logo
२०८२ असार ७ शनिवार



महिलावादी अभियान र नेतृत्व

विचार/दृष्टिकोण |




बिमला भट्टराई घिमिरे

सृष्टिसँग कसैको नजिकको सामिप्यता हुन्छ भने स्त्री जातिको जति अरू कसैको पनि हुँदैन । पराग वा पुरुषत्व सिञ्चन गर्ने काम भाले जातिबाट भए पनि त्यो पौरुषलाई भु्रणमा बदलेर आकार, प्रकार र प्राणसहित उद्वोध गराई सग्लो उत्पादन र त्यसको संरक्षणको साथै क्रमशः वृद्धिको जिम्मेवारी नारी जातिबाट सम्हालिएको छ । समग्र प्रकृतिको यो जिम्मा नारी जातिले लिएकाले होला नारी आमा हुन्छिन् । त्यसैले उर्वर शक्तिस्वरूपा जोसुकै पनि नारी वर्गमा पर्दछन् । पृथ्वीलाई उर्वर क्षमता र पालनको धर्म निर्वाह गर्न सक्ने गुणका कारण नै माता वा आमा सम्बोधन गरिएको हो । आमामा उर्वरताको साथसाथ पालनको क्षमता र शीतलताका गुण पनि स्वाभाविक रूपमा रहेका हुन्छन् । त्यसैले उर्वरताको साथै शीतलता, सरलता, शालीनता वा सरसताका गुण भएका जति स्त्री लिङ्गी वा नारी गुणजन्यतामा पर्दछन् । चन्द्रमा, नदी वा प्रकृति नारीत्वजन्य शब्दहरू हुन् । शालीनता र नारीत्व समपूरक हुन्छन् ।
पृथ्वीमा मानवको अवतरणको सुरुवातमा बीज र जीवले आफूलाई कसरी सन्तुलन ग¥यो ? यो तर्कशास्त्रको विषय हुन सक्छ । जब मानव घुमन्ते युगबाट समाजको प्रथम चरणमा पाइला टेक्यो, जब मानिसले ओत र वासको ठेगान ग¥यो, तब समाजको पहिलो व्यक्तित्व नारी स्वरूपको भयो । त्यसैले सबै समाजको सुरुको अवस्थामा नारी प्रधान समाज बने हुनन् । घर बसाउने पहिलो मान्छे नारी भइन् । समाजको सुरुवात नारी सत्ताबाट भयो ।

नारी सत्ताको ‘युटर्न’
समाज विकासको क्रममा मानवीय आवश्यकतामा शक्तिको खाँचोले पुरुषलाई अगाडि ल्याएको समयदेखि पुरुषको अहम् तुष्टि र बीजको शुद्धीकरणका कारण नारी संरक्षणको छहारीमा बसेको पाइन्छ । बलको प्रधानता र खाँचो टार्न बाहिरी दुनियाँको विचलनका लागि निस्केको पुरुषले शङ्का निवारणका लागि मातृत्वलाई घेराबन्दी गरेपछि समाजमा ‘युटर्न’ सुरु भयो । नारीप्रधान समाज पुरुषप्रधानमा बदलियो । बाल्यावस्थाको स्मरणको कथालाई जवानीको जोशले छोप्न थालेका पुरुषले नारीलाई आमामात्र नदेखी महिला देख्न थालेपछि समाजमा मिथकको सुरु गरी नारी बन्धनका साङ्गलाहरू सिर्जना गरिए । यसैक्रममा नारीहरू पुरुषको निगरानीमा मात्रै रहेनन्, बिस्तारै शोषणमा पनि परे । यो सत्य कथा विश्वका प्रायः सबै समाजको विकासमा थोर–बहुत मिलेको हुनुपर्दछ । यसैगरी, प्रायः सबै समाजहरू महिला प्रधानताबाट पुरुष प्रधानतामा परिवर्तित भएका हुनन् ।
समाजको बनोटमा घरको परिसरमा बसी बच्चा उत्पादन, लालनपालन र हेरचाहको सीप र ज्ञानमा प्रकृतिको देन भएका नारी जातिले घर परिवारको काम सम्हालेपछि पुरुषले बाह्य जगत्को काम सम्हालेको हुनुपर्दछ । समाज सञ्चालनका जञ्जिर पुरुषले बनाउन थालेको त्यस समयमा समाज निरन्तरताको मियो नारीकै काँधमा थियो । मृत्यु दरको चक्र नरोकिएको समाजमा समाजको आयातनलाई घटन नदिन नारी जातिले धेरैभन्दा धेरै सन्तानलाई जन्म दिनुपर्ने बाध्यता अघिल्लो शताब्दीसम्म नै कायम थियो । समाज सञ्चालनको खेलको नियम तर्जुमा र खेलमा नारीहरूको न्यून उपस्थिति अघिल्लो शताब्दीसम्मको कटु यथार्थ थियो । समयक्रममा विज्ञान र प्रविधिको विकास, शिक्षा स्वास्थ्यको ज्ञानको विस्तार, चिकित्सा क्षेत्रको सुदृढता, सञ्चारको विकास आदि कारणले सीमित सङ्ख्यामा सन्तानोत्पादनका साथै नारीमा आएको चेतनाले राज्य सञ्चालन प्रक्रियामा नारी हस्तक्षेपको बढोत्तरी अनिवार्यजस्तै भयो । यसैक्रममा विश्वका विकसित मुलुकमा झन्डै एक शताब्दी अगाडिबाट नै नारी सक्रियता सुरु भयो भने हाम्रो देशमा सन् १९४० को दशकको अन्त्यबाट राजनीतिमा नारी सहभागिताका लागि उल्लेख्य चटपटाहट सुरु भएको पाइन्छ ।

