तोयानाथ जोशी
कीरा–फट्याङ्ग्रा जीवहरूको सबैभन्दा बढी विविधीकरण भएको समूह हो । यसको अर्थ हो कीराद्दहरूका प्रजातिहरूको सङ्ख्या अन्य प्रजातिको समूहहरूभन्दा बढी छ । ल्याटिन अमेरिकास्थित टेरी इरविन अफ द स्मिथसोनियन इन्स्टिच्युसनको कीटविज्ञान बिभागका अनुसार विश्वमा करिब नौ लाख विभिन्न प्रजातिका कीरा–फट्याङ्ग्रा छन्, जुन mिवश्वमा अस्तित्वमा रहेका प्रजातिहरूको ८० प्रतिशत हिस्सा हो र मानव प्रजातिको हिसाबले १७ गुणा बढी हो । साथै संरक्षणविद्हरू अझै धेरै कीरा–फट्याङ्ग्राका प्रजातिहरूको पहिचान र वैज्ञानिक नामकरण नभएकोमा सहमत छन् । त्यो सङ्ख्या करिब २० लाखदेखि तीन करोडसम्म रहेको अनुमान गरिएको छ । नेपालस्थित प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आयूसीएन) ले सन् २००० मा प्रकाशन गरेको सूची अनुसार नेपालमा विभिन्न प्रजातिका करिब ५२ सय कीरा–फट्याङ्ग्रा रहेको जनाएको छ ।
तपाईं हामीलाई कीरा–फट्याङ्ग्रा वरपर भुन्भुनाएको, खानेकुरामा आएर बसेको वा हाम्रो बालीनालीमा घुमिरहेको देख्दा रिस उठ्न सक्छ । रिस उठ्नु पनि स्वाभाविक हो किनभने कीरा–फट्याङ्ग्राले हाम्रो बाली नालीलाई अांशिकदेखि पूर्णरूपमा क्षति पु¥याउन सक्छन् तर के बुझ्न जरुरी छ भने बालीनालीमा कीरा–फट्याङ्ग्राले १० प्रतिशतसम्म क्षति पु¥याउँदा उत्पादन बढ्ने कुरा अनुसन्धानकर्ताहरू बताउँछन् । प्रकृतिको नियम अनुसार प्रकृतिमा मित्रजीवले शत्रुजीवको सङ्ख्यालाई जहिले पनि सन्तुलनमा राखेको हुन्छ । तसर्थ तिनीहरूलाई मार्नु अघि तिनीहरूको महत्वबारे सोच्न आवश्यक छ ।
कीरा–फट्याङ्ग्रा जमिन र जलीय पर्यावरणवीच सन्तुलन कायमका लागि आधारभूत जीवको रूपमा परिचित छन् । कीरा–फट्याङ्ग्राले आफ्नो आहारा बनाएर (प्रिडेसन) वा अन्य जीवमा आश्रित भएर (प्यारासाइटिज्म) एक अर्काको सङ्ख्यालाई सन्तुलन गरेका हुन्छन् । यसका अलावा कीरा–फट्याङ्ग्राले परागसेचन गरी खानेकुरा तथा लत्ताकपडा उत्पादन गर्न, फोहोर वस्तु कुहाउने, शत्रुजीव नियन्त्रण गर्ने र हाम्रो पर्यावरणको संरक्षण गर्ने जस्ता महत्वपूर्ण सित्तैँका सेवा (इकोसिस्टम सर्भिसेस) समेत प्रदान गरिरहेका हुन्छन् । कीरा–फट्याङ्ग्राले जैविक संरचनालाई भत्काउँछन् र कुहाउन मद्दत गर्छन् जसका कारण सड्ने प्रक्रियाले गति लिन्छ र प्राङ्गारिक पदार्थ उत्पादन भई माटोलाई पुनः पूर्ति गर्न मद्दत गर्छ भने माटोमा पोषक तत्वको पुनरावृत्ति हुने काम धेरै हदसम्म