logo
२०८१ मंसिर १५ शनिवार



आपत्को अनुशासन

विचार/दृष्टिकोण |




मुनका न्यौपाने

‘सुखमा नमात्तिनू र दुःखमा नपात्तिनू’ भन्ने’ हाम्रा अग्रजका उपदेशले जीवनमा आफूभित्रको साक्षीभावको सही चिन्तन गर्न अभिप्रेरित गरेको छ । असल विचारहरूको अनुसरणले मानवतासमेत प्रवद्र्धन हुनेछ । यसका लागि अध्यात्मको चिन्तन जरुरी छ । आध्यात्मिकताका लागि स्वयंभित्रको जागरण र आत्माको सर्वव्यापकता हुनुपर्दछ । यसले विश्वमानवताका लागि जागरण र बोध गराउँछ । ‘मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमानदारी’ आत्मजागरणको अवस्था हो ।
विश्वमा एकआपसमा मित्रताभाव र सदाचारको विकासले सार्थकता पाएको देखियो कोभिड १९ को कहरमा । अनुशासित जीवनशैली अपनाउनुपर्ने, योगध्यानबाट आफैँमा सकारात्मक ऊर्जा प्रदान गर्ने, बन्दाबन्दीका समयमा सामाजिक दूरी कायम गर्ने, अति आवश्यक कामबाहेक घरबाट ननिस्कने जस्ता अनुशासनको अनुसरण सबैबाट भएको पाइयो । नमस्कार संस्कृति र महामृत्युञ्जय मन्त्रलगायत मङ्गलजपको आकर्षणजस्ता कुराले विश्वभर चर्चा पायो । हामीले आधुनिकताको नाममा परसंस्कृति अनुसरण गरिरह्यौं । मानिस जति भौतिकवादमा रमाए पनि अध्यात्मवादले आपत्लाई संयमपूर्वक सम्हाल्न सहयोग गर्ने रहेछ भन्ने पनि प्रमाणित भएको छ । भौतिकवादी र आध्यात्मवादी सबैको सहमतिको विषय भनेको मृत्यु अवश्यम्भावी छ र यो अन्तिम सत्य हो ।
कुनै एक पक्ष वा मुलुक एकान्तवासमा रहन सक्दैन भनी विश्व्यापीकरणको सिद्धान्तले भन्छ । विकसित मुलुक विकास र प्रविधिको गतिको दम्भका कारण भौतिक विकासमा रमाए पनि आपत्का समयमा आत्मोत्थान र परमात्माको ध्यानप्रति रुचि राख्नेसमेत भए । ध्यानका विधि र तरिका फरक हुन सक्छन् । परमात्माको पुकार गर्ने तरिका फरक होला तर व्यक्ति जीवनमा आइपर्ने समस्यासँग कदापि भाग्न सक्दैन । आत्मा तत्वको अध्ययन नै आध्यामिकता हो भनिन्छ । ‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतं गमय’ मनुष्यमात्रको पुकार भएको छ ।
आध्यात्मवादले ’सर्वजन हिताय सर्वजन सुखाय’ आत्मसात् गर्न सिकाउँछ । सिक्ने चाहना र ग्रहणशीलता व्यक्ति–व्यक्तिमा फरक हुनसक्छ । होशपूर्वक जीवन बाँच्न साक्षीभावले प्रत्येक क्रियाकलाप गरिनुपर्दछ । बेहोसीमा गरिएका कार्यको नतिजा सधैँ नकारात्मक हुन्छ । धर्म र आध्यात्मिकता भनेका प्राप्तिसँग सम्बन्धित छन् न कि परपीडामा । अरूलाई उपकार गर्नु पुण्य हो र अरूलाई पीडा दिनु पाप हो भनी महर्षि व्यासले अठार पुराणको सार खिचेका छन् । प्राप्तिको बुझाइमा सहजता एवं सार्थकता दिन पनि अनुशासित जीवनशैली र असल अभ्यासको अनुसरण गरिनुपर्दछ ।
भाव, प्रभाव र अभाव जीवनका अमूल्य निधि हुन् । सद्गुरुहरूका अनुसार भाव नै संसार हो । प्रभाव मनोविज्ञानसँग सम्बन्धित पक्ष हो । अध्यात्मको परम सुखको प्रभाव र जीवनमा घटित घटनाको प्रभावले मानिसका तीन अवस्था जाग्रत, स्वप्न तथा सुषुप्ति अवस्थाको बोध गराउँछन् । परमात्मा शाश्वत स्थानमा छन् तर उनको शक्तिको प्रभाव प्रत्येकसँग छ । जसरी सूर्य टाढा अवस्थित भए पनि पृथ्वीमा आफ्नो प्रभाव जमाएको हुन्छ । (गीता अध्याय १३ श्लोक १५) अभावमा स्वयंलाई जान्ने शाश्वत सत्यको बोध हुने अनि यसले ज्ञानज्योतिका माध्यमबाट परमात्मा प्राप्तितर्फ उन्मुख गराउँछ । जसरी अन्धकार र प्रकाशका बीचमा सम्बन्ध रहन्छ त्यसैगरी अध्यात्म र निर्विचारको सम्बन्ध रहन्छ ।
