logo
२०८२ असार ७ शनिवार



माटोको अनुराग

विचार/दृष्टिकोण |




भागवत खनाल

‘सुनको लङ्का’ माथि विजय प्राप्त गरेपछि अत्यन्तै हर्षित लक्ष्मणले रामसमक्ष लङ्कामै बस्ने प्रस्ताव राखे । प्रिय भाइको प्रस्तावप्रति रामले कुनै रुचि देखाएनन् । उनको उत्तर थियो ‘अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’। मानिस आजीविकाको लागि देशावरमा पुग्न सक्दछ । युद्धजनित कारणले टाढाटाढा पुगेर विजय हासिल गर्न सक्दछ किन्तु आफ्नो जननी र जन्मभूमिलाई बिर्सन सक्दैन । हरेक मनुष्यलाई आफूलाई जन्म दिने जननी र आफू जन्मेको भूमि प्राणभन्दा प्यारो हुन्छ । कसैलाई पनि आफ्नी आमा र मातृभूमि सानो हुँदैन । बालकृष्ण समको शब्दमा ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ । आफ्नो माटोप्रतिको यही अनुरागले नै अध्ययन र रोजगारीका लागि सात समुद्रपारि पुगेका नेपालीहरूलाई आफू बस्ने देशको भन्दा मातृभूमिको चासो बढी हुने गर्दछ ।
अहिले कोरोना महामारीका कारण संसारभरि छरिएर रहेका नेपाली आफ्नो थातथलोमा फर्कन आतुर छन् । लाखौँ मानिस मातृभूमि फर्कनका लागि विकलतापूर्वक प्रतीक्षारत छन् । विपत्तिको समयमा जन्म दिने माता र जन्मभूमिको यादले बढी सताउँदोरहेछ । अहिले विशेष गरेर विदेशमा रोजगारी गुमाएका र जीवनयापनको कुनै आधार नभएका मानिसले व्यग्रतापूर्वक आमा र माटोलाई सम्झिरहेका छन् । यस कठिन घडीमा मर्न‘ परे आफ्नै जन्मभूमिमा मरेर आफ्नै माटोमा विलय हुन पाए पुग्ने मनस्थितिमा छन् नेपालआमाका सन्तति । देशमा रोजगारी नपाएर परदेश पुगेका नेपाली परदेशको रोगगारी गुमाएर स्वदेशमै पुनरागमन गर्न व्याकुल छन् ।
मानिस स्वभावैले जिज्ञासु हुन्छ । मानिसलाई नयाँनयाँ ठाउँ देख्ने र घुम्ने रहर हुन्छ । जीवनको खोजीमा सुदूर देशहरूमा भौँतारिन्छ मानिस किन्तु मानिसलाई माटोको अनुरागले छाड्दैन । आफू जन्मे हुर्केको माटोको सुवास सबैभन्दा मीठो लाग्छ मानिसलाई । त्यसैले त घोर विकट गाउँमा जन्मेको मानिस पनि मेलापर्वमा आफ्नै थलो खोज्दै जान्छ । त्यही सुगन्धले प्रेरित राष्ट्रकवि लेख्दछन् ‘यही नेपाली माटोमा दिलको फूल रोपेर, यही पहाडी शिलामा प्रितको गीत खोपेर ।’ माटोप्रतिको त्यही अप्रतिम आशक्तिले सेनानी अमरसिंह थापा माटोमा फर्केर प्राणत्याग गर्दछन् । त्यही अनुपम अनुरागले सुविधासम्पन्न सहरिया जीवन बाँचिरहेका ‘उपेन्द्र देवकोटा’ जीवनको सन्ध्याकालमा आफ्नो माटोमा उम्रेको चिसो पानी पिउन र शरीर सेचन गरी सुस्ताउन माटो खोज्दै जान्छन् ।