जमिनमुनि रहेका लाखौँ कीराको गतिविधिमा भर पर्छ । जैविक रूपमा खेर गएका वस्तुलाई सडाउन मद्दत गरेर कीराले पृथ्वीलाई सफा राख्न सघाउ पु¥याउँछ । तसर्थ कीरा–फट्याङ्ग्रा नहुने हो भने हामी फोहोर वस्तुमा पौडिरहेका हुन्थ्यौँ वा हाम्रो वरिपरि जताततै मरेका जनावरमात्रै भेटिन्थे । कीरा–फट्याङ्ग्रा चरा, चमेरा र साना स्तनधारीका आहारा पनि भएकोले सृष्टि र जगतको खाद्य जालोसित जोडिएका छन् । यस खाद्य जालोमा धेरै खाद्य शृङ्खलाहरू जोडिएका हुन्छन् र वातावरणको कुनै एक खाद्य शृङ्खलाका पात्रहरूको अनुपस्थितिमा सिङ्गो पर्यावरणमा अशन्तुलन पैदा भई चरा, चमेरा, भ्यागुता, माछा र अन्य साना स्तनधारीहरूको अस्तित्व सङ्कटमा पर्दछ । यसको साथसाथै मानव जातिको समेत अस्तित्व रहँदैन ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटीका प्रोफेसर रोबोर्ट कोस्टान्जाका अनुसार अन्य जीव र जनावरलाई खानेकुराको स्रोत बन्नुबाहेक कीराले मानवजाति र पर्यावरणका लागि अन्य महत्वपूर्ण सेवा पनि दिन्छन् । कीरा–फट्याङ्ग्राको वातावरणमा पर्याप्त उपस्थितिले वायुमण्डलमा रहेको ग्यास तथा मौसमको नियमन, जमिनमा पानीको आपूर्ति, माटोको भूक्षय नियन्त्रण, माटो पुनः पूर्ति, बालीनालीको परागशेचन, माटोको पौष्टिक तत्व र पानी प्रशोधन गर्ने, फोहोर मैला सडाउने, बाली नालीमा लाग्ने हानिकारक जीवहरूको जैविक नियन्त्रण गर्ने, कच्चा पदार्थको आपूर्ति, आनुवंशिक स्रोतहरूको संरक्षण र मनोरञ्जन लगायतका अनेकौँ सित्तैँका सेवाहरू प्रदान गरिरहेको प्रोफेसर रोबोर्टको भनाइ छ । यी सित्तैँका सेवामध्येको कीरा–फट्याङ्ग्राले दिने एउटा प्रमुख सित्तैँको सेवा बालीनालीमा परागसेचन गर्ने हो जसले मानवजातिको लागि नभई नहुने खानेकुरा तथा लत्ताकपडाका लागि आवश्यक फाइबर उत्पादनका लागि मुख्य भूमिका खेल्छ ।
नेदरल्याण्डसस्थित वाखेनएखेन युनिभर्सिटी एण्ड रिसर्चका प्राध्यापक डा. मार्सल डिके भन्नुहुन्छ ‘पृथ्वीमा भएका करिब ७२ प्रतिशत बालीनालीलाई परागसेचनको लागि कीरा–फट्याङ्ग्राको मध्यस्थता आवश्यकता पर्दछ भने ३५ प्रतिशत हाम्रो दैनिक खाद्यान्न बालीको परागसेचन मौरीमा निर्भर छ ।’ प्रोफेसर डिकेका अनुसार कीरा–फट्याङ्ग्राले परागसेचन वापत दिने सित्तँैको सेवाले मानव जातिलाई ३५० अर्ब डलर बराबरको फाइदा पु¥याएको छ । त्यसैगरी, कीरा–फट्याङ्ग्राले शत्रुजीव नियन्त्रण गरी करिव चार सय अर्ब बराबरको सित्तैँको सेवा प्रदान गरेको द इकोनोमिक टाइम्स पत्रिकाले जनाएको छ । उक्त पत्रिकाका अनुसार मानव जातिले प्रकृति माथि गरेको दोहनका कारण हामीले बर्सेनि ६८ अर्ब डलर बराबरको कीरा–फट्याङ्ग्रामार्फत प्रकृतिले दिने सित्तैँको सेवाहरू गुमाइरहेका छौँ तर हामीले कीरा–फट्याङ्ग्राबाट पाउने यस्तो फाइदाको बेवास्ता गर्दै तिनीहरूलाई मार्न विभिन्न प्रकारका रासायनिक विषादीको अनियन्त्रित प्रयोग गरिरहेका छौँ ।
संरक्षणविद् र अनुसन्धानकर्ताका अनुसार कृषि व्यावसायीकरणको नाममा बालीबिरुवामा रासायनिक विषादीको बढ्दो प्रयोग, जलवायु परिवर्तन, कीरा–फट्याङ्ग्राको वासस्थानमा ह्रास, वातावरण प्रदूषण र मानव जातिको प्राकृतिक स्रोत–साधानमाथि बलमिच्याइँका कारण कीराहरूको सङ्ख्या विश्वभर नै नराम्ररी घट्ने क्रममा रहेको छ । विश्वमा करिब ४० प्रतिशत प्रजातिका कीराहरूको सङ्ख्या नाटकीय दरमा घटेको लण्डनको न्याचुरल हिस्ट्री म्यूजियमले जनाएको छ । आश्चर्यको कुरा के छ त भने साङ्लो र झिँगाको सङ्ख्या बढेको छ भने मौरी, कमिला र गोब्रे कीराका प्रजातिको सङ्ख्या घट्ने क्रम पाइएको छ । कीराहरूलाई न उनीहरूको ठूलो सङ्ख्याले न त जैविक विविधताले उनीहरूलाई सामूहिक विनाशबाट जोगाउन सकेको छ । जर्मनीका ६३ वटा प्रकृति संरक्षण केन्द्रहरूमा सन् १९८९ देखि २७ वर्षसम्म गरिएको अध्ययनले पुतली र मौरीसहित विभिन्न प्रजातिका उड्ने कीराहरूको सङ्ख्या ७५ प्रतिशतभन्दा बढीले घटेको देखाएको छ । त्यसैगरी प्वेर्टोरिकोमा चार दशकमा कीराको सङ्ख्यामा ९८ प्रतिशतले कमी आएको एउटा अध्ययनले पत्ता लगाएको छ । उत्तर अमेरिका र युरोपमा भमरा र माहुरीको ठूलो सङ्ख्या घट्दै गइरहेको पाइएको छ । यो दरमा थुप्रै कीराहरू चाँडै हराउन सक्छन् । अहिलेको अवस्थामा सुधार नल्याए एक शताब्दीमा कीराका धेरै प्रजाति हराउने लण्डनको न्याचुरल हिस्ट्री म्युजियमले चेतावनी दिएको छ ।
वैज्ञानिकहरूले खेतीयोग्य जमिन भएका क्षेत्र नजिक रहेको खेतमा प्रयोग गरिने कीटनाशक विषादीका कारण त्यस्तो भएको हुनसक्ने सङ्केत छन् । अझै पनि ढिलो भइसकेको छैन सुधार गर्ने समय बाँकी छ । खेत वरपर रुखहरू रोपेर वा कीरालाई झाडी उपलब्ध गराएर, खतरनाक विषादीहरूको अनियन्त्रित प्रयोगलाई कम गर्दै प्राङ्गारिक कृषिमा जोड दिने जस्ता नीतिहरू अवलम्बन गरी घट्दै गएको कीराको सङ्ख्या रोक्न सकिन्छ ।
(लेखक कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा बाली संरक्षण अधिकृत हुनुहुन्छ)