logo
२०८१ मंसिर १५ शनिवार



टेलिअनलाइन गुरुमन्त्र होइन

विचार/दृष्टिकोण |




खगेन्द्रबहादुर खनाल

कोरोना भाइरसका कारण देश अहिले बन्दाबन्दीको प्रभावमा परेको छ । सङ्क्रमण दिनानुदिन बढिरहेको छ । मृतकको सङ्ख्यामा भएको वृद्धिले कसैले पनि सुखको सास फेर्न सकिरहेका छैनन् । बन्दाबन्दी केही खुकुलो भए पनि स्कुलहरू पूर्णरूपमा बन्द छन् । बालबालिका घरमा बस्दाबस्दा दिक्क मान्न थालेका छन् । शिक्षा मन्त्रालयले एसईईका लागि कक्षा मूल्याङ्कन (आन्तरिक)का आधारमा उत्तीर्ण गराउने निर्णय गरिसकेको छ । कक्षा १२ को परीक्षा बन्दाबन्दी पूर्ण रूपमा खुलेको केही समयपछि गरिने भएको छ । अहिले शिक्षाक्षेत्रमा काम गर्ने संस्थाहरू कहिले अनलाइन शिक्षा, कहिले टेलिफोन शिक्षाको लागि प्रचारप्रसार गर्दैछन् । निजी शिक्षण संस्थाहरूले विद्यार्थीलाई पढाउनेभन्दा पनि के बहानामा पैसा माग्न सकिन्छ भन्ने सोचका साथ यसलाई जोड दिइरहेका छन् ।
स्थानीयस्तरमा केही सरकारी विद्यालयहरूले टेलिफोनबाट शिक्षा प्रदान गर्ने तयारीमा लागेको समाचारहरू आइरहँदा हामीसँग उपलब्ध शिक्षक, प्राविधिक ज्ञान, विद्यार्थीहरूको क्षमता, अभिभावकको चेतनास्तर, भौगोलिक परिवेश, सामाजिक परिवेश आदि कुराको अवस्था बुझ्नु अति आवश्यक छ । स्थानीयस्तरमा रहेका विद्यालय पुरानो पद्धतिबाट कहिल्यै परिवर्तन हुन नखोज्ने, विद्यालयलाई राजनीति गर्ने थलो बनाइनु, शिक्षकको मूल्याङ्कन कामभन्दा दलमा आबद्धताका आधारमा गरिने परिपाटीको विकास हुनु, शिक्षक कुनै दलको स्थानीय नेता देखिनु दुःखलाग्दो कुरा हो । बन्दाबन्दीका बीचमा सञ्चालन गर्न खोजिएका अनलाइन र टेलिफोन शिक्षाका कक्षा केही सकारात्मक देखिन्छन् तर तिनको भनाइ र भोगाइबाट मात्र यथार्थ स्थिति बुझ्न सकिनेछ ।
सबैजसो निजी र केही सामुदायिक विद्यालयले विद्यार्थीको कल्याणका लागि यी कार्यक्रम सञ्चालन गरिरहेका छन्  । सम्पूर्ण विद्यार्थीको पहँुचमा अनलाइन र टेलिफोनको सुविधा छ ? प्रत्येक व्यक्तिको घरसम्म विद्युत्को पहुँच छ कि छैन ? विद्यार्थीहरूले आफूलाई लागेका कस्ता प्रश्नको समाधान यो प्रणालीबाट सम्भव छ ? गणितका ३ पृष्ठ ‘रफ’ गरेर उत्तर आउने हिसाबहरूको समाधान टेलिफोनले गर्न सक्छ ? अङ्गे्रजीको निबन्ध लेखनका विषयमा अनलाइनबाट के परामर्श दिन सकिन्छ ? हामीसँग भएका शिक्षकको योग्यता र सीप ह्वाइट बोर्डबाहेक विद्यार्थीलाई बुझाउने सीपयुक्त छन् कि छैनन् ? आदि कुराको विस्तृत अध्ययन गरिएको छ, छैन ? नगरभित्रका सम्पूर्ण विद्यालयले समान रूपमा सहभागिता जनाएका छन् कि छैनन् ? विद्यार्थीहरूलाई जीवनोपयोगी सीप र सरसफाइ सम्बन्धमा पर्याप्त जानकारी प्रदान गर्ने गरिएको थियो वा थिएन ? आदि प्रश्नको सूक्ष्मरूपले अध्ययन र विश्लेषण गर्नु आवश्यक छ ।
