डा. टीकाराम पोखरेल
विषय प्रवेश
भनिन्छ, कालो बादलमा चाँदीको घेरा हुन्छ । हरेक नराम्रा कुरामा कतै न कतै आशाका किरणहरू भेटिन्छन् । त्यस्तो आशाको किरणलाई जगेर्ना गर्न सके त्यो शक्ति भएर निस्कन्छ । विश्वव्यापी रूपमा फैलिएको कोभिडले सम्पूर्ण मानव समुदायलाई त्रास सिर्जना गरे पनि यसले ल्याएका केही सकारात्मक पाटाहरू पनि छन् । केही समय यसको त्रासलाई बिर्सेर सकारात्मक पाटोको चर्चा गरौँ । चुनौतीलाई अवसरमा बदलौँ । मानिसको नकारात्मक मनोविज्ञानलाई सकारात्मक मनोविज्ञामा बदलौँ । विवेचना नकारात्मक कुराको मात्र होइन, सकारात्मक कुराको खोजी गर्ने बानी बसालौँ ।
बाँच्नका लागि सङ्घर्ष
चाल्स डार्बिनले विकासवादी सिद्धान्तको प्रतिपादन गरे । उनले हरेक प्राणीले बाँच्नका लागि सङ्घर्ष गर्नुपर्छ र प्रकृतिसँग सङ्घर्ष गर्ने प्राणीको मात्र पृथ्वीमा अस्तित्व रहने कुराको रहस्योद्घाटन गरे । विश्वमा कैयौँ प्रजातिका प्राणीहरू समयसँगै आएको प्रकृतिमा आएको परिवर्तन आत्मसात् गर्न नसक्दा लोप भए । मानिस पनि उत्पत्तिदेखि बाँच्नका लागि विभिन्न तह तहको सङ्घर्ष गर्दै आएको छ । यतिबेला फेरि मानव प्रजातिले बाँच्नका लागि प्रकृतिसँग सङ्घर्ष गर्नुपरेको छ । मानिसमा बाँच्ने जिजीविषा छ र त्यही जिजीविषाका कारण मानिस कोरानोसँग लड्न अनेका उपायको खोजी गरिरहेको छ । चालु लकडाउन भनौँ वा खानपान, उत्पादन, स्वास्थ्य शिक्षामा भएका सुधार, यी सबै बाँच्ने सङ्घर्षकै पर्याय हुन् । बाँच्नका लागि मानिसले गरेको सङ्घर्ष सकारात्मक पाटो हो ।
चुनौतीको स्वीकारोक्ति
मानिस यो पृथ्वीको सर्वश्रेष्ठ प्राणी हो । मानिसले आफूलाई संसार परिवर्ततनको संवाहक घोषणा गरेको छ । तर, यो संसारको परिवर्तन मानिसको हातमा मात्र छैन । म परिवर्तनकर्ता हुँ भन्ने मानिसको घमण्डलाई प्रकृतिले बेला–बेला चुनौती दिने गरेको छ । संसारको मुख्य परिवर्तनकर्ता प्रकृति हो । प्रकृतिको परिवर्र्तन रोक्न सकिन्न, स्वीकार्नु र परिवर्तनसँगै आफूलाई प्रकृति अनुकूल बनाउनुकोे विकल्प छैन ।
प्रकृति मानिससलाई घमण्ड तोड्ने शिक्षा दिँदै छ । यतिबेला त झन् जति विकसित भनी दाबी गरिएका मुलुक छन्, त्यहाँ त्यति धेरै चुनौती छ । मान्छेका अनुमान र प्रक्षेपण फेल खाएका छन् । आफ्नो बचाउ आफैँ गर, चुनौतीको समाना गर, घमण्ड छोड भन्ने सन्देश विश्वबाट प्रवाह भइरहेको छ ।
आध्यात्मिक विकास
भौतिकवादको चरमतामा पुगिसकेको मानिस पछिल्लो समय पुनः आध्यात्मतर्फ फर्केको देखिन्छ । व्याक टु नेचनर (प्रकृतितिर फर्क) भन्ने दर्शन यतिबेला कामयावी भएको छ । कृत्रिम जीवनशैलीबाट मानिस प्राकृतिक जीवनशैली अपनाइरहेको देखिन्छ । रेष्टुरेन्ट र होटल संस्कृतिबाट मानिस घरैमा पोषणयुक्त ताजा खाना खाने, स्थानीय उत्पादन बढाउने, कृषिमा कर्म देख्ने, हात मिलाउन छोडेर नमस्ते गर्ने, आयुर्वेदिक औषधिमा ध्यान दिने, दैनिक ध्यान, योग र अभ्यासहरू गर्ने, पैदल यात्रा गर्ने, भजनकीर्तन गर्ने, गीत–सङ्गीतमा रमाउनेजस्ता कुरामा मानिसको ध्यान जान थालेको छ । प्रकृति बलवान् छ विधाताको अगाडि मानिसको केही चल्दैन भन्ने कुरा देखिएको छ । त्यसैले त मानिस खुला हावा, हरियाली वातावरण, डाँडाकाँडा र भीरपाखासँग रमाउन थालेको छ । यतिबेला मानिसले दैनिक मृत्युकल्पना र बाँच्ने जिजीविषाको दोसाँधमा रहेर आफूले आफैँलाई चिन्ने अवसर प्राप्त गरेको छ ।
