logo
२०८१ मंसिर १५ शनिवार



अनलाइन मिडियाको विश्वसनीयता

विचार/दृष्टिकोण |




यमबहादुर दुरा

अहिले ‘इन्स्ट्यान्ट न्युज’ को अवधारणाले मूर्तरूप पाएको छ । यसले दुनियाँको गतिशीलता बढाइदिएको छ । आज मोबाइलको स्क्रिनमै ताजा समाचार तत्क्षण पढ्न पाइने अवसर उपलब्ध छ । यसले सामाजिक चेतना र व्यवहारमा व्यापक फेरबदल ल्याएको छ ।
ताजा समाचार पढ्न बिहानको कुनै अखबारको ‘हार्ड कपी’ पर्खनुपर्ने बाध्यता छैन । इन्टरनेटको पहुँच भएको ठाउँमा नयाँ जानकारी पाउन रेडियो वा टेलिभिजनको आवधिक समाचार बुलेटिन पर्खनुपर्ने बाध्यता पनि विगत बनिसक्यो । अनलाइन न्युज पोर्टल, मोबाइल सञ्चार र सूचना प्रविधिको त्रिवेणीले तत्क्षण सूचना प्रवाह गर्ने परिपाटीलाई अभूतपूर्व बनाइदिएको छ । त्यसमा पनि सामाजिक सञ्जाल र सोसल मिडियाको दह्रो उपस्थितिले सूचनाको तीव्र प्रवाहलाई हदैसम्म सहजीकरण गरिरहेको छ ।
अहिले जतिबेला चाह्यो, त्यतिबेला नै ताजा समाचार पढ्न पाइने अवसर उपलब्ध छ । यसले समाजलाई ‘इन्फरमेसन सुपर हाइवे’ को यात्री बनाइएको छ । सामयिक र सही सूचनाले समाजलाई प्रगतिपथमा अघि बढ्न अतुलनीय योगदान दिएको छ । हरेक उज्यालोको अँध्यारो पाटो पनि हुन्छ । अनलाइन मिडिया पनि यो शाश्वत नियमको अपवाद बन्ने कुरै भएन । दुनियाँ कोरोना महामारीको चपेटामा परिरहेको बेलामा सोसल मिडियालगायत कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् । यस्ता भ्रामक जानकारीले कतिपयको जीवन समाज नराम्ररी कुसूचित हुन पुगेका धेरै अध्ययनले औँल्याएका छन् ।
अनलाइन मिडियासँग जोडिएका समस्याका अनेक आयाम छन् । समस्याको एउटा आयाम हो, अनलाइन पत्रकारिता र अनलाइनमा हुने अन्य खालको सञ्चारलाई एउटै अर्थमा बुझिनु । वास्तवमा यी दुई फरक कुरा हुन् । पत्रकारिता पत्रकारले मात्र गर्छ । पत्रकारिता जहिले पनि समाचार कक्ष प्रक्रिया (न्युजरुम प्रसेस) भएर गुज्रनुपर्छ । यसको अर्थ हो, पत्रकारले पाएको कुनै पनि सूचना वा जानकारीको सहीपन पाठक–श्रोतामा पुग्नुअघि नै परीक्षण गर्नुपर्छ । त्यसो नगरी जानकारी प्रकाशन–प्रसारण गर्न मिल्दैन । अर्थात् पत्रकारितामा खास चरणहरू पार गरेरमात्रै सूचना प्रवाह गर्ने अवस्थामा पुग्छ ।
अन्य प्रकृतिको सञ्चार जोकोहीले पनि गर्न सक्छ, जुन हरेक नागरिकको नैसर्गिक अधिकार पनि हो । नेपालको संविधान, २०७२ को धारा १९ ले हरेक नागरिकलाई सञ्चारको हक दिएको छ । यसरी प्रवाह भएको समाचार सही नै हुन्छ भन्न सकिन्छ । अभिव्यक्ति (सूचना प्रवाहको) स्वतन्त्रता र सूचनाको सहीपनलाई एउटै अर्थमा बुझिनुहुन्न । सोसल मिडियाको तीव्रतर उपस्थितिले सूचनाको हक उपभोगमा सहजता थपिएको छ । व्यक्तिलाई आपूmले पाएको सूचना प्रवाह गर्नुअघि कुनै सञ्चारमाध्यमको पत्रकारले जस्तो परीक्षण गर्नुपर्ने बाध्यता पनि हँुदैन, सत्यता जाँच्ने कुरा सम्बन्धित व्यक्तिको नैतिकतामा निर्भर रहन्छ । कुनै कारणवश व्यक्तिबाट गलत जानकारी फुत्किएमा त्यो एकैचोटि जनसागरमा पुग्छ । यस किसिमको सञ्चार प्रणालीमा व्यक्तिले उपयोगी, अनुपयोगी, हानिकारक सबै प्रकृतिका जानकारी सम्प्रेषण गर्न सक्छन् । त्यस्तो कार्य जानेर, नजानेर वा गलत आशयका साथ पनि हुनसक्छ ।
