विकास गिरी
नेपालको नक्सामा तीन दशकदेखि छुटेको र भारतीय नियन्त्रणमा छ दशकदेखि रहेको लिपुलेकदेखि लिम्पियाधुरासम्मको क्षेत्रमा भारतले एकतर्फी रूपमा सडकखण्ड विस्तार गरी उद्घाटन गरेसँगै नेपाल सरकारले जेठ ५ मा मन्त्रिपरिषद्बाट नयाँ नक्सा पारित गरेर जेठ ७ मा सार्वजनिक गरेको थियो । अद्यावधिक गरिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्नेसम्बन्धी संविधान संशोधन विधेयक जेठ ३१ मा प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भयो । राष्ट्रियसभाबाट असार ४ गते पारित भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक–२०७७ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएपछि नेपालको अद्यावधिक नक्साले संवैधानिक मान्यता पाएको छ । नेपालको यो ऐतिहासिक कदमलाई भारतले अस्वीकार गरेको तथा कतिपय भारतीय नेता एवम् विश्लेषकले चीनको उक्साहटमा नेपालले नक्सा जारी गरेको आरोप लगाइरहेका बेला नेपालको दुवै संसद्ले त्यसको एकमुष्ट जवाफ दिएको छ । नेपालले यो काम धेरै पहिले पहल गर्नुपर्ने थियो । जेहोस्, अब नेपाल सरकारले प्रभावकारी कूटनीतिक प्रयासमार्फत मिचिएको भूमिलाई नेपालको हक–भोगभित्र
ल्याउन सक्छ ।
लगतका आधारमा लिम्पियाधुरा
सन् १८१६ मा सुगौली सन्धिमा हस्ताक्षर हुँदा सम्बन्धित कुनै पनि नक्सा संलग्न गरिएको थिएन । नेपालसँग त आफ्नो आधिकारिक नक्सा पनि थिएन । तर, सन् १८१६ देखि १८५६ सम्म प्रकाशित सबै नक्साहरूले सुगौली सन्धिद्वारा सीमा नदीका रूपमा स्वीकार गरिएको काली नदी लिम्पियाधुराबाट सुरू भएको स्पष्टसँग स्थापित गरेका छन् ।
शाही जल सर्वेक्षक आरोन एरोस्मिथले लन्डनबाट २ जनवरी १८१६ मै प्रकाशित ‘इम्प्रुभ्ड म्याप अफ इन्डिया’ शीर्षकको नक्सामा पनि लिम्पियाधुराबाट आरम्भ हुने नदीलाई काली नदी अर्थात् ‘काली आर वेस्टर्न ब्रान्च अफ गोग्रा और सोर्जु’ भनिएको छ भने सर्वे अफ इन्डियाले तयार पारेको क्याप्टेन एसएस वेब सर्भेयरको ‘स्केच अफ कुमाउ’ नक्साले पनि लिम्पियाधुराबाट निस्किएकै नदीलाई काली नाम दिएको छ । ‘एक्ट अफ पार्लियामेन्ट’ अनुसार १ फेब्रुअरी १८२७ मा जेम्स हस्र्ट सर्ग, हाइड्रोग्राफर टु इस्ट इन्डियाले तयार गरेको ‘गरवाल कुमाउ’ नक्साले लिम्पियाधुराबाट निस्किएको नदीलाई ‘काली आर’ भनेर चिनाएको छ । एक इन्चबराबर चार माइलको स्केलमा प्रकाशित यो त्यसबेलाको सबैभन्दा ठूलो आकारको नक्सा थियो । वेस्टर्न प्रोभिन्स अफ हिन्दुस्तान– १८३०, इन्डिया एक्सआईआई–१८३५, जेबी ट्यासन म्याप–१८३७, द एट्लास अफ इन्डिया– १८४६ ले नेपालको भारतसँगको पश्चिमी सिमाना काली नदी हो र त्यो लिम्पियाधुराबाट निस्किन्छ भन्ने उल्लेख गरेका छन् ।
सर्भेयर जनरल अफ इन्डियाले २४ अप्रिल १८५६ मा ‘प्रिलिमिनरी स्केच अफ नेपाल एन्ड द कन्ट्रिज एड्जोइनिङ इन द साउथ, वेस्ट एन्ड इस्ट’ शीर्षकमा प्रकाशित नक्साले पनि पहिलेका सरकारी प्रकाशनले झैँ काली नदीलाई प्रस्ट रूपमा स्वीकार गरेको छ । नेपाली विज्ञहरूका अनुसार ब्रिटिस सर्भेयर अफ इन्डियाले सन् १८२७ मा बनाएको नक्सामा पनि लिम्पियाधुराबाट निस्किएको नदीलाई काली भनेर उल्लेख गरिएको छ । त्यसलाई सन् १८५६ मा भारतको सर्वेक्षण विभागले प्रकाशित गरेको नक्साले थप आधार दिएको उनीहरू बताउँछन् ।
