प्रदीप उप्रेती
विद्यमान अवस्थामा मुलुकमा रहेका औद्योगिक समूहको क्रमिक सुधार एवं संवद्र्धन गर्दै औद्योगिकीकरणको ढोका खोल्न सम्बन्धित सबै पक्षको सहकार्यले मात्र परिणाम हासिल गर्न सकिनेछ । किनकि कृषियोग्य भूमिको न्यूनताका कारण औद्योगिक समूहको अस्तित्वलाई स्वीकार्नुबाहेक अर्को विकल्प मुलुकसामु अब रहेन ।
कोभिड १९ को जोखिमपूर्ण परिस्थितिमा आर्थिक क्रियाकलापलाई आवश्यकता अनुरूप क्रमिक सुधार गर्दै आर्थिक गति प्रदान गर्नुपर्ने छ । यसका लागि निश्चित मापदण्डसहितको उचित व्यवस्थापनको पालना गर्ने शर्तमा व्यवसाय सञ्चालन गर्न दिने रणनीतिक व्यवहारलाई लागु गरिएको छ । यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन मूलतः औद्योगिक तथा व्यावसायिक सुरक्षाको क्षेत्रमा विशेष हेक्का राख्दै पूर्ण सुरक्षाको प्रत्याभूति हुनु आवश्यक छ ।
व्यावसायिक सुरक्षा यस्तो संवेदनशील पक्ष हो जुन निश्चित रूपमा सम्बद्ध क्षेत्रको अनुशासनमा निर्भर रहन्छ । व्यवसाय चलिरहेको अवस्थामा कुनै पनि पक्षबाट अनुशासनहीन कार्य गर्ने चेष्टा गरिन्छ भने त्यसको नकारात्मक असर स्वयं ब्यक्ति विशेषका अतिरिक्त व्यावसायिक औद्योगिक प्रतिष्ठानलाई पर्न गई जनधनको क्षति हुनसक्छ । तसर्थ व्यवस्थापन पक्षबाट चालिएको सुरक्षा अनुशासनलाई आपूm र आफ्नो मातहतका हरेक समूहलाई सतर्कतापूर्वक पालना गर्न प्रयत्न गर्नुपर्ने हुन्छ । यो व्यावसायिक सुरक्षाको मूलमन्त्र नै हो ।
सुरक्षित अवधारणामा आधारित रहँदै उपयुक्त कार्य वातावरणको निर्माण गरिनुपर्ने हुन्छ । योजनाबद्ध आधारमा काम गर्ने वातावरणको विकास नभएसम्म औद्योगिक मानवपुँजीको रूपमा रहेको श्रमशक्तिले आफ्नो स्वास्थ्य एवं औद्योगिक व्यवसाय प्रतिकूल रहेको महसुस गर्नेछन् र व्यावसायिक उत्पादनका क्षेत्रमा समेत ऋणात्मकता छाउनेछ । राज्य, रोजगारदाता एवं श्रमिक समुदायको त्रिपक्षीय सम्बन्ध विस्तारले पनि यस क्षेत्रको सुरक्षामा सकारात्मक वा नकारात्मक प्रभाव पर्ने देखिन्छ ।
व्यावसायिक सुरक्षाको क्षेत्रमा प्रदूषणमुक्त छ वा छैन भन्ने तथ्यले भिन्नै अर्थ राख्नेछ । ध्वनिप्रदूषण न्यूनीकरणका अतिरिक्त रसायन एवं वायुप्रदूषणको सीमा निर्धारणमा उचित ध्यान दिँदै व्यवस्थापन गर्नु जरुरी छ । व्यक्तिगत रूपमा प्रयोगमा आउने एप्रोन, ज्यावल, औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वारमा स्यानिटाइजेशनयुक्त ढोकाको प्रयोग, जोखिम न्यूनीकरणका उपायमा आधारित जनचेतनामूलक अभिमुखी कार्यक्रम, कोरोना सङ्क्रमण न्यूनीकरण भ्यानको व्यवस्था, सामाजिक दूरीको प्रयोगमा विशेष ध्यान दिनु आजको व्यावसायिक सुरक्षाका आधारभूत आवश्यकता हुन् । यसो नभए कुनै पनि व्यवसाय सुरक्षित रूपमा कार्यान्वयनमा आउन नसक्ने हँुदा उचित संरक्षणसहितको व्यवस्थापन आवश्यक हुन्छ ।
कार्यरत पक्षको स्वास्थ्य एवं भविष्य केन्द्रित जीवन सुरक्षाको निम्ति कोरोना बीमाका अतिरिक्त स्वास्थ्य बीमा, जीवन बीमाको व्यवस्था गर्नुपर्ने हुन्छ । भवितव्यमा परी ज्यान जाने सम्भावना भएको क्षेत्रमा कार्यरत कर्मचारीश्रमिकको विशेष हेरचारका लागि सुरक्षाका अन्य विधिका साथै औषधोपचार, उपदान तथा ओभरटाइम जस्ता व्यवस्थापनले आर्थिक सम्मुन्नति र स्वास्थ्य सुरक्षाको क्षेत्रमा महत्वपूर्ण अर्थ राख्नेछ ।
(लेखक नेपाल ईकरात ई.कं. प्रा.लि.मा कार्यरत हुनुहुन्छ ।)