logo
२०८१ मंसिर १५ शनिवार



क्वारेन्टाइन बाजेकै पालामा

विचार/दृष्टिकोण |




प्रेमसागर कर्माचार्य

कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी महामारीको भुमरीमा अकल्पनीय मानवीय क्षति ब्यहोर्नुपरेको छ । मानव जाति उत्पत्तिदेखि नै प्रकृतिको नियममा आफ्नो जीवन व्यतित गर्दै आइरहेको छ । ऊ बाह्रमासे मौसमसँग खेल्दै, बढ्दै र हुर्कंदै आफूलाई समयसापेक्ष अनुकूल बनाउँदै आएको हो । प्रकृतिलाई बुझ्न सक्नु नै हालसम्मको उसको सफलता मानिन्छ तर बढी बुझेर या बुझ्न नसकेको परिणाम हो प्राकृतिक प्रकोपको चपेटामा पनि परिरहेको छ मानव । विगत केही समय अघिदेखि पृथ्वीको वातावरणीय उष्णतामा तापमान वृद्धि हुँदै, मौसमी फेरबदल हुँदै जानुलाई मानवजातिले कति अनुभूति गरिरहेका छौँ ? आज कोरोना महामारीले मानवजातिलाई सिकाएको छ– प्रकृतिको अस्तित्व आत्मसात् गर्न ।
मेरी हजुरआमा, मेरा बुवाले भन्नुभएको एउटा संस्मरण उल्लेख गर्न सान्दर्भिक ठानेँ । भन्नुहुन्थ्यो, “मल्लकालीन समयदेखि हाम्रो व्यापार भोट–तिब्बत–ल्हासासँग हुने गर्दथ्यो । यहाँका नेवार समुदायभित्रका सम्पन्न व्यापारीहरूले नेपाल मण्डलमार्फत देशभर व्यापार गर्दै आइरहेका थिए । महिनौँ दिन लगाएर हिमालपारिबाट व्यापारका सामग्रीहरू लिएर फर्कने क्रममा सिधै आफ्नो घरमा प्रवेश कहिल्यै गर्दैनथे ! बरु असनमा रहेको “यताचप्पा“ भनिने घरमा करिब १३–१४ दिनसम्म त्यहीँ गुजारा गरी क्वारेन्टाइन (ख्वपिंहिति) मा पूरै शरीर स्नान गरेपछि बल्ल आफ्नो घर जाने गर्थे । किन आफ्नो घर नगई बाहिर बसेको भन्ने जिज्ञासामा, भन्नुहुन्थ्यो– “नेपाल मण्डलबाट त्यतिका टाढा हिमाल पारि पुगेर, कहाँकहाँ, को, कस्ता, मान्छेहरूसँग सङ्गत गरेर, बसेर, के, कस्तो खानेकुरा खाएका होलान् ? आदि कारण मात्र नभएर यहाँको हावापानीमा एकाएक त्यहाँको हावापानीबाट फर्केकाहरूको स्वास्थ्यमा अनुकूलताभन्दा बढी प्रतिकूलता पुग्न सक्छ भनी त्यसरी बाहिरै बसी बिस्तारै यहाँको हावापानीमा घुलमिल भएर मात्र आफ्नो घर प्रवेश गर्दथे । यसो गर्नुको प्रमुख कारण भनेको आफूहरू कुनै पनि बाहिरी ठाउँबाट आउँदा नयाँ नयाँ रोगव्याधि आदिबाट सङ्क्रमित भएको भए पनि त्यो रोगबाट आफ्नो घरपरिवारका सदस्यहरूबाट जोगाउनु नै मुख्य लक्ष्य हो ।’
नेवार समुदायमा उल्लेखित चलनमा रहेको वैज्ञानिकता आजको कोभिड–१९ ले पुष्टि गरिदिएको छ । सयौँ वर्ष पहिलेदेखि हाम्रा पुर्खाहरूले आफू, आफ्नो परिवार र समाजप्रतिको दायित्व तथा कर्तव्य कसरी निर्वाह गरिरहेका रहेछन् त ! आज
कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सामाजिक (भौतिक) दूरी कायम गर्दै ‘होम क्वारेन्टाइन’ मा बस्न बाध्य छौँ । आदिमकालमा व्याख्या विश्लेषण नभएको मात्र हो, यो हाम्रा पुर्खाहरूद्वारा गरिँदै आएको विधि र शैलीको निरन्तरता हो । यो सबै प्रकृतिले मानवजातिलाई पृथ्वीमा बाँच्नका लागि जीवनकला दिएको मात्र हो ।
हामी मानवजाति कुन समय कुन रोगबाट सङ्क्रमित हुने हो कुनै टुङ्गो छैन । मौसमी फेरबदलका साथै नयाँ नयाँ रोगका विषाणु – जीवाणुहरूले हामीलाई आक्रमण नगरेको पनि होइन । आज विश्वव्यापी जनसमुदाय कोरोना सङ्क्रमित हुन पुगेको छ ।
कोभिड–१९ ले मानवजातिलाई अनुशासित बनाउँदैछ । प्रकृतिलाई आत्मसात् गर्न आग्रह गरेको छ । पुर्खाहरूद्वारा गरिँदै आएका कर्महरूको वैज्ञानिक पुष्टि गर्न अनुसन्धानमा जुट्न विलम्ब नगर्नु भन्ने सन्देश दिँदैछ । हामीमाझ सबै छ तर पहिचान र पहिल्याउन सकिएको छैन । जसका कारण अरूको मुख ताक्न वा आश्रयमा बाँच्न विवश छौँ । सनातनदेखि चल्दै आएको जन्मदेखि मृत्युसम्मको बीचमा गरिने खानपिनदेखि कर्मकाण्डसम्मका अब व्याख्या विश्लेषण गर्न विज्ञहरू तदारुकताका साथ लाग्नु जरुरी देखिएको छ, जसबाट नेपालबाट नेपालीहरूले आफ्नो जीवनचर्यामा गरिने यी कार्य विज्ञानसम्मत छन् भनी विश्वव्यापीकरण गरी मौलिकताको नेतृत्वदायी भूमिकामा नेपालले विश्वमा महत्वपूर्ण योगदान दिन सक्नेछ ।
देश लकडाउनमा रहेको, व्यवसाय ठप्प रहेको भए पनि हामीले आआफ्नो आवश्यकता पूर्तिमा जुट्नुपर्नेछ । एकातर्फ कोभिड–१९ को सामना गर्नु छ भने अर्काेतर्फ विविध रोगव्याधि, सुत्केरी, दुर्घटना तथा आकस्मिक लगायतका अवस्थामा स्वास्थ्य उपचारार्थ रहेका कतिपय बिरामीका लागि मानव रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको आवश्यकता पर्न सक्छ ।
कोरोना महामारीको अवस्थामा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू उपलब्ध कसरी गराउनेतर्फ कुनै सोंच, नीति, योजना तर्जुमा गरी अघि सारिएको छैन । जसका कारण स्वयंसेवी रक्तदाताहरू राज्यद्वारा घोषित ‘लकडाउन’ अन्तर्गत ‘होम क्वारेन्टाइन’ मा स्थिर भएर बस्न अनि पालना गर्न सकिएको छैन । नेपाल स्वयंसेवी रक्तदाता समाज देशैभर ‘होम क्वारेन्टाइन’ देखि रक्तसञ्चार सेवासम्म आफ्नो परवाह नगरी रक्तदान गर्न र गराउन बाध्य भएका छौँ । यसको विकल्प पनि छैन ।

(लेखक नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?