logo
२०८१ मंसिर १५ शनिवार



कोरोनासँगै चलायमान

विचार/दृष्टिकोण |




डा. प्रकाश बुढाथोकी

नेपालले बन्दाबन्दीमा परीक्षणको दायरा बढाउने र स्वास्थ्यसंस्थाहरूको स्थिति बलियो बनाउनतर्फ लाग्नुपर्ने देखिएको छ । जनसङ्ख्यालाई कोरोनाविरुद्ध लड्न सक्षम बनाउनु अर्थात् हर्ड इम्युनिटीको विकास गर्नु हो तर त्यसका लागि कम्तीमा ८० प्रतिशत जनसङ्ख्यामा कोरोनासँग लड्न सक्ने क्षमताको विकास गर्नुपर्ने हुन्छ । जसका लागि पहिलो ठूलो जनसङ्ख्या रोगबाट सङ्क्रमित हुनुपर्छ, दोस्रो, रोगविरुद्धको खोप प्राप्त गर्नुपर्छ । पहिलो उपाय कोरोनामा यसको अन्य फ्लुभन्दा १० गुणा बढी जटिलता, जोखिम समूह, मृत्युदरले गर्दा सम्भव छैन । त्यसमा नेपालको कमजोर स्वास्थ्यप्रणाली र उपलब्ध स्वास्थ्यकर्मीले धान्न सक्दैन । दोस्रो, खोपको उत्पादन, परीक्षणमा विश्वभरका वैज्ञानिक जुटिरहेका छन्, प्रारम्भिक अनुसन्धानकै चरणमा छन् । अमेरिका, चीन, बेलायत र जर्मनीका वैज्ञानिकहरू कम्तीमा सात खोप मान्छेमा गरिने परीक्षणको चरणमा प्रवेश गरेका छन् । कुनै न कुनै खोप २०२१ को जनवरीसम्म प्रयोगमा आउनसक्ने आँकलन गर्नसकिन्छ ।
नेपालमा आयातित केसहरूले सङ्क्रमण गराएको, बढाएको छ । सङ्क्रमण दर बढ्दै जाँदा बन्दाबन्दीको समय पटक पटक बढाइएको छ । यसले आर्थिक, सामाजिक अवस्थालाई प्रभावित बनाएको छ । बन्दाबन्दीबाट सिधै पूर्ववत् अवस्थामा फर्कन सकिँदैन । यसकारण लकडाउनलाई क्रमशः चरणबद्ध ढङ्गबाट कम गर्दे लान सकिन्छ । अन्तर्राष्ट्रिय विमानस्थल र सीमानाकालाई साउन मसान्तसम्म बन्द गर्नुपर्छ । विदेशमा भएका नेपालीलाई ल्याउँदा ती स्थानमा आरडीटी पीसीआर गरी नेगेटिभ भएमा मात्र भित्र्याउनुपर्छ । जोखिमको आधारमा अति उच्चजोखिम— गाढा रातो, उच्चजोखिम— रातो, सामान्य—पहँेलो र निम्न जोखिमयुक्त— हरियोमा बाँडेर जिल्लालाई छुट्याउनुपर्ने र क्रमशः कफ्र्यु, पूर्ण लकडाउन, आंशिक लकडाउन र खुला गर्न सकिन्छ ।

वडामै निगरानी र परीक्षण
फितलो ट्रेसिङ र टेस्टिङ अर्थात् सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान र निदानको कार्य सन्तोषजनक नभएको भन्दै बन्दाबन्दीको अवधि बढाइएको छ । आरडीटी पीसीआर कोरोना परीक्षणमा ‘गोल्ड स्ट्याण्डर्ड’ हो । स्वास्थ्य मन्त्रालयले वैशाख १२ गते कोभिड १९ सङ्क्रमणको नियन्त्रण र रोकथामलाई थप व्यवस्थित गर्न ट्रेसिङ र टेस्टिङ कार्यमा सहयोग र सहजीकरणका लागि एकजना जनस्वास्थ्य अधिकृत, एकजना ल्याब टेक्निसियन तथा नर्स वा प्यारामेडिक्स रहने गरी तीन सदस्यीय टोली गठन गर्ने निर्णय गरेको छ । हरेक गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँचवटा टोली परिचालन हुनेछन् । हरेक वडातहमै निगरानी र परीक्षण गरे मात्र नियन्त्रण गर्नसकिन्छ ।

