logo
२०८१ मंसिर १५ शनिवार



कोरोनाविरुद्ध खोप ! (सम्पादकीय)

विचार/दृष्टिकोण |




कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बनाउन विश्वका विभिन्न देशमा प्रयास भइरहेका छन् । अमेरिका, बेलायत, चीनमा यस्ता खोप बनाएर परीक्षणको क्रममा रहेका बताइएको छ । जहाँ समस्या त्यहाँ समाधान भनेझैँ कोरोनाको सङ्क्रमणसँगै यसको उत्पत्ति, कारण, प्रवृत्ति तथा असरबारे विभिन्न कोणबाट अध्ययन भइरहेको छ । वर्तमान युगलाई अध्ययन, अनुसन्धान, सूचना तथा ‘फिडब्याक’ को युग मानिन्छ । कुनै पनि समस्याको कारण र प्रभावबारे अध्ययन गरी त्यसको रोकथाम गर्न सकिने भएकाले कोरोनाको वैज्ञानिक तथा सामाजिक कारणमाथि विभिन्न कोणबाट अध्ययन हुँदैछन् । पछिल्ला शताब्दीमा सबै सामाजिक घटनाको कारण तथा प्रभावको अध्ययन गरी परिणामबारे निष्कर्षमा पुग्न सकिनेमा विश्व विश्वस्त हुँदै आएको सन्दर्भमा कोरानामाथि वैज्ञानिक, चिकित्सकीय तथा सामाजिक अध्ययनलाई विज्ञहरूले उच्च महत्व दिएका छन् । नेपालमा स्वास्थ्य अनुसन्धान परिषद्को संयोजनमा विभिन्न संस्था तथा व्यक्तिले कोरोनामाथि विभिन्न पक्षबाट अनुसन्धान गरिरहेका छन् । यस्ता दर्जनौँ अध्ययनबाट विश्व एउटा निष्कर्षमा पुग्नेछ ।
नेपालमा कोरोना महामारीविरुद्ध आफूले खोप विकास गरेको वनविज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसका सहायक प्राध्यापक डा.ललितकुमार लाल दासले दाबी गर्नुभएको छ । विश्वव्यापी रूपमा कोरोना महामारी बढ्दै गएपछि नेपालमा पाइने जडीबुटी प्रयोग गरी उक्त भाइरसविरुद्ध एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडीबुटीबाट खोप तयार गरेको उहाँको दाबी छ । खोपको प्रयोगशालासम्बन्धी प्रारम्भिक परीक्षणजस्ता काम सकिएकाले थप परीक्षणमा नेपाल सरकारले स्वामित्व लिनुपर्छ । कुनै एक व्यक्तिले यस्तो खोपको उत्पादन तथा परीक्षण गर्न नसक्ने भएकाले नेपालले विश्वस्तरका मापदण्ड तथा मान्यताका आधारमा खोप परीक्षणका लागि तत्परता देखाउनुपर्छ । कोरोना भाइरसविरुद्ध दुई प्रकारका खोप तयार गरेको बताउने डा. दासको अनुसन्धानमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चासो लिएको छ । यसबारे नेपालसहित विश्वका ७३ देशका अनुसन्धाता तथा डब्लुएचओका अनुसन्धान अधिकारीसँग भएको छलफल तथा अन्तरक्रिया उपलब्धिमूलक हुनसक्छ । सुरुमा हर्बल सेनिटाइजरको अध्ययन अनुसन्धान र उत्पादन गर्नुभएका डा. दासले कोरोनाविरुद्ध प्रतिरोधी क्षमता बढाउने खोपको विकास गरेको दाबी सकारात्मक निष्कर्षमा पुग्ने आशा व्यक्त गर्न सकिन्छ ।
विकसित गरिएको भनिएको खोप डब्लुएचओको प्रोटोकलअनुसार भए, नभएको, खोप तयार गर्नसक्ने क्षमता, प्रभावकारिताजस्ता विषयमा धेरै काम गर्न बाँकी रहेकाले नेपाल खोपबारे अति उत्साही हुन नसके पनि यसबारेका सफलतालाई नेपालले संरक्षण र प्रवद्र्धन गर्न विशेष पहल गर्नुपर्छ । कोरोनाविरुद्ध सक्रिय डब्लुएचओले खोपको अनुसन्धान तथा विकासका लागि विश्वभर उत्प्रेरित गरिरहेकाले नेपालले यस्ता कार्यबाट फाइदा लिन सक्नुपर्छ । एन्टी अक्सिडेन्टयुक्त कागती, बेसारलगायत जडीबुटी तथा फलफूलको प्रयोग गरी कोरोना प्रतिरोधी क्षमता बढाउने खोप तयार गरिएकाले यसको सफलताबाट जडीबुटीको उच्च सम्भावना रहेको नेपाललाई दोहोरो फाइदा हुनेछ । डा. दासको अनुसन्धानलाई बाग्मती प्रदेश सरकारले सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद् पनि खोप बारेमा जानकार र सकारात्मक रहेकाले परिषद्सँगको समन्वय तथा अनुमतिमा डा.दासको अनुसन्धानलाई संस्थागत गरिहाल्नुपर्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीले मानव समुदायलाई भयभीत तुल्याइरहेको चर्चा गर्दै कोभिड–१९ विरुद्धको खोप विकासमा साझा प्रयास र सहयोग अभिवृद्धि गर्नुपर्ने तथा समानतामूलक पहुँच पुर्याइनुपर्ने बताउनुभएको छ । ‘कोभिड–१९ विरुद्धको खोपमा समतामूलक पहुँच’ विषयक विश्वव्यापी खोप सम्मेलन (भिडियो कन्फरेन्स) लाई शुक्रबार सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । यता नेपालमा कोरानाविरुद्ध खोप विकास भएको दाबी गरिनु र उता विश्वव्यापी खोप सम्मेलन हुनुलाई संयोगमात्र हुन नदिई परिणाममुखी बनाउन नेपालले अझ धेरै प्रयास गर्नुपर्नेछ । वैज्ञानिकहरूले विभिन्न समयमा गरेका अध्ययन अनुसन्धानबाट चिकित्साविज्ञानमा ठूला परिवर्तन आएका छन् । औषधि÷खोप, उपचारविधि, भौतिक सामग्रीमा भएका विकासले उपचारलाई मानवमैत्री बनाएका छन् । कुनै दिन दुखाईदुखाई शल्यक्रिया गर्नुपर्ने अवस्थालाई एनेस्थेसियाको विकासले विस्थापित गरेजस्तै कोभिड–१९ र यसपछि आउन सक्ने भाइरसको सङ्क्रमण रोक्न वैज्ञानिकहरूले सफलता पाउनेछन् । त्यस्तो सफलतामा नेपालले पनि अंश खोज्न सक्ने वातावरण सिर्जना गर्न नेपालका सम्बद्ध निकायले ढिलो गर्नुहुँदैन ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?