सकारात्मक विचारले ऊर्जा प्रदान गर्ने विषयमा धेरै साहित्यमा चर्चा भइसकेको छ । आध्यात्मिक भाव सकारात्मक विचार प्राप्त गर्ने स्रोत हो । मानिस स्वयंमा एक चैतन्य शक्ति हो । यो चैतन्यको पुञ्ज जगाउन सकारात्मक भावसहितको साधना, दृढता अनि परमात्मासित सम्बन्ध बनाउने गरी आफ्नो इच्छाशक्ति जागृत हुन जरुरी छ । योगले मनका भावहरूलाई परमात्मासँग जोड्ने प्रभावकारी पद्धतिका रूपमा कार्य गर्दछ । अनुशासित जीवनशैली प्रवद्र्धनका लागि योग र यसका आयामहरू प्रभावकारी पक्कै हुनेछन् । वैज्ञानिक पद्धतिका रूपमा प्रमाणित भएको योगको विषय अनुसरण गर्दा हामी सबै लाभान्वित हुनेछौँ । शारीरिक स्वास्थ्य, मनको स्थिति अनि सकारात्मक दृष्टिकोण निर्माण र निर्णय क्षमताको विकासले मनमा लुकेर रहेको अहंकारी प्रभावलाई निस्तेज गर्दै अस्तित्वसँगको सम्बन्धको प्रभाव उजागर गर्दछ ।
बन्दाबन्दीको समय लम्बिँदो छ जसमा सबै नागरिकका तर्फबाट सरकारलाई सहयोग गर्दै अनुशासनमा बस्ने बानीको विकास गर्नुपर्नेछ । शैक्षिक क्षेत्र लामो समयसम्म बन्द रहेकाले बालबालिका घरमै रहन बाध्य छन् । बालबालिका सम्हाल्न अभिभावकलाई हम्मे परेको छ भने बालबालिका विद्यालय र साथीभाइबाट टाढा रहनुपर्दा एकाकी हुँदै गएका छन् । यो आपत्को समयमा संयम अपनाउन, जीवनशैलीलाई अनुशासित बनाउन तथा पारिवारिक निकटता र स्वव्यवस्थापनमार्फत जीवन व्यवस्थित बनाउन उत्प्रेरित गर्न सकिन्छ । बालबालिकालाई नजिकबाट नियाली नैतिक मार्गमा डो¥याउने अवसर हो यो । जग बलियो बनाउन सकेमा मात्र सकारात्मक परिवर्तन सम्भव हुन्छ ।
पक्कै पनि नकारात्मक चिन्तनले व्यक्तिको शक्ति नष्ट गर्दछ । आपत्को समयमा मानिसभित्रको उत्साह उमङ्ग जागृत हुँदैन । विचारशक्ति प्रबल बनाउन विद्यमान कठिन परिस्थिति नियन्त्रण हुनेछ भन्ने सकारात्मक चिन्तनसहित विश्वास सबल बनाउनु जरुरी छ । प्रतिक्रिया र व्यर्थ विचारको उपजले परिस्थिति प्रतिकूल हुन जान्छ । चुनौतीले मानिसलाई रचनात्मकतातर्फ उन्मुख गराउँछ । आध्यात्मिक ज्ञानले आफूले निर्वाह गर्नुपर्ने भूमिका तथा सबल मनस्थिति निर्माणमा सघाउँछ । जीवन केवल बिताउनका लागि मात्र नभई बाँच्नका लागि हो । सही र खराबबीचको अन्तरले चरित्र शुद्धितर्फ डो¥याउँछ । यहाँनेर सुभाषित रत्नभाण्डागारबाट साभार गरिएको एउटा श्लोक ः
पुराणमित्येव न साधु सर्वं न चापि काव्यं नवमित्यवद्यम् ।
सन्तः परीक्ष्यान्यतरद् भजन्ते मूढः परप्रत्ययनेयबुद्धि सः ।
‘पुरानो हुँदैमा सबै राम्रो हुदैन र नयाँ हुँदैमा सबै खराब हुँदैन’ भन्ने लगायतको माथिको भावले असल—खराबको विश्लेषण तथा अनुसरणको सम्मिश्रणमार्फत नै नैतिक, व्यावहारिक र सैद्धान्तिक दृष्टिकोण निर्माणमा सघाउ पु¥याउँछ । सकारात्मक बनौँ, आत्मचिन्तन गरौँ, मङ्गलभावले विश्वकल्याणको कामना गरौँ । सद्विचारं शरणं गच्छामि । लोकाः समस्ता सुखिनो भवन्तु । सर्वेषां मङ्गलं भवतु’ को कामना ।

(लेखक नेपाल सरकारका उपसचिव हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?