भागवत खनाल
राष्ट्रले अपनाएको परराष्ट्र नीतिको व्यावहारिक पक्ष कूटनीति हो । राष्ट्र – राष्ट्रबीचको सम्बन्ध सधैँ सरल रेखामा चल्दैन । सामान्य अवस्थामा अत्यन्तै न्यानो रहेका प्रेमपूर्ण सम्बन्धमा कुनै पनि बेला धाँजा फाट्न सक्छ । सबै मुलुकका आफ्ना स्वार्थ र सरोकार एवं राष्ट्रिय स्वाभिमान र अस्मिता हुन्छन् । कुनै पनि राष्ट्रको मूल सरोकार आफ्नो सिमाना, स्वाभिमान र सार्वभौमसत्ताको रक्षामा केन्द्रित हुन्छ ।
कूट शब्दको अर्थ हो– रहस्यपूर्ण र अनेक अर्थ लाग्ने व्यवहार । कूट एक बुझिनसकिने प्रहेलिका हो । यो यस्तो अवस्था हो जहाँ आफ्नो मानमर्दन भएको या कपटी कुरा गरिएको थाहा हुँदाहुँदै पनि ‘किन यसो भनिस्’ भनेर निहुँ खोज्न सम्भव हुँदैन । कूट प्रश्न यस्तो हो, जसको उत्तर सिधासाधा तरिकाले दिन सम्भव हुँदैन । कूटनीति वैदेशिक मामिलामा राष्ट्र राष्ट्रबीचको व्यवहारमा अपनाइने कौशल, दाउपेच र रहस्यात्मक सम्बन्ध हो । कूटनीति परराष्ट्र नीतिको जटिल र कठिन पक्ष हो । भनिन्छ, कूटनीतिक चातुर्य यस्तो विषय हो जहाँ एउटा चतुर र धूर्त कूटनीतिज्ञले युक्ति र कुशलतापूर्वक मीठा र आकर्षक शब्दमा कसैलाई नर्क जाने सल्लाह दियो भने सल्लाह पाउने व्यक्तिले तुरुन्त नर्कतर्फको यात्रा गर्ने तयारी सुरु गर्दछ ।
प्राचीन समयमा पनि राष्ट्र राष्ट्रबीच अनेक दाउपेच हुने गर्दथे । युनानी नगर राज्यहरू आपसी युद्धअघि, युद्धरत अवस्था र युद्धपश्चात् समेत आफ्नो शक्तिको बढाइचढाइँ गरेर छिमेकीलाई भयभीत पार्न सक्षम र वाक्पटु तर अत्यन्त शालीन र बुझिनसक्नु प्रतिनिधिलाई पठाउँथे । महाभारत युद्धको पूर्वसन्ध्यामा पाण्डवका तर्फबाट भगवान् कृष्णलाई राजदूतका रूपमा दुर्योधनकहाँ पठाइयो । कृष्णले सन्धिको कुरा गर्दा दुर्योधन क्रोधित भए । उनको क्रोधरूपी अग्निज्वालामा उनका दुर्जन अनुयायीहरूले घिउ थप्ने काम गरे । दुर्योधनले कृष्णलाई बन्दी बनाए । यो उनको ठूलो कूटनीतिक भूल थियो ।
मुगलहरूले आफ्नो राज्यविस्तारको सिलसिलामा साम, दाम, दण्ड र भेद सबै नीतिको अङ्गीकार गरेका थिए । नेपालका बाइसे चौबीसे राज्यहरूमा वैवाहिक कूटनीतिको प्रयोग गरिन्थ्यो । निरन्तर राज्यविस्तारमा मग्न नेपाल राज्यसँग तत्कालीन ब्रिटिस इन्डियाको शक्तिको लेखाजोखा गर्नसक्ने सम्यक् क्षमता नहुँदा सन् १८१४÷१६ को युद्धमा हार खानुप¥यो । राष्ट्रिय भावना र आफ्नो शक्तिको अति उच्च मूल्याङ्कन गरेर काठमाडौँमा बसेका मुख्तियार भीमसेन थापाले मोर्चामा रहेर वास्तविक कुरा बुझेका अमरसिंह थापाको सल्लाह मानेनन् । कूटनीतिक दाउपेच नजानी भावुकता र आक्रोश हावी हुँदा नेपालको विस्तार अभियान सदाका लागि समाप्त भयो । १८१५ डिसेम्बरमा भएको सुगौलीको सन्धि र १८१६ मार्चमा भएको पूरक सन्धिको माध्यमबाट नेपालको सुदूर भविष्यसम्मको भाग्यनिर्धारण भयो ।
