मीना बज्राचार्य
बुंगद्यः, करुणामय, आर्यावलोकितेश्वर, रातो मच्छिन्द्रनाथ आदि नामले प्रख्यात सहकाल र वर्षाका देवताका रूपमा पूजा गर्दै आएको रातो मच्छिन्द्रनाथको वर्षैपिच्छे रथजात्रा गरी मनाउने चलन छ । मच्छिन्द्रनाथलाई हिन्दु र बुद्धधर्म अनुयायीले मान्दै आएका छन् । विशेषगरी नेवाःजातिका सबैजसो जातजातिले आफ्नो पुख्र्यौली धर्मकर्म अनुसार रथजात्राको परम्परालाई अगाडि बढाइराखेका छन् ।
कुनै पनि देवदेवीको मन्दिर सम्भवतः एक ठाउँमा एउटामात्र हुन्छ तर मच्छिन्द्रनाथका तीनवटा मन्दिर छन् । जसमध्ये ललितपुरको टंगलस्थित मच्छिन्द्रबहालको मन्दिर र बुँगमतीको मन्दिरमा प्रत्येक वर्ष ६÷६ महिना रातो मच्छिन्द्रनाथ विराजमान गराउने परम्परा छ । भक्तपुरमा मच्छिन्द्रनाथलाई राख्न न्यातापोल मन्दिर छ जुन मन्दिर आजसम्म पनि खाली राखिएको छ ।
रातो मच्छिन्द्रनाथलाई ३२ लक्षणयुक्त देउता मानिँदै आएको छ । त्यसैले मच्छिन्द्रनाथको रथको लम्बाइ ३२ हात लामो बनाइन्छ । रथ बनाउँदा कुनै पनि फलाम वा किलाको प्रयोग गरिंदैन । वर्षैपिच्छे वैशाखको शुक्लपक्षको प्रतिपदामा रथमा देउतालाई विराजमान गराईन्छ । त्यसको चार दिनपछि अक्षयतृतियाको भोलिपल्टदेखि ललितपुरको पुल्चोकबाट रथ तानेर ललितपुरको विभिन्न ठाउँमा परिक्रमा गरी धिमेबाजाको तालमा, नाचगानसाथ जात्रा मनाइन्छ ।
जाउलाखेलमा पुगेको चारदिनपछि राष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने गरिन्छ । तत्पश्चात् देउतालाई खटमा राखेर बुँगमती लगिन्छ तर १२ वर्षको एकचोटी भने बुँगमतीमा रथ बनाएर त्यही ठाउँदेखि रथ तानेर ललितपुुरका पूर्व निर्धारित ठाउँमा जात्रा सकेपछि जावलाखेलमै पुगेर भोटो देखाइन्छ । त्यहाँबाट फेरि रथलाई तानेर बुँगमतीमै लगिने परम्परा छ । करुणामय रातो मच्छिन्द्रनाथलाई नेपालमा कसरी ल्याइयो भन्नेबारे रोचक किम्बदन्ती छ ।
किम्बदन्तीअनुसार लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा नेपालमण्डलमा १२ वर्षसम्म वर्षा नभएर अनिकाल भएको थियो । यसैबीच तान्त्रिक गुरुजु बन्धुदत्तले आफ्नो ध्यानदृष्टिले हेर्दा नवनागहरूलाई आसन बनाई गोरखनाथ तपस्यामा लीन भएर बसिरहेको देखे । जबसम्म गोरखनाथले नागको आसन छोड्दैनन् तबसम्म नागहरू मुक्त हुँदैनन् र नागहरू मुक्त नभएसम्म यो ठाउँमा वर्षा हुँदैन भन्ने निष्कर्ष उनले निकाले । गोरखनाथका गुरु मच्छिन्द्रनाथ भएकोले गुरु आएपछि अवश्य गुरुलाई दण्दवत् गर्न उठ्नेछन् । त्यसपछि नवनागहरू पनि मुक्त हुनेछन् र यहाँ वर्षा भई सहकाल आउनेछ भन्ने निष्कर्ष उनको भयो । मच्छिन्द्रनाथलाई नेपालमण्डलमा ल्याइसकेपछि गोरखनाथ आफ्नो आसन छोडेर गुरुलाई दण्दवत् गर्न जाँदा नवनागहरू मुक्त भए र वर्षा भई सहकाल भयो । यही मान्यताका आधारमा अहिलेसम्म मच्छिन्द्रनाथको रथजात्रा मान्ने चलन छ । त्यसैले पनि रातो मच्छिन्द्रनाथलाई कृषिविशेषज्ञका रूपमा पनि लिने गरिन्छ ।
