डा. प्रेम तिमिल्सिना
चीनको वुहान सहरमा पहिलो पटक देखिएको कोरोना (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको छ । यो महामारीबाट चीन विस्तारै उम्किँदैछ । यहाँ चिनियाँ ताइवानले कसरी आफूलाई सङ्क्रमणको जोखिमबाट कम गर्न सक्यो भन्नेबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
चिनियाँ ताइवानमा सङ्क्रमित सङ्ख्या ४४३ छ भने सात जनाको मृत्यु भएको छ । प्रायः आयातित केस छन् । जसमध्ये प्रायः निको भएको र हुने क्रम छ । पछिल्लो छ साता नयाँ सङ्क्रमित देखिएका छैनन् । सुरुमै सरकारको गम्भीरता, चुस्त व्यवस्थापन, जनचेतना, प्रविधिको समुचित प्रयोग, सङ्क्रमितसँग सम्पर्कमा आउनेलाई खोज्ने र थाहा पाउनेबित्तिकै खोजी गर्ने नीतिले सङ्क्रमण फैलिन पाएन । सन् २००३ मा सार्स फैलिँदा ताइवान नराम्ररी प्रभावित भएको र कैयौँले ज्यान गुमाएका थिए । त्यसबाट पाठ सिकेर उनीहरूले राम्रो र भरपर्दो संयन्त्र निर्माण गरे । उपयुक्त जनशक्ति निर्माण, व्यवस्थापन र प्रशासकीय सरलता मात्र होइन सरोकारका विषयमा उत्तिकै जागरुक भए । मास्कको उपलब्धता, व्यक्तिगत सुरक्षा उपकरणको निर्माण, मानिसलाई जोखिम हुनसक्ने स्थानबाट हटाउनेदेखि सबै तथ्याङ्कको आवधिक जाँच र त्यसमा नयाँ सूचना जनस्तरसम्म पु¥याउने काम भएको पाइन्छ ।
यहाँको स्वास्थ्य सेवा उत्कृष्ट मानिन्छ । यहाँका सबै जनताको स्वास्थ्य बीमा गरिएको छ । सबै सरकारी वा निजी अस्पतालमा आफूले रोजेर घरबाटै अग्रिम बुकिङ गर्न सकिने व्यवस्था छ । यहाँ अहिले जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी ६५ वर्षमाथिका छन् । दीर्घरोगी पनि उत्तिकै छन् । यति हुँदाहुँदै पनि सङ्क्रमित कम हुनुलाई उत्कृष्ट व्यवस्थापनको नमुना मान्नुपर्छ ।
उच्चस्तरीय प्रविधि र उत्कृष्ट व्यवस्थापनका कारण विश्वभर महामारी फैलिँदा ताइवानमा यसको ठूलो प्रभाव देखिएको छैन । विशेषगरी सङ्क्रमित पत्ता लगाउने, उसको सम्पर्कमा रहनेलाई तत्काल खोजेर उपयुक्त ठाउँमा व्यवस्थापन गर्ने काम सराहनीय छ । आफ्नै घरमा क्वारेन्टाइनमा रहँदा उसले आवश्यक नियम र अनुशासन पालन गरे नगरेको हेर्न सक्ने कानुनी र प्राविधिक व्यवस्था मिलाइएको छ । यसका लागि मोबाइल एप्सको विकास गरिएको छ । सर्वसाधारणको सहयोगले पनि सङ्क्रमण कम भएको छ । यहाँका कतिपय ट्याक्सी र एम्बुलेन्सलाई विशेष तालिम दिएर रोग नियन्त्रण गर्ने मुख्य साधनका रूपमा प्रयोग गरिएको छ । धेरै होटलले सुरुबाटै क्वारेन्टाइनमा बस्नेका लागि सरकारले तोकेको मापदण्ड अनुसार सहयोग गरेको पाइन्छ । व्यक्ति, समुदाय, नागरिक समाज, सरकारी संयन्त्र, मिडिया, व्यापारिक र वित्तीय सङ्घसंस्थादेखि सबैको समन्वय, अनुशासन, इमानदारी र सहयोग गर्नु अन्य देशका लागि नमुनायोग्य हो । सुरुदेखि नै चीनमा लिइएका नीति र कार्यक्रमबाट नेपालीले धेरै शिक्षा लिन सक्छौँ ।
सबै देशका आफ्ना कमजोर र बलिया पक्ष हुने हुँदा हामीले यहाँ देखेको सबै अन्यत्र हुबहु लागू नहुन सक्छ । विश्वव्यापी महामारीसँग जुध्न सोच, जीवनशैली, सामाजिक, आर्थिक सम्बन्ध, वातावरण सबैमा सामुदायिक भावनाको विकास गरेर आफू बाँचौँ र अरूलाई पनि बाँच्न दिऊँ भन्ने कुरा अनुशरण गर्न जरुरी छ । मानिसले मानवीय सरोकारका विषयमा आपसमा मिलेर ज्ञान, सूचना, प्रविधि, व्यवस्थापकीय शैली आदिलाई आपसमा बाँड्नु पर्छ । धनी र गरिबबीचको खाडल नपुरुञ्जेल भविष्यमा अझ खतरापूर्ण समस्या आउन सक्नेछ ।
सङ्क्रमण फैलिएयता विश्वभरि ठूलो सङ्ख्यामा मानिसले अकालमा जीवन गुमाउनु परेको छ । खोप र औषधि पत्ता नलागेसम्म सुरक्षित बस्नु एक मात्र उपाय हो । अब हामीले आफ्नो स्वास्थ्य आनीबानी, जीवनशैली, सामाजिक, आर्थिक व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । यस अवधिमा राज्यले जनताको गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, वातावरणमैत्री समावेशी बस्तीसँगै अन्य आधारभूत आवश्यकता पूर्ति गर्नुपर्छ । लामो समय यस्ता रोगसँग जुध्दै बाँच्नु परेमा पनि मानव जीवनलाई कसरी सरल, सहज र सुखी बनाएर सामाजिक न्याय दिने भन्ने कुरातर्फ ध्यान दिनुपर्छ ।
नेपालमा अहिले दिनहँु सङ्क्रमितको सङ्ख्या बढ्दैछ । सबै प्रयासका बाबजुद आजको भोलि नै महामारी नियन्त्रण हुने देखिँदैन । हामीले सक्ने भनेको मानिसको जीवनरक्षा र अन्य क्षति कम गर्नु हो । जसमा जनशक्ति परिचालन, व्यवस्थापकीय क्षमता र प्रविधिको प्रयोगसँगै आफ्नो सोच, संस्कार, मिहिनेत र राष्ट्रिय भावनाको उच्च प्रदर्शन गर्नुपर्छ । यस्तो बेला मौकाको फाइदा उठाएर भ्रष्टाचार, कालोबजारी जस्ता कुरा नैतिक समाजलाई कदापि सैह्य हुँदैन । हाम्रा लागि यो समय नैतिक परीक्षण गर्ने पनि हो, जसबाट जनताले को कति गम्भीर र इमानदार छ भन्ने थाहा पाउनेछ ।
अहिले मानसिक स्वास्थ्यबारे जटिल समस्या देखा परे पनि यसको रोकथाम, उपचार, मनोपरामर्श र पुनस्र्थापन गराउनेबारे खासै चासो राखेको पाइँदैन । यस वर्षको बजेटमा सरकारले स्वास्थ्य संरचना निर्माणदेखि कोभिड–१९ सँग जुध्न पर्याप्त बजेट छुट्याएको छ तर कम्तीमा एक प्रदेशमा एक मनोचिकित्सा अस्पतालका लागि बजेट विनियोजन गरिनु पथ्र्यो । मानव स्वास्थ्यका लागि मानसिक स्वास्थ्य अत्यन्त महìवपूर्ण पक्ष हो । त्यसैले यसलाई प्राथमिकतामा राख्नु अपरिहार्य छ । मानिस रोगले मात्र नभई भोक र त्रासले ज्यान गुमाउँदैछन्, एक्लोपन, सामाजिक र सांस्कृतिक अपमानबाट पीडित हुँदैछन् । त्यसैले कोभिड–१९ को बहुआयामिक असर बुझ्नु, अध्ययन, अनुसन्धान गर्नु, सूचना प्रवाह गर्नु र मानिसलाई शारीरिक, मानसिक, बौद्धिक, सामाजिक साथै सूचनात्मक रूपले समेत स्वस्थ राख्नुपर्छ ।
(लेखक चिनियाँ ताइवानमा कार्यरत हुनुहुन्छ ।)