तराई, पहाड या हिमाल जुनसुकै ठाउँमा जन्मेको नेपालीलाई आफ्नो मातृभूमिको माया छ । शैशवावस्थामा माटोमा खेलेको मानिस युवावस्थामा परिहास र विनोदीभावमा ठट्टा गर्न‘प¥यो भने आफ्नै माटोमा भोगेका रमाइला प्रसङ्ग निकालेर रमाउँछ । वृद्धावस्थाको मानिस बाध्यतावश माटोमा पुग्न नसके तापनि त्यसैको सम्झनामा बाँच्छ । आफ्नी आमा र माटोप्रति अरूको धारणासँग कुनै सरोकार राख्दैन ऊ । उसका लागि त बस् आमा छन्, माटो छ र ऊ आफू छ । जागरणकालमा जे जस्ता कर्ममा तल्लीन भए तापनि ऊ सपनीमा माता, माटो र मातृभाषामै रमाउँछ । माता, माटो र बचपनको याद नै विषादयुक्त नरनारीको सहारा बन्छ ।
एउटा धुनमा जीवनयापन गर्न अभ्यस्त नेपाली जनमानसमा सुगौलीको सन्धिले ठूलो परिवर्तन गरिदियो । तत्कालीन अवस्थामा हिमालदेखि मधेससम्म अपनाइएका रोजगारीको स्वरूपमा हठात् तुषारापात भयो । सारा ‘नेटवर्क’ छिन्नभिन्न भयो । बाटो बनाउने, रासन ओसारपसार गर्ने, डुङ्गा निर्माण गर्ने, हतियार बनाउने, काठका सामग्री तयार गर्ने, छालाका सामान, औषधि र सैनिक पोशाक बनाउने जस्ता काममा ठूलो कमी आयो । अनायास रोजगारीको ठूलो आधारमा धक्का लाग्यो । युद्धपछिको लघुताभासले गर्दा देशलाई कसरी एउटा समुन्नत राष्ट्रका रूपमा स्थापित गर्ने भन्नेतर्फ शक्तिमा बस्नेहरूको फुट्टी ध्यान गएन । नेपाल दरबार विवेकहीन एवं दारुण गुटबाजी र हत्याकाण्डको केन्द्र बन्नजाँदा ‘रैती’ को सुख र खुसीतर्फ कसैको ध्यान गएन ।
युद्धपछिको काठमाडौँ अप्रत्याशित हारमा विस्मित थियो । राजधानीबाहिरै ‘इन्गेज’ रहने गरेका भारदारहरू काठमाडौँमा जम्मा भएर काटमार र कचिङ्गल गर्न थाले । हिन्दुस्थानमा विदेशीको कब्जा भए पनि उद्योग, यातायात र व्यापारमा ठूलो विकास भयो । नयाँनयाँ रोजगारी खुले । स्वदेशमा रोजगारी गुमाएका नेपालीहरू जीवननिर्वाहको खोजीमा हिन्दुस्थानतर्फ लागे । सक्नेले फौजमा ‘नोकरी’ पाए भने फौजमा नसक्नेले चौकीदारी, खलासी, चपरासी र बाबर्चीको काम पाए । नगदमा ‘बेतन’ भुक्तानी दिने अङ्ग्रेजी चलनप्रति नेपाली खुबै आकर्षित भए । यसै ‘चक्कर’ मा नेपालीहरूले चुरोट खान सिके । चकलेट, मखमल, बाउन्नपत्तीको खेल हुने तास र अत्तर जस्ता कुराले नेपालमा प्रवेश पाए । चलाख ‘फिरङ्गी’ ले नेपालीलाई ‘नोकरी’ त दियो तर धेरैजसो रकम उतै दुहेर राख्न पनि सफल भयो । सस्ता युरोपेली सामानका कारण नेपालमा रहेपहेका उद्योगधन्दो पनि इतिश्री भए ।
विडम्बना नै मान्नुपर्दछ ! आजसम्म नेपालीले बगाएको पसिनाले अरू नै समृद्ध भए ।आफ्नो सरकारको ‘नाकामी’ को कारण अर्को देशलाई बलियो पार्न अभिशप्त भए तापनि नेपालीमा माटोप्रतिको अनुराग कहिल्यै कम भएन। ‘ब्रिटिस भारतीय’ सेनामा काम गरेर स्वदेश फर्केका ‘लाहुरे’ हरू उताबाट पेन्सन थाप्थे तर सबैभन्दा देशभक्त पनि उनीहरू नै थिए । सुगौली सन्धिले थिलथिलो पारेको नेपाली ‘वीरता’ कुण्ठित भएको त्यस बखतमा सैन्यशक्तिबाट देशको रक्षा गर्न कठिन थियो । ‘आइसोलेसन’ मा बस्न रुचाउने राजधानीले सिमानामा उचित रेखदेख गर्न नसकेको घडीमा तराई (मधेसका नेपालीले नै माटोको संरक्षण गरेका थिए । नेपालमा कमजोर राज्यसंयन्त्र र लबस्तरा शासक रहेको इतिहास छ तर साधारण जनता रत्तिभर पनि माटोको मायामा चुकेको इतिहास छैन ।
