डा. प्रेमराज ढुङ्गेल
गतवर्ष बुबाको पेटको शल्यक्रिया गर्ने सिलसिलामा अस्पतालमा एकजना शल्यचिकित्सकसँग कुरा हुँदा परिचयको क्रममा मेरो विषय भौतिकशास्त्र भन्ने सुन्नासाथै उनले भने, “ओहो, भौतिकविज्ञान विषय सुन्नेबित्तिकै मलाई डर लाग्छ, मलाई ज्यादै गाह्रो लाग्थ्यो ।” मैले भनेँ, आआफ्नो रुचिको विषय हो, मलाई त रमाइलो लाग्छ । उनी पक्कै पनि कमजोर विद्यार्थी होइनन् किनकि उनी चिकित्साशास्त्रमा अब्बल भएर निस्किएका छन् । उनलाई भौतिकशाश्त्र नै पढ्न बाध्य पारिएको भए के यति नै अब्बल भएर निस्किन्थे ? यहाँ विषय रुचिको हो वा अनुकूलताको ? के मानिसले कुन विषय पढ्ने भन्ने रुचि जन्मजात नै लिएर आएको हुन्छ वा उसले सिक्ने वातावरणले उसको रुचिमा प्रभाव पार्छ ?
मनोविज्ञानका विज्ञ डा. केदारबहादुर रायमाझीका अनुसार यसमा मनोवैज्ञानिकहरूका राय बाझिएका छन् । एकथरी के भन्छन् भने अनुकूल वातावरण बनाएर उपयुक्त विधि अपनाएर कुनै व्यक्तिमा कुनै विषयप्रति रुचि जगाउन र सिकाउन सकिन्छ । अर्काथरीको भनाइ छ– रुचि त जन्मजात नै लिएर आउने कुरा हो अर्थात् आनुवंशिक गुण हो । उसको शरीरको कोषमा रहेको जीन (वंशाणुगत कोषिका)ले अन्य गुणहरू झैँ रुचि पनि आफ्नो वंशजबाट बोकेर आएको हुन्छ । त्यही रुचि अनुकूलको विषय वा क्षेत्र उसले रोज्छ । त्यो अनुसारको उसले रोज्यो वा पायो भने त्यसमा ऊ उत्कृष्ट भएर निस्कन्छ तर अन्य क्षेत्रमा हात हाल्यो भने जसोतसो सङ्घर्ष गरेर अगाडि त बढ्ला तर त्यसमा उत्कृष्टता चाहिँ हासिल गर्न सक्दैन ।
यी दुवैथरीका आआफ्ना पक्षमा तथ्य, वैज्ञानिक प्रयोगका नतिजा र तर्कहरू छन् तर यी दुवै अवधारणामा अनुकूलता महत्वपूर्ण कडी छ । पहिलोमा त यो स्वतः नै हुने भयो । दोस्रोमा पनि उसले आफ्नो रुचि अनुसारको विषयमा उत्कृष्टता हासिल गर्नका लागि सिक्न र सिकाउन आवश्यक सबै कुरासहितको वातावरण ऊ र उसको रुचि अनुकूल हुनैपर्छ ।
यसमा अर्को महत्वपूर्ण व्यावहारिक प्रश्न छ । कोप्रति को अनुकूल बन्ने ? सिक्ने व्यक्तिले आफूलाई नै परिवर्तन गरेर वातावरण अनुकूल बन्ने वा विधि, सामग्री, शिक्षक, परिवेशलगायतका वातावरणलाई नै परिवर्तन गरेर सिक्ने व्यक्तिको रुचि र क्षमता अनुकूल बनाउने ? सायद यो समय, स्थान र परिवेश सापेक्ष हुन्छ होला तर को परिवर्तन हुन्छ भन्ने कुराले अवश्य पनि त्यसपछिको संसार कस्तो बन्नेछ भन्ने कुरा निर्धारण गर्छ ।
दीर्घकालीन नतिजालाई वास्ता नगर्ने हो भने आफू परिवर्तित भएर अर्काको अनुकूल को बन्ने भन्ने कुरा तत्कालीन अवस्थामा को बढी शक्तिशाली छ त्यसले निर्धारण गर्दछ । ममा बढी क्षमता छ र विकल्प उपलब्ध छन् भने अवश्य पनि म अर्को पक्षलाई परिवर्तन गरेर आफू अनुकूल बनाएर अगाडि बढ्न खोज्छु तर म कमजोर छु र विकल्पहीन छु भने आफूलाई टिकाउन वा जोगाउन मैले आफूलाई नै परिवर्तन गरेर वातावरण अनुकूल बनाउनुपर्ने हुन्छ । नत्र मेरो अस्तित्व नै सङ्कटमा पर्छ । यही कुरा वैज्ञानिक चाल्र्स डार्विनले प्रतिपादन गरेको “जीवको उत्पत्ति र विकासक्रम”को सिद्धान्तले भन्छ ।
