logo
२०८२ असार ८ आईतवार



परम्पराको कसीमा नेपाल–भारत सम्बन्ध

विचार/दृष्टिकोण |




निर्मलकुमार आचार्य

सम्बन्ध सुधार्नुको उत्तम विकल्प नेपाल तथा भारत कसैसित छैन । कूटनीतिक, राजनीतिक वा जसरी हुन्छ, सुसम्बन्धको दिशा अविलम्ब तय हुनुपर्छ । यसमा परम्परागत साइनोले पनि मद्दत गर्न सक्छ । जुगौँ अघिदेखि कायम सम्बन्धको समीचीन समीक्षा गर्दै आधुनिक मार्ग प्रशस्त गर्नु हितकारी हुनेछ ।
मानव सभ्यताको उषाकालदेखि वैदिक, पौराणिक, ऐतिहासिक तथा समकालीन सेरोफेरोको सरसर्ती अध्ययन गर्दा देखिएको तस्बिर यहाँ प्रस्तुत गरिँदै छ । सभ्यताको मूलथलो नेपाल रहेकामा अनेक आधार छन् । केही पश्चिमा विद्वान्का भ्रमपूर्ण दृष्टिकोणलाई पन्छाएर हेर्ने हो भने हिमाली क्षेत्र (हिमवत्खण्ड) सभ्यताको मुहान थलो हो । यस भूमिबाट दक्षिणतर्फ अमृतमय जल बग्नुका साथै योग, आयुर्वेद, दर्शन, व्याकरण, शब्दकोश, साहित्य आदिका धारा प्रवाहित भए । यहाँका ऋषिले वेदका सूक्त रचना गरेका छन् । विषयवस्तुका आधारमा वेदलाई चार भागमा बाँड्ने काम यहीँका महर्षिले गरेका हुन् । उनै वेदव्यासले अमूल्य पौराणिक निधि पनि दिए । पराशरजस्ता स्मृतिकार यहीँ (तनहुँ) भए । तनहुँ, नेपालकी छोरी सत्यवती (छाब्दी वाराही÷मत्स्यगन्धा)का पुत्र हुन्– वेदव्यास (कृष्णद्वैपायन) । नेपालपुत्री सत्यवती हस्तिनापुरकी महारानीसमेत बन्न पुगिन् ।
आदिकवि वाल्मीकिको आश्रम यहीँ (त्रिवेणी) छ । प्राचीनतम महाकाव्य रामायणको रचना यहीँ भयो । विश्वकै मित्र ‘विश्वामित्र’ कोसीकिनारका महर्षि कुशिकका नाति हुन्, जो राजर्षिबाट ब्रह्मर्षि भए । कुशल वास्तुकार विश्वामित्रले ‘इन्द्रप्रस्थ’ बनाउनुका साथै संसारलाई शक्तिशाली गायत्री मन्त्र दिए । महान् ऋषिहरू अङ्गिरा, वशिष्ठ, कश्यप, गौतम, कपिलमुनि, शमीक, गण्डक, देवदत्त, अष्टावक्र, याज्ञवल्क्य, ऋष्यशृङ्ग आदिका साथै गर्ग तथा विदुषी गार्गीले यही नेपाल भूमिबाट ज्ञान, विज्ञानको ज्योति फैलाए ।
शान्तिदूत सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी, जगत्जननी सीता र राजा जनकको भूमि जनकपुर, देवलोक (दैलेख), सुरक्षेत्र (सुर्खेत), गोसाइँकुण्ड, वराहक्षेत्र, मुक्तिक्षेत्र, दामोदर कुण्ड, त्रिवेणी, देवघाटलगायत कैयन् गौरवशाली पक्ष यहाँ छन् । वैयाकरण पाणिनिले पणेना, अर्घाखाँचीलाई महिमामण्डित तुल्याए । आदियोगी शिवको भूमि नेपालको पलटे, अर्घाखाँचीमा योगसूत्रका प्रणेता महर्षि पतञ्जलि भएको प्रमाण जुट्दै छन् । अमरसिंह बाँडाले ‘अमरकोश’ दिएको पाटो पनि अविस्मरणीय छ ।
हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको समभाव र आस्थाको प्रतीक हलेसी महादेव (पारुहाङ) जस्तो स्थान अन्यत्र दुर्लभ छ । पशुपतिनाथ, मुक्तिनाथ आदि यस्ता तीर्थ छन्, जहाँ हिन्दु मात्र पूजा गर्दैनन्, ओमकार परिवारले परिवेष्टित छ नेपाल । मस्टो परम्परालाई हिन्दु, बौद्ध र बोन्पोले अगाडि बढाए । यहीँ शैव्य, शाक्त, सिद्ध, नाथ (मस्त्येन्द्रनाथ, गोरखनाथ आदि) र बौद्ध परम्पराको अमूल्य स्रोत छ । ब्रह्माका मानसपुत्र मरीचि ऋषिका पुत्र ‘ने’ मुनिद्वारा पालित भएकाले नेपाल कहलाएको मत होस् वा ऋग्वैदिक राजर्षि नीप (नीपातिथि) बाट नेपाल बनेको कथन होस्, नेपालको परापूर्वकालीन अस्तित्व दर्शाउन पर्याप्त छन् ।
जैनमुनि भद्रबाहु, सिखगुरु नानक, आद्यगुरु शङ्कराचार्य जस्ता व्यक्तित्व नेपालको धर्तीमा अनाहकै आएका होइनन् । चन्दननाथ, खप्तड बाबा, शिवपुरी बाबा, गोखले बाबा, श्यामचेतन बाबा यस्ता धेरै नाम छन्, जसले नेपाल भूमिमै दिव्यता अनुभूत गरे । इहलोक तथा परलोक सुधार्न र मोक्षका लागि समेत नेपाल आउनेक्रम अद्यापि जारी छ ।
भारत वर्ष निर्माणमा समेत नेपालको सहयोग छ । ‘भरत’ महर्षि विश्वामित्र र अप्सरा मेनकाकी छोरी शकुन्तलाका छोरा हुन् । राजा दुष्यन्तले बिर्सिंदा अप्सरा मेनकाले छोरी शकुन्तलालाई कश्यप ऋषिकहाँ छाडेकी थिइन् । राजा दुष्यन्त इन्द्रको नगरी अमरावती (काठमाडौँ) बाट फर्कंदा कश्यप आश्रममा रोकिए । त्यहाँ बालक भरतसित भेट भयो । कश्यप ऋषिको आश्रम कास्कीमा थियो । उनकै नामका आधारमा काश्यपी पर्वत हुँदै जिल्लाको नाम कास्की रहन पुगेको भनाइ छ । राजा दुष्यन्त र शकुन्तलाको पहिलो भेटचाहिँ सिकार खेल्न आउँदा कण्व ऋषिको आश्रममा भएको थियो । कण्व ऋषि अङ्गिराका नाति हुन् । अङ्गिरा ऋषिको आश्रम अँगाहाखोला, पाल्पामा भएको आधारमा कण्व ऋषिको आश्रम यतैकतै हुनुपर्ने अनुमानलाई बल उनले याज्ञवल्क्य ऋषिसँग यजुर्वेदको ज्ञान लिनु र कश्यप ऋषिसँग निकटता रहनुबाट प्राप्त हुन्छ । कण्व ऋषिद्वारा पालिएकी छोरी हुन् शकुन्तला । कण्व ऋषिको सम्बद्धता नीपवंशसँग रहनुले पनि भरत नेपालमै जन्मे, हुर्केको प्रस्ट हुन्छ । भरत पितासँग हस्तिनापुर जान्छन् र त्यहाँ प्रतापी कार्यद्वारा चक्रवर्ती बन्न पुग्छन् । उनकै नामबाट क्षेत्रकै नाम भारतवर्ष वा भरत खण्ड कहलाएको हो ।
भारतको प्राचीन इतिहासमा पनि नेपालले गहिरो गुन लगाएको छ । मौर्य साम्राज्य स्थापना गरी स्वर्णिम युग ल्याउने राजा चन्द्रगुप्त मौर्य (जन्म ईशापूर्व ३४०) नेपाली भएको प्रमाण भेटिएका छन् । उनको जन्मस्थल कपिलवस्तुको पिपरहवा (पिप्कालिवान) हो । चाणक्यको सहयोगमा चन्द्रगुप्त पाटलीपुत्र (मगध÷हालको पटना) का राजा भएका हुन् । उनी किरातवंशी भएको उल्लेख छ भने मगर जातिका सन्तान भएको उल्लेख पनि पाइन्छ । उनका छोरा विन्दुसारले पनि त्यहाँ राज्य