logo
२०८१ मंसिर १५ शनिवार



कोभिड १९ मा ‘क्लिक वेट’ नखोज

विचार/दृष्टिकोण |




डा.कुन्दन अर्याल

संसारका अन्य उदार लोकतान्त्रिक देशहरूमा झैँ नेपालमा पनि केही दिन यता कोरोना(कोभिड १९) भाइरसविरुद्धको लडाइँमा आमसञ्चार माध्यमको भूमिकासम्बन्धी परिचर्चा सुरु भएको छ । यो विषयमा पनि संसारभरि नै विमर्श भइरहेकै छ ।
कोलम्बिया जर्नालिज्म रिभ्यूका एक सम्पादक ग्याब्रियल स्निडरको यही साता प्रकाशित आलेखमा कोभिड १९ को महामारीबाट विश्वलाई बचाउन पत्रकारिताको भूमिकाका सम्बन्धमा चर्चा गरिएको छ । बीसौँ शताब्दी सुरु हुनभन्दा चार वर्षअघिको अमेरिकी पत्रकारिताको प्रसङ्ग उल्लेख गर्दै उहाँले पुलिट्जरको न्यूयोर्क वल्र्ड र हस्र्टको न्यूयोर्क जर्नलबीचको तीव्र प्रतिस्पर्धाको स्मरण गर्नुभएको छ । उहाँ इतिहास खोतल्दै ती अखवारहरूको चम्किला र चित्रमय आवरण पृष्ठ, चर्का शीर्षक र भयङ्कर अपराध, राजनीतिक काण्ड र आँसु झार्ने मानव रुचिका सामग्रीका कारण बजारमा कायम रहेको आधिपत्यको चर्चा गर्नुहुन्छ । त्यही सन्दर्भमा न्यूयोर्क टाइम्सको उदयसँगै अमेरिकका प्रतिष्ठित पत्रकारिताको क्षेत्रमा त्यो प्रवृत्ति परास्त भएको राय उहाँले दोहो¥याउनु भएको छ तर त्यो बेलाको पहँेलो (पीत) पत्रकारितालाई आज पनि ‘क्लिक वेट’ वा ‘फेक न्यूज’का रूपमा बुझ्न सकिने उहाँको ठहर छ ।
आज क्लिक वेट भनेको वेबसाइट वा अनलाइन पत्रकारितामा उपयोगकर्तालाई आकर्षित गर्ने एकोहोरो ध्याउन्नका साथ सामग्री तयार गर्ने शैलीलाई बुझिन्छ । त्यही क्रममा उहिलेको पीत पत्रकारितामा जस्तै आज पनि सनसनीपूर्ण र भड्किला शीर्षकको ध्याउन्नमा पत्रकारहरूले सत्य–तथ्य र उत्तरदायित्वलाई बिर्सने गरेको पाइन्छ । त्यसैले आज संस्थागत र व्यावसायिक आमसञ्चार माध्यमको महत्व झन् बढ्न गएको छ । अहिलेको चुनौतीपूर्ण अवस्थामा सार्वजनिक हित भनेको के हो ? सत्य बताउने पत्रकारिताको मूल धर्मलाई कोभिड १९ को सन्दर्भमा हेरौँ त । अहिले यसको असरको गाम्भीर्य र सङ्कटका बारेमा आममानिसलाई सजग गराउनु र जीवन जोगाउँदै भविष्यको जोहो गर्न सिकाउनु सार्वजनिक हितको रक्षा गर्नु हो । साथै आतङ्क नफैलियोस् वा मनोसामाजिक अवस्थाले व्यक्ति–व्यक्तिलाई भयानक निराशाको अवस्थामा नपु¥याओस् भन्ने जिम्मेवारीबोध समेत गर्नु नै सार्वजनिक हितको रक्षा गर्नु हो ।
कोभिड–१९ को अति तीव्र सङ्क्रमण आजको एउटा सर्वव्यापी सत्य हो तर आफ्नै व्यवहार र सजगताबाट यसलाई परास्त गर्न सकिन्छ भन्ने प्रमाणित सत्य पनि हाम्रासामु छ । साथै यसविरुद्धको भ्याक्सिन र उपचार गर्ने औषधिको विकासका लागि पनि वैज्ञानिकहरू अहोरात्र खटिरहेका छन् । त्यसैले अघिपछि जस्तै सङ्कट वा खतराको एउटा बिन्दु अनि बेवास्ता वा निष्पृहताको अर्को बिन्दुको बीचबाट आमसञ्चार माध्यमले मध्यम मार्ग अख्तियार गर्नु सबैभन्दा उपयुक्त हुन्छ । आजको सन्दर्भमा सार्वजनिक हितको रक्षा गर्ने सबैभन्दा उपयुक्त बाटो यही हो ।