पारिवारिक वातावरण
कोभिड र त्यसपछिको लकडाउनले मानिसको जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ । भौतिकवादी विकासले परिवार र समाजबाट टाढा पुगिसकेको मानिस समाज र परिवारमा पुनर्मिलन भएको छ । विदेशमा रहेका घर आए, कामको सिलसिलामा घरबाहिर रहेका घरमा आए र व्यस्तताका कारण कहिल्यै परिवारसँग हाँसखेल गर्न नपाएकाहरूले हाँसखेल गरी समय बिताए । दुःख–सुख बाँड्न पाए । सँगै बसेर खाना खान पाए । सङ्कट पर्दा परिवार नै चाहिने रहेछ भन्ने बोध मानिसलाई भयो । पारिवारिक सहयोगको महŒव देखियो । जतासुकै गए पनि अन्तिममा घरपरिवार समाज र देश नै चाहिने रहेछ । अन्तिम सास बिसाउन देश आउनुको महŒव रहेछ । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीको मर्म सबैले बुझे । परिवारमा बसेर टिकटक नृत्य गायनमा रमेको पनि
देख्न पाइयो ।
कृषिमा लगाव
नेपाल कृषिप्रधान देश भनिन्थ्यो । त्यसको चित्रचाहिँ यसबेला देखियो । बाँझो जमिन, करेसाबारी खेती मौलायो । गाउँगाउँको महŒव बढ्यो । स्थानीय उत्पादनले स्थान पायो । भुटेको मकै र पपकर्नको फरक, गुन्द्रुक मस्यौरा र सिन्कीको महŒव देखियो । कृषिमूलश्च जीवनम्को भावनाको तस्बिर देखियो । कृषि अन्तिम सत्य हो, कृषि नै जीवन हो । यसले वातावरणमा समेत
सुधार ल्यायो ।
स्वास्थ्य शिक्षा
हामी स्वास्थ्य शिक्षामा त्यति सचेत थिएनौँ । हात धुन सिकाउन र गाउँलाई दिशामुक्त बनाउन पनि विदेशी सहयोग चाहिने परनिर्भरतामा पुगेका हामी अहिले कोरोना सङ्कटले गर्दा हात धुने, एक आपसमा दूरी कायम गर्ने, पोषणयुक्त खाना खाने, हात नमिलाउने योग, ध्यान, शारीरिक अभ्यास व्यायाम गर्ने, जमघट नगर्नेजस्ता स्वास्थ्य सतर्कता र शिक्षाले विशेष चर्चा पायो । यसले चेतना बढ्यो ।
प्रविधिको विकास
अत्यधिक भर्चुअल बैठक भए । प्रविधिको व्यापक प्रयोग भयो । अनलाइन कामहरू भए । परम्परागत शैलीबाट केही हदसम्म भए पनि विज्ञान र प्रविधिमा काम हुन थाल्यो ।
विविध
कोभिड र बन्दाबन्दीका बाबजुद पनि केही परम्परागत कुराले यो अवधिमा पनि निरन्तरता पायो । एमसीसी, नेपालको नक्सा, केही सभासद्को त्यसमा फरकमत, युवाको आन्दोलन, रुकुम, जाजरकोटमा भएका जातीय विभेदका घटना, वैदेशिक रोजगारीमा देखिएको सङ्कट, देशको भविष्य र अर्थतन्त्रको तस्बिर, भ्रष्टाचारजस्ता कुराहरूलाई कोभिडले छेक्न सकेन । महिला हिंसा, आत्महत्याका घटना, केही बलात्कारका घटनाले निरन्तरतामात्र पाएन वृद्धि भयो भन्ने तथ्याङ्क आयो । यद्यपि, समग्र अपराधका घटनामा कमी आएको भन्ने प्रहरीको दाबी रह्यो ।
जे होस् यसका धेरै नकारात्मक पाटो भए पनि सकारात्मक पाटोलाई पनि आत्मसात् गर्न सके मानिसको जीवनमा परिवर्तन आउन सक्छ । परिवर्तन जहिले पनि आन्दोलन, सङ्कट वा महामारीले नै ल्याउँछ । समय–समयमा आइरहने सङ्कट इतिहासको निरन्तरता हो । हिजो थियो, आज छ र भोलि पनि आउनेछ । त्यसैले यसैसँग बाँच्न सिकौँ । वर्तमानको यो चुनौतीलाई अवसरमा बदलौँ ।
(लेखक राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक हुनुहुन्छ ।)