logo
२०८१ मंसिर १५ शनिवार



कोरोनापछिको आन्तरिक पर्यटन

विचार/दृष्टिकोण |




डा. प्रनिल उपाध्याय

सन् १९५० मा २.५ करोडको अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन सन् २०१९ मा १.४ अर्ब पुगी सात दशकमा ९५ गुणाले वृद्धि भएर पर्यटनक्षेत्र विश्वकै अग्रणी उद्योगका रूपमा स्थापित भएको पाइन्छ तर यो क्षेत्र प्राकृतिक वा मानवजन्य स्थानीय, राष्ट्रि«य, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रम वा अस्थिरताबाट सजिलै प्रभावित हुने गरेको छ । नोभल कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व पर्यटनमा लगभग ८० प्रतिशत र नेपालको पर्यटनमा शतप्रतिशतले परेको नकारात्मक प्रभावले यसको चरित्रलाई उदाङ्गो गर्दछ । हालसम्म नेपाल दक्षिणपूर्व एसियामै कोभिडबाट भुटानपछि दोस्रो कम सङ्क्रमित राष्ट्र देखिएको छ । यस सन्दर्भमा नेपालमा सङ्क्रमितहरूको सङ्ख्या तुलनात्मक रूपमा कम राख्न सकियो भने यसले नेपाललाई यहाँको जीवनशैली अध्ययन तथा शोध गर्ने गन्तव्यका रूपमा स्थापित गर्न र भविष्यमा नयाँ अवसर दिन सक्ने सकारात्मक पक्ष कायमै छ ।
अन्तर्राष्ट्रिय पर्यटनबाहेक विश्वका हरेक मुलुकमा धेरै वा थोरै मात्रामा आन्तरिक वा घरेलु पर्यटन चलायमान छ, जुन आफ्नै मुलुकको सीमाङ्कनभित्रै गरिने भ्रमण हो । विश्वमा सन् १९७० को दशकबाट परिभाषित गरी प्रारम्भ भएको आन्तरिक पर्यटनले सन् १९८० पछि गति लिएको हो । पर्यटनक्षेत्रका विद्वान् ए.के. भाटियाका अनुसार सन् १९३८ मा “होलिडे प्याक्ट” लागू गरेर युरोपको बेलायतमा आन्तरिक पर्यटनको संस्थागत रूपमा सुरुवात गरिएको थियो । यस समयदेखि थाइल्यान्ड, अस्टे«लिया, इटाली, ब्राजिल, अमेरिका, क्यानाडा, टर्की, इन्डोनेसिया, स्वीजरल्यान्ड, फ्रान्स, आदिमा क्रमशः विकास हुँदै गएको यो पर्यटन चीन तथा भारतजस्तो मुलुकमा अग्रणी स्थानमै छ ।
देशाटन, तीर्थाटन आदिका रूपमा सन् १९६०–७० को दशक अघिदेखि सुरु भए पनि नेपालको आन्तरिक पर्यटन निश्चित क्षेत्रमा सीमित सङ्ख्यामा चलायमान भएको बुझिन्छ । यसलाई नेपाल पर्यटन वर्ष–१९९८ र त्यसपछि विभिन्न आन्तरिक पर्यटन मेला तथा “जाउँ है पोखरा” जस्ता कार्यक्रमबाट केही हदसम्म संस्थागत गर्ने प्रयास गरियो । नेपालमा ग्रामीण भ्रमण, मनोरञ्जन गर्न, होमस्टे, शैक्षिक भ्रमण, तीर्थयात्रा, हिमाल, पहाड, तराई अवलोकन, पदयात्रा, जलयात्रा, रैथाने जीवनपद्धति अध्ययन, आन्तरिक सभा–सेमिनार, नातागोता तथा आफन्तलाई भेट्न, मोटरबाइकिङ्, ग्यास्ट्रोनोमी आदिका रूपमा करिब ३०–३५ लाखको सङ्ख्यामा आन्तरिक पर्यटन चलायमान भएको अनुमान गर्न सकिन्छ । हालसम्म प्राप्त सूचना र तथ्याङ्कका आधारमा मात्र नेपालमा आन्तरिक पर्यटनको सही लेखाजोखा गर्न सकिँदैन ।
आन्तरिक पर्यटनका सबलता
