विश्वविमोहन श्रेष्ठ
लाग्छ– वास्तवमा अहिले विश्वव्यापी रूपमा फैलिएको त्रासदीपूर्ण कोरोना महामारीमा आफूलाई सुसंस्कृत, चेतनशील र सर्वश्रेष्ठ ठान्ने मानवजातिको बुद्धि, पराक्रम र धैर्यको परीक्षाको घडी आएको छ । जो जसको दुस्साहस, दुष्कर्म र दुर्नियतले सुरु भएकोे र संसारभर फैलिएको भए पनि यस महामारीमा आफू सुरक्षित हुने, परिवार–समाज र राष्ट्रलाई सुरक्षित तुल्याउन विज्ञहरूले दिएको सबै निर्देशनलाई पूर्णरूपमा पालना गर्नु नै सबैभन्दा सरल र महìवपूर्ण उपाय हो । सँगसँगै अलपत्र र सङ्कटमा परेकाहरूलाई भरथेग गर्ने, सकेको सहयोग गर्न किञ्चित् पछि नपरी अगाडि बढ्नु सबैको मूल कर्तव्य भएको छ । आफ्नो आचारविचार र संस्कारमा सुधार गरी आफू बाँचौँ र अरूलाई पनि बचाऔँ भन्ने मूलमन्त्रबाट अलिकति पनि विचलित नभई निष्ठाका साथ पालना गर्नुपर्ने देखिन्छ । हाम्रो धैर्य र हाम्रो कर्मले नै यस जगत्लाई सुरक्षित र सुन्दर तुल्याउँदै पुनः पूर्ववत् लयमा फर्काउन सकिनेछ भन्नेमा कुनै शङ्का छैन ।
लेखक, कवि, कलाकार र सर्जकहरूको पनि यही समाजमा उठबस गर्ने मानिस नै हुन् । तिनलाई पनि अभाव, दुःख र सङ्कटले पोल्ने गर्दछ । अझ अहिलेको यो त्रासदी र यो त्रासदीले उब्जाएको विसङ्गतिमा त झन् नरुझेको, नदुखेको को नै पो होला र ? त्यसैले आममानिसले एकसाथ झेलिएको यस किंकर्तव्यविमूढ घडीमा अलिकति संवेदना भएको, अलिकति चेतना भएको जोसुकैको पनि पहिलो दायित्व भनेको सूचना सम्प्रेषण गर्नु, सचेत तुल्याउनु र आफू बच्ने अनि समाजलाई बचाउने सत्कर्म गर्नु नै हो । आशा छ, हाम्रा अधिकांश सर्जकहरू कुनै न कुनै रूपमा यस्तो कार्यमा लाग्नुभएकै होला र यसरी लागिरहेका सर्जकहरूका कारणले नै समाज र आममानिससँगको सम्बन्ध अरू बलियो र सुमधुर हँुदै जानेछ ।
त्यसो त अहिलेको एकान्तवास बाध्यतावश भएकाले कसैका लागि पनि प्रिय छैन । तापनि यसलाई सुपाच्य तुल्याउनु सबैको दैनिकी भएको छ र यसले दिएको सबैभन्दा ठूलो उपहार भनेको पारिवारिक माहौल÷आपसी सद्भाव÷सहयोग र गृहस्थीका आरोह–अवरोह नै हो तर के भने यहाँ हामीहरू परिस्थितिलाई आत्मसात् गरेर यो ‘एकान्तवास’ पनि रङरोकन गरेर, बेला–कुबेला मनमा उठिरहने कोरोनाको त्रासलाई समेत लुकाएर सुखद तुल्याउन दुस्साहस गरिरहेछौँ, उता भने अखबारका पृष्ठहरू, टेलिभिजनका पर्दाहरू र सामाजिक सञ्जालका स्टाटसहरू हेर्दा हामीभरि वेदनाका असङ्ख्य ज्वाराभाटा मडारिरहन्छन् । मन नदुखाऊ, आत्मबल बढाऊ, आँखामा आँसु नचुहाउ भन्दा पनि माहौल यस्तो बन्छ कि त्यो सम्भव नै हुँदैन । अर्ती दिनु, ज्ञान बाँड्नु त सजिलो छ तर त्यसैलाई अङ्गीकार गरेर दैनिकी सहज तुल्याउनु कम्तीमा सर्जकहरूका लागि सरल छैन । यस्तै असहजताका बीच यो एकान्तवासमा पनि सर्जकहरूले केही न केही लेखिरहेकै छन्, सिर्जना गरिरहेकै छन्, अक्षरहरूको खेती गरेर राष्ट्रलाई समुन्नत बनाउन आफ्नो तर्फबाट सकेको योगदान गरिरहेका छन् ।
मनमा खड्किरहने एउटा कुराचाहिँ के भने यस्तो त्रासदीमा खान, बस्न र गन्तव्यमा पुग्नबाट वञ्चित आममानिसको उद्धारमा, अस्पतालदेखि सडकमा अहोरात्र खटिने डाक्टरदेखि सुरक्षाकर्मीको मनोबल बढाउनमा देशभरि छरिएर रहेका विभिन्न राजनीतिक दलका साहित्यिक, सांस्कृतिक भ्रातृ सङ्गठनहरू, आफूलाई स्वतन्त्र ठान्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा फैलिएको भनेर प्रचार गर्ने कुनै पनि साहित्यिक, सांस्कृतिक, बौद्धिक सङ्घसंस्थाहरू सक्रिय भएको देखिएन । अरू त अरू देशको प्रतिष्ठाको रूपमा राज्यकोषद्वारा पालित–पोषित प्रज्ञाप्रतिष्ठानहरूको भूमिका पनि कतै देखिएन । सामान्यतः यिनीहरूले पनि यो बेला सङ्कटमा परेका अशक्त, अलपत्र सर्जकहरूको लागत लिने, उद्धार गर्ने र औषधोपचार आदि जस्ता जीवनदायी अत्यावश्यक कार्यमा चासो राखेर सहयोग गर्ने, गराउने वा जुटाउने कार्यहरू गर्न सक्थे । त्यसका लागि तिनीहरूसँग ‘सहायता कोष’ ‘औषधोपचार कोष’ जस्ता शीर्षकमा राखिएको रकमलाई मात्र भए पनि खर्च गर्न सक्थे तर त्यस्तो केही देखिएन । तिनीहरूलाई हेर्दा केही नभएको जस्तो, भए पनि तिनलाई ‘खाँचो’ परे जस्तो केही देखिएन । यिनीहरूले पुरस्कार र अभिनन्दनमा होडबाजी गरेजस्तै कार्यस्थलमा किमार्थ आफ्नो उपस्थिति देखाउन सकेनन् । यो आफैँमा ठूलो विडम्बना हो । तथापि कसैले नेतृत्व लिएर सर्जकहरूलाई यो त्रासदीमा ‘आम मानिस’सँग जोडिदिने सत्कार्य गरिदिए इतिहासमा गौरव गर्र्ने सानो ठाउँ भए पनि रहने थियो । भनिन्छ– समयले कसैलाई पर्खंदैन । कसैलाई नपर्खिने त्यही समयलाई जसले समात्यो, उही इतिहासमा ‘नायक’ हुने हो । अरू यावत् कुरा, पदप्रतिष्ठा, धनसम्पत्ति भनेका त आयु रहुन्जेल मात्र हो । त्यसैले यो समय त्यही ‘नायक’को खोजीमा छ र हेर्नु छ त्यो नायक को हो ?
(लेखक साहित्यकार हुनुहुन्छ ।)