मानिस हुनुको एउटा मापदण्ड– ऊभित्र संवेदना हुनुपर्छ । असल मानिसले अर्काको दुःख अनुभूत गर्छ । मानिसमा विवेचना र तर्क गर्ने शक्ति हुन्छ । यिनै गुणले एउटा प्राणी मानिस भएको हो । कोरोना (कोभिड–१९) को सङ्क्रमण नियन्त्रण गर्न सरकारले बन्दाबन्दी घोषणा गरेको बेला संयम, धैर्य र सुझबुझको अझ बढी आवश्यकता पर्छ । यस्तो अवस्थाको मानसिक तनावको परिणाम अर्को दुःखद उपार्जन हुन्छ । यी दुष्परिणामबाट जोगिन मन शान्त गर्दै रोगविरुद्धको प्रतिरोधात्मक शक्ति वृद्धि गर्नुपर्ने जानकारले बताउँदै आएका छन् । सूचना प्रविधिका कारण उपलब्ध सेवाबाट कोरोनाबारे क्षणक्षणका विश्व घटना जान्न सकिनेछ । कोरोनाका कारण बन्दाबन्दी घोषणा गरिएको ५० दिनको अवधिमा नेपाली उपभोक्ताले प्रयोग गरेका सामाजिक सञ्जालको कन्टेन्ट एनालिसिस (सामग्री विश्लेषण) गर्ने हो भने धेरैमा सामाजिक सञ्जालको विषय, भाषा, प्रस्तुति, मानवीय संवेदनशीला तथा विद्यमान कानुनी प्रावधानबारे जानकारीको अभाव देखिन्छ । केहीमा संवेदनहीनता र उद्दण्डता देखिन्छ । नेपालमा सङ्क्रमितको सङ्ख्या ५० को हाराहारी पुग्दा ‘हाफ सेन्चुरी’ एक सयको नजिक पुग्दा ‘सेन्चुरी’ जस्ता शब्द प्रयोग गरेर सामाजिक सञ्जालको व्यापक दुरुपयोग गरिएको पाइएको छ । एक नेपाली सुत्केरीको अस्पतालबाट निवास गएपछि अस्वस्थ भएको, उपचारका क्रममै उनको निधन भएपछिको परीक्षणमा कोरोना पोजिटिभ पाइएको घटना सन्दर्भमा विदेशमा बस्ने एक वकिलले लेखे ‘नेपालले खाता खोल्यो ।’ घरभित्रै बसेर सामाजिक विलास गर्ने विद्वत्जनले पनि यसैगरी मजाकमा लेखिरहे । सामान्य नागरिक होइन, वकिल– विद्वानलाई शब्दको प्रयोग कुन अवस्थामा कसरी गर्ने भन्ने थाहा हुँदैन ? यस्ता संवेदनहीनहरूले मानव सभ्यतालाई अमानुषिक बनाउँदै लगेका छन् ।
सामाजिक सञ्जालका अर्काथरी प्रयोगकर्ता छन् जो राम्रो गरेको छु भनेर नराम्रो भएको थाहा पाउँदैनन् । उनीहरूले तिनै निधन भएकी सुत्केरीको तस्बिर राखेर सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनीहरूले हेक्का गर्नुपर्ने थियो, राज्यले उनको पहिचान सार्वजनिक गरेको छ, छैन ? यस्ता तस्बिर प्रयोग गर्न सम्बन्धित व्यक्तिको परिवारबाट अनुमति लिनुपर्छ, पर्दैन ? यस्ता तस्बिर तथा कमेन्टले पीडित परिवारका सदस्य त्यसमा पनि बालबालिकाको मनोविज्ञानमा कस्ता प्रभाव पार्ला भनेर सञ्जाल प्रयोगकर्ता संवेदनशील हुनुपर्छ । यतिखेर प्रचारबाजी सकारात्मक कार्यकलापको हुनुपर्छ, नकारात्मकताले आफैँ आफ्नो परिवारको मानसिकतालाई अँठ्याउँछ ।
दुर्घटना, असफलताका प्रचारले मानसिक समस्या, हतोत्साहन, डर, एक्लोपन र क्रमशः जटिल स्वास्थ्य समस्या ल्याउन सक्छन् । नेपालमा सञ्चारका सामाजिक सञ्जालबारे केही कानुनी व्यवस्था गरिएको छ तर कानुनी दृष्टिले भन्दा पनि आफैँ जिम्मेवार र ‘सामाजिक’ भएर यस्ता घटनामाथि विचार व्यक्त गर्नुपर्छ । तर अधिकांश सञ्जाल प्रयोगकर्ताले कोरोनाकालमा सामाजिक माध्यमलाई हँसीमजाक, कुण्ठा र घृणा ब्यक्त गर्ने साधन बनाएको देखिन्छ । सामाजिक सञ्जाल पत्रकारिता होइन । यसले पत्रकारिताको धर्म र मर्म पालना गर्दैन । पेशा पत्रकारिताप्रति यो उत्तरदायी पनि हुँदैन तर पत्रकारिता गर्छु भनेर दर्ता भएका ‘अनलाइन’हरूमा समेत अराजकता कोरोनाकालमा व्यापक बढेको छ । आधिकारिक निकायले पुष्टि नगर्दै यहाँ यति सङ्क्रमित भेटियो भन्ने मात्र होइन, यहाँ यतिको मृत्यु भयो भन्ने उछिनापाछिनमा हुन्छन् । पेशागत मर्यादा समाचार माध्यमले पालना गर्नुपर्छ, किनकि अनलाइन पत्रकारिता हो । यो पत्रकारिताको पेशा, कानुन, आचारसंहिताप्रति उत्तरदायी हुनुपर्छ तर छिटो समाचार प्रसारण गर्ने होडबाजीमा गलत समाचार दिने र त्यसको खण्डन नगरिँदा पत्रकारिता भनिँदैन ।
सरकारले गरेका कामकारबाहीमा देखिने कमीकमजोरीको स्वच्छ विवेचना गर्दै सामग्री प्रस्तुत गर्ने पत्रकारितालाई नेपालको संविधानले पूर्ण स्वतन्त्रता दिएको छ । यस्तो स्वतन्त्रताको उपयोगमा पत्रकारिता चुक्यो भने यसले विश्वसनीयता गुमाउँछ । आममानिसले सामाजिक सञ्जाल र पत्रकारिता, अफवाह र समाचार, आग्रह र सूचनाबीच भिन्नता पाउँदैनन् र उनीहरूले सबै ‘हल्लालाई’ पत्रकारिता भन्न सक्छन् । पत्रकारिता र हल्लाका कारण पनि आममानिसमा कोरोनाको डर र प्रभावका कारण बढेको मानसिक तनावलाई झन् मलजल पुगेको छ । भ्रामक, निराश, असफलताका प्रचारबाट नागरिक अलग रहनुपर्छ । सरकारले जीवनरक्षामा दिएको प्राथमिकताबमोजिम मानसिक समस्याका पीडितहरूको उपचारमा ध्यान पुर्याउनुपर्ने त छँदैछ । सामाजिकजनले मानसिक तनाव बढाउने प्रचार रोक्नुपर्छ ।