नेपालमा रहेका विशिष्ट प्राकृतिक सुन्दरता, विविधतापूर्ण सम्पदाहरू (सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक, जैविक, वातावरणीय) तथा नेपालीको ‘अतिथिदेवो भव’ जस्तो भावनाको विशेषताले अन्तर्राष्ट्रियका साथै आन्तरिक पर्यटकका लागि बलियो जग बनाइदिएको छ । फेरि सांस्कृतिक विविधता हुँदाहुँदै सबै ठाउँमा सबै नेपालीका लागि नेपाली भाषा सर्वमान्य भाषा भएकाले भाषाको कठिनाइ हुँुदैन । पछिल्लो समयमा नेपालमा विभिन्न गन्तव्यमा आन्तरिक यातायात र सञ्चारको सुविधामा केही सुधार तथा सहरी क्षेत्रका सीमित वर्गका नेपालीको क्रयशक्तिमा पनि क्रमशः वृद्धि हुँदै गएकाले नेपालका केही गन्तव्यमा आन्तरिक पर्यटकको भ्रमणमा सङ्ख्यात्मक वृद्धि भएको देख्न सकिन्छ । नेपालमा हाल विद्यमान पर्यटकीय पूर्वाधारहरू जस्तै यातायातका साधन, पर्यटकीय आवासहरू (होटल, रिसोर्ट, होमस्टे), पदयात्रा मार्ग, मानवनिर्मित मनोरञ्जन तथा अन्य पर्यटकीय सुविधाको प्रयोग गर्दै आन्तरिक पर्यटनलाई नयाँ शिराबाट सुरु गर्न सकिन्छ ।
नेपालको पर्यटन अर्थतन्त्रको परनिर्भरतालाई कोभिड–१९ पछिको बदलिँदो परिस्थितिमा आन्तरिक पर्यटनको विकासद्वारा आत्मनिर्भर बनाउने नयाँ अवसर छ । आन्तरिक पर्यटनका लागि होम स्टेसहितको कृषि–पर्यटन एक प्रमुख पर्यटकीय उपज हुनसक्छ । यो पर्यटन नेपालको पर्यटन उद्योगको दिगो विकास, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्न सक्ने नयाँ आधार तथा गरिबी निवारणको एक महत्वपूर्ण औजार हुनसक्छ ।
आन्तरिक पर्यटन मार्ग प्रदर्शक
नेपालले सन् १९५० को दशकबाट हिमाल आरोहणसँगै पदयात्रा तथा हाइकिङ् लगायतका क्रियाकलापबाट अन्तर्राष्ट्रिय जगत्मा साहसिक पर्यटकीय गन्तव्यको रूपमा आफूलाई परिचित गराएकोे हो । अन्तर्राष्ट्रिय पर्यटकको माध्यमबाटै यो पछिल्लो दशकमा राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरूमा केन्द्रित पर्यापर्यटन, काठमाडौँ, पोखरा, लुम्बिनीलगायतका सुविधासम्पन्न गन्तव्यमा लक्ष्यित मनोरञ्जन पर्यटन, हिन्दु तथा बौद्ध तीर्थस्थलहरूमा आकर्षित भएको धार्मिक पर्यटन, विभिन्न जनजातिको बाहुल्य भएको ग्रामीण बस्तीहरूमा केन्द्रित सांस्कृतिक (सामाजिक) पर्यटन तथा थोरै मात्रा भए पनि व्यावसायिक केन्द्रहरूमा आश्रित व्यावसायिक (माइस वा कर्पोरेट) पर्यटनमा रूपान्तरण हुँदै गएको हो । समग्रमा हेर्दा नेपालमा आन्तरिकभन्दा पनि अन्तर्राष्ट्रिय पर्यटनमा राम्रो अनुभव तथा परिपक्वता पाइन्छ तर कोभिड–१९ पछि नेपालका लागि युरोप, एसिया, अमेरिका र अस्टे«लियाजस्ता आउटबाउन्ड गन्तव्यहरूको प्रस्थान तथा आगमन बिन्दुमा अन्तर्राष्ट्रिय पर्यटकहरूको गरिनुपर्ने बढ्दो स्वास्थ्य परीक्षण, स्क्रिनिङ, व्यवस्थापन र कीटाणुशोेधनको (डिसइन्फेक्सन) आवश्यकता, स्वास्थ्यसम्बन्धी आधुनिक र उच्च प्रविधिको उपयोग, सुरक्षाका कारण प्रस्थान तथा आगमनपूर्व हेल्थ सर्टिफिकेसनको आवश्यकता, प्रस्थान तथा आगमन भिसामा कडा नियमनको पालना, अन्तर्राष्ट्रिय पर्यटकको घट्दो बचत तथा क्रयशक्ति, स्वास्थ्य बीमाको बढ्दो प्रिमियम आदिले नेपालजस्तो इनबाउन्ड पर्यटकीय गन्तव्यमा हुने पर्यटक आगमनलाई प्रोत्साहन गर्न नसक्ने देखिन्छ ।