भारतको मिचाहा प्रवृत्तिका कारण अहिले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा दरार आएको देखिन्छ । भारतको विचारमा ऊ नेपालको ‘बडा भाइ’ हो । नेपालको विचारमा हामीबीच भाइको ‘रिस्ता’ त छ, तर त्यो बराबरीको हो । भारतमा ‘ठूलो’ हुनुको अहंकार छ भने नेपाल ‘साइज’ मा ठूलो हुँदैमा कोही ठूलो हुँदैन भन्ने अडानमा रहँदै आएको छ । भारत र नेपाल दुवै सार्वभौमसत्तासम्पन्न मुलुक हुन् ।
भारत यस्तो छिमेकी हो जसको भौतिक शरीर ठूलो छ तर हृदय सानो । भारतलाई आफ्नो जनसङ्ख्या, भूगोल र सैनिक शक्तिको पनि दम्भ भएको हुनसक्छ । त्यसैको भरमा उसले बारम्बार नेपाली भूमिमा घुसपैठ गर्दै आएको छ । लामो समय विदेशी शासनअन्तर्गत रहेको भारत आफ्नो दुःखद विगतलाई सम्झेर पनि सानो छिमेकी देशप्रति सहृदयी हुनुपर्ने हो । तर ऊ कूटनीतिक मामिलामा कहिल्यै उदार हुन सकेन । भविष्यमा पनि भारत नेपाल लगायत अन्य छिमेकी देशसँग न्यानो सम्बन्ध राख्ने ‘मुड’ मा देखिँदैन ।
परराष्ट्र सम्बन्धमा सामान्यतः तीन किसिमको अवस्था हुन्छ– शत्रुतापूर्ण, मित्रतापूर्ण र सहृदयी सम्बन्ध । नेपाल र भारतबीचको शत्रुतापूर्ण सम्बन्ध सुगौलीको सन्धिसँगै सदाकालका लागि समाप्त भएको हो । सुहृद् हुनु भनेको स्वार्थ र अहङ्कारबिनाको स्वतः र स्वस्फूर्त रूपमा भएको अत्यन्तै सहृदयी सम्बन्ध हो । भारत नेपालको सहृदयी छिमेकी हुन सकेको छैन । जहाँसम्म ‘मित्र’ को सवाल छ, भारत नेपालको मित्र थियो, छ र रहनेछ । मैत्रीसम्बन्धका दुई आयाम छन् । एउटा हो तुलनात्मक रूपमा सहज अवस्थाको मैत्रीसम्बन्ध र अर्को हो असहज र कटाक्षपूर्ण मैत्रीसम्बन्ध ।
भारत हाम्रो अनिवार्य र कठोर वास्तविकता हो । जुन दिन सुगौली र त्यसपछिका पूरक सन्धिको आधारमा नेपालको सुदूर भविष्यसम्मको भाग्यनिर्धारण भयो, त्यसै दिनदेखि एउटा कटु यथार्थ नेपालको शरीरसँग टाँसिएर रहेको छ । हाल स्वतन्त्र भारतरूपी यो यथार्थबाट मुक्त हुन युगयुगान्तरसम्म सम्भव छैन । नेपाल सैनिक शक्तिको आधारमा भिड्ने अवस्थामा छैन र नेपालको नीति त्यस अनुरूपको होइन । यहाँ सहज प्रश्न उठ्छ, त्यसो भए भारतसँग मैत्री कायम हुने, शिर निहुराउनु नपर्ने र माटो पनि गुमाउनु नपर्ने निर्विकल्प उपाय हो कूटनीति । शालीन, विनम्र र मिठासपूर्ण तर अविरल, अटल,अ डानयुक्त एवं चतुर कूटनीति ।
कूटनीति आधुनिक युगले ससाना मुलुकलाई दिएको अनुपम उपहार हो । कूटनीतिमा आफ्ना कुरा न छताछुल्ल पारिन्छ, न मनमा लागेका कुरा सिधा र सपाट रूपमा भनिन्छ । कूटनीति भनेको वास्तविक दुःखेसो र सोको कारण उठेको क्रोध र आक्रोशलाई भित्रभित्रै दबाएर अर्कै शब्द र ‘बडी ल्याङ्ग्वेज’ मा प्रकट हुने कला हो । कूटनीति युक्ति र चातुर्यको संयुक्त रूप देखाउन सकिने प्रवीणता हो । कूटनीतिका साम, दाम, दण्ड र भेद गरी चार नीति