नेपालमा महिलावादी आन्दोलन
विक्रम संवत् १९८९ असार ३१ गते भोजपुर जिल्लाकी योगमाया कोइराला न्यौपानेले अरूण नदीमा लिएको सामूहिक जलसमाधिलाई नेपालमा महिला आन्दोलनको इतिहासको पहिलो खुड्किलोका रूपमा मान्न सकिन्छ । दोस्रो विश्वयुद्ध समाप्तिको तत्कालै उपनिवेशको आधार हल्लिएपछि शासनमा प्रजातन्त्रको दियो जल्न पाउनुपर्दछ भन्ने तेस्रो विश्वका देशमा सुरु भएका प्रसारले आकार लिन थाल्यो । निरङ्कुशता समाप्ति र प्रजातन्त्र प्राप्तिका लागि नेपालभित्र खुलेका दललाई तत्कालीन सत्ताले दबाए पनि नेपालबाहिर राजनीतिक दलको स्थापना गरी यहाँ राजनीतिक जागरण ल्याउन थालियो । यस समयसँगै महिलाको राजनीतिमा हस्तक्षेपका लागि संरचनासमेत बने । विसं २००३ मा भारतको जयनगरमा स्थापना भएको रेमन्तकुमारी आचार्यको अध्यक्षताको आदर्श महिला समाज पहिलो सङ्गठित महिला अभियान थियो । सन् १९४७ को अगस्त ८ तारिखका दिन मङ्गलादेवी सिंहको नेतृत्वमा महिला सङ्गठनको स्थापना नेपाली भूमिमा भयो । त्यो सङ्गठन नेपाली काँग्रेस पार्टीसँग आबद्ध थियो भने कामक्षदेवीको अध्यक्षतामा रहेको नेपाल महिला सङ्गठन नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध थियो ।
२००७ पछिको खुला समाजसँगै महिलाको राजनीतिमा सहभागिता सुरु भयो । २०१५ सालको काँग्रेस सरकारमा प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानीको सहभागिता रह्यो । २०१७ पछि राजनीतिक दलसँगै सबैखालका आन्दोलनमा प्रतिबन्ध लाग्यो । प्रतिबन्धित दलसम्बद्ध अधिकारवादी आन्दोलन पनि राजनीतिक दलको प्रतिच्छाँया भएर पञ्चायतकालभरि रहे भने सत्ताले आफ्नैखालका सङ्गठन सिर्जना गरी महिला आन्दोलनलाई त्यसैमा सीमित गरायो ।
२०४६ पछि महिला आन्दोलनले अलि भिन्न परिवेश पायो । विभिन्न दलका महिला सङ्गठनले आफ्नो राजनीतिक विचारमा आधारित कार्यक्रमको वकालत र तिनको कार्यान्वयनको अभियान जारी राखे । बहुलवादी समाजमा विश्वको आँखा नेपालको रणनीतिक अवस्थितिमा परेपछि पश्चिमा विश्व र त्यसका सम्बद्धहरू विभिन्न नाममा गैरसरकारी (सङ्गठन) कम्पनीका प्रोजेक्टहरू लिएर नेपालका विभिन्न क्षेत्रका साथै महिला आन्दोलनमा पनि छिरे । जसको परिणाम देशभित्रबाट पहिलेदेखि उठेका अभियानभन्दा अलि आक्रामक रूपबाट महिला आन्दोलन बढ्यो । महिलाको राजनीतिक अधिकार प्राप्ति अभियानको आडमा कतिपय अभियन्ताले सचेत रूपमा र कतिपयले भावनामा बहेर मौलिक धर्म, संस्कृतिको विरोध र परिवारमा बाबुविरोधी लेखनी, रिपोर्ट छपाए ।
२०५१ सालको अन्तबाट सुरु भएको माओवादी विद्र्रोहले महिलालाई पनि लपेट्यो । जनसेनाका नाममा महिला पनि गोलबन्द गरियो भने नारी सेलहरू तयार भई नारी पुरुष बराबरीको अभियान पनि चलाइयो । पार्टीका तर्फबाट नारी अधिकारको वकालत गर्ने सङ्गठनको प्रारूपसँगै प्रचार अभियानको लहर ल्याइयो । यसैबीच, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लगानीको आडमा पनि नारीको अधिकारको यात्रा तय भइरहे । अमूक धर्मविशेषका कर्मकाण्डका रूपमा समाजमा प्रचलित संस्कारको वैज्ञानिकताको अभावबारे समाजलाई सचेत गराई नयाँ संस्कारको सुरु गर्नुपर्ने वा संस्कारका रूपमा रहेका खराब पक्षलाई हटाई बाँकी संस्कारलाई कायम राख्नुको सट्टा इतिहासका कमजोरीको दण्ड वर्तमानमा चुकाउन लगाउनेजस्ता कुराको वकालत पनि भयो । सकारात्मक विभेदको माग गर्दा अपनाइनुपर्ने सकारात्मक प्रयासको सट्टा चलेका प्रचलनको पूर्ण खारेजीसम्मका कुरा लेखमा पोखिए तर तिनै लेख लेख्नेले परिवार र समाजमा नयाँ प्रचलनलाई पछ्याएनन् । फलस्वरूप, कतिपय अवस्थामा महिला अभियानले सही दिशा लिन नसक्दा अपेक्षित परिवर्तन ल्याउन सकेन ।
महिलाको अधिकार प्राप्तिमा अवरोधका रूपमा रहेको पुरुषवादी सोचको जडताको साथसाथै महिलाले महिलालाई गर्नुपर्ने व्यवहार र पु¥याउनुपर्ने सचेतनाको अभाव समाजमा यत्रतत्र अझै कायम छ । जब कि समयको परिवर्तनसँगै महिलाका अधिकार प्राप्तिका आन्दोलनमा धेरै परिवर्तन आएको छ ।