यस्तो परिस्थितिमा अहिलको कोभिड–१९ को प्रभावबाट पर्यटन व्यवसायी र कर्मचारीहरूलाई धराशायी हुनबाट जोगाउन आन्तरिक पर्यटनलाई अगाडि बढाउनु बाध्यात्मक आवश्यकता देखिएको छ । यस क्रममा आन्तरिक पर्यटकको यात्राको क्रममा उनीहरूको नेपालभित्र आगमन तथा प्रस्थानबिन्दुका बीचका सबै बिन्दु तथा पर्यटकीय गन्तव्यहरूमा कोभिडजस्तो रोगको कीटाणुशोेधन हुने स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड बनाई यसको कतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ त्यसले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय पर्यटनका लागि विश्वासको वातावरण बनाउँदै उपयुक्त मार्ग प्रशस्त गर्नेछ ।
आन्तरिक पर्यटनका लागि मार्गदर्शन
सरकारी निकाय, निजीक्षेत्रका सरोकारवाला एवं विज्ञहरूको सहभागितामा नेपालको आन्तरिक पर्यटन व्यवस्थापन तथा सञ्चालनको संरचना तथा क्रियाकलापको सबल पक्ष तथा कमजोरीको गहिरो मूल्याङ्कन गरी कमजोरीको निराकरण गर्र्न सुझावहरू तयार गर्नुपर्छ । यसले गर्दा आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन एकअर्काका बाधक नभई मैत्रीपूर्ण, परिपूरक पनि हुन सकून् ।
सुदूरपश्चिम लगायत नेपालका सातै प्रदेशमा रहेका तराई, पहाड र हिमालका पर्यटकीय गन्तव्य, उत्पादन तथा उपजहरूको सूची तयार गरी पर्यटनको प्रकारसँग मिल्ने गरी वर्गीकरण गर्ने, तिनका मानवनिर्मित कृत्रिम मनोरञ्जनका आकर्षक पूर्वाधारहरूमा आवश्यक वित्तीय लगानीका लागि सूची तयार गर्ने र आन्तरिक पर्यटनका लागि विशेष बजेट तथा कार्यक्रम छुट्याउनुपर्छ । तिनका लागि बैङ्क तथा वित्तीय संस्थाबाट समेत लगानीको वातावरण बनाउनुपर्छ ।
यसैगरी, सङ्घीय सरकारले सरकारी तथा निजीक्षेत्रका संस्थाहरूमा काम गर्ने लाखौँ कर्मचारीलाई प्रोत्साहनस्वरूप वर्षमा एकपटक घटीमा सात दिन जतिका लागि देशभित्र खर्चसहितको भ्रमण बिदामा पठाउनुपर्ने कार्यक्रम ल्याउनुपर्छ । प्रादेशिक सरकारहरूले मातहतका कर्मचारी अन्तर प्रादेशिक भ्रमण गराउन यस्तो प्रोत्साहनको व्यवस्था गर्नुपर्छ ।
ग्रामीण स्थलहरूमा आन्तरिक पर्यटनकै अङ्गका रूपमा कृषि–पर्यटनलाई नीतिगत रूपमै सहुलियतपूर्ण कार्यक्रमसहित प्रोत्साहन गर्नुपर्ने देखिन्छ । यसमा कोभिड–१९ पछि वैदेशिक रोजगारीबाट फर्कन सक्ने लाखौँ युवालाई संलग्न गराउनुपर्छ । नेपालका लागि विभिन्न प्रकारका सम्भावना भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय बजार तथा बजारका भाग वा हिस्साहरू लक्ष्यित बजार रणनीति बनाई नेपाल पर्यटन बोर्ड तथा निजीक्षेत्रद्वारा प्रभावकारी रूपमा डिजिटल प्रचारप्रसार तथा प्रवद्र्धन गर्नुपर्छ ।
राष्ट्रि«य स्रोत र सम्पदाहरूको दिगो उपयोग र वातावरण संरक्षणका माध्यमबाट आन्तरिक पर्यटनक्षेत्रले राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गराई गरिबी निवारण तथा जीवनस्तरमा सुधार ल्याउन सक्छ । उपर्युक्त कार्यसूचीको प्रभावकारी कार्यान्वयन हुँदा आन्तरिक पर्यटनका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटनसमेतलाई ठोस सहयोग पुग्ने वातावरण बन्नेछ । वर्तमान परिस्थिति सामान्य नहुञ्जेलसम्म अन्तर्राष्ट्रि«य पर्यटक आगमनको अनिश्चितताका कारण आन्तरिक पर्यटनलाई नयाँ शिराबाट महìव दिँदै यसको प्रणालीगत विकास गर्नु औचित्यपूर्ण हुनेछ ।
(लेखक पर्यटन विकास तथा अनुसन्धानमा संलग्न हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?