एकातिर विश्वव्यापी महामारी छँदैछ अर्कोतिर द्वन्द्व र असहिष्णुतालगायत अनेक घटनाक्रम आफ्नै गतिमा छन् । नेपालको रुकुममा छ जना युवा मारिएपछि न्यायको माग भइरहेको छ । अमेरिकामा प्रहरीले कब्जमा लिइसकेपछि एक जना अश्वेतलाई घाँटी थिचेर तत्कालै मारेपछि राष्ट हुँदै विश्वव्यापी आन्दोलन भइरहेको छ । नयाँ समस्याले उत्सर्जन गरेको आवेगमा मानिस कतिपय बेला कोभिड १९को विश्वव्यापी स्वरूपलाई बिर्सिरहेका छन् । त्यसैले प्रश्न उठेको छ, अमेरिकामा भइरहेको प्रदर्शनहरूको लहरले कोरोना भाइरसलाई फैलाउन मद्दत गर्छ कि गर्दैन ? अनि उत्तर पनि आइरहेको छ, हार्वर्ड विश्वविद्यालयकी बङ्गाली मूलकी एक प्राध्यापक भन्नुहुन्छ, कोभिड १९ को महामारी फैलिनुभन्दा धेरै अघिदेखि संरचनागत नश्लवाद जनस्वास्थ्य सङ्कटका रूपमा रही आएको थियो । तैपनि जमघटसहितको आक्रोशको सीमा कोभिड १९ ले तय गरिसकेको छ । अब तिनै प्रदर्शनका कारण कोरोना भाइरसको सङ्क्रमणको नयाँ लहर चल्ने हो कि भन्ने आशङ्का पनि बढेको छ । त्यसैले यस्तो मामिलामा बाँच्दै उज्ज्वल भविष्यको तयारीका लागि कोरोना भाइरसले तय गरेको सीमाको समेत ख्याल गर्ने मध्यमार्गको प्रसङ्ग उठ्न थालेको हो । सङ्क्रमित र जीवन गुमाउनेहरूको सङ्ख्या बढिरहेकै छ । तैपनि कोरोना भाइरससँगको लडाइँका क्रममा मानिसले न मानवीय गरिमालाई कुल्चिएको सहन गर्नसक्छ, न सुशासनको मान्यतालाई लत्याइएको टुलुटुलु हेर्न सक्छ । त्यही कारण पनि हुनसक्छ, अब कोरोनासँगै जीवनका यथार्थको सामना गर्नुपर्ने धारणाले प्रभाव जमाउँदै जान थालेको देखिन्छ ।
आज विमर्श, जमघट वा आमनेसामनेको वादविवाद र असहमति जस्ता मानवजातिका आधारभूत स्वभावजन्य क्रियाकलापलाई नयाँ ढङ्गले कायम राख्नुपर्ने अवस्था छ । त्यसैले वादविवाद गर्ने र असहमति प्रकट गर्ने प्रभावकारी थलोका रूपमा आमसञ्चार माध्यमको भूमिका झन् बढेको छ । यो विश्वव्यापी महामारीले विमर्शलाई अघि बढाउने सवालमा आमसञ्चार माध्यमको महत्व झनै बढाएको छ । यावत् सामाजिक क्रियाकलाप विज्ञहरूको सल्लाह र वैज्ञानिक विधिबाट हुनुपर्छ भन्ने जनमत बनाउन आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुनसक्छ । सागसब्जी र तरकारी खाडलमा गाडिएको विषयमा मिडिया र सामाजिक सञ्जालमा उजागर भएपछि वैज्ञानिक जानकारी प्रसारित भयो । अन्ततः कोरोनासँग लड्ने नाममा नेपालमा भएको त्यो काम गलत थियो भन्ने स्थापित हुनसक्यो ।
अहिलेको बन्दाबन्दी जनस्वास्थ्यको हितका लागि विश्वव्यापी रूपमा प्रमाणित उपाय हो । साथै लामो बन्दाबन्दीका कारण आममानिसको आर्थिक जीवनमा गम्भीर असर परिरहेको यथार्थलाई बिर्सन सकिँदैन तर बन्दाबन्दीका सम्बन्धमा गम्भीरताका साथ, विज्ञहरूको राय र वस्तुगत मूल्याङ्कनमा आधारित भएर बनाइएको समाचार वा टिप्पणीको अपेक्षा गर्नुपर्दछ । किनकि, यो खासगरी हाम्रोजस्तो देशमा बेलाबेला राजनीतिक कारणले हुने विरोधको कडा सङ्केतस्वरूप आयोजना गरिएको बन्द होइन । यस विषयमा भावनात्मक, राजनीतिक वा आक्रोश वा विरक्तिले भूमिका निर्वाह गर्नुहुँदैन ।
