देविका घर्ती मगर
असार सुरु भएसँगै अथार मगरात क्षेत्रका मगर समुदायको घरदैलोमा भुम्या पर्व सुरु हुन्छ । नेपालमा मगर समुदायको जनसङ्ख्या १८ लाख ८७ हजार ७ सय ३३ (२०६८ को जनगणनाअनुसार) रहेको छ । मगर जातिको जनसङ्ख्या नेपालमा तेस्रो ठूलो जनसङ्ख्या हो भने आदिवासी जनजाति समुदायमध्ये पहिलो जनसङ्ख्या भएको जाति हो । जनसाङ्ख्यिक रूपमा ठूलो सङ्ख्यामा रहेका मगर जातिभित्र बहुल संस्कृति र बहुभाषिकताको अस्तित्व रहेको छ ।
भाषा, संस्कृति, परम्पराले धनी मगर जातिले शासनसत्ता सञ्चालनको प्रारम्भिक चरणमा दुई मगर भाषा (अथार र बाह्र) बाट एकै अर्थ पानी बुझाउने नाम रहेको रिडीबाट रहन गएको रिडी नदीभन्दा पश्चिमतर्फ अथार मगराँत र सोभन्दा पूर्व बाह्र मगराँतको बहुभाषिक र बहुल संस्कृति भएको सभ्यताको विकास भएको पाइन्छ । ती क्षेत्रहरूमा बसोवास गर्ने मगर जातिको आ–आफ्नै मौलिक संस्कृतिले युक्त पश्चिममा अथार र पूर्वमा बाह्रवटा मगर राज्यहरू पनि सञ्चालन भएको पाइन्छ । त्यसै ऐतिहासिकताका आधारमा अहिले अथार मगरात क्षेत्र र बाह्र मगरात क्षेत्र भन्ने गरिएको छ ।
मगर समुदायको प्रमुख पर्व माघे सङ्क्रान्ति हो । यससँगै थुप्रै पर्वहरू मगर समुदायमा मनाइने गरिन्छ । अथार मगराँत क्षेत्र (विशेषगरी पश्चिम)का मगरहरूले मनाउने प्रमुख पर्व भुम्या (नोगोबाङ्गे) हो । भूमिको आराधना गरेर मनाइने यो पर्वलाई भुम्या, भूमे, नोकोबाङ्गे, बल पूजा, बल्क अनेकन नामले समेत चिनिने गरिन्छ ।
भुम्या (नोगोबाङ्गे)
अथार मगराँत क्षेत्रका मातृभाषा मगर खाम÷पाङ बोल्ने मगर जातिले परापूर्वकालदेखि नै विशेष महŒवका साथ भुम्या पर्व मान्दै आएका छन् । यो चाड यस क्षेत्रका मगरहरूले मनाउने मुख्य चाड हो । खासगरी मगरहरू कविला युग र सो आसपासको समयमा जीविकोपार्जनका लागि वन, जङ्गल, खानी आदिहरूमा प्रकृतिसँग जुझ्दै जीवनयापन गर्नेक्रममा अधिकांश समय वनजंगलमै बस्ने गर्दथे । कर्मथलो प्रायः घरभन्दा बाहिर प्रकृतिसँगको सामिप्यतामा बढी हुने गर्दथ्यो । यो अवसरमा हरेक वर्षको असार महिनाको १ गतेको समयलाई केन्द्र मानेर स्थानानुकूलताअनुसार वैशाखदेखि भदौ महिनाको हरेक सङ्क्रान्तिहरूमा भेला हुने र उक्त भेलालाई वार्षिक जनगणनाका रूपमा पनि लिन थालियो । उक्त अवसरमा अनुपस्थित रहनेलाई मृत घोषणा गरी उसको किरियाकाजसमेत गरिदिने (कुनै स्थानमा मात्र) तथा अन्य स्थानमा घर परिवारमा नराम्रो हुन्छ, विपत्ति आउँछ, त्यसकारण यो पर्व सबैले मनाउनुपर्छ भन्ने मान्यता रहेको थियो । यो पर्व मनाएमा प्राकृतिक विपत्तिबाट बच्ने विश्वाससाथ प्रकृतिको पूजा गर्न थालियो ।
पूजा सँगसँगै २२ चालमा नाचसमेत नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ पनि भन्ने गरिन्छ । यस पर्व मनाउनुको प्रमुख कारण आफू बसेको ठाउँको भूमि र भूमि देवतालाई पूजा गरेर मातृभूमिप्रति श्रद्वा र आदर प्रकट गर्नु हो । दैवी विपत्तिबाट जोगिन गरिने कर्म र जोगाएको उपलक्ष्यमा गरिने उत्सवका रूपमा पनि लिने काम गर्दछ । मगर राज्यसत्ता चलेको बेला राज्यको विधिविधान बनाउने एक वर्षभरका लागि नियम कानुन बनाउने, सो बनाउने जनप्रतिनिधि (भद्र भलाद्मी)को चयन गर्ने, जनताको सङ्ख्याको लगत लिने आदि काम गरिने विशेष दिनका रूपमा लिने चलन रहेको छ । भुम्या पर्व मगर जातिले सञ्चालन गरेको ऐतिहासिक अथार, बाह्र राज्यसत्ताहरूसँग समेत सम्बन्ध रहेको मगर गाउँका बूढापाकाहरूको भनाइ छ ।
खासगरी उत्तरी क्षेत्रको पहाडी इलाकामा बसोवास गर्ने मगर समुदायले यो पर्व मनाउने गर्दछन् ।
कसरी मनाइन्छ ?