हुन्छन् । आजको नेपालले अपनाउनुपर्ने प्रमुख नीति साम हो । भेदनीति अपनाउन सक्ने क्षमता हाललाई छैन । अन्य नीति नेपाल अनुकूल छैनन् । आधुनिक युगमा कूटनीतिज्ञ शक्तिलाई ‘प्रोफेसनल क्याडर’ को रूपमा विकास गर्न थालिएको छ । अचेल विभिन्न देशहरूले ‘कूटनीतिक पूर्वाधार’ को विकास गर्न थालेका छन् । छिमेकी देश चीन र भारतले अहिले व्यावसायिक कूतानितिज्ञहरूको ठूलो समूह नै खडा गरेका छन् । नेपालले यसबाट पाठ सिक्न धेरै विलम्ब भइसक्यो ।
कूटनीति यस्तो जटिल विषय हो, जहाँ अर्को पक्षले आफूलाई मूर्ख बनाएको थाहा पाउँदासम्म धेरै समय घर्किसकेको हुन्छ । कूटनीतिमा आफू चलाख भएर मात्र पुग्दैन, अर्को पक्ष झन् धूर्त छ भन्ने कुराको समेत हेक्का राख्नु अनिवार्य छ । कूटनीतिमा आफ्ना नागरिकको भावना बुझ्नु आवश्यक छ तर त्यो पर्याप्त हुँदैन । अर्को पक्षका जनता, ‘मिडिया’, नागरिक समाज र बुद्धिजीवीको भावनाबारे समेत सुसूचित हुनु जरुरी छ । जसरी भारत हाम्रो सदाकाल रहिरहने समस्या हो, त्यस्तै भारतको सोचाइमा नेपाल पनि स्थायी समस्या हुनसक्छ । साधारण जनताको भावना भड्काउन सजिलो छ, अनर्गल कुरा गरेर ‘भाइरल’ हुन सजिलो छ तर समस्याको चुरो पत्ता लगाएर समाधानसम्म पुग्न धेरै कठिन छ ।
धेरै ‘बुझक्की, पठित र बुद्धिजीवी’ जस्ता लाग्ने व्यक्तिहरूले भारतीय सामान, सिनेमा र साहित्यको बहिस्कारसम्म गर्नुपर्ने कुरा गर्दछन् । कतिपय त ‘बृहत् नेपाल’ को नारा बोकेर भावुक तर असम्भव कुरा गर्दछन् । सुगौली सन्धिभन्दा ठीक अघिको कुरा गर्नेले त्योभन्दा अघिको पनि इतिहास छ भन्ने कुरा बिर्सन्छन् । आफूसँग भएको सम्पत्तिको रक्षा गर्नु चुनौतीको रूपमा खडा भएको विषम अवस्थामा भावुक कुरा गरेर केही फाइदा छैन । जसले यो मुलुकको हित चाहन्छन् र जिम्मेवारी बोकेर बसेका छन्, उनीहरूलाई यस्ता भावुक र ‘लोकप्रिय’ कुरा गर्ने सुविधा छैन । जिम्मेवारीमा बस्नेले सारा पीडा र आक्रोश मनभित्र समेटेर मीठामीठा तर अडानयुक्त मैत्रीपूर्ण शब्द र ‘बडील्याङ्ग्वेज’ साथ प्रस्तुत हुनुपर्दछ । जिम्मेवारीमा बसेको व्यक्तिबाट प्रयोग हुने आवेगपूर्ण एक शब्दले धेरै कुरा बिगार्न सक्छ । परिणाम प्राप्त नहुँदैको प्रचारले बन्न लागेको काममा तुषारापात हुनसक्छ ।
आज नेपाललाई कोल्टे फेर्ने कूटनीतिको सुविधा छैन । आजको कूटनीति बजारको कब्जामा छ । हाम्रा छिमेकीहरू बजारको ‘फिराक’ मा छन् । यो जमानामा अन्तर्राष्ट्रिय नैतिकताको आशा गर्नुको पनि प्रयोजन छैन । अहिले हामीले गर्ने भनेको सुन्ने, बुझ्ने र भन्ने हो । हामीले प्रमाण जुटाउँदै गर्दा अर्को पक्ष पनि आफ्ना प्रमाण जुटाउन झनै सिपालु छ भन्ने कुरा बिर्सनुहुँदैन । धेरै सङ्ख्याका कच्चा र अनुमानित प्रमाणभन्दा एउटा मात्र पक्का प्रमाण बलियो हुन्छ ।
(लेखक नेपाल सरकारका पूर्व सहसचिव हुनुहुन्छ ।)