उपयुक्त व्याख्या नगरी कुनै मतलाई सहजै कुनै प्रश्नविना बढाइ–चढाइँ गरेर स्थान दिँदा कोभिड १९ को प्रसार गति बढ्न सक्छ । सूचना प्रविधिको निर्बाध प्रयोग गर्दै सौखिन वा अव्यावसायिक तर मुनाफामुखी सञ्चारकर्मीले ‘क्लिक वेट’ बढाउन तयार गरेका सामग्रीका कारण अफवाह र त्राससमेत फैलिने गरेका छन् । त्यसैले यो बेला पत्रकारितामा जिम्मेवारी र समाजप्रतिको उत्तरदायित्वको प्रश्न झन् महत्वपूर्ण ठहरिन पुगेको छ । एकातिर व्यावसायिक पत्रकारिता छ, जो संस्थागत छ र जहाँ रिपोर्टिङ्, सम्पादन र प्रकाशन वा प्रसारणपूर्व सत्यापनका स्थापित विधिहरू छन् । जहाँ पुष्टि र पुनर्पुष्टिका लागि अनुसन्धानका चरणहरू पूरा गर्नुपर्दछ । कसैले भन्न सक्छ, अमुक अखवार वा पत्रिकामा त्यस्तो गरिँदैन । अझ कोही पत्रकारको परिचयपत्र प्राप्त व्यक्तिले पनि भन्न सक्छ, मलाई त्यति झन्झट गर्ने फुर्सद छैन तर सूचना, विचार, गालीगलौज अक्षर, स्वर वा तस्बिरमा क्षणभरमै जोसुकैले जहाँसुकै पु¥याइदिन सक्ने प्रविधिको विकास भइसकेको आजको विश्व समाजमा पत्रकारिताको स्थान कहाँ सुरक्षित हुनसक्छ भन्ने प्रश्नको उत्तर खोजौँ । उत्तर खोज्ने त्यो सानो अभ्यासले समाजमा पत्रकारको परिचय स्थापित गर्न चाहने हरेक व्यक्तिलाई सूचना सम्प्रेषणमा आफ्नो भूमिकाको कर्तव्यबोध हुनपुग्छ ।
माध्यम छापादेखि रेडियो, टेलिभिजन हुँदै अनलाइनसम्मको जुनसुकै होस्, धेरै विद्वान्ले साढे तीन सय वर्षमा समाजका लागि पत्रकारहरूको भूमिकाको प्रष्ट रेखाङ्कन गरिसकेका छन् । पत्रकारिताबाट गरिएको कुनै पनि सभ्य र लोकतान्त्रिक समाजको सूचना, शिक्षा, मनोरञ्जन र अभिप्रेरणाको अपेक्षा कुन बेला पूरा हुनसक्छ ? अथवा कुन बेला पत्रकारिताले समाज वा वरिपरिका सबै घटनाक्रमको मिहिन निगरानी गर्न सक्छ ? कस्तो अवस्थामा पत्रकारिताले सामाजिक जीवनका यावत् क्षेत्रलाई जोड्न वा सम्भावित अनिष्टको अग्रिम सूचना प्रसार गर्न सक्छ ? कस्तो पत्रकारले राष्ट्रको इतिहास र गौरवमय परम्पराको स्मृतिलाई निरन्तर कायम गर्न सक्छ ?
प्रष्ट छ, दक्षता र सीपसहित पत्रकारिताका आधारभूत नैतिक पक्षको ज्ञानविना यी सबै अपेक्षा पूरा गर्न सकिँदैन । त्यसैले पत्रकारिता जिम्मेवारी र उत्तरदायित्वको अपेक्षा गरिने गम्भीर पेशा वा व्यवसाय हो । समाजको अपेक्षा पूरा गर्न जोसुकै सञ्चारकर्मीले सजिलै सक्दैन । जुनसुकै सञ्चारकर्मप्रति आमजनताले भरोसा र विश्वास पनि गर्दैनन् । साक्षरता र चेतनाको अभिवृद्धिसँगै सूचना र धारणाको आधिकारिताको माग बढ्दै जान्छ । पत्रकारले केवल यति भने हृदयङ्गम गर्नुपर्छ, समाजमा सूचना वा शिक्षाको प्रसार गर्ने वा मानिसलाई मनोरञ्जन गराउने कैयन् प्रचलन हुन सक्छन् तर पत्रकारिताको विशिष्ट स्थानलाई कुनै पनि प्रचलनले विस्थापित गर्न सक्दैन । पत्रकारितालाई केवल गैरजिम्मेवार पत्रकारिताले परास्त गर्दछ ।

(लेखक त्रिविअन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागसँग आबद्ध हुनुहुन्छ ।)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?