भुम्या पर्व अथार मगराँत क्षेत्र विशेषगरेर साबिक राप्ती अञ्चलको रोल्पा, रुकुम, प्युठान, सल्यान, दाङ तथा साबिक धौलागिरि अञ्चलको बाग्लुङ, म्याग्दीलगायतका जिल्लामा विशेष महŒवका साथ मनाउने गरिन्छ । असार १ गते मनाइने भुम्या पर्वको तयारी एक महिना अगाडिबाटै गर्ने चलन छ ।
असार महिना लाग्दाको एक दुई हप्ता पहिले नै गाउँको एक खुला स्थानमा भुम्या पर्वको नाचगान तथा जमघटका लागि नोगोपो (नाच्ने ठाउँ) को सरसफाइ गरिन्छ । भुम्याका लागि आवश्यक पर्ने बाजागाजा बजाउनका लागि गाउँका वाद्यवादकहरूसमेत तयार हुन्छन् । नाच्ने तथा मेला लाग्ने स्थानको सरसफाइपछि गाउँका भद्रभलाद्मी, बूढापाका अग्रजहरूको उपस्थितिमा गाउँभरिका सम्पूर्ण गाउँलेहरू उपस्थित भएर जेठ मसान्तको अघिल्लो दिन विधिवत् रूपमा भुम्या पर्वको उद्घाटन गर्ने चलन छ ।
फूल टिप्ने
नोगोपोमा अग्रज बूढापाकाद्वारा भुम्या पर्वको उद्घाटन भइसकेपछि गाउँभरिका युवायुवतीहरू गाउँका केही अग्रज बूढापाकाहरूसहित बाजागाजा बजाउँदै बुकी क्षेत्र (३५००÷५०००) मा फूल टिप्न जान्छन् । उचाइमा बुकीको फूल टिप्न जाने गरिन्छ ।
बुकी जाँदा लामो उकाली यात्रालाई सहज बनाउनका लागि युवायुवतीहरूले गीत गाउँदै रमाइलो गर्दै जाने गरिन्छ । बुकीको फूल टिप्न जाने कामलाई मगर भाषामा ‘नोगो जाने’ पनि भन्ने गरिन्छ । बुकीमा निकै चिसो हुने र पानीसमेत नपाइने हुँँदा युवतीहरूले घरबाटै पानी, अर्नी (खानेकुरा) लिएर गएका हुन्छन् ।
फूल अलि भीरपाखा भएको ठाउँमा मात्र पाइने हुँदा युवायुवती मात्र फूल टिप्ने गर्छन् । बूढापाकाहरू फूल टिपिसकेपछि आएर गरिने विधि, पूजाआजाको तयारी गर्छन् ।
बुकीको फूल टिपेर फर्कनेक्रममा बाटोमा महिलाहरूले न्याउली चराको भाकामा गीत गाउँदै फर्किने चलन रहेको छ । न्याहो गीत गाउँदै बाटोभरि पन्थ्यौली बनाउँदै जेठको मसान्तको साँझपख गाउँमा फर्किने गरिन्छ ।
नोगोपो गएकाहरू आइसकेपछि गाउँका बूढापाकाद्वारा विशेष रूपमा उनीहरूलाई केही भुतपे्रत नलागोस् भनेर फुकफाक गर्ने गरिन्छ । यसैगरी, गाउँका प्रत्येक घरबाट नोगोपो गएका केटाकेटीलाई आ–आफ्नो घरबाट खानेकुराहरू ल्याएर खान दिने चलन रहेको छ । भुम्या नाच्ने ठाउँमा जम्मा भएका सबैलाई बुकीबाट ल्याएका रङ्गविरङ्गी फूलहरू शिरमा लगाइदिएर ढोग गरी ठूलाबडासँग आशिर्वाद लिने चलन रहेको छ । बुकीबाट ल्याएको फूल गाउँका सबैलाई प्रत्येकले पु¥याउने गरिन्छ । त्यसपछि त्यहाँ मगर समुदायमा प्रचलित खानपान जाँड, रक्सीलगायतका
खानपान गरिन्छ ।
भुम्या थानमा पूजा