गरे, नाति अशोकको कीर्ति त जगजाहेरै छ । यही नाताले पनि सम्राट अशोक लुम्बिनी र बुद्ध दर्शनबाट धेरै प्रभावित भएको हुन सक्छ । सम्राट अशोकले आफ्नी छोरी चारुमतीको विवाह देवपट्टनका राजकुमार देवपालसँग गराएका हुन् । चारुमतीद्वारा बनाइएको ‘चारुमती विहार’ बाट ठाउँको नाम नै चाबहिल हुनपुग्यो । चन्द्रगुप्त मौर्य शासनमा आउनुअघि (ईशापूर्व पाँचौँ शताब्दी) नेपालको दक्षिणी सिमाना सिवानमा थियो । कोशल राज्यको यो ठाउँ नेपाली सिमानाकै कारण अद्यापि ‘सिवान’ कहलाएको छ ।
जतिखेर भारतका खण्डित राज्य अङ्गे्रजका अधीन बन्दै थिए, ब्रिटिस साम्राज्यवादविरुद्ध नेपाल एकीकरण अभियानमा थियो । एकताको बिगुल फुकेका पृथ्वीनारायण शाहले आफ्नो ‘दिव्योपदेश’ मा ‘यो असल हिन्दुस्थाना हो, आफ्ना कुलधर्म नछाड्नु.’ भन्नुमा गहिरो अर्थ लुकेको छ । धर्मका नाममा व्यापार र त्यसपछि राजकाजमा हात हाल्न खोज्ने ईशाईहरूलाई ‘केपुचिन’ पादरीसहित धपाइएको पाटो पनि स्मरणीय छ । अद्वितीय सौर्यसहित बढेको नेपाली सेनालाई आग्रहअनुरूप त्यहाँका राज्यले सघाएका भए बेग्लै परिदृश्य हुने थियो । तिनताका बलिया हिन्दुशक्ति नेपाली, सिख र मराठी सेना थिए । एसियाली भूमि (सिन्धुलीगढी)मा सर्वप्रथम हराउने नेपाललाई नरोक्ने हो भने अप्ठेरो पर्ने देखेरै अङ्गे्रजले हिन्दु सेनाविरुद्ध हिन्दु सेना भिडाए । नत्र सिखसेनाको साथ हुँदो हो त नेपालले पश्चिमतर्फ काँगडा र पूर्वतिर टिस्टामै अड्नुपर्ने थिएन । त्यसैको दुःखद परिणति ‘सुगौली सन्धि’ गर्नुपरेको इतिहास साक्षी छ ।
अमरसिंह थापा, बलभद्र कुँवर, सरदार भक्ति थापा, काजी दामोदर पाँडेलगायत वीर योद्धा नेपालको सीमा विस्तार अभियानमा मात्रै लागेका थिएनन्, भारतीयलाई अङ्गे्रजको दासताबाट मुक्त गराउन ज्यान हत्केलामा बोकेर हिँडेका थिए । उनका अमरताको गाथा भारतमै रहेका स्मारकहरूले समेत गाइरहेका छन् । साम्राज्यवादविरुद्ध असली हिन्दुस्तान कायम गर्न बढेको नेपाली सेनाको बहादुरीलाई मनन गर्ने हो भने सुगौली सन्धिको पीडाप्रति फिरङ्गीविरोधी जोकोही दुःखी हुनुपर्ने हो । तर, इतिहासको यो पन्ना अनुभूत नगरिएकाले हुनुपर्छ, त्यही सुगौली सन्धिमा खुम्च्याउनुपरेको धर्तीमा समेत कुदृष्टि छुटेको छैन ।
भारतका हिन्दु सेना एकजुट बनाउन हिँडेको नेपाली सेना र भारतका चारधाममध्ये एक गङ्गोत्रीको महिमा विस्तारमा सेना नायक अमरसिंह थापाले गरेको कामको उता सही समीक्षा भएको पाइँदैन । बद्रीनाथ धाममा श्राद्धको सङ्कल्प पढिँदा ‘नैपालदेशे’ भनिन्थ्यो, अहिले के छ थाहा भएन तर यत्ति कुरामा मात्रै ध्यान पुगे पनि धेरै कुरो बुझिने थियो ।
झन्डै सात सय वर्ष विभिन्न मुगल शासकको अधीनमा परेको भारतलाई इष्ट इन्डिया कