कैलाशकुमार सिवाकोटी
कोरोनाले हेपिरहेको बेला दक्षिणी छिमेकी नेपाली भूमिको नक्कली मालिक बन्न लागिपरेको छ । केही समयअघि उसले एकतर्फी रूपमा कालपानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग आफ्नो नक्सामा मिसायो । त्यसबेला नेपालले सानै स्वरमा भए पनि लिखितरूपमै भन्योः यो के गरेको, यो त हाम्रो बारी हो । त्यो नक्साप्रति हाम्रो नियमापत्ति÷आपत्ति छ । कहिलेसम्म यो झ्याउलो पालिराख्नु, वार्तामार्फत निकासको बाटो खोजौँ । छट्टु, मिचाहा, बलवान् छिमेकी न प¥यो, हुँदैन, सक्दिनँ, गर्दिन, कहिल्यै भनेन तर जिन्दगीमा कहिल्यै सही व्यवहार गरेन, छिमेकीसँग सधैँ झेली गर्नु नै स्वधर्म सम्झ्यो । हुँदाहुँदा बाटो बनाएर उद्घाटन गरी तैँले सकेको गर भन्ने सन्देश दियो । यो खप्नै नसक्ने गरी कुल्चेपछि नेपालले आफ्नो भूभाग समेटी पहिलोपटक आफ्नै बलबुतामा मुलुकको राजनीतिक, भौगोलिक र प्रशासनिक नक्सा जारी गर्न पुग्यो । परिणामतः भूमि एक ः नक्सा दुई ! को अवस्था छ । यसको अर्थ होः मुर्मुरिँदै भए पनि ढिलोचाँडो वार्तामा बस्नु र छिनोफानो गर्नु !
एकथरीलाई नेपालले पहिलेको बुच्चे नक्सालाई अहिले चुच्चे पारेकोमा चित्त दुखेको छ, जो यताको खाएर उताको हित र यताको बेहित गर्छन् । लाग्छ, ज्यान यताको भए पनि तर्क उताकै हो । ती भन्छन् ः अहिले नै किन एकपक्षीय रूपमा नक्सा जारी गरेको ? हिजो के हेरेर बस्यो ? इन्डिया वार्तामा बस्न मानेन भने के नेपालले युद्ध गर्न सक्छ ? तिनलाई लाग्छ– हिजो आफ्नो जमिनमा साँढेको राइँदाइँ टुलुटुलु हेरिरहे, आज पनि गरिरहन पाउनुपर्छ, बोल्नुहुँदैन । यो कुन दर्शनशास्त्रमा आधारित तर्क हो ? मानौँ तिनका तर्क मान्ने हो भने ३३ गते, आठौँ बारमात्र नक्सा जारी गर्ने साइत जुर्छ । मानौँ नक्सा नारी गर्नु गम्भीर अपराधमात्र होइन, राष्ट्रघात हो ।
ढिलै भए पनि नेपालको सक्कली नक्सा अद्यावधिक भएको छ । यो भूमि प्राप्ति वा भोगचलन गर्नेतर्फको पहिलो पाइला हो । को सक्कली, को नक्कली बाँकी कामले प्रष्ट्याउला । नेपालसँग आधार र प्रमाण थिएन भने यो आँट, साहस, हिम्मत हुन्थ्यो ? भारतले यत्तिमै चित्त बुझाउँथ्यो ? जहाँसम्म एकतर्फी रूपमा नक्सा जारी गरियो भन्ने चिन्ता र चासो छ, यही सवाल इन्डियामाथि तेस्र्याउन किन नसकेका ? एउटाले विरोधपत्र, वार्ताको प्रस्तावको चाङ लगाउँदै जाने अनि अर्कोचाहिँ सब ठीकठाक छजस्तो गर्ने ! मानौँ नेपालद्वारा जारी नक्सा नक्कली नै रहेछ भने वार्तामार्फत आधार र प्रमाण पु¥याएर स्थायी भोगचलन गर्न कसले रोकेको छ ? अतः वर्तमान र भावी पुस्तालाई, अन्तर्राष्ट्रिय जगत्लाई पनि सुसूचित गर्नु कुन नौलो र अनौठो विषय हो र ! यो विवादित भूमि होइन, छिमेकीले नै नेपाली भूमिलाई विवादमा हालेको हो । यो सार्वभौमिकताको विषय हो ।
हिजो नेतृत्व स्वार्थमा रुमल्लियो, धेरै कुरा बिटुलियो, बिग्रियो, नासियो । नेपालको राजधानी काठमाडौँ हो कि दिल्ली हो खुट्याउन गाह्रो थियो । सम्बन्धका आधारहरू सत्तामा उक्लने र टिकिरहने, छोराछोरीका लागि छात्रवृत्ति आदि थिए । यस्तैयस्तै विगतदेखिको फोहोर थुप्रिँदाको नतिजा हो, वर्तमान ! अहिले चेत पलाउँदा, हेपिन मन नलाग्दा, समानता र सम्मानमा आधारित सम्बन्ध विकास गरौँ भन्दा किन यत्रो चिन्ता, पीर ? अब नेपाल र नेपालीले निर्मम समीक्षा गर्ने बेला आएको छः अब पनि हामी आफ्नो हुने कि अर्काको ? देशको राजधानी काठमाडौँ मान्ने कि दिल्ली वा अन्यत्र कतै ?