शिक्षण सिकाइका कालोपाटीमा चकले लेखेर विद्यार्थीलाई पाठ रटान गर्ने विधिबाट शिक्षा दिँदै आएका पुराना पुस्ताका गुरुहरूले मोबाइलबाट समस्याको हल गर्न सक्नुहुन्छ ? ह्वाइट बोर्डमा मार्करले लेख्दा नबुझ्ने विद्यार्थी र त्यसरी लेख्नसमेत अल्छी गर्ने शिक्षकले अनलाइनका प्रविधिहरूको सरल र सहज ढङ्गले उपयोग गर्न सक्ने अवस्था हँुदैन ।
विद्यार्थीलाई प्राकृतिक वातावरणमा शिक्षण सिकाइको व्यवस्थापन गर्न सकिन्छ । प्रकृतिवादले शिक्षा प्राप्त गर्नका लागि शिक्षकको स्थानलाई गौण मानेको छ । बालकको स्वतन्त्रतालाई महत्वपूर्ण मान्दै बालकले अनुभवका आधारमा सिक्नु नै शिक्षा हो यसलाई थोपर्नुहँुदैन भन्ने धारणा रहँदै आएको छ । हाम्रो सामाजिक परिवेशमा शिक्षा प्रदान गर्नुलाई शिक्षकले पाठ्यक्रममा आधारित रहेर घोकाउने, त्यही आधारमा तयारी गर्ने र परीक्षामा निश्चित समयभित्र लेख्न लगाएर उत्तीर्ण, अनुत्तीर्ण गराउने तथा योग्य ठान्ने प्रणालीको विकास भएको छ । शिक्षाक्षेत्रका विविध दर्शनका आधारमा सिकाइलाई व्यवस्थापन गर्न सकिने वातावरण विकास भएको छैन । नेपालमा विभिन्न आन्दोलनसँगै शिक्षाक्षेत्र सुधारका लागि पनि विभिन्न आयोग तथा शिक्षासम्बन्धी संस्थाहरूको विकास हुँदै आजसम्म आइपुगेको अवस्था छ ।
शिक्षा जीवनका लागि तयारी होइन, शिक्षा स्वयं जीवन हो भन्ने जोन डिवेको भनाइबाट के बुझिन्छ भने हामीले यही जीवनका लागि गर्नुपर्ने कामका लागि शिक्षाको आवश्यकता परेको हो । जहिले पनि तयारी गरिरहने हो भने हाम्रो शिक्षा निरर्थक हुन्छ भन्ने विचार उहाँको छ । हाम्रा निजी तथा सरकारी विद्यालयबाट हामीले आजसम्म अध्ययन गराउँदा बालबालिकालाई कहिल्यै जीवन बाँच्ने विविध तरिकाका बारेमा अध्ययन गरायौँ । शिक्षा आफैँमा जीवन हो भन्ने दृष्टिकोणलाई बालमनोविज्ञानमा स्थापना गर्यौँ वा गरेनौँ ? हामीले लगातार १०,१२ वर्ष अध्ययन गराउँदा सिकाउन नसकेका के कुरा छुटे र हामी आज अनलाइन र टेलिफोनको प्रयोग गर्दैछौँ ? हामीले विपद् व्यवस्थापनका सम्बन्धमा बालबालिकालाई के–के सिकाएका थियौँ र आज समाजमा फैलिएको महामारीमा के कस्ता भूमिका निर्वाह गरिरहेका होलान् ? हाम्रा बालबालिकालाई टेलिफोन शिक्षा सुरु गर्नुपूर्व कहिल्यै उसको घरमा गएर एकपटक अवलोकन गर्यौँ कि बालकलाई शिक्षा जरुरी भयो भनेर ?
