राज श्रेष्ठ
‘आईसीटी इन एजुकेशन’ शिक्षाक्षेत्रका विद्वान्हरूले एक दशक अगाडिदेखि नै प्रचारमा ल्याएको नारा हो । यस सम्बन्धमा गुरुयोजना नै बन्यो । उपलब्धि के कति भयो ? अनुसन्धान र खोजको विषय बन्ला ।
अनुभवले भन्छ, ‘भर्चुअल क्लासरुम’ र अनलाइन शिक्षाको नाममा केवल शिक्षकले कक्षाकोठामा पढाइरहँदाको दृश्य टेलिभिजनका पर्दामा प्रसारण गर्ने र भिडियो खिची यूट्युबमा ‘अपलोड’ गर्ने काम मात्र भयो ।
कम्प्युटर स्क्रिन र एलईडी टिभीस्क्रिनमा १५ मिनेट ध्यान एकाग्र गर्न हामीलाई त मुश्किल पर्छ भने बिचरा ती विद्यार्थीले कक्षाकोठा सदृश एकोहोरो उही नीरस वातावरणमा एक एक घण्टा कसरी बिताए होलान् ? चक–डस्टर र ब्लाकबोर्डबाट ह्वाइटबोर्ड, मार्करपेन, हाइलाइटर र स्लाइड हुँदै भर्चुअल क्लासरुमसम्म आइपुग्दा सिक्ने र सिकाउने कलामा तात्विक के भिन्नता भयो ? उत्तर पाउन सकिनँ ।
हो, केही प्रगति भएकै छन् । शिक्षक–शिक्षिकाले कम्प्युटरमा स्लाइड बनाउन सिके । विद्यार्थीहरूले पुस्तकका पानामा भएका पाठहरूका सारांश स्लाइडमार्फत कम्प्युटर स्क्रिनमा देख्न पाए । तर ब्ल्याकबोर्ड र कम्प्युटर स्क्रिनमा तात्विक भिन्नता के भयो त ? हामीले सोच्नैपर्दछ, यो विधिबाट विज्ञान र गणितजस्तो विषयलाई सिर्जनशील र बोधगम्य तवरले सिक्न र सिकाउन सकियो वा सकिएन ? अङ्ग्रेजी भाषाको ज्ञानलाई व्यावहारिक तवरले सिक्न सके वा सिकाउन सकियो ? एसईई परीक्षामा यी विषयमा ठूलो मात्रामा अनुत्तीर्ण हुने वा कम ग्रेड ल्याउने विद्यार्थीसङ्ख्याले यसको उत्तर दिइरहेको छ । अझ भूगोल र इतिहासजस्ता विद्यार्थीजीवनका धेरैको अनुभवमा कठिन मानिने विषयहरूको कुन हविगत भएको होला सोच्न सकिन्छ ।
एसईई परीक्षामा यी विषयमा विद्यार्थीहरूको प्रगति विवरणले भर्चुअल क्लासरुमले उनीहरूको सिकाइमा कत्तिको योगदान दिएको रहेछ भन्ने स्पष्ट भइहाल्यो ।
तर सधैँ यस्तै भएको थिएन । विगतमा केही सफल प्रयास पनि भएका थिए । विगतका इतिहासतिर पनि फर्केर हेरौँ ।
अहिले अनलाइन कक्षाको कुरा चलिरहँदा सरकारले धेरै वर्ष अगाडि प्रचलनमा ल्याएको दूरशिक्षा कार्यक्रमको बारेमा पनि केही कुरा गर्नुपर्ने हुन्छ । सरकारले शिक्षा मन्त्रालयअन्तर्गत बालबालिकाहरूलाई रेडियोको माध्यमबाट पठनपाठन गर्न र शिक्षकहरूलाई तालिम दिने उद्देश्य राखेर दूरशिक्षा केन्द्रको स्थापना गरेको थियो । दूरशिक्षा केन्द्र र रेडियो नेपालको सहकार्यमा शैक्षिक कार्यक्रमको उत्पादन गरी प्रसारण हुन्थ्यो । त्यतिबेला प्रसारण हुने रेडियो कार्यक्रमहरू सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीमाझ निकै लोकप्रिय थिए र सफल पनि भए ।
