सुकृत नेपाल
कोराना भाइरस (कोभिड–१९) को महामारीले सबै क्षेत्र आक्रान्त छ । व्यापार, उद्योग र जीवनयापनमा परेको यो असर रङ्गमञ्चको क्षेत्रमा पनि चुनौतीका रूपमा उभिएको छ । कम्तीमा पनि अबको दस÷बाह्र महिना थिएटरमा नाटक मञ्चन गर्न र दर्शकहरूको सहभागिता हुन मुस्किल देखिन्छ ।
एक्लैले गर्र्ने कर्म होइन रङ्गमञ्च । यो मान्छेबीच रहेर मान्छेका लागि प्रस्तुत गरिने माध्यम हो । रङ्गकर्मी अशेष मल्ल चिन्तित हुँदै भन्नुहुन्छ, ‘हाम्रा प्रायः रङ्गकर्मीहरू निम्न–मध्यम आयस्रोत भएका हुनुहुन्छ । उहाँहरूले जसोतसो आफ्नो जीविका धानिरहनुभएको छ । अब रङ्गमञ्चबाट आम्दानी नहुने भएपछि तत्कालका लागि भए पनि कुनै विकल्प खोज्नुपर्ने देखिन्छ । यसले दर्शकलाई धेरै नै असर पारेको छ । नाटकप्रति दर्शकमोह बढेको बेला झन् यस्तो अवस्था आयो ।’
अधिकांश रङ्गकर्मीलाई अन्योल र बेचैनीको सङ्घारमा पु¥याएको छ । तैपनि पुरानै अवस्थामा नाटक फर्कन्छ भन्ने विश्वास छ रङ्गकर्मीहरूमा । विश्वास भए पनि लामो समयसम्म स्थिति सम्हाल्न भने गाह्रो छ । रङ्गकर्मी सुनील पोखरेल भन्नहुन्छ, ‘अहिले सोच्ने बेला हो, पछाडि र अगाडि हेर्ने बेला हो । रङ्गमञ्चको भविष्य के हुन्छ वा यसले कुन मोड लिन्छ भनेर अहिले भन्न सकिने अवस्था छैन ।’ बन्दाबन्दी र महामारीको टुङ्गो लागिसकेपछि मात्र रङ्गमञ्चको नियतिबारे थाहा हुने उहाँको धारणा छ । त्यसैले रङ्गकर्मीहरूले नाटकको मात्र भर नपरेर जीवनयापनको अर्को विकल्प खोज्नुपर्ने हुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले सामाजिक दूरी कायम गरेर रङ्गमञ्च सुरु ग¥यौँ भने पनि मान्छे हेर्न आउँछन् भन्ने कुनै ग्यारेन्टी हुँदैन ।’
केही नाट्यकर्मीको शिल्प र कर्मले जेनतेन चलिरहेको नेपाली रङ्गमञ्च कुनै चमत्कारले मात्रै इच्छित स्वरूपमा पुग्नेछ । तर, तत्काल देखिएको चुनौती भनेकोे रङ्गमञ्चको जीवन फेरि कसरी फर्काउने भन्ने नै हो । कम्तीमा एक वर्षसम्म थिएटरमा चहलपहल ल्याउन खोज्नु वा हुनु स्वाभाविक हुने छैन भन्नुहुन्छ साहित्यकार तथा रङ्गकर्मी विप्लव प्रतीक । उहाँ भन्नुहुन्छ, ‘हाम्रोजस्तो मुलुकमा नाट्यकर्मीहरूको जीवन ‘भल्नरेबल’ थियो, छ र हुनेछ । कुरा यत्ति हो कि महामारीअघि मन भुलाउने बाटाहरू थिए, गुजारा चलिरहेको थियो । एउटा सपनामा थिए सबैजना । अहिले महामारीका कारण त्यो सपना टुटेको छ । यस्तो अवस्थामा लड्नुपर्ने या भनुँ जीवनमा सङ्घर्ष गर्नुपर्ने रङ्गकर्मी स्वयम्ले हो । जिम्मेवार नाट्यकर्मीहरूले सामूहिक रूपमा एकापसलाई कसरी सहारा दिने भन्ने कुनै उपाय ल्याउनेछन् भन्ने मेरो विश्वास छ ।’ उहाँका अनुसार साहित्य, सङ्गीत, सिनेमा र कलाका विविध पक्ष समेटिएको कम्युनका स्वरूपमा जानु एउटा विकल्प हुनेछ । तर, जिन्दगीमा विकल्प सधँै एउटामात्रै हुँदैन । थुप्रै विकल्प हुन्छन् । अहिले चिन्ता होइन, थिएटरबारे चिन्तन गर्ने समय हो ।
अहिलेको चुनौती भनेको नै रङ्गमञ्चीय गतिविधिलाई कसरी जारी राख्ने र रङ्गकर्मीहरूलाई कसरी सहभागी गराउने भन्ने नै रहेको बत(ाउनुहुन्छ नाट्यशिल्पी अनुप बराल । उहाँका अनुसार यो नेपालको मात्र होइन, विश्व रङ्गमञ्चमा परेको असरको परिणाम हो । उहाँ भन्नुहुन्छ, ‘रङ्गमञ्च नचल्दा दर्शक र रङ्गकर्मी दुवैलाई प्रभाव परेको छ । तर, हामीले के बुझौँ भने मान्छे नरहला, जीवनधारा कहिले पनि समाप्त हुँदैन, कल्पना कहिले पनि रोकिँदैन र रचनाशीलताले जस्तोसुकै विकट स्थितिमा पनि आफ्नो आकार बनाउँदछ ।’
कोरोना प्रकोप रहुञ्जेल रङ्गमञ्चको गतिविधि सामाजिक सञ्जलको माध्यमबाट पनि अगाडि बढाउन सकिन्छ । पुराना नाटकहरूको भिडियो अपलोड गर्ने वा सामाजिक दूरी कायम गरेर एकालापमा आधारित नाटकहरू ‘लाइभ स्ट्रिमिङ’ गर्ने वा नाटक÷कला÷साहित्य या सङ्गीतबारे गम्भीर बहसहरू चलाउनेजस्ता अभियान पनि नेपाली थिएटरलाई जगाइराख्ने माध्यम हुन सक्छन् । स्वनिगरानी वा एकान्तवासमा बसेका व्यक्तिहरू नै यसको दर्शक हुनेछन् भने उनीहरू बसेको ठाउँले नै प्रेक्षालयको काम गर्नेछ ।
रङ्गमञ्चले मानव सभ्यतासँग तादात्म्यता राख्छ । मानव अस्तित्व नै धरापमा परेको यो समयमा विश्व रङ्गमञ्चको अवस्था पनि सोही स्थितिमा छ । संसारभरिको विभिन्न चिन्तन र अभ्यासले बनेको नाटकको ढुकढुकी यतिखेर रोकिएको छ । अभ्यास बन्द हुनु भनेको रङ्गमञ्च जिउँदो नरहनु हो । तर, कलाकार र तिनका चिन्तन जागृत छन् । रङ्गकर्मी राजन खतिवडा भन्नुहुन्छ्, ‘सायद अब कथा र कथा भन्ने तरिका बदलिन्छ होला । तर, थियटरको विकल्प थिएटर नै हुनेछ । जुन मञ्चनविना यो जीवित रहेको मान्न सकिन्न । मञ्च, कलाकार र दर्शकविना नाटकको अस्तित्व पनि रहन्न ।’ खतिवडाका अनुसार नाटक समूहमा आबद्ध कलाकारहरू सबै स्वतन्त्र हुन् । नाचघर र सङ्गीत नाट्य एकेडेमीका कलाकारहरूलाई बाहेक नियमित तलब कसैको आउँदैन, न सरकारको अनुदान नै आउँछ । त्यसैले कलाकारहरू आफ्नो जीवनसँगसँगै नाटकलाई कसरी जोगाउन सकिन्छ भन्नेमा चिन्तनमा छन् । उहाँ भन्नुहुन्छ, ‘विभिन्न कालखण्डमा नाटक अस्ताउँदै उदाउँदै आएको हो । यसको स्वरूप, नाटकघरको संरचना परिवर्तन होला । तर नाटक, मानवसभ्यता रहुञ्जेल रहिरहनेछ । हुन सक्छ ‘रोबोटिक प्ले’हरूले स्थान बनाउलान् । तर, अन्ततः ज्युँदा मान्छेहरू नै नाटकको सूत्राधार हुनेछन् । त्यतिञ्जेल हामीले आफूलाई जोगाउने हो र कसरी एक–अर्काका निम्ति उपयोगी हुने भन्ने कुरामा चिन्तन गर्ने हो ।’
नाटकघरहरू अवश्य बन्द छन्, यसलाई टिकाइराख्न स्थिर स्रोत छैन र थिएन पनि । नाट्य संस्थाका कर्मचारीलाई धान्न कठिन छ । सायद अब पहिलेको जस्तो संरचना पनि नरहला । त्यसैले यसको ढुुकढुकी बचाउन थोरै स्रोत–साधनले कसरी बचाउन सकिन्छ भन्नेतर्फ नाट्यकर्मीहरूको साझा चिन्तन अहिलेको आवश्यकता देखिन्छ । अब रङ्गमञ्च कसरी बौरिन्छ त ? ठ्याक्कै भन्न नसकिने बताउनुहुन्छ रङ्गकर्मी घिमिरे युवराज । केही समय कुर्नुबाहेक अरू समाधान नदेखेको उहाँको भनाइ छ । अहिले मानसिक र शारीरिक रूपमा कसरी स्वस्थ रहने भन्ने बेला हो । उहाँ भन्नुहुन्छ, ‘हामी थिएटरसम्म जान सक्ने स्थितिको प्रतीक्षामा छौँ ।’
समाज सामान्य अवस्थामा नफर्कुञ्जेल कुनै पनि क्षेत्र सामान्य हुने कुरा पनि हुँदैन । रङ्गकर्मी निशा पोखरेल भन्नुहुन्छ, ‘यस्तै अवस्था रहने हो भने हामीले रङ्गमञ्चको विकल्प खोज्नुपर्ने हुन्छ । दर्शकलाई नै नाटक देखाउने अवस्था नभएपछि कसरी रङ्गमञ्च चल्छ । सामाजिक दूरी बनाएर नाटक देखाउने कुरा सम्भव छैन । बरु भर्चुअल नाटकको माध्यम अपनाउन सकिन्छ ।’ अहिलेको अवस्थामा सबैभन्दा ठूलो कुरा मानवको स्वास्थ्य नै हो । यस्तो अवस्थामा दर्शकको ख्याल झनै राख्नुपर्ने हुन्छ । रङ्गकर्मी केदार श्रेष्ठ भन्नुहुन्छ, ‘अब यो समस्या कहिलेसम्म चल्छ भन्न सकिँदैन । त्यसैले अब सबैले आफ्नो दैनिक जीवनयापनमा ख्याल राख्ने र प्रतिरोध क्षमता बढाउन ध्यान, योग, कसरतसँगै खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । हामी छौँ त रङ्गमञ्च हुन्छ, हामी नै भएनौँ भने रङ्गमञ्च कसरी हुन्छ ।’