यस पृथ्वीमा जति पनि जीव तथा वनस्पतिको उत्पत्ति र विकास भयो ती सबैले आफू बाँच्न आफूलाई प्रकृति अनुकूल बनाउँदै जानुप¥यो र पर्छ । जसले आफूलाई परिवर्तन गर्दै प्रकृति अनुकूल बनाउँदै लैजान सफल भयो त्यो प्राणी बाँच्यो र बाँकीको संसारबाट अस्तित्व नै हरायो । यो नियमलाई डार्विनले “बाँच्नका लागि सङ्घर्ष” भन्ने नाम दिए । जस्तै कुनै समयमा पृथ्वीमा आधिपत्य जमाएर बसेको विशालकाय डाइनोसरहरू हराएर गए ।
यहाँ बाँच्नका लागि सङ्घर्ष भनेको प्रकृतिसँग द्वन्द्व गर्ने वा युद्ध गर्ने होइन । यहाँ सङ्घर्ष भनेको आफूलाई प्रकृतिसँग अनुकूल बनाउने हो । प्रकृति गतिशील छ र आफ्नो नियम अनुसार चलिरहन्छ । प्राणीहरूले आफ्नो अस्तित्व जोगाउने हो भने आफूलाई त्यसै अनुरूप मेल खाने बनाउँदै लैजानुपर्छ । प्रकृति र त्यसको नियमलाई बुझेर त्यसै अनुरूप चल्नुपर्छ । त्यसैले मानिसले प्रकृतिको नियमको सूक्ष्मरूपले अध्ययन र विश्लेषण गर्न थाल्यो । त्यही प्रकृतिको आधारभूत नियमको अध्ययन नै भौतिक विज्ञान हो । त्यसैले यसलाई सबै विज्ञानको जननी पनि भनिन्छ ।
मानिसको जीवनमा कुनै पनि कार्य छिटो, सहज र आरामदायी बनाउन जति पनि यन्त्र, उपकरण वा साधनहरू आजका प्रविधिले बनाएका छन्, ती सबै प्राकृतिक विज्ञानले प्रतिपादन गरेका सिद्धान्तका आधारमा वा तिनलाई उपयोग गरेर बनाइएका हुन् । कुनै वैज्ञानिक सिद्धान्तलाई सूक्ष्मरूपमा विश्लेषण र व्याख्या गर्दै जाँदा अर्को आधारभूत सिद्धान्तमा पुगिन्छ । यसै क्रममा अगाडि बढ्दै जाँदा कुनै न कुनै रूपमा त्यो भौतिक विज्ञानमा पुगेर ठोकिन्छ । भौतिक विज्ञानका ती आधारभूत सिद्धान्तले प्रकृतिको नियम व्याख्या गर्छन् ।
भौतिक विज्ञानमा मानिसले गरेको प्रगतिसँगै उसले प्रकृतिको नियमलाई बढी बुझ्दै गयो र त्यसै अनुरूप प्रविधि पनि द्रुत गतिमा विकसित हुँदै गयो— आफ्नो जीवनलाई थप सहज, आरामदायी र सुखमय बनाउने उद्देश्यले । प्रकृतिको नियमलाई बढी बुझ्दै गएपछि मानिससँग दुईवटा विकल्प थिए र छन् । आफूले हासिल गरेका प्रकृतिसम्बन्धी ज्ञानरूपी शक्तिको सदुपयोग गरेर आफूलाई प्रकृति अनुकूल बनाउँदै लैजाने र मानव अस्तित्वको आयु बढाउने वा प्रकृतिले दिएका हाम्रा वरपरका वस्तुलाई परिवर्तन गरी आफू अनुकूल बनाउने र प्रकृतिलाई नै चुनौती दिने । मानिसले चाहेर वा नचाहेर दोस्रो विकल्प रोज्यो ।
आफू वरिपरिको हावा बढी तातो भयो भने मानिसले आफ्नो सहन गर्ने क्षमता बढाउनुको सट्टा कोठाको हावा नै चिसो पार्ने एयरकण्डिसन (वातानुकूलित) प्रणाली बनायो र बाहिरको प्राकृतिक वातावरण छोडेर घरभित्रको चिसो कोठामा आफूलाई सीमित ग¥यो तर त्यही एयरकण्डिसन यन्त्र र अन्य सुविधाका साधनले निकालेको ग्यासले पृथ्वीको पूरै वायुमण्डल नै तताएर मानव नै सङ्कटमा पर्छ भन्ने कुरा उसले पत्तै पाएन । जब पत्तो पायो, उसका महत्वाकाङ्क्षी पाइला तथा क्रियाकलाप यति धेरै अघि बढिसकेका छन् कि त्यसबाट प्रकृतिको हस्तक्षेप बिना ऊ आफैँ पछि हट्न असम्भवजस्तो देखिएको छ ।
