logo
२०८२ असार ८ आईतवार



पूर्व-प्रसूति अवस्थाकाे महिलालाई सुझाव

विचार/दृष्टिकोण |




डा. सङ्गीता कौशल मिश्र

अहिलेको अवस्था असामान्य छ । माघदेखि अहिलेसम्म कोभिडविरुद्ध लडिरहेका छौँ । संस्थागत प्रसूति घटेको र मातृ मृत्युदर बढेका कुरा आएको छ । २०१६ तथ्याङ्कअनुसार ५८ प्रतिशत संस्थागत प्रसूति थियो । बन्दाबन्दी, यातायातको कमी, एम्बुलेन्स समयमा नपाउने, स्वास्थ्यकर्मीमा समेत अन्योलले संस्थागत प्रसूति गराउने महिला घटेको देखिन्छ । तर, यसलाई बिस्तारै सहज बनाउने प्रयास गरिरहेका छौँ । यसै सन्दर्भमा गर्भवती महिलाले पूर्व प्रसूतिमै आफ्नो स्वास्थ्य सुरक्षा कसरी गर्ने ? कोभिड–१९ सम्बन्धी के–के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा जानकारी राख्न चाहन्छु ।
गर्भवती महिलाले ‘एन्टिनेटल’ (जन्मपूर्व) चेकअप गर्नैपर्छ । कम्तीमा पनि चारवटा ‘एन्टिनेटल’ परीक्षण गराउनैपर्छ । तीन महिना, छ महिना, आठ महिना र नौ महिनामा । त्यसबाहेक खानपिनमा ध्यान दिनुपर्ने हुन्छ । प्रोटिनयुक्त खाना र झोलिलो पदार्थ खानुपर्छ । चिकित्सकको सल्लाहअनुसार फोलिक एसिड, आइरन, क्याल्सियम, दूध सेवन गर्दा राम्रो हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा सरसफाइमा ध्यान दिनुपर्छ । यसका लागि साबुनपानीले मिचीमिची हात धुनुपर्छ । हात धुन नमिले स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । हाच्छ्युँ गर्दा, खोक्दा हातले मुखलाई छोप्ने, मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती महिलालाई इन्फेक्सनको सम्भावना हुने भएकाले बाहिर निस्कँदा भौतिक दूरी (दुई मिटर) अनिवार्य कायम गर्नुपर्छ ।
कोभिडसँग डराएर जाँच गराउन नजाने भन्ने हुँदैन । कोभिडसँग डराउने होइन तर सतर्कचाहिँ हुनुपर्छ ।

अस्पताल कतिखेर जाने ?
यो नौ महिनाको अवधिमा बच्चा कम चले अथवा नचले, पेट दुखे वा रक्तश्राव वा योनीबाट पानी बगेको खण्डमा, उच्च रक्तचाप भएमा, आँखा धमिलो देखिएमा तुरुन्त अस्पताल जानुपर्छ । ज्वरो १००.४ भन्दा बढी आएमा र श्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त अस्पताल जानुपर्ने/लैजानुपर्ने हुन्छ । अर्को कुरा, स्वास्थ्य संस्थामा गएर अनिवार्य प्रसूति गराउनुपर्छ । घरमा प्रसूति गराउँदा आमा र शिशुमा कतिपय स्वास्थ्य समस्या आउँछ, जुन अस्पतालसम्म पु¥याउँदा आमाको मृत्यु हुने सम्भावना हुन्छ । त्यसैले अस्पतालमै सुरक्षित तरिकाले प्रसूति गराउनुपर्छ ।

सुत्केरी अवस्थाको स्याहार कसरी गर्ने ?
खानपिनको ध्यान दिनुपर्ने त छँदै छ । त्यसबाहेक प्रसूतिपछि आमा र शिशुको स्याहारमा त्यति ध्यान दिएको पाइँदैन । प्रसूतिपछिको स्याहारमा ध्यान दिन निकै आवश्यक छ । धेरै खालका समस्या आउन सक्छ । पहिलो, तेस्रो, सातौँ र २८औँ दिनमा नजिकको स्वास्थ्य संस्थामा टेलिफोनको माध्यमबाट पनि कुरा गरेर समस्या समाधान गर्न सकिन्छ । स्तनपान गराउने कि नगराउने भन्नेमा अन्योल छ । कोभिड भएको महिला भए पनि स्तनपानमा कुनै समस्या देखिएको छैन । स्तनपान गराउँदा कोभिड सर्दैन भन्ने पुष्टि भइसकेको छ । कोभिड सङ्क्रमित महिलाले पनि स्तनपान गराउन सक्नहुन्छ । कोभिड नभएको महिलाले बच्चालाई अनिवार्य रूपमा छातीमा टाँसेर राख्ने, कङ्गारु मदर केयर गर्ने र स्तनपान गराउनुपर्ने हुन्छ ।
स्वास्थ्य मन्त्रालयले मातृ तथा नवजात शिशुको गाइड लाइन निकालेको छ । स्थानीय हेल्थपोस्ट जिल्ला अस्पताललगायतमा कुन–कुन प्रकारको सेवा दिने भन्नेबारे गाइडलाइनमा छ । सुत्केरी महिला अस्पतालमा आएमा कुनै पनि हालतमा सेवाबाट विमुख गर्न पाइने छैन । एम्बुलेन्सलाई सरकारले कहीँ पनि रोकेको छैन । कुनै पनि एम्बुलेन्स प्रयोग गर्दा हुन्छ । काठमाडौँमा १०२ डायल गरेर सेवा लिन सकिन्छ । बाहिर १०० मा डायल गरेर एम्बुलेन्स सेवा लिन सकिन्छ ।

प्रसूति अस्पतालको सेवा
अस्पतालले सबैभन्दा पहिला कोभिड वा ननकोभिड गर्भवती भनेर पहिचान गर्छ । शङ्का छ वा पोजेटिभ छ भने छुट्टै ठाउँमा सेवा दिएका छौँ । वेबसाइटमा हेल्प लाइन पनि छ, त्यहाँमा फोनबाटै समस्या सोध्न सक्नुहुन्छ । नर्मल सेवा, ओपीडी, अपरेसन, फ्यामिली प्लानिङको सेवा नियमित चलिरहेको छ । गाइनोको सेवा पनि सुरु गर्न गएका छौँ ।

(लेखक परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक हुनुहुन्छ ।)

प्रस्तुति : दीपक श्रेष्ठ
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?