नाटकको भविष्य के हुन्छ ? नाटकमै निर्भर रङ्गकर्मीहरूको भविष्य के हुन्छ ? यसमा लगानी भएको अमूल्य समय र राशि के बालुवामा पानी हालेसरह नै होला त ? अन्योलको यस्तो अवस्थामा कतिपय रङ्गकर्मीहरूले आस मारेका त छैनन् । आउने दिनमा नाट्यकर्म कसरी अगाडि बडाउने भन्ने कुरालाई नाटकघरका सञ्चालकहरूसँग विशेष रूपमा छलफल भइरहेको खबर सुनाउनुहुन्छ रङ्गकर्मी सरिता गिरी । उहाँ थप्नुहुन्छ, ‘यो विश्वव्यापी महामारीको चपेटामा सम्पूर्ण विश्व नै परेको हुनाले हामी कोही पनि हतोत्साही हुनुहुँदैन । आफ्नो मनोबल बढाऊँ, एकले अर्कोलाई सहयोग गरुँ ।’
रङ्गकर्मी रङ्गमञ्चमा फर्कन गाह्रो नभएको विचार छ रङ्गकर्मी कमलमणि नेपालको । उहाँ भन्नुहुन्छ, ‘महामारीको समस्या जटिल हुँदै गयो र यो पेसा गर्न नसकिने भयो भने यसको विकल्प खोज्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा दर्शकलाई आफ्नै तरिकाको असर परेको होला । तर, रङ्गकर्मीहरूलाई कम असर परेको छैन ।’
नाटक प्रत्यक्ष रूपमा मञ्चन गर्ने माध्यम भएको हुनाले दर्शक जम्मा पारेर फेरि नाटकलाई पुरानै अवस्थामा ल्याउन गाह्रो नै छ । यो अन्योल सबै रङ्गकर्मीहरूले समान रूपले अनुभूत गरिरहेका छन् । रङ्गकर्मी आकांक्षा कार्की अहिले रङ्गमञ्चलाई कसरी फर्काउने भन्ने कुरा अन्योलमा नै रहेको ठान्नुहुन्छ । रङ्गमञ्च सबैभन्दा अन्तिममा सञ्चालन हुने क्षेत्र पनि हुन सक्ने उहाँको भनाइ छ । नाटक देखाउने भनेको दर्शकलाई हो र नाटक गर्ने भनेको कलाकारहरूले हो । यी दुवै कुरा हामीसँग भएन भने हामीले कसरी रङ्गमञ्च चलाउन सक्छौँ । उहाँ भन्नुहुन्छ, ‘हामीले योजना बनाएर सामाजिक दूरी कायम गरेर नाटक प्रशिक्षण र केही आर्थिक भार नपर्ने नाटक मञ्चन गर्न सक्छौँ तर यो पनि महामारी कम भएपछि वा बन्दाबन्दी केही खुकुलो भएको बेलामा ।’
यता, पोखरामा दुई वर्ष अगाडि नाटक घर स्थापना गर्नुभएको पोखरा थिएटरका सञ्चालक परिवर्तन कार्की भन्नुहुन्छ, ‘कोरोनाको प्रकोपले यहाँको नाटकघरलाई फेरि दुई वर्ष अगाडि नै धकेलेको जस्तो अनुभूति हुन थालेको छ ।’ रङ्गकर्मी भोलराज सापकोटाको भनाइ भने केही भिन्न छ, ‘रङ्गमञ्च कहिले पुरानो अवस्थामा फर्कन्छ भन्ने कुरा अड्कल काट्नेमात्र हो । अहिले सबै डामाडोल छ । अब यो महामारी नसकिएसम्म केही भन्न सकिन्न ।’ जसरी भूकम्प–नाकाबन्दीजस्ता विपत्ति आए, हामीले भोग्यौँ, सह्यौँ र ट¥यो । त्यसैगरी आजको सङ्कट पनि टर्ला । तर, भोलिको रङ्गमञ्च हिजोकै स्वरूपमा हुने छैन । यसले नयाँ आयाम खोज्नेछ र जीवनको नयाँ दृष्टिकोण उत्खनन गर्नेछ ।