logo
२०८१ मंसिर १४ शुक्रवार



पर्वतीय खेलकुदमा स्रोत (सम्पादकीय)

विचार/दृष्टिकोण |




सरकारले आर्थिक वर्ष २०७७–७८ मा उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति (२०५९) गठन गरिएको थियो । समिति गठन आदेशको तेस्रो संशोधन (२०७१) अनुसार पर्वतीय पर्यटनलाई साहसिक खेलकुदका रूपमा विकास, विस्तार र प्रवद्र्धन गर्ने साथै पर्वतीय क्षेत्रमा वातावरणीय सरसफाइका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य छ । सरकारले आगामी आर्थिक वर्षदेखि उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्ने घोषणा गरेपछि यस क्षेत्रमा थप पाइला अघि बढेको छ । नेपालका उच्च पहाडी शृङ्खलामा खेलकुद आयोजना, तालिम तथा अतिथि र दर्शकको उपस्थिति गराएर नेपालले दोहोरो फाइदा लिन सक्छ । एकातिर यसले नेपालको भौगोलिक विशेषतायुक्त खेलकुदको विकासका सम्भावना उघार्नेछ भने अर्कोतिर पर्या तथा खेल पर्यटनमा उल्लेख्य योगदान दिन सक्नेछ । कतिपय मुलुकमा भौगोलिक विशेषता अनुसार समुद्री किनार तथा मरुभूमिमा खेलिने खेल लोकप्रिय भएका छन् भने नेपालले पहाड चढ्ने÷झर्ने, हिउँमा खेल्ने, पर्वतीय दौड, गुफा प्रवेश, भीर चढ्ने र ओर्लने, उच्च पहाडका जलप्रवाह (छहरा) मा खेलिने नयाँ तथा परिमार्जित खेल विकास गर्न सक्नेछ । हो यस्तो कार्यकलापको तालिम केन्द्र स्थापना कार्यक्रमले सम्बन्धित क्षेत्रका खेलाडी तथा विज्ञहरूलाई उत्साही बनाएको छ । सरकारको घोषणाअनुसार बजेट व्यवस्था गरी यसै वर्षबाट तालिमका कार्य सुरु गरेर नेपाल पर्वतीय खेलकुदको केन्द्र (हब) बन्ने अभियान सुरु गर्न सक्नेछ ।
नेपालका केही मौलिक खेल छन् । देवताका पालामा भीमसेनले छेलो हानेर खेलेका घटना पढ्न पाइन्छ भने कतिपय जातजातिमा मौलिक प्रकारका जातीय खेलकुद छन् । समग्रमा यी सबै खेलजन्य मनोरञ्जन नेपालका सांस्कृतिक सम्पदा हुन् । यसलाई खेलकुदमार्फत प्रवद्र्धन गर्न सकिनेछ । वर्तमान सरकारले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सक्ने गरी खेलाडीको क्षमता विकास गर्ने लक्ष्य लिएको सन्दर्भमा आगामी दिन नेपालका खेलाडीले विश्व प्रतिस्पर्धा स्वीकार गर्न र आमन्त्रण गर्न सक्नेछन् । पर्वतीय खेलकुदले भने नेपालका मौलिक तथा अन्तर्राष्ट्रिय मान्यताका खेलकुदमा विश्वका युवालाई आकर्षित गर्न सक्नेछ, जसबाट नेपाली मौलिक सांस्कृतिक सम्पदा तथा खेलकुदको प्रवद्र्धन मात्र हुनेछैन तालिम तथा अन्य गतिविधिले यहाँको साहसिक तथा पर्यापर्यटनमा उल्लेख्य योगदान मिल्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्वतीय प्रशिक्षण प्रतिष्ठान (विकास समिति) ले पनि पर्वतीय पर्यटनलाई साहसिक खेलकुदका रूपमा विकास, विस्तार र प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यस्तै तालिम केन्द्र युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत गठन गर्दा दोहोरो हुनसक्छ । साहसिक पर्यटन, साहसिक खेल तथा उच्च पर्वतीय खेलकुद भिन्नभिन्न विधा हुन् तर दुई मन्त्रालयबीच काम तथा स्रोतमा दोहोरोपन नहुने गरी समिति गठन तथा सञ्चालन गर्नु आवश्यक देखिन्छ ।
राजनीतिक इतिहासको जे जसरी समीक्षा गर्न सकिए पनि नेपालमा ‘दौड’को विशिष्ट स्थान छ । यसलाई नेपालले विशेष खेलकुद र भिन्न प्रकारको पुरस्कारमार्फत विश्वमा चर्चित गराउन सक्छ । गोरखाली युवा द्रव्य शाहले दौडेर राजाको पद र गद्दी जितेको इतिहासलाई भिन्न विशेषता र महत्वको अन्तर्राष्ट्रिय खेल बनाउन सकिनेछ । ग्रिस (एथेन्स) का तत्कालीन राजालाई युद्धको खबर दिन झण्डै ४२ किलोमिटर दौडेर आएका सेनाको साहस नै पछि क्रमशः म्याराथुनको नामले विश्वमा प्रतिष्ठित छ । नेपालले चेपे किनारदेखि लिगलिगकोटसम्मको दौडको इतिहासलाई सुरक्षित गर्दै परिमार्जनसहित नयाँ खेल प्रतिस्पर्धा सुरु गर्नसक्छ । स्थानीयरूपमा पछिल्ला केही वर्षदेखि त्यहाँ प्रतिस्पर्धात्मक दौड आयोजना गरिने गरिएको छ । यसलाई विश्वव्यापी बनाउन सकिनेछ । कोरोना (कोभिड–१९)को विश्वव्यापी महामारीले सरकारको प्राथमिकता सङ्क्रमणको परीक्षण, पहिचान, निदान सङ्क्रमितको उपचार तथा पुनःस्थापनामा केन्द्रित छ । यस कार्यका लागि स्रोतको जोहो गर्नुपर्ने भएकाले गतवर्षको भन्दा १५ प्रतिशत बजेट कम गर्न राष्ट्रिय योजना आयोगले सबै मन्त्रालयलाई परिपत्र गरेको अवस्थामा खेलकुद क्षेत्रको पूर्वाधारमा पनि बजेट खुम्चिन सक्ला तर थोरै खर्च धेरै सहभागितामा आम्दानीमूलक कार्यक्रम आवश्यक छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?