logo
२०८२ असार ८ आईतवार



विपद् व्यवस्थापन तयारी (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपाली समाजमा एउटा भनाइ प्रचलित छ – ‘काजकिरिया गर्न सरसापट देऊ, न्वारन गर्न नदेऊ ।’ जन्म र मरण अवश्यमभावी घटना भए पनि मरणको समय अनिश्चित र जन्म अनुमानित हुन्छ । कसैको मरणका लागि कसैले पनि पूर्वतयारी गरेर खर्चपर्च व्यवस्थापन गर्न सक्दैन, गर्दैन तर यो बेला जन्म हुन्छ भनेर पूर्वतयारी गर्न सकिन्छ, गर्नुपर्छ भन्ने यो भनाइको तात्पर्य हो । यस्तै, समाजमा भइरहने घटनामध्ये विपद् पनि एक हो । मूलतः समाजमा दुई प्रकारका विपद् आउने गर्छन्, एउटा मावन सिर्जित अर्थात् गैरप्राकृतिक विपद् अर्को प्राकृतिक विपद् । त्यसो त प्राकृतिक विपद् शब्दले मौसमी परिवर्तनका स्वभाविक घटनामाथि अन्याय गरेको छ । हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू–स्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीतलहर, तातो हावाको लहर, चट्याङ, भूकम्प, ज्वालामुखी विस्फोट, प्राकिृतिक डढेलोलाई हामीले विपद् भनेका छौँ जबकि यी पृथ्वीमा हुने स्वभाविक घटना हुन् । एक कालखण्डमा हिमपात विपद् थिएन, हिमपातकै कारण पृथ्वी सेलाएर मानव बसोबास योग्य भएको हो । आज विपद् भनिएको हिमपात हिजो वरदान थियो । पहिरोलाई विपद् भनिएको छ जबकि पहिरोकै कारण आज हामीले विनम्रताले फैलिएका मैदान र गर्वले उठेका पर्वत शृङ्खला पाएका छौँ । सगरमाथा पृथ्वीमा भएका ठूला हलचल अर्थात् विपद्को परिणाम हो जो तेथिस सागरको पिँधबाट उठेको मानिन्छ ।
पृथ्वीमा हुने घटना र मानिस समाजमा जोडिएपछि ‘विपद्’ हुन्छ । निर्जन जङ्गलमा हुने पहिरो विपद् नहुन सक्छ तर घर बगाएपछि मात्र त्यो विपद्मा परिणत हुन्छ । त्यसैले विपद् सापेक्ष बुझाइ हो । प्राकृतिक विपद्लाई स्वभाविक रूपमा ग्रहणगरी त्यसबाट हुनसक्ने क्षतीलाई न्यूनीकरण गर्नु नै यसको व्यवस्थापन हो । जन्म र मरणका सरसापटी जस्तै विपद्को सोहीअनुसार व्यवस्थापन गर्न सकिने छ । नेपालमा असारको पहिलो हप्तादेखि भदौ अन्तिम हप्तासम्म बाढीपहिरो, डुबानका समस्या आउने जगजाहेर भएकाले यसको व्यवस्थापनमा धेरै वौद्धिक कसरत, कोठे बैठक र कागजी निर्देशन दिन आवश्यक हुँदैन । हरेक वर्ष हुने यस्ता घटनाको एकपछि अर्को अनुभवबाट सुरक्षात्मक विधि अपनाउन सकिने छ । विपद् व्यवस्थापनलाई समन्वयात्मक र प्रभावकारी रूपमा व्यवस्थापन गर्न कानुनी संयन्त्र र संस्थागत संरचना तयार गरिएका छन् । प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसाधारणको जीउज्यान र सार्वजनिक, निजी तथा व्यक्तिगत सम्पत्ति, प्राकृतिक एवं सांस्कृतिक सम्पदा र भौतिक संरचनाको संरक्षण गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न नेपालको संविधानको तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनजस्ता प्रावधानले निर्दिष्ट गरेका छन् । यस्ता नियमित समस्याका लागि तयारी गर्र्नु आधुनिक राज्यको दायित्व मात्र नभएर परापूर्वदेखि नेपाली समाजमा प्रचलित सो भनाइले पनि पुुष्टि गर्छ ।
विपद् जोखिम तथा व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी प्रतिकार्य योजना, २०७७ पास गरेलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण यसको तयारीमा छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले यस पटकको विपद् न्यूनीकरण कार्य थप चुनौतीपूर्ण हुने भएकाले यससम्बन्धी तयारीलाई थप चुस्त र प्रभावकारी बनाउनु आवश्यक छ । तराई–मधेस क्षेत्रमा हुने डुबानका कारण सामूहिक बसोबासमा राख्नु पर्नेलाई भौतिक तथा सामाजिक दूरी कायम गराउन समस्या पर्ने देखिएकाले यसबारेमा बेलैमा सचेत हुनुपर्ने छ ।
विपद्ले हुने मानवीय क्षतिमा मानिस नै बढी जिम्मेवार हुने गरेका छन् । भूकम्पले होइन कच्चा घर, संरचनाले मानिसको मृत्यु हुन्छ । अनुपयुक्त स्थानको बसोबास, बस्ती पहिरोले बगाउने भएकाले तत्काल विपद् न्यूनीकरण गर्नुका साथै यसको दीर्घकालीन समाधानमा बढी ध्यान दिनुपर्छ । असारको पहिलो हप्तादेखि देशभर मनसुन सक्रिय भएसँगै नेपालका प्रमुख ठूला तथा मझौला नदीको प्रवाह बढ्न थालेकाले हुनसक्ने विपत्तिविरुद्धको तयारीमा सरकारी निकायका साथै सरोकारवालाले विशेष ध्यान दिन आवश्यक छ । मनसुनजन्य प्रकोपका कारण बढी मृत्यु हुनेमा दक्षिण एसियाका मुलुकमा नेपाल उच्च जोखिम पर्ने भएकाले विपद् व्यवस्थापनमा सरकार–नागरिक सहकार्य हुनुपर्छ ।



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?