नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले आफूखुशी अन्तर्राष्ट्रिय चार्टर उडान नगर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ । संयुक्त अरब इमिरेट्स् (युएई) बाट १६८ नेपालीलाई स्वदेश ल्याउने क्रममा चार्टर गरिएको विमान र त्यसको भाडाबारे विभिन्न विवाद सार्वजनिक भएपछि क्यानले यस्तो निर्देशन जारी गरेको हो । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली लिएर आउनुपर्ने एयर अरेबियाको जहाजभाडा विवादले अन्तिम समयमा रोकिएको र विवाद मिलेपछि अपराह्न नेपाल आएको थियो । बन्दाबन्दीका समयमा आफूखुशी चार्टर उडान गरी बढी भाडा लिने गरिएको भन्दै क्यानले उक्त निर्देशन दिइएको स्पष्ट छ । शनिबार सूचना जारी गर्दै क्यानले राजदूतावास (कूटनीतिक) आग्रहबाहेकका सबै चार्टर उडानमा रोक लगाएको छ । उक्त निर्देशनअनुसार शनिबारदेखि ट्राभल्स एजेन्सी र एयरलाइन्स कम्पनीलाई चार्टर उडानमा रोक लगाइएको छ । एयरलाइन्स कम्पनी तथा ट्राभल्स एजेन्सीले नेपालबाट चार्टर उडानका लागि धमाधम बुकिङ गरी बढी भाडा लिने गरेपछि क्यानले दिएको उक्त निर्देशनले महँगोमा यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ । सङ्कटका बेला व्यावसायिक मर्यादा र आचारसंहिता विपरीत हुनसक्ने यस्ता क्रियाकलापविरुद्ध सरकारका सबै निकाय चनाखो रहनुपर्छ । क्यानको यस्तो निर्देशनपछि विदेशबाट नेपाल आउन चाहने नेपालीका लागि तत्काल केही समय समस्या भएको भए यसपछि अरूहरूले औचित्यपूर्ण भाडामा यात्रा गर्न पाउनेछन् ।
बन्दाबन्दी क्रमशः खुकुलो हुने सङ्केत देखिएपछि क्यानले नेपालबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानलाई लक्ष्य गर्दै कोभिड–१९ विशेष सुरक्षा निर्देशिका पनि कार्यान्वयनमा ल्याएको छ । पहिलो चरणमा ल्याइएको सुरक्षा निर्देशिकालाई विकसित घटनाक्रम र परिस्थितिअनुसार परिमार्जन गरिनेछ । निर्देशिकानुसार यात्रुले टिकट र बोर्डिङ पाससँगै आफू स्वस्थ रहेको स्वघोषणा गर्नुपर्नेछ । यात्रुले कोरोना जाँच गरे, नगरेको तथा स्वास्थ्य समस्या भए, नभएको जस्ता जानकारी दिनुपर्नेछ । यात्रुले जस्तै उडान कर्मचारीले समेत स्वघोषणा गर्नुपर्नेछ । यस्ता व्यवस्थाले लामो समयदेखि रोकिएको आन्तरिक तथा बाह्य उडानलाई नियमित गर्न सहयोग पुग्नेछ । निर्देशिका अनुसार रुघाखोकी, १००.४ डिग्री फरेनहाइट ज्वरो, सास फेर्न कठिन हुनेलगायत समस्या भएमा यात्रुले हवाईयात्रा गर्न नपाउने र ७० वर्षमाथिका, गर्भवती र गम्भीर स्वास्थ्य समस्या भएकालाई सम्भव भएसम्म हवाई यात्रा नगर्न क्यानले सुझाव दिएको छ ।
यसैगरी क्यानले वायुसेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड सार्वजनिक गरेको छ । उडानपूर्व वायुसेवा सञ्चालकले जहाजलाई अनिवार्यरूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उद्धयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ । कोरोनाको समस्या लामो समयसम्म लम्बिन सक्ने भएकाले क्रमशः खुल्दै जाने सेवाप्रदायक र सेवाग्राही लक्ष्यित यस्ता सुरक्षाविधिको पालनामा सबैको जिम्मेवारी रहने गर्छ । हवाई सेवा प्रयोग गर्दा यात्रु तथा सेवा सञ्चालक, विमानस्थल सञ्चालक र भूमिस्थ सेवामा संलग्न कर्मचारीले पालन गर्नुपर्ने नियम तथा सुरक्षाका उपायलाई सरकारको निर्देशन वा नियन्त्रणभन्दा पनि आफू सुरक्षित रही अरूलाई सुरक्षित गर्ने दायित्व बुझी सोही अनुसारको व्यवहार गरेमा हरेक व्यक्ति तथा निकाय कोरोना नियन्त्रणको राष्ट्रिय अभियानमा संलग्न भएको ठहरिनेछ ।
जारी निर्देशिकामा वायुसेवा सञ्चालकले उडान सञ्चालनसम्बन्धी कार्यविधि जारी गरी सम्पूर्ण कर्मचारीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ । यात्रु जाँचपासका क्रममा सामाजिक दूरी कायम गराउने र स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाका लागि आवश्यक व्यवस्था पनि सञ्चालकले नै गर्नुपर्नेछ । यसैगरी कोरोनाको सङ्क्रमण रोक्न कर्मचारीलाई त्यसको लक्षण पहिचान गर्नसक्ने गरी आवश्यक तालिम पनि सञ्चालकले गर्नुपर्नेछ । यी सबै प्रक्रियाले कोरोना सङ्क्रमण सर्ने सम्भावना न्यून गर्नेछ । यसरी व्यवसाय पनि सञ्चालन हुने र नागरिकले पनि स्वास्थ्य सुरक्षासहितको यातायात सुविधा पाउने कार्यलाई व्यवस्थित गर्न सबैको इमानदारी आवश्यक हुन्छ । जारी निर्देशन पालना भए, नभएको अनुगमन गर्दै आगामी दिनमा गर्नुपर्ने तयारी तथा सुधारका लागि थप अनुभव प्राप्त गर्न सकिने भएकाले निर्देशिकाको व्यावहारिक कार्यान्वयनमा सम्बद्ध पक्षको जिम्मेवारीपूर्ण सहकार्य आवश्यक छ ।