पछि दूरशिक्षा केन्द्रको संरचना परिवर्तन गरी खुला विद्यालयको अवधारणाअन्तर्गत तत्कालीन एसएलसी परीक्षाका लागि स्वाध्ययन शैक्षिक सामग्री उत्पादन गर्नेदेखि लिएर त्यतिखेर नै भर्चुअल क्लासरुम सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार जस्तै आईसीटी प्रयोगशाला सामुदायिक विद्यालयमा स्थापना गर्ने योजना लिएको थियो । त्यतिबेला दूरशिक्षा खुला विद्यालयअन्तर्गत भर्ना भएका परीक्षार्थीले एसएलसी परीक्षामा सामेल भई राम्रो नतिजा ल्याउन पनि सफल भएका छन् । मुलुक सङ्घीयतामा गएपछि ती कार्यक्रमले कति निरन्तरता पाए, कति सफल भए अध्ययनको विषय हुनसक्छ ।
यसरी शिक्षाक्षेत्रमा खुला विद्यालयको अवधारणाबाट सञ्चालनमा ल्याइएका कार्यक्रम सफल भएको मानिनुपर्छ । मूलतः एसएलसी (एसईई) परीक्षालाई लक्ष्यित गरी बनाइएको खुला सिकाइको अवधारणा अहिलेको बन्दाबन्दीको समयमा विद्यालयको आधारभूत तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षण सिकाइमा लागू गर्ने अभूतपूर्व अवसर आएको छ । त्यतिबेलाका जिम्मेवार अधिकारीहरू अहिले शिक्षा मन्त्रालयको महत्वपूर्ण पदहरूमा आसीन हुनुहुन्छ । त्यतिखेरको अनुभवलाई अहिलेको परिस्थितिमा परिमार्जन गरी लागू गर्ने चुनौती उहाँहरूसमक्ष छ ।
अनलाइन कक्षा वा दूरशिक्षा जे भनिए तापनि अहिलेको बन्दाबन्दीको अवस्थामा आधारभूत तहमा अध्ययन गरिरहेका बालबालिकालाई घरमै अध्ययन गर्न नेपालीहरूको पहुँच र भरपर्दो माध्यमको रूपमा रेडियो र टेलिभिजनलाई नै मान्नुपर्ने हुन्छ । प्रविधि र संसाधनको पहुँचका आधारमा हेर्दा पनि अनलाइन प्रविधि अधिकांश नेपाली घरपरिवारका लागि क्षितिजभन्दा परकै देखिन्छ । अनलाइन प्रविधिमा जान स्मार्ट फोन, इन्टरनेट कनेक्टिभिटी मात्रै भएर पुग्दैन । शिक्षक–शिक्षिकाहरूमा सूचना प्रविधिलाई अनलाइन कक्षामा कसरी प्रयोग गर्ने भन्ने प्राविधिक सीप पनि हुनु जरुरी छ । चक–डस्टर ब्ल्याकबोर्डबाट ह्वाइटबोर्ड, मार्करपेन हुँदै प्रेजेन्टेसन स्लाइडसम्म आइपुग्दा पनि अझै अनलाइन पद्धतिका लागि आवश्यक शैक्षिक सामग्री उत्पादन गर्नसक्ने प्रविधिको प्रारम्भिक चरणमै छौँ हामी । जुन कुरा एनसर्ट र सीबीएसई जस्ता नाम चलेका भारतका शैक्षिक संस्थाले समेत गर्न सकेका छैनन् ।
सिक्काको अर्को महत्वपूर्ण पाटो भनेको अभिभावक स्वयं पनि हो । अनलाइन पद्धतिमा पठनपाठन गर्न विशेषगरी आधारभूत तहका विद्यार्थीको सन्दर्भमा अभिभावकको भूमिकाले ठूलो महत्व राख्दछ । बन्दाबन्दीको यो विषम परिस्थितिमा अभिभावकलाई शिक्षकको भूमिका निर्वाह गर्न बरु उनीहरूलाई शिक्षण विधिबारे संक्षिप्त र व्यावहारिक ज्ञान दिलाउन सके उनीहरूले नै रेडियो, टेलिभिजन र अनलाइनका पट्यारलाग्दो पाठलाई आफ्ना बालबालिकासामु सरस र परिष्कृत रूपमा बुझाउन सक्षम हुनेथिए ।
(लेखक शिक्षाक्षेत्रसँग आबद्ध हुनुहुन्छ ।)