कतिपय अवस्थामा बदनियत नभए पनि सम्प्रेषणकर्तामा ज्ञानको अभाव वा असावधानीले सूचना गलत साबित हुनपुग्छ । यसलाई गलत जानकारी (मिस्इन्फरमेसन) भनिन्छ । कसैले दिएको अहितकर जानकारीलाई उपयोगी ठानेर सेयर गर्नु पनि ‘मिस्इन्फरमेसन’ नै हो । अहिले सोसल मिडियामा ‘मिस्इन्फरमेसन’ एउटा रोगकै रूपमा देखापरेको छ ।
कतिपय जानकारी गलत आशयका साथ जानाजान सम्प्रेषण गरिन्छ । यसलाई दुष्प्रचार (डिस्इन्फरमेसन) भनिन्छ । यस्ता जानकारी आफ्नो निहित स्वार्थसिद्ध गर्न सम्प्रेषण गरिन्छ । यसरी सम्प्रेषण गरिएका जानकारी अर्धसत्य वा पूरापूर असत्य वा नितान्त भ्रामक हुन सक्छन् । कसैको फेसबुक स्ट््याटस, तस्बिर, ट्वीट आदि जे पनि यसमा पर्न सक्छन् । आकर्षक स्वरूपमा देखापर्ने यस्ता सामग्रीको भ्रमजालमा जो कोही पर्छन् ।
सोसल मिडियामा यो प्रकृतिका जानकारी बगे्रल्ती भेटिन्छन् । ‘डिस्इन्फरमेसन’ का अनेक उद्देश्य हुनसक्छन् । आफ्नो वस्तु तथा सेवाको बढाइचढाइँ प्रचार गर्न, आफ्नो साइट वा च्यानलको भिजिटर बढाउन, आफ्ना विरोधीलाई अरूको नजरमा गिराउने वा घृणा पैmलाउनेजस्ता अनेक कुत्सित नियत पूरा गर्न ‘डिस्इन्फरमेसन’ को सहारा लिइएको पाइन्छ । हाम्रो सन्दर्भमा मूलतः युट्युब भिडियोहरूले यस्तो कार्यमा कुख्याति कमाएका छन् ।
राजनीतिक, कूटनीतिक तथा राष्ट्र–राष्ट्रका सन्दर्भमा पनि ‘डिस्इन्फरमेसन’ लाई अस्त्रको रूपमा प्रयोग गरिएको पाइन्छ । महाभारतलगायत आध्यात्मिक प्रसङ्गमा समेत ‘डिस्इन्फरमेसन’ को प्रयोग भएको छ । कुनै सामाजिक उत्तरदायित्वबिना नै अर्थोपार्जन गर्ने एकमात्र अभीष्टमा खुलेका कतिपय युट्युब च्यानलले व्यक्तिको निजी जीवनमा हमला गर्ने, सामान्य घटनालाई तिलको पहाड बनाउने, अश्लीलता पस्कनेजस्ता अनेकन् कुकृत्य रचेका बगे्रल्ती दृष्टान्त छन् ।
प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) ले सत्य–तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नु पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य हो भनेको छ तर कतिपय अनलाइन मिडिया र सोसल मिडिया प्रयोगकर्ताले यसको पालना गरेको पाइँदैन । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) द्वारा जारी पत्रकार आचारसंहिताको दफा ५ मा छिटो समाचार दिने नाममा तथ्यको सहीपन परीक्षण नगरी समाचार दिन नपाइने प्रावधान छ तर कतिपय जिम्मेवार अनलाइन मिडिया र सोसल मिडिया प्रयोगकर्ताले यसको पालना गरेको पाइँदैन । अरूलाई उछिनेर छिटो समाचार दिने नाममा कतिपय अनलाइन मिडियाले भ्रामक समाचार पस्किरहेका छन् ।
आचारसंहितालाई आत्मसात् नगर्ने सोसल मिडियाका कतिपय प्रयोगकर्ताले त सामाजिक मर्यादाको धज्जी उडाएका छन् । यसले नियमनकारी निकायलाई अनलाइन मिडियाप्रति अनुदार नियम ल्याउने बाटो खोलिदिएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको स्वतन्त्र प्रवाहमा गम्भीर क्षति पु¥याउने सम्भावना छ  ।
सूचना प्रवाहमा देखापरेको यसप्रकारको आशङ्का र अनिष्टको बादल हटाउन आवश्यक छ । यसका लागि हरेक सोसल मिडिया प्रयोगकर्ता र अनलाइन सञ्चारकर्मीलाई कसैले नियमन गर्नुभन्दा पनि आपैmँ जिम्मेवार, नैतिकवान् र विवेकशील हुनैपर्छ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?