यसको लागि चुनाव होइन, सहमतिको बाटो चुनौँ बरु, भन्नुभयो ।
तत्कालीन समयमा बँचेका सबै कम्युनिस्ट समूहले संशोधनवाद भनेको ‘जनताको बहुदलीय जनवाद’ ले ०५१ मा सरकार गठन गरेर, नेपालका वामपन्थीहरू पनि सरकार चलाउन सक्षम छन् भन्ने सन्देश दिएको थियो ।
तर अहिले हामी कुन अलमलमा छौँ ? राजनीति वर्गको हुन्छ व्यक्तिको होइन । त्यसैले मदन भण्डारीले उतिबेलै उद्घोष गर्नुभएको थियो, ‘राजा रहनु र नरहनु कुनै ठूलो कुरो होइन । मुख्य कुरो देशलाई दलाल पुँजीवादको चक्रव्यूहबाट मुक्त गर्ने हो ।’
अहिले हामी मदन भण्डारीको यो उद्घोष पालन गरिरहेका छौँ ? कि हामी रोजा लक्जम्बर्गले भनेजस्तो प्रजातन्त्र कि अधिनायकत्व भन्ने चक्रव्यूहमा घुमिरहेका छौँ ?
मेरो निष्कर्ष हो, हामी रोजा लक्जम्बर्गले भनेको घनचक्करमा घुमिरहेका छौँ अहिले पनि । नेकपाले निर्णय लिनुपर्छ चाँडै– कता जाने हो ? सोभियत सङ्घलाई गल्र्यामगुर्लुम ढाल्ने अधिनायकत्वतिर कि माक्र्सवादी सिद्धान्तलाई निरन्तरता दिने जनताको बहुदलीय जनवादतिर !
(लेखक नेकपाका नेता हुनुहुन्छ ।)