प्राकृतिकरूपले पानी उचाइबाट तलतिर बगेर पानीको चक्र चल्दै सबै प्राणीलाई पर्याप्त पानी उपलब्ध थियो र पृथ्वी हराभरा थियो । तर प्रकृतिको नियम बुझ्दै गएको महत्वाकाङ्क्षी मानिसले प्राकृतिक पानीसँग आफूलाई अनुकूल बनाउनुको सट्टा त्यही प्रकृतिको नियम उपयोग गरेर आफूले बनाएको प्रविधिले पानीलाई तलबाट माथितिर बगाउन थाल्यो, पानीको बहाव रोक्ने वा मोड्ने वा पानीको स्रोतलाई अन्य तरिकाले प्रभावित गर्न थाल्यो । फलस्वरूप प्राकृतिक असन्तुलन भई दुईतिहाइ पानी भएको पृथ्वीको सतहमा एकातिर कैयौँ मानिस स्वच्छ र पर्याप्त खाने पानी नपाएर छटपटिने अवस्था आयो भने अर्कोतिर अनपेक्षित पानीको बाढी र सतह माथि आएर मानिसहरूका बस्ती नै डुब्न थाले ।
वनजङ्गल, नदी, ताल आदिमा रहेका जीव तथा वनस्पतिसँग मिलेर प्रकृतिको एउटै इकोसिस्टम (पारिस्थितिक प्रणाली) भित्र सहअस्तित्वमा मानिसले बाँच्नुपथ्र्यो र पर्छ । तर अति महत्वाकाङ्क्षी मानिसको बेलगाम मस्तिष्कले उब्जाएको असीमित चाहना परिपूर्ति गर्न प्रकृतिलाई आंशिक रूपमा बुझेर गरेका आविष्कारहरू, विज्ञान र प्रविधिको बलमा मानिसले प्रकृतिलाई नै धावा बोल्न थाल्यो ।
प्रकृतिसँग अनुकूल भएर रमाइरहेका जीवजीवाणुहरूको प्राकृतिक वासस्थानमा मानिसले अतिक्रमण गर्दै गयो । जीव तथा वनस्पतिको विनाश गर्दै गयो । सबैभन्दा शक्तिशाली प्रकृतिले आफूसँग अनुकूल नहुने जीव तथा वनस्पतिलाई छाँट्छ, विनाश गर्छ र त्यही मात्रै निरन्तर बाँच्छ जुन ऊसँग मेल खान्छ भन्ने नियम बुझेको र व्याख्या गर्दै आएको मानिसले त्यही मूल कुरा बिर्सियो । तर जुन जङ्गली जन्तुहरूमा आफ्नो वासस्थान बनाएर कोरोेना भाइरस बसेको थियो त्यसलाई मानिसले विनाश गर्दै गएपछि आफूलाई सुरक्षित राख्न उक्त भाइरसले प्रकृतिको त्यही नियमलाई समायो । त्यसले आफूलाई परिवर्तन गरी मानिसको शरीरमा अनुकूल भएर बाँच्न र विस्तार गर्न सक्ने बनायो । मानिसको अस्तित्वमा नै सङ्कट ल्याइदियो । अझ कोरोना भाइरसबारे बढी बुझेकाहरू के भन्दैछन् भने थप व्यक्तिमा सर्ने क्रममा यसले आफ्नो स्वरूप नै परिवर्तन गरेर आफूमा थप अनुकूलता विकास गरेको जस्तो छ ।
पृथ्वीमा सबैभन्दा बुद्धिमान प्राणी हामी मानिसले आफ्नो बाहिर र भित्र रहेको दुवै संसारका प्रकृतिलाई बुझेर आफूलाई त्यसै अनुकूलको रहनसहनमा ढाल्यौँ र सन्तुलित जीवन बाँच्यौँ भने हाम्रो जीवन सुखमय र शान्तिमय हुन्छ तर यो वास्तविकता बुझेर पनि हामीलाई यसो गर्न मुश्किल भइरहेको छ । तैँले मेरो वासस्थानमा अतिक्रमण गरिस्, अब तँ आफ्नै वासस्थान र घेराभित्र सीमित भएर बस् भनेर हामीलाई कोभिड १९ ले चेतावनी दिएको छ । अब प्रकृतिसँग अनुकूलता कायम राखेर यो उत्कृष्ट मानव जीवन लम्ब्याउने वा प्रकृतिसँग द्वन्द्व गरेर आफ्नो अस्तित्व नै मेट्ने हाम्रै हातमा छ ।
(लेखक भौतिकशास्त्रका प्राध्यापक हुनुहुन्छ ।)