हामी कुनै पनि काम सस्तो लोकप्रियता कमाउनका लागि गर्दैछौँ भने ठीकै छ तर हामीले पढाएको शिक्षा काम लागिरहेको छ वा छैन, शिक्षक र विद्यालयका व्यवस्थापकले कहिल्यै विद्यार्थीको आँगन अनुगमन गरेका छौँ वा छैनौँ ? हाम्रा बालबालिकाले आज समाजमा सरसफाइ सम्बन्धमा कतिको जनचेतना जगाएका छन् ? रक्सी सेवन गरी दिनहुँ घरमा झगडा गर्ने अभिभावकको पीडाबाट हाम्रा विद्यार्थी पीडित त छैनन् ? हाम्रा बालबालिकाले अभिभावकलाई खेतबारीको काममा सघाएका छन् कि छैनन्, चौबाटोमा रहेको सानो बजारमा बिहानदेखि बेलुकासम्म क्यारेमबोर्ड खेल्दै र तासका खेलमा सहभागिता जनाउँदै बसेका छन् कि ? यसको सूक्ष्म अनुगमन हामी व्यवस्थापक र शिक्षकहरूबाट भएको छ कि छैन ? आज बन्दाबन्दीले अभिभावकको रोजगारी गुमेर रसहर तथा विदेशबाट दुःखका साथ गाउँघरमा आइपुगेका छन् । सामान्यतया खाद्यान्नको समेत अभाव छ । खेतबारीमा लगाएका मकैमा विभिन्न कीराले नष्ट बनाइदिएका छन् । स्थानीय र प्रदेश सरकारले वितरण गरेको राहत पर्याप्त छैन ।
यस्तो अवस्थामा विद्यार्थीको खानेकुरा के छ, कस्तो अवस्थामा बसेको छ, त्यस सम्बन्धमा सोधखोज गर्न कोही आइपुगेका छैनन्, एकैचोटी टेलिफोनबाट पढाइ सुरु गरिने कुरा फेसबुकभरि फैलिन्छ ! शिक्षकहरूको फोटोसहित फोन नम्बरहरू देखिन थाल्छन् । विद्यार्थी भने कसरी कसको मोबाइल मागेर फोन गर्ने हो अलमलमा देखिन्छन् । हामीले यतिका वर्षसम्म पढाउन नपाएको के कुराले हामीलाई झस्कायो र मोबाइल अनलाइनबाट त्यस्ता गुरुमन्त्र सुनाउँदैछौँ ? जीवन बदल्न मिल्ने शिक्षा दिने तयारी हो र बालबालिकालाई जीवनको वास्तविक गुरुमन्त्र दिने पद्धति हो भने म पनि मोबाइल बोकेर प्रश्न गर्न सक्छु– महामारीमा रोग र भोकबाट बाँच्ने उपाय के होला गुरुज्यू ?
बन्दाबन्दीमा १० किलो चामल प्रत्येक परिवारलाई राहत उपलब्ध गराउन नसकेको अवस्थामा विद्यार्थीको पालनपोषणका सम्बन्धमा केही सोचिएको छ अहिलेसम्म ? यतिबेला शिक्षाको बोझ होइन जीवनलाई सुरक्षित ढङ्गले बचाएर बस्ने बेला हो । स्वाध्ययनमा विद्यार्थीलाई जागरुक बनाउन सकिएला तर विद्यार्थीको जीवनरक्षाका लागि एक छाक खाना र जीवनको आशाको जरुरत छ । जीवनमा प्राप्त भएको शिक्षालाई सही तरिकाले उपयोग गरी आजका दिनमा महामारीसँग बच्यौँ भने मात्रै सकारात्मक र सुन्दर समाज निर्माण गर्न सकिएला । जीवनरक्षापछि शिक्षा प्राप्त गर्ने र अनलाइनबाटै कक्षा चलाएर चमत्कार गर्नुपरे पनि ठीक छ । अहिलेलाई सबै मिलेर विद्यार्थीको प्राण बचाउन सक्दो पहल गरौँ ।

(लेखक अधिवक्ता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?