नेपाल सरकारले १९५४ र १९६१ मा गुन्जी, नावी, कुटी, तिङ्कर र छाङ्रु गाउँमा निर्वाध जनगणना गराएको थियो । त्यसका अभिलेख अहिलेसम्म सुरक्षितमात्र छैनन्, गणनामा संलग्न व्यक्तिसमेत साक्षी छन् । अहिले भारतीय भागमा रहेका गुन्जी, नाभी र कुती गाउँमा आफूले २०१८ सालमा जनगणना गराएको पत्रकार भैरव रिसालले बताउँदै आउनुभएको छ । यी थुप्रै वैज्ञानिक आधार र प्रमाणबाट लिम्पियाधुरा मुहान भएको नदी नै काली नदी हो भन्नेमा कुनै द्विविधा छैन । हाल भारतीय नक्सामा पारिएका दार्चुलाका छाङ्रु, तिङ्कर र गुन्जीका बासिन्दाले बैतडी माललाई तिरो–तिरान जग्गाको तिरो तिरेका प्रमाणहरू पनि नेपालसँग सुरक्षित छन् । विगतमा त्यहाँका स्थानीयले नेपाल सरकारलाई कर तिरेको प्रमाण भूमिसुधार तथा व्यवस्थापन विभागसँग अहिले पनि सुरक्षित छ ।
प्रमाणका आधार
मुगल सम्राटको शासनअघि भारत सिङ्गो राज्यको अस्तित्वमा नभई, विभिन्न स–साना टुक्रे राज्यमा विभाजित थियो । अङ्ग्रेजहरू भारतीय क्षेत्रमा प्रवेश गरेसँगै ती टुक्रे राज्यहरू विशाल बेलायतको साम्राज्यमा विलय भए । त्यहीबेला उत्तरी हिमाली क्षेत्रका टुक्रे राज्यहरू (अहिलेको नेपालभित्रका भू–भाग) मध्ये पहाडी राज्य गोरखाले सीमा विस्तार गरी आफ्नो सीमा पूर्वमा टिष्टा नदी र पश्चिमतर्फ किल्ला काँगडासम्म पु¥याएको थियो । पृथ्वीनारायण शाह र उनीपछिका शासकहरूको बढ्दो राज्य विस्तार र नेपालीको अङ्ग्रेजविरोधी नीतिका कारण अङ्ग्रेज शासकहरू नेपालसँग सशङ्कित थिए । तर, १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धमा नेपालको पराजय भएपछि नेपाल आफ्नो एकतिहाइ भू–भागबाट वञ्चित हुन पुग्यो । सन् १८१६ को सुगौली सन्धिपछि जङ्गबहादुर राणाको पालामा थपिएका चार जिल्ला (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर)बाहेक नेपालले आफ्नो राज्यको स्थिर सीमा कायम ग¥यो । यस ऐतिहासिक पृष्ठभूमि केलाउँदा नेपालको भारतसँगभन्दा धेरै वर्ष अघिदेखि तत्कालीन इस्ट इन्डिया कम्पनीसँग मैत्रीपूर्ण सन्धि भएको हो । तत्कालीन पृष्ठभूमिमा नेपालको छिमेकी राष्ट्र भारत नभएर बेलायत थियो भन्ने तथ्य भारतीयहरूले स्वीकार गर्नैपर्छ ।
नेपालको सिमाना पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म पुगेको भए पनि सुगौली सन्धिअघिसम्म नेपालको अन्तर्राष्ट्रिय सीमा भने निर्धारित भइसकेको थिएन । सुगौली सन्धिले पूर्वमा मेची र पश्चिममा महाकाली नदीलाई नेपालको सिमाना त मान्यो, तथापि लिम्पियाधुरा र लिपुलेक क्षेत्रको सिमानालाई लिएर धेरै पहिलेदेखि विवाद र अस्पष्टता भएको देखिन्छ । ब्रिटिस–भारतले सन् १८५६ र सन् १८७९ मा तयार गरेको नक्सा भिन्नाभिन्नै रहेको भए पनि नेपालले सन् १९२४ देखि १९२७ सम्म सर्वे गरी सन् १९२८ मा जारी गरेको नक्सासँग भारतको सन् १८७९ को नक्सामा धेरै समानता रहेको देखिन्छ । नेपालले आफ्नो दाबी सुगौली सन्धिलाई आधार मानेर गर्दै आएको छ भने भारतले १८७९ को नक्साका आधारमा सीमा निर्धारण गर्न चाहेको छ ।
सन् १९६२ मा भारत–चीन युद्धपछि भारत लिपुलेक क्षेत्रको सामरिक महŒवलाई लिएर ज्यादै गम्भीर भयो र उसले कालापानीमा आफ्नो सैन्य क्याम्प राखिदियो । राजा महेन्द्रले अनेकौँ कूटनीतिक प्रयास गरी २०२६ सालमा उत्तरी सीमाका डेढ दर्जन सुरक्षा चौकी हटाउँदा पनि लिपुलेक क्षेत्रमा स्थापित उक्त सुरक्षा चौकी हटाउन नेपाल सफल हुन सकेन । त्यसयता विसं २०३२ पछि प्रचलनमा ल्याइएका नेपालको नक्सामा लिम्पियाधुरादेखि यताको उक्त भू–भाग समेटिएको थिएन । त्यसैले वर्तमान सरकारले उक्त क्षेत्रसमेत समेटेर तयार पारेको नक्सालाई औपचारिक प्रचलनमा ल्याउन वर्तमान संविधान संशोधन गर्नुपर्ने हुन्थ्यो र राष्ट्रपतिले असार ४ मा प्रमाणीकरण गर्नुभएपछि नेपालको नयाँ नक्साले संवैधानिक मान्यता पनि पाएको छ ।
सन् १८१६ को सुगौली सन्धिपछिका ऐतिहासिक नक्सामा विशेषगरी इस्ट इन्डिया सरकारले सन् १८२७ मा र १८५६ मा छापेका आधिकारिक नक्सालगायत तथ्य प्रमाणले लिम्पियाधुराबाट दक्षिण–पूर्व बग्ने नदीलाई स्पष्ट काली नदी किटान गरेको देखिन्छ । सुगौलीपछि सन् १८५४ को सीमास्तम्भ निर्माण सम्झौता र सन् १८६० को नयाँ मुलुक सन्धि एवम् ब्रिटिस सङ्ग्रहालयमा सुरक्षित सुगौली सन्धि अगाडि तयार पारिएको स्केच म्यापले समेत लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्व बगेको नदीलाई काली नदी भनिएको छ । इतिहासकार प्रा.डा. रमेश ढुङ्गेलका अनुसार लिम्पियाधुरा मुहान भई पश्चिमबाट पूर्व बग्ने नदी नै काली भएको तथ्य र प्रमाण प्रशस्त छन् ।
ब्रिटिस लाइब्रेरीमा विशेषगरी हड्सन सङ्कलनमा रहेका ऐतिहासिक दस्तावेजले समेत लिपुलेकदेखि लिम्पियाधुरासम्मका भू–भाग नेपालको सरहदभित्र पर्ने तथ्यलाई प्रमाणित गरेको छ । नेपाल भारतको वर्तमान सीमा सन् १८१६ को मार्चमा भएको सुगौली सन्धिले निर्धारण गरेको तथ्य स्वयम्सिद्ध छ । त्यसपछि सन् १८६० मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर (नयाँ मुलुक) फिर्ता गर्न भएको पूरकसन्धि र १८७५ मा भएको अर्को सन्धिका आधारले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको स्पष्ट छ । तर, भारत सरकारले लिपुलेक लिम्पियाधुरा क्षेत्रलाई उसको भन्ने कमजोर तर्क र नेपालसँग यसको आफ्नो दाबीलाई प्रमाण गर्ने पर्याप्त ऐतिहासिक प्रमाणका आधारका कारण यी दुवै देशले कूटनीतिक पहल थाल्नुको विकल्प छैन ।
वास्तवमा, कालापानी लिपुलेकको सीमा सुरक्षाको सन्दर्भमा विगतमा नेपालका शासकबाट भूल तथा कमजोरी भएकै हो, जसका कारण भारतलाई नेपालको भूमि अतिक्रमण गर्न सजिलो भयो । नेपालसँग रहे भएका ऐतिहासिक दस्तावेज, विद्यमान प्रमाण तथा सन्धि सम्झौताले भारतद्वारा अतिक्रमित आफ्नो भू–भाग नेपालले निःसर्त भोगचलन गर्न कूटनीतिक वार्ताको पहल कदमी गर्नुपर्छ । भारतले वार्तामा चासो नदेखाए नेपालले अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्ने बाध्यकारी अवस्था उत्पन्न हुन्छ भने पनि त्यसका लागि तयार हुनुपर्छ ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)