नेपालमा कोरोना भाइरस रोग (कोभिड–१९) को सङ्क्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपटक राष्ट्रका नाममा सम्बोेधन गर्दै विज्ञहरूको सुझावअनुसार मुलुकको कुल जनसङ्ख्याको दुई प्रतिशतसम्म कोरोनाको परीक्षण विस्तार गरिने बताउनुभएको छ । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले कोरोना परीक्षणको दायरा विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रुतगतिमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुरुदेखि नै विश्वको अनुभव, विश्व स्वास्थ्य सङ्गठनको आग्रह तथा मापदण्डअनुसार कोरोना नियन्त्रणको पहल गर्दै आएको नेपालले लामो समयसम्म सङ्क्रमण नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेको छ । तेस्रो मुलुकबाट हुनसक्ने आवतजावतलाई चैत ६ गते राति १२ बजेबाट हवाई सेवा रोकिएपछि त्यताबाट हुने सङ्क्रमणको सम्भावना छैन । अन्तर्राष्ट्रिय उडान बन्द भएको करिब अढाइ महिनासम्म त्यताबाट आएका मानिसबाट हुनसक्ने सङ्क्रमणको समयसीमा करिब अन्त्य भएको छ तर खुला सीमा रहेको छिमेक भारतबाट सुरुमा लुकिछिपी र पछि अनियन्त्रित तबरले नेपाल भित्रिएकाबाट सङ्क्रमण व्यापक फैलिएको यथार्थ छ । सङ्क्रमण रोकथाममा नेपालले प्रभावकारी आन्तरिक पहल गरेको भए पनि भारतबाट भएको अनियन्त्रित प्रवेश चुनौती बन्दैछ । आगामी दिनमा यस्तो प्रवेशलाई व्यवस्थित गर्दै नाकामै मापदण्ड बमोजिमका क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने देखिएको छ ।
विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउन सरकार सधैँ तत्पर छ । सुरुमा चीनबाट नेपालीको उद्धार गरी ल्याइएको थियो । त्यसबेला चीनमा मात्र सङ्क्रमण फैलिएकाले उद्धार गर्न सहज थियो तर अहिले विश्वभर महामारी फैलिएको छ । विश्वभर छरिएर रहेका नेपालीलाई स्पष्ट कार्ययोजनाका साथ स्वदेश फिर्ताको तयारी थालेको प्रधानमन्त्रीले बताउनुभएको छ । विशेष कार्ययोजनाका साथ उनीहरूलाई नेपाल ल्याउन सरकार प्रतिबद्ध र चिन्तित भए पनि विश्व स्वास्थ्य सङ्गठनका प्रावधान र मापदण्डअनुरूप नेपालीलाई घर फर्काउन केही समय लागेको हो । खुला सीमा रहेको भारतबाट फर्कनेहरूलाई यस्तो मापदण्ड लागू नगरिएकाले पनि पछिल्ला दिन नेपालमा सङ्क्रमितको सङ्ख्या अस्वाभाविक बढेको हो । घर फर्किनेहरू सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो तर छिमेकी मित्रराष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरूलाई नियमको पालना र परीक्षण बिना नेपाल जान दिइएकाले चुनौती थपिएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रावधानको पालनामा हरेक देश तथा नागरिक जिम्मेवार हुनुपर्छ । सङ्कटका बेला आफ्नो घर परिवारमा आउनु स्वाभाविक मानवीय आवश्यकता तथा स्वभाव हो तर आफूसहित परिवारलाई सुरक्षित राख्न नेपाल आइसकेपछि आफैँ होसियार भएर क्वारेन्टाइनमा बस्ने, सरसफाइलगायतका प्राथमिक उपचारमा ध्यान दिएर आफू र समुदायलार्ई सुरक्षित गर्नु सबैको जिम्मेवारी हुनेछ । आफ्नो कारणले परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न प्रधानमन्त्रीले गर्नुभएको अनुरोधलाई सबैले गम्भीरतापूर्वक पालना गर्नु आवश्यक छ । सरकार विदेशमा रहेका नेपालीको स्वास्थ्य, रोगजारी, सुविधा तथा नेपालप्रति उहाँहरूले दिनुभएको योगदानप्रति संवेदनशील छ भने नागरिकले पनि सरकारले गरिरहेका पहल, आग्रहलाई सोहीबमोजिम आत्मसात् गर्नुपर्छ ।
पछिलोपटक जारी बन्दाबन्दी आगामी जेठ २० गतेसम्म रहनेछ जसले मुलुकको समग्र अर्थतन्त्र र सम्पूर्ण देशवासी खासगरी दैनिक मजदुरीमा आश्रित परिवारमा ठूलो असहजता थोपरेको छ । सरकारले सर्वसाधारण तथा अर्थतन्त्रलाई राहत तथा पुनरुत्थानका लागि ल्याएका विभिन्न कार्यक्रमबाट नेपाल वर्तमान सङ्कटबाट तङ्ग्रिनेछ । सुरुमा औषधि र स्वास्थ्य उपकरणको खरिदमा देखिएका अप्ठ्यारा समाधान भएकाले अब सङ्क्रमण नियन्त्रण गर्न सहज हुने अपेक्षा छ । एकमात्र प्रयोगशालाबाट सुरु भएको कोभिड–१९ को परीक्षण सातवटै प्रदेशसम्म विस्तार गरी २० वटा प्रयोगशालामार्फत हुनथालेको छ । कुल जनसङ्ख्याको दुई प्रतिशतको परीक्षण गर्न सकिए अनि सबै सचेत र होसियार रहे सङ्क्रमण नियन्त्रणमा नेपाललाई उल्लेख्य सफलता प्राप्त हुनेछ । विश्वव्यापी सङ्क्रमण रोक्न सरकारको मात्र पहल पर्याप्त नहुने भएकाले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीले आफ्नो दायित्व निर्वाह गर्दै सरकारसँग हातेमालो गर्नु परिणाममुखी हुनेछ । सरकार र नागरिकको सहकार्यबाट विद्यमान अनपेक्षित अप्ठ्यारो परिस्थितिबाट पार पाउन सकिनेछ ।