असार १ गते बिहानैबाट गाउँका सबैजनाहरू भुम्या पूजाका लागि तयारी गर्ने गर्छन् । पुजारीले आफ्नो सम्पूर्ण विधि पूरा गरिसकेपछि गाउँको पूर्वतिरको छेउमा सबैजना जम्मा हुन्छन् । र, पूजाका लागि तयार गरिएको मार (भेडा, बोका, कुखुरा, सुँगुर)लाई सबैको माझमा राखेर पुजारीले धुपधुँवार गरिसकेर मारले मानेपछि मार काट्ने तान्ने अन्य गाउँलेहरूले मारलाई दगु¥याउँदै गाउँनिकाला गर्ने गरिन्छ । जसलाई भुम्या निकाल्ने पनि भनिन्छ । गाउँबाट भुम्या निकाल्दा घरमा रहेका महिलाहरूले नाङ्लो (सुपो)मा धैँसो, खरानी, दसँैको बेला ढोकामा लगाएको टीका जमरा, घरमा उपलब्ध अन्नहरू– गहुँ, जौ, मकै, धान, कोदो, तोरी आदि) राखेर सबैले घरबाहिर फाल्ने गरिन्छ । यसो गरेमा वर्षभरिको ग्रहदशा, विपत्ति भुम्याले लैजान्छ भन्ने मान्यता रहेको छ ।
भुम्याका रूपमा पूजाका लागि तयार पारिएको मारलाई गाउँबाट निकालिसकेपछि गाउँको पल्लोछेउमा रहेको भुम्याथानमा लगिन्छ । भुम्याथानमा पूजापाठ, धुपधुँवार गरेर भुम्या मारलाई काटिसकेपछि गाउँभरिका स–साना केटाहरूले त्यस मारलाई पल्ट्याउँदै–पल्ट्याउँदै गाउँको मुनि (छेउतिर) रहेको खोलामा झार्ने गरिन्छ । केटाकेटीहरूले त्यो मारलाई खोलाको कुनै ठाउँमा लुकाएर राखेका हुुन्छन् । पछि गाउँका ठूला युवा, बुढापाकाहरू आएर त्यसलाई खोज्ने काम गरिन्छ ।
२२ चालाको नाच
असार १ गते भुम्याथानमा भुम्या देवतालाई बलि दिएर पूजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भुम्या नाच नाच्ने गरिन्छ । प्रत्येक दिन पाँच दिनसम्म दमाहा, झ्याली, सहनाईलगायतको बाजाको तालमा भूमि देवतालाई पुग्दै नाच्ने गर्दछन् ।
अथार मगराँत क्षेत्रको मगर समुदायमा प्रचलित भेषभूषा महिलाहरूले मखमलको चोलो, छिटको लुङ्गी, पहेँलो पटुकी, मखमल तथा घरमै भाँगोद्वारा तयार पारिएको भाङ्ग्रो (गादा), नाक, कान, घाँटीमा चाँदी तथा सुनका विभिन्न गहनाहरू, मुगा एवम् पोतेका मालाहरू लगाएर हरियो, रातो, पहेँलो विभिन्न रङका पछ्यौरामा चिटिक्क परेका हुन्छन् भने पुरुषहरू घरमा तयार पारिएको घरेलु कपडाको छड्के, मखमलको भोटो घरमै तयार पारेको पटुकी, शिरमा टोपी, खुट्टामा पाइजामा, कम्मरमा खुकुरी भिरेर चिटिक्क परेर नाच्ने गरिन्छ । नाच नाच्नेक्रममा उठाउने चालाबाट सुरु गरिएको नाचमा बाछापिने चाला, साङ्गलबाटे चाला, ढल्कनी चाला, दोसरे बट्वा चाला गरी विभिन्न २२ चालमा नाचिन्छ । यसैगरी, भुमे नाच्नेक्रममा स्थानअनुसार फरक–फरक चालमा पनि नाच्ने गरिन्छ । जस्तै रुकुम तकसेरामा नाच्ने नाचलाई तकसेरा चाला, लुकुममा नाच्ने चालालाई लुगुम्याल चाला पनि भन्ने गरिन्छ ।
यस वर्ष भुम्या पर्व मनाउन पाइएन । जो जहाँ छौँ, त्यसरी नै यो पर्वलाई आफ्नो मनबाट सम्झेर पर्व मनाऔँ ।
(लेखक पत्रकार हुनुहुन्छ ।)