राजाले नेपाल र नेपालीको बात मारे पनि र कालापानी जिम्मा लगाएर राष्ट्रियतामाथि घात गरे । बहुदलपछि अहिलेसम्म पनि नेपाली नेतृत्वको ज्यानमात्रै यता हो, ध्यान दक्षिणतिर छ भन्ने तर्कवितर्क खेलिरहेका छन् । तर फुलाउने अर्थात् तथ्यबाट स्थापित सत्यभन्दा बाहिर गई समग्रतामा गरिने तर्कले ठीक ठाउँमा पु¥याउँदैन । अनावश्यक, उग्र र तारा झार्नेखालका तर्क बोकेर खोक्रो राष्ट्रवादको ताज भिर्न आवश्यक छैन । सवाल यति होः इतिहास जे छ, जस्तो छ, त्यही रूपमा केलाइनुपर्छ । जसको जे भूमिका थियो, त्यसैको आसपासमा हिसाबकिताब गर्नु न्यायोचित हुन्छ । टिङ्करपछि कालापानीमा इन्डियन सेना बस्दा नेपाल कहाँ थियो ? किन त्यो अवस्था आयो ? कोदारी राजमार्ग कसरी जन्मियो ? लगायतका तर्कको वरिपरि पनि खेल्नुपर्छ कि ! अतः हरेक घटनालाई सापेक्ष र निरपेक्षरूपमा हेरी समीक्षा गर्नुपर्दछ । दक्षिणी प्रभुसामु जतिसुकै धनुष्टङ्कार बने पनि, बकितम्मा जेजे भने पनि यो बारीको फक्ल्याँटो महामहिमको हो, गरिखानु भनी लिखितम् गरेर दिएनन्, जुन सकारात्मक बाटो हो । अब विज्ञता बेच्ने हो, गफ होइन । विज्ञहरूको समूह गठन गर्ने हो, ‘हस्बहादुर’हरूको होइन ।
इन्डियाको संस्थापन पक्ष र सञ्चारजगत्ले प्रष्टरूपमा स्पष्ट हुनु वा बुझ्नु उसकै हितमा छ कि इन्डियालाई विश्वजगत्मा खुइल्याउने मूलतः तीन कारण छन्– साना छिमेकीप्रतिको कुदृष्टि, भारतीय सञ्चारजगत्को तमासा वा गोयबल्स शैली र विपक्षीहरूमाथिको असहिष्णुता । उसलाई विश्व मानचित्रमा शक्तिसम्पन्न हुन नदिन यिनै कारण पर्याप्त हुनेछन् । उसले बुझ्नुपर्छः राष्ट्रहरू भौगोलिक रूपमा साना र ठूला हुनसक्छन्, आर्थिक रूपमा सम्पन्न र विपन्न हुनसक्छन्, विकासको कोणबाट विकसित र अविकसित हुनसक्छन् । शासन–प्रणालीको हिसाबले निरङ्कुश र लोकतान्त्रिक हुनसक्छन् तर सार्वभौमिकताका आधारमा समान हुन्छन् । समान र सम्मानजनक व्यवहारको बाटोबाट हेपाहा, मिचाहाको मार्गतिर जान थालेपछि सम्बन्धहरू धरापमा पर्छन्, भत्किन्छन् पनि ! ठूला स्वर, धम्कीको भाषा अब म्याद गुज्रिएका हतियार हुन् । अतः अति भएपछि खति हुन्छ । नेपालले पनि जोगिन कसैको सहारा लिनुपर्ने हुनसक्छ । भलै अहिले यसको कल्पना नगरौँ !
