कुलचन्द्र पराजुली
सन् २०१९ डिसेम्बर ३१ मा चीनको वुहान सहरबाट देखिएको कोरोना भाइरस (कोभिड– १९) ले आज विश्व अर्थतन्त्रमा एक कहालीलाग्दो चुनौती थपिदिएको छ भने यसले मानवजातिमा स्वास्थ्य समस्याका अतिरिक्त मानसिक तनावसमेत थपिदिएको छ । भोकमरी, आर्थिक मन्दी, रोजगारीमा व्यापक कटौती हुने जस्ता समस्या यसले निम्त्याउने प्रष्टरूपमा देखिन थालेको छ । बन्दाबन्दीपश्चात् विश्वका प्रायः सबै देशले आफ्ना उद्योग कलकारखाना बन्द गर्नु, सवारीसाधनको प्रयोगमा उल्लेखनीय रूपले कटौती हुनु, रेल सेवा बन्द हुनु जस्ता कारणले प्रकृतिले पुनः एकपटक लामो सास फेर्न थालेको छ । हालसम्मको अध्ययन विश्लेषणले कोरोना भाइरसको उत्पत्ति मानवले प्रकृतिमाथि गरेको अस्वाभाविक हस्तक्षेपलाई नै लिएको देखिन्छ ।
बन्दाबन्दीपश्चात् सडक खन्ने डोजर, यात्रु बोक्ने सवारी साधन, निजी गाडी, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडान भर्ने करिब ३९ हजार हवाईजहाज प्रायः ठप्प भए । औद्योगिक उत्पादनमा शून्यता छायो । औद्योगिक उत्पादन बन्द भएसँगै धुलो, धुँवा र रसायनयुक्त पदार्थको उत्सर्जन लगभग शून्य छ । हरितगृह ग्याँसको उत्सर्जनमा समेत कटौती हुन पुगेको छ । समग्रमा पृथ्वीमा मानवीय कारणले हुने प्रदूषणमा उच्च गिरावट आएको छ । स्वीस प्राविधिक कम्पनी आईक्यू एअरले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार विश्वका कोरोना भाइरस प्रभावित मुख्य १० सहरमध्ये इटलीको रोमबाहेक नौ सहरको पी.एम.२.५भ्यालु २०१९ को तुलनामा ६० प्रतिशतसम्म घटेको छ भने विगत चार वर्षको औसतमा हेर्ने हो भने पनि ५५ प्रतिशतसम्मले घटेको देखिन्छ ।
वातावरणीय अवस्थामा आएको सुधारका कारणले गर्दा मानिसको फोक्सोले धुला कणबाट भोग्ने सास्ती, मानवमा श्वासप्रश्वाससम्बन्धी देखिने समस्या, धुलोधुँवाकै कारण देखिने रुघाखोकी जस्ता समस्यामा उल्लेखनीय रूपमा सुधार आएको छ भने पैदलयात्रुले सडकमा भोग्ने पीडालाई बिर्सन थालेका छन् । वायु प्रदूषणसँगै ध्वनि प्रदूषणमा समेत सोही अनुरूपको सुधार आएकाले भूकम्पका ससाना कम्पनसमेत मापन गर्न सकिएको भनी प्रतिवेदनहरू सार्वजनिक हुन थालेको पाइन्छ ।
बन्दाबन्दीपश्चात् नेपालमा पनि प्रायः सबै उद्योग कलकारखाना बन्द छन् भने सडकमा सवारी साधनको घनत्वमा न्यूनता आएको छ । अत्यावश्यक बाहेकका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडान दुवै बन्द छन् । त्रिभुवन विश्वविद्यालयका शोधकर्ता एस.पी. गौतमलगायतले सन् २०२० मे मा आईओएसआर जर्नलमा प्रकाशित गरेको लेखमा कोभिड– १९ पश्चात् गरिएको बन्दाबन्दीका कारण काठमाडौँको प्रदूषण घटेर मध्यमस्तरमा झरेको उल्लेख छ भने वायुको गुणस्तर मापन गर्ने ‘दि वल्र्ड एअर क्वालिटी प्रोजेक्ट’ का अनुसार काठमाडाँै रत्नपार्कको पीएम–५ भ्यालु सन् २०१९ अप्रिलको तुलनामा सन् २०२० अप्रिलमा ३६.०६ प्रतिशतले घटेको देखिन्छ । यसरी प्रकृतिमाथिको अत्यधिक एवं अव्यवस्थित मानव हस्तक्षेपमा आएको गिरावटका कारण काठमाडौँलगायतका सहरको आकाश नीलो देखिन थालेको छ । काठमाडौँवासीले वरपरको प्राकृतिक सौन्दर्य आँखाले नियाल्न थालेका छन् ।सडक वरपर रहेका बोटबिरुवा र खुला आकाशमा रमाउने चराचुरुङ्गीको खुशी मापन गर्ने यन्त्रको विकास भएको हुन्थ्यो भने कोरोना कहर अगाडि र अहिलेको तिनको खुशी मापनमा यति अन्तर देखिन्थ्यो होला !
मानवले प्रकृति हाम्रा लागि हो, हामी प्रकृतिका लागि भन्ने कुरा बुझ्नु जरुरी देखिएको छ । हामीले प्रकृतिका हरेक नियमलाई सूक्ष्म तवरले नियाली हामीसँगै यस लोकमा अन्य सजीव पनि छन् ती पनि बाँच्न चाहन्छन् त्यो पनि उनीहरूकै आफ्नै संसारमा भन्ने विषयलाई मनन गर्ने बेला आएको छ ।
प्रकृतिको प्रयोग गर्दा भावी पुस्ताका अधिकारप्रति सजग नहुने हो भने डाइनोसरको अस्तित्व यस पृथ्वीबाट मेटिए झैँ भोलि हाम्रो अस्तित्व नमेटिएला भन्न सकिन्न । त्यसैले हामीले साझा ‘धर्ती साझा वासस्थान’को अवधारणा अनुरूप वातावरणमैत्री कदमलाई विकासका हरेक गतिविधिमा आबद्ध गर्नुपर्ने तथा विज्ञानले सिर्जना गरेका हरेक वस्तुलाई प्रकृतिप्रेमी बनाउदै लानुपर्ने आवश्यकता देखिएको छ । विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा प्रकृतिको महत्वसम्बन्धी विषयलाई अनिवार्य बनाउनुपर्ने देखिन्छ ।
कोरोनाजस्तै भविष्यमा आउनसक्ने अन्य महामारी नियन्त्रणका लागि एक देश वा एक व्यक्तिको मात्र नभएर सम्पूर्ण विश्व जगत्को सामूहिक प्रयत्न जरुरी छ । पृथ्वी हाम्रो साझा घर हो, एक देश वा व्यक्तिको प्रकृतिप्रतिको बेवास्ताले समग्र विश्वलाई प्रभाव पार्दछ । आममानिसमा प्रकृति मेरा लागि हो, प्रकृति बेगर म रहन्नँ भन्ने चेतनाको बोध हुनुपर्ने देखिएको छ ।
(लेखक भौतिकशास्त्रका विद्यार्थी हुनुहुन्छ ।)