आन्दोलनको परिणाम
जहाँसम्म नेपालमा महिलाको राजनीतिक सहभागिताको प्रश्न हो, यो पहिलेको तुलनामा अपेक्षाकृत नै मान्नुपर्दछ । राजनीतिक नेतृत्वमा हाल भएको महिला सङ्ख्या पुरुषको तुलनामा कम देखिन्छ । तर महिलाको शिक्षामा सहभागिता, सचेतनता, विश्व दृष्टिकोणको अवस्था, महिलाको आर्थिक क्षेत्रमा भएको अधिकार र त्यसमा रहेको हिस्सा हस्तक्षेप, सामाजिक संस्कारमा आउन नसकेको (ल्याउन नसकिएको) अपेक्षाकृत परिवर्तन आदिको तुलनामा हाल भएको सहभागितालाई उल्लेख्य ठान्नुपर्दछ ।
तर यति भनेर हालको अवस्थामा महिला अधिकारकर्मी र महिला अभियानका बारेमा कलम चलाउने महिला, पुरुषले चित्त बुझाउनुहुँदैन । बरु महिलाको प्रतिस्पर्धी क्षमताको विकास गरी सकारात्मक विभेद अन्त्यको अवस्था सिर्जनासहित महिलाले क्षमतामा आधारित हिस्साको हस्तक्षेपमा तयार हुन ढिला गर्नुहुन्न । तबमात्र संविधानको मर्मअनुसार महिला सशक्तकरण र समतामूलक समाजको विकास एकैचोटि प्राप्त हुने आशा भरोसा गर्न सकिन्छ । यसै मार्गप्रतिको अभिमुखीकरण आजको महिला अधिकार आन्दोलनको मर्म हो ।

(लेखक त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा कार्यरत हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?