कतै पश्चिममा वा अमेरिकीहरूले इन्डियालाई त्यो ठाउँ नछोड्, छोडिस् भने तँलाई साढे सातको दशा लाग्छ । त्यहीँबाट चीन ताक्न सजिलो हुन्छ, जो तेरो दुश्मन हो भन्दै उकासिरहेका त छैनन् ? उनीहरूलाई थाहा छः चीन र इन्डिया एक ठाउँमा आए भने अबको शक्तिकेन्द्र एसिया हो । इन्डियालाई त्यहाँ तैनाथ गर्न सकियो भने उसैमार्फत चीनभित्र गञ्जागोलको खेतीपाती गर्न सकिन्छ । यथार्थमा जेजस्ता तर्क उभ्याए पनि उनीहरूको पहिलो शिकार इन्डिया बन्नेछ । तसर्थ उसले जानीनजानी कसैको पनि मोहरा नबनेको जाति ।
दुई देशबीचको यो रस्साकस्सी कुनै सीमाविवादको विषय होइन, जग्गाजमिनको क्षेत्रफल कति हो भन्ने होइन । सार्वभौमिकताको विषय हो । बुद्धिमान छिमेकी भएको भए भन्नुपर्ने होः छिमेकी, तपाईंले हामीलाई जुन गुन लगाउनुभयो, त्यसका लागि धन्यवाद । मैले पनि केही सहयोग गर्नुपर्छ कि ! चाहिएको छ भने भन, सकेको गरौँला ! तर विडम्बना, काँक्रोलाई थाङ्ग्रो, थाङ्ग्रै धनी ! अतः कर, बल, छलले सामसुम पारे पनि यो निभ्ने वा सेलाउने मुद्दा होइन, भावी पुस्ता थप धारिलो बनेर आउनेछ । समय जति गुज्रन्छ, समस्या उति गुजुल्टिँदै जानेछ । सोझौ औँलाले घिउ आएन भने अन्तर्राष्ट्रिय मञ्चहरूमा, सभा, सम्मेलनमा छिमेकीको हविगत के होला ? आफ्नो पुर्जा देखाउँदै नेपालले हजुर ठूलो, धनी, लोकतान्त्रिक छिमेकी भनेर के गर्नु, मेरो अलिकति बारीको पाटो कब्जा गरेर बस्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको सदस्य कसरी भन्नु, बडापत्रकै पारस्परिक समानताजस्ता व्यवस्था कुल्चिनुभएको छ । अब मलाई न्याय चाहियो, अब मलाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो छ भनी गुहार माग्यो भने इज्जत मोटाउँछ कि दुब्लाउँछ ? कसरी अनुहार देखाउने, त्यो बेला के भन्ने ? लज्जां शरणं गच्छामि !
विगतमा उसको चीनसँग लडाइँ नै प¥यो, दह्रो चाबुक भेटेपछि ज्यान जोगाउन भाग्दै छिमेकी (नेपाली) को बारीमा छि¥यो । आश्रय पायो, स्थायी प्रकृतिका संरचना निर्माण ग¥यो । हुँदाहुँदै यो त मेरो बारी हो भनेर नक्सा छाप्यो, बाटो खन्यो । अब त खाली गर्दिनुप¥यो भन्दा उल्टो धम्कीको पर्खाल उठाउनु ठीक होइन । छिमेकीको बारीमा बसेर उसैको सत्तोसराप गर्नु बुद्धिमत्ता होइन । समाधानविनाको समस्या जन्मदैन पनि । कहाँ, किन, कसरी, कहिले कति, कसको लगायतका सवालमा आधारित रही जवाफ खोजेमा समाधान त्यहीँभित्र छ । समस्याको समाधानको बल अब नेपालसँग कम र बढी इन्डियासँग छ । राष्ट्रहरूबीचको सम्बन्धको आधार समानता हो । बिग्रिहालेको छैन, सम्हाल्न सक्ने ठाउँ प्रशस्तै छन् । समस्यालाई तपसिलका उपायबाट सल्टाउन सकिन्छः (क) ससम्मान नेपाललाई भूमि फिर्ता गर्नु, (ख) शान्त कूटनीतिको बाटो अवलम्बन गर्नु, (ग) मध्यस्थतामार्फत विवाद समाधान गर्नु, (घ) अन्तर्राष्ट्रिय न्यायालयबाट उपचार खोज्नु र (ङ) युद्धको बाटो रोज्नु ।
अतः समस्या निदानको सबैभन्दा उत्तम, सस्तो, बलियो र भरपर्दो बाटो भनेको पहिलो र दोस्रो नै हो, जहाँ सरोकारवालाहरूको मात्र भेटघाट हुन्छ । बाँकी क्रमशः हानिकारक र विनाशकाले विपरीतबुद्धिः जस्तै उपाय हुन् । विवादित बनाइएको भूमिले विशेष सामरिक महत्व राख्दछ । इन्डियाले नेपालको छिमेकी चीन पनि हो भन्ने बुझ्न कन्जुस्याइँ गर्नुहुँदैन । धकेलेर कुनामै पार्न खोजियो भने अस्तित्वकै लागि पनि कसै न कसैको सहारा त आवश्यक हुन्छ ।
(लेखक कानुन तथा मानवअधिकारका क्षेत्रमा आबद्ध हुनुहुन्छ ।)