नालापानीको असफलतापछि मोर्चा छाडेर हिँडेका बलभद्र कुँवर विदेशी सेनामा भर्ना भएको अहिले दुई सय पाँच वर्ष पूरा भयो । त्यस दुःखद घटनादेखि आजसम्म लाखौँ नेपालीले बिरानो माटोमा प्राणत्याग गरिसके । अहिले पनि लाखौँ नेपाली बिरानो देशको सेवामा छन् । कोभिड १९ को महामारी नेपालका लागि पनि ठूलो कहर र दुःसाध्य घटनाको रूपमा प्रकट भएको छ । यस विषम परिस्थितिमा असङ्ख्य नेपाली विदेशमा रोजगार गुमाएर गोता खाइरहेका छन् । उनीहरू शीघ्रातिशीघ्र स्वदेश फर्कने प्रतीक्षामा छन् ।
आजीविकाका लागि पराई मुलुकमा पुगेका नेपालीले आजको कठिन समयमा स्वदेश फर्कन खोज्नु स्वाभाविकै हो । आफ्ना जनतालाई सुरक्षित रूपमा उद्धार गरेर स्वदेश ल्याउनु सरकारको कर्तव्य हो । यस सम्बन्धमा सरकारले तयारी पनि गर्दैछ । एकाएक लाखौँ सङ्ख्यामा मानिस आउँदा तिनको व्यवस्थापन गर्न धेरै गाह्रो छ । किन्तु जति नै मुस्किल काम भए पनि यो नेपालका सन्तानलाई गर्न‘पर्ने उद्धारको पुनीत कार्य हो । यो घडीमा आफ्नो माटोमा पुगेर सुस्ताउन पाउनु नै अहोभाग्य ठान्ने अवस्थामा छन् सारा नेपाली ।
कोभिड १९ ठूलो चुनौती हो ।यसले गर्दा एकातर्फ नेपालको परम्परागत आयस्रोतमा प्रबल धक्का लाग्नेछ भने अर्कोतर्फ फर्केर आउने नेपालीको जीवनयापनको जिम्मेवारी थपिने । सुरुमा ठूलो सङ्ख्यालाई सुव्यवस्थित क्वारेन्टाइनको व्यवस्थाको चुनौती छ । नेपाल सरकारलाई यसमा चुक या असावधानीको सुविधा छैन । यो कार्यमा बडो होसियारी, संयम र अनुशासनको आवश्यकता छ । रित्तो खल्ती, रोगी शरीर र भोको पेट लिएर आउने जनतालाई आफ्नी आमाको काख, माटोको सुगन्ध र सरकारी सहयोगले ठूलो राहत प्राप्त हुनेछ ।
आगामी दिन नेपालका लागि अवसरमा रूपान्तरण हुने सम्भावना पनि छ । समयले यो अवसर वर्तमान सरकारको काँधमा सुम्पेको छ । अब नेपालीयुवालाई शिक्षा र आजीविकाको खोजीमा विदेश जानुपर्ने नियतिबाट मुक्ति दिनुपर्दछ । विदेशमा पुस्तौँ बिताए पनि बिरानो देश बिरानो नै हुन्छ ।आफ्नो माटोमा जस्तो शिर ठाडो पारेर हिँड्ने मनोबल बिरानो भूमिमा किमार्थ हुँदैन । विदेशमा पसिना बगाएर कमाएको धन दिगो हुने भए नेपाल धेरै धनी देश बनिसक्ने थियो । अब विशेषज्ञको रूपमा बाहेक कुनै नेपालीलाई पनि कामको खोजीमा बिरानो मुलुकमा भौँतारिनु नपर्ने शिक्षाको आवश्यकता छ । नेपालीयुवालाई नेपालमै रोजगारी र स्वरोजगारीको अवसर दिन सके मात्र देश समृद्ध हुनेछ । काम सानो ठूलो हुँदैन । मुख्य कुरा आफ्नै माटोमा स्वाभिमानपूर्ण र शिर ठाडो भएको जीवनयापन गर्न‘ हो भन्ने खालको शिक्षण र प्रशिक्षणको आवश्यकता छ ।

(लेखक नेपाल सरकारका पूर्व सहसचिव हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?