logo
२०८१ मंसिर १४ शुक्रवार



फेरिनैपर्छ नीति

विचार/दृष्टिकोण |




श्रीरामसिंह बस्नेत

नेपालका सुप्रसिद्ध साहित्यकार बालकृष्ण समले भनेका थिए– ‘‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ ’’ । अकल्पनीय र अप्रत्याशित रूपमा आएको कोरोना भाइरसले आज सिङ्गै विश्वलाई नै त्राहिमाम् तुल्याएको छ । आफूले गरेको भौतिक र प्राविधिक विकासका आडमा विश्वमा आफूलाई सर्वशक्तिमान कहलाउन पुगेका कथित शक्तिशाली र विकसित मुलुक र तिनका हर्ताकर्तालाई एउटा नपत्याउँदो अदृश्य जीवाणुले ती शक्तिशालीका वास्तविक हैसियत र क्षमता देखाइदिएको छ । प्रकृतिको निर्मम दोहन गरेर ठड्याइएका भौतिक विकासका महलहरू आज तासको घरसरह भएका छन् ।
पहिलो र दोस्रो विश्वयुद्धपछि मानव जगत्मा निकै धेरै परिवर्तन नआएका होइनन् । कतिपय सकारात्मक प्रयास पनि भएका हुन् तर पनि विवेक र नैतिकतालाई भन्दा क्षणिक लाभ र फोस्रो धाकरवाफलाई बढी महत्व दिइएकाले जुन किसिमले पृथ्वीभरिका सम्पूर्ण मानव जगत्को कल्याण हुनुपर्ने थियो त्यो हुनसकेन । विकासको दर्शन नै गलत बाटोतर्फ गयो, अर्थात् बलियो झन् बलियो हुँदै जानु, अनि निर्धो झन् निर्धो हुँदै जानुलाई नै विकास मान्न थालियो । प्रकृतिले मानव जगत्लाई वरदानका रूपमा दिएका विकल्परहित वस्तुहरूको संरक्षण र संवद्र्धन गर्नुको साटो त्यसको अनादर गर्ने अक्षम्य गल्ती मानवनिर्मित तथाकथित विकासले ग¥यो ।
खाद्यान्नको कुनै विकल्प छैन । विज्ञान र प्रविधिले जति फुर्ती लगाए पनि न त धान, गहुँको एक दाना उमार्न सक्छ, न त कुनै फलफूल वा तरकारी फलाउन सक्छ । विज्ञानले दुई भाग हाइड्रोजन र एक भाग अक्सिजनबाट पानी बन्छ भनेर व्याख्या त गर्न सक्यो तर पानी नै उत्पादन गरेर तिर्खाएका मानिसको प्यास मेटाउन भने सकेको छैन । विज्ञान र प्रविधिले माध्यमको काम गर्न सक्छन्, सृष्टि गर्न सक्दैनन् । स्रोतमा भएको पानीलाई भण्डारण गरेर, शुद्धीकरण गरेर घरघरका धारामा पु¥याउन सक्छन् तर आफैँ पानीको स्रोत बन्न वा बनाउन सक्दैनन् । खाद्यपदार्थ उत्पादन गर्ने क्षमता उर्बर माटोमा बाहेक अरू कसैसँग छैन तर विकासका नाममा त्यही माटोमाथि निर्मम प्रहार गरी माटोलाई मासेर बनाइएका भौतिक विकासका संरचना सबै चिहानमा परिणत हुन कत्ति पनि समय नलाग्ने रहेछ अहिले स्पष्ट भएको छ । पसिना बगाउने किसानले नै आँसु बगाउनुपर्ने अवस्था रहेसम्म मानव समुदायको कल्याण हुन नसक्ने निश्चित छ । विश्वका प्रत्येक मानिस, चाहे ऊ जुनसुकै देश, महादेश, धर्म, जाति, लिङ्ग, रङ आदिको किन नहोस्, उसको गाँस, बास, कपाससहितको बाँच्न पाउने र अघि बढ्न पाउने अधिकार सुनिश्चित नगरिकन गरिएका अन्य सबै तथाकथित विकासहरू सिसाका महलहरू भन्दा केही होइनन् भन्ने पाठ आज कोरोना भाइरसले सारा संसारलाई सिकाइदिएको छ ।
प्रत्येक विपद्ले केही न केही नयाँ पाठ सिकाएको हुन्छ तर पाठ सिकाउनु र सिक्नु फरक कुरा हो । हामीले पनि विगतमा धेरै किसिमका विपद्हरू भोगेका हौंँ तर पाठ सिकेर सुध्रिने काममा भने हामी पछाडि नै छौँ । अब पनि विकासका नाममा विनाश गर्ने, प्रकृतिको सम्मानको साटो विवेकहीन दोहन गर्ने, मानिस मानिसबीच अनावश्यक विभेद खडा गर्ने, भोकभन्दा भोगलाई महत्व दिने अर्थात् खेतीपातीभन्दा भौतिक संरचनालाई उपलब्धि मान्ने, स्रोत साधनसम्पन्न स्वास्थ्य केन्द्रकै पर्याप्त व्यवस्था नगरी भ्यू टावर र रङ्गशालाको लहडबाजी गर्ने विकास नीति कायमै रह्यो भने भविष्यमा पछुताउनु मात्र पर्नेछ । रोगसँग लड्न प्रत्येक व्यक्तिमा निहित प्रतिरोधक क्षमता (इम्युनिटी पावर) को निर्णायक भूमिका रहेजस्तै विपद्सँग सामना गर्न प्रत्येक राष्ट्रको पनि बलियो इम्युनिटी पावर हुनु जरुरी छ । त्यो पावर राष्ट्रले इमानदार र सक्षम नेतृत्व, सुशासन र कर्तव्यप्रति प्रतिबद्ध शासन संयन्त्र र अनुशासित जनताबाट मात्र प्राप्त गर्न सक्छ ।
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?