बन्दाबन्दीको तरिका
अधिकांश जनस्वास्थ्य र महामारी रोग विशेषज्ञहरूले अब नियमितरूपमा कडा लकडाउन गरेर समस्या समाधान नहुने सुझाव स्वास्थ्य मन्त्रालयमार्फत उच्चस्तरीय समिति र सरकारलाई दिएका छन् । खोप पत्ता नलागुञ्जेल पूर्ण निर्मूल नहुने र खोपको बन्ने टुङ्गो नभएकाले बन्दाबन्दीको मोडालिटी परिवर्तन गर्नुपर्ने देखिन्छ ।
पहिलो मोडेलमा रातो, पहँेलो र हरियो क्षेत्र छुट्याउने, रातो क्षेत्रलाई पूरै सिल गर्ने, पहेँलोलाई अलि खुकुलो र हरियो क्षेत्रलाई सामान्य अवस्थामा गतिविधि गर्न छुट दिन सकिन्छ । जसका लागि कोभिड १९ कुन क्षेत्रमा फैलिएको र फैलिएला भन्ने आँकलन, व्यापक परीक्षण हुन जरुरी छ । दोस्रो मोडलमा सङ्क्रमित सङ्ख्याका आधारमा शून्य केस भएकोलाई सङ्क्रमण नभएको स्थान, जहाँ स्कुल, कलेज, सिनेमा हल जस्ता भीड लाग्ने स्थान नखोल्ने, सभाजुलुस गर्न नपाउने तर कोभिड १९ सुरक्षाका सम्पूर्ण उपाय अपनाएर सामाजिक दूरी कायम गरी हिँडडुल, उद्योग, यातायातसम्म सञ्चालन गर्नसकिन्छ । एकदेखि पाँच केस देखिएका क्षेत्रमा सुरक्षाका सम्पूर्ण उपाय अपनाएर नियमित पसल, साना उद्योग र पैदल हिँड्न पाउनेसम्म गरी बन्दाबन्दी खुकुलो बनाउन सकिन्छ । छदेखि १० केस भएका क्षेत्रमा सुरक्षाका सम्पूर्ण उपाय अपनाएर निश्चित समय अति आवश्यक वस्तुमात्र किनबेचका लागि खोल्न सकिन्छ । १० भन्दा बढी केस भएका स्थानमा अहिलेजस्तै पूर्ण बन्दाबन्दी गर्ने र आशङ्कित सङ्क्रमितको खोजतलास गर्ने विषयमा छलफल गर्नुपर्दछ । तथापि यसअघि ‘सेफ जोन मार्किङ’ गर्ने विषयमा आजसम्म कुनै निर्णय गर्न नसकेकाले यो मोडल हानिकारक छ ।
तेस्रो मोडलमा अन्तर्राष्ट्रिय नाका र विमानस्थल बन्द गरेर बाँकी पूरै एक हप्ता खोलेर आँकलन गर्नुपर्दछ । नेपालमा कडा खालको कोरोना नदेखिएकाले एक हप्ता खोली तुलना गर्न सकिन्छ । एक हप्ता खोल्दा पाँच सय बढी नयाँ सङ्क्रमण देखिए पुनः बन्दाबन्दी नभए विस्तारै व्यवस्थापन गर्दै जानुपर्दछ । कोभिड १९ लाग्नै नदिनु जित्ने लडाइँ हो । श्वासप्रश्वास र भौतिक सम्पर्कबाट सर्ने भएकाले हाम्रो आनीबानी रोगका लागि सूचक हो अर्थात् जोखिमयुक्त बानी व्यवहार कोरोना भाइरस सर्ने कारण हो । जसमा स्वच्छ व्यवहारको भूमिका ८० प्रतिशत बढी छ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड १९ बाट बच्न सुझाएका छवटा सुझावमा छैटौँबाहेक बाँकी पूर्णतः स्वच्छताका आचरणहरू हुन् । आचरण पालन गर्दै जीवन चलायमान बनाउन सकिन्छ ।

(लेखक नेपाल चिकित्सक सङ्घका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?