पुरु रिसाल
विमानहरूको इञ्जिन बनाउने कम्पनी रोल्स बायसले आफ्नो उत्पादन बिक्न छोडेपछि नौ हजार कामदारलाई कामबाट अवकाश दिएको छ । बोइङ कम्पनीले नयाँ अर्डर नपाएर आर्थिक स्थिति बिग्रँदै गएपछि शेयरको भाउ निकै तल झरेको छ । थाई एयरलाइन्सका विमानलाई पार्किङ गर्ने ठाउँ नपुगेर विभिन्न ग्राउण्डमा लगेर थन्क्याउनुपरेको छ । नेपालका होटलहरूले अर्को छ महिना सेवा सञ्चालन गर्न नसकिने घोषणा गरेका छन् । चार्टर उडानको भरमा नेपाली विमान कम्पनीहरूले कर्मचारीको तलब जेनतेन धानेका छन् । ट्राभल एजेन्सी चलाउँदै आएका कम्पनीहरूको कार्यालय दुई महिना यता नखोलिँदा भित्र मुसा दाैिडन थालेका छन् । नियमित रूपमा सिमुलेटर तालिममा जान नपाएका पाइलटहरूको प्रमाणपत्रको म्याद कति दिन थप्नुपर्ने हो, टुङ्गो छैन । होटल रेस्टुरेन्ट बन्द भएकाले लाखौँ कर्मचारीको आर्थिक भविष्य कता जाने हो टुङ्गो छैन ।
निर्माणको अन्तिम चरणमा पुगेका राष्ट्रिय गौरवका आयोजना अलपत्र भएका छन् । विद्यालय बन्द भएकाले अभिभावकलाई केटाकेटी के गरेर टिकाएर राख्ने भन्ने टाउको दुःखाइ भएको छ । सानोतिनो व्यवसाय गरेर परिवार पाल्ने वर्गलाई भविष्यको चिन्ता छ । वैदेशिक रोजगारीमा विदेश गएकाहरूलाई पहिलो कसरी नेपाल फर्कने र फर्केपछि के गर्ने भन्ने चिन्ताले सताइरहेको छ । यसरी व्यापक क्षेत्रलाई नकारात्मक असर पु¥याइरहेको कोरोना (कोभिड १९) बाट अरू क्षेत्र विस्तारै ब्युँतिने सम्भावना भए पनि पर्यटनक्षेत्र भने थचक्कै भएको छ, लामै समय उठ्न गाह्रो पर्ने देखिएको छ ।
पर्यटन भनेको कमाइबाट बचत गर्नसकेको रकमबाट संसारका विभिन्न ठाउँको घुमाइको स्वाद लिने क्षेत्र हो तर अर्थशास्त्रीहरू भन्दछन्, अब आर्थिक मन्दी लामो समयसम्म रहन्छ । सबैमा खर्च गर्ने क्षमता हुँदैन । अतिआवश्यक खर्च धान्नमै धौधौ पर्ने अवस्थामा कुन चाहिँ रकम बचत गरेर विदेश भ्रमण गर्ने ? यो नेपालीमा मात्र लागू हुने होइन, जुनसुकै मुलुकको आर्थिक परिसूचक हेर्दा उस्तै तस्बिर देखापर्दछ ।
अहिले आर्थिक वृद्धिदर वृद्धि होइन ह्रासको मात्रा मूल्याङ्कन गर्नुपर्ने देखिन्छ । वार्षिक ६÷७ प्रतिशतको वृद्धि पारित गरिएकोमा कतै ऋणात्मक हुने होइन भन्ने चिन्ता छ । नेपाल यसबाट अपवाद रहन सक्दैन । पर्यटन व्यवसायको व्यवधानले असर पार्ने क्षेत्रहरूमा विमान कम्पनीदेखि तरकारी र दूध उत्पादन गर्ने किसानसम्ममा पुग्दछ ।
सन् २०१९ मा विश्वव्यापीरूपमा एक अर्ब ५० करोडले पर्यटकका रूपमा यात्रा गरेका थिए भने नेपालमा भारतबाहेकका ११ लाख ७७ हजार पर्यटक घुम्न आएका थिए । त्यो अघिल्लो वर्षभन्दा २५ प्रतिशतले बढोत्तरी भएको थियो । ठूला होटलले अग्र्यानिक तरकारी खपत गर्थे भने साना र मझौला होटलले विषादीयुक्त नै सही किसानको आम्दानीमा सहयोग पु¥याउँथे । पोल्ट्री व्यवसायलाई पर्यटनक्षेत्रबाट ठूलै योगदान पुगेको थियो भने वन्यजन्तु आरक्ष आम्दानीका राम्रै स्रोत थिए । यी सबै क्षेत्र प्रभावित भएका छन् । अन्य आर्थिक गतिविधि नहुने पहाडी र हिमाली भेगमा पदयात्रीहे केही योगदान पु¥याउँथे । २०७५ सालमा पर्वतारोहणबाट झण्डै ४७ करोड रोयल्टी कमाइ भएको थियो । पर्वतारोहण क्षेत्रमै एक हजार ८२० जनाले रोजगारी पाएको तथ्याङ्कले देखाउँछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका ट्याक्सीहरूले पर्यटक र अन्य यात्रुलाई सेवा पु¥याउनुका साथै परिवार पालेका थिए । घरेलु सामानमा पर्यटक आकर्षित गरेर जीविका गर्दै आएकाले अब के गर्ने नयाँ समस्या पैदा भएको छ ।
कोरोनाले ठूलो मार पर्ने क्षेत्रमा नेपालको होटल व्यवसाय परेको छ । दुईवर्ष अघि नेपालमा होटल सङ्ख्या एक हजार २५४ थियो भने त्यसमध्ये १३९ वटा तारे होटल थिए । त्यसपछि नेपाल भ्रमण वर्षलाई परिलक्षित गरी केही होटल थप भएका छन् । त्यस वर्ष होटल व्यवसायबाट गार्हस्थ उत्पादनको २.२ प्रतिशत अर्थात् ७७.८ अर्ब रुपियाँ कमाइ भएको थियो । सबै होटल गरी ४१ हजार शैया सङ्ख्या थिए । अहिले बन्दाबन्दीको अवस्थामा पुगेका होटलहरूका अगाडि बैङ्क ऋणको चिन्ताले सताएको छ ।
अहिलेसम्म कोरोनाले कतिसम्म दुःख दिन्छ भन्ने कुराको टुङ्गो छैन । न त प्रतिरोधात्मक खोप नै आविष्कारमा आएको छ । अहिले विश्व नै कुहिराको काग बनेर दौडिरहेको छ । त्यसो त कतिपय राष्ट्रले विभिन्न राहत प्याकेजको घोषणा गरेका छन् । हामीकहाँ व्यवसायीले माग गर्दै आएका छन्, सरकारले घोषणा गर्न सकेको छैन । यसरी सबै पक्षबाट पर्यटन क्षेत्रमा व्यापक र दीर्घकालीन असर पर्ने देखिन्छ । सन् २०१९ मा लोन्ली प्लानेटले संसारका घुम्नैपर्ने मुलुकहरूमध्ये पाँचाँैमा परेको नेपालमा पनि यसको असर देखिएको छ ।
(लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।)