अहिले कोरोना भाइरसका कारण बन्दाबन्दी भएकोले रथ बनाउने काम रोकिएको छ तर वैशाखमा कटुवालदहमा गएर मच्छिन्द्रनाथलाई विधिपूर्वक ल्याउने काम भने सम्पन्न भइसकेको छ । रथ नबनाएको भएर यसपालि ललितपुर टंगलमा रहेको मच्छिन्द्रबहालको पाटीमै श्रीलोकेश्वरलाई विराजमान गराउनुपरेको थियो । कहिलेकाहीं साइत भएन वा रथ बिग्रेमा पुनःनिर्माण गरेरअसार महिनासम्मपनि रथजात्रा सम्पन्न हुनसकेन भने रथ जहाँ छ त्यहीँसम्म कलशलाई ल्याइन्छ । रथजात्रा सकिइसकेको भए भोटोजात्रा सकिनासाथ खटमा राखी फेरि बुँगमती लगिन्छ र छ महिनासम्म उतै राखिने हुँदा असारमा कटुवालदहबाट भमरारूपी मच्छिन्द्रनाथलाई कलशमा राखेर बुँगमतीमै लाने चलन छ । तिथिअनुसार असार शुक्लप्रतिपदाका दिन पनि पहिलाकै विधिविधानअनुसार फेरि एकपटक कटुवालदहमा गएर कलशमा भमरारूपी मच्छिन्द्रनाथलाई ल्याउने
चलन छ ।
प्रत्येक वर्ष चौलागाप्रतिपदाका दिन लगनखेलको दबुलिइमा मच्छिन्द्रनाथलाई महास्नान गराइसकेपछि औपचारिक रूपमा रथजात्रा सुरु भएको मानिन्छ र रथ बनाउने काम सुरु हुन्छ । त्यस्तै महास्नानपछि मच्छिन्द्रनाथको पुनर्जन्म भएको मान्यताका आधारमा बच्चा जन्मेदेखि गर्नुपर्ने नेवाः परम्परा अनुसार दशकर्म विधिका सबै पूजा गरिन्छ । यी काम भने देउतालाई रथमा विराजमान गर्नुभन्दा अगाडि नै सम्पन्न गरिन्छ ।
मच्छिन्द्रनाथलाई वर्षको दुईपटक कटुवालदहमा लिन जानुपर्ने परम्परा रहँदै आएको छ । धेरैलाई दोस्रोपटक मच्छिन्द्रनाथलाई कटुवालदहमा लिन जानुपर्ने चलन बारे थाहा नहुन सक्छ । एकपटक वैशाखप्रतिपदामा र अर्को असार शुक्लप्रतिपदाका दिन लिएर आउने चलन छ । नेपाल संवत्अनुसार असारको त्यो दिन दिल्ला महिना सुरु हुने भएकाले असारमा देउता लिनजाने परम्परालाई दिल्लाद्यःकावनेगु भनेर पनि भनिन्छ । यो वर्षको असार ७ गते आइतवार औँसीका दिन कटुवालदहमा देउता लिन जाने र असार ८ गते दिल्लाथ्व प्रतिपदा सोमवार कटुवालदहबाट ल्याउने दिन परेको छ । यो वर्ष विधिवत्पूर्वक कटुवालदहबाट भमरारूपी मच्छिन्द्रनाथ राखेर ल्याएको कलशलाई मच्छिन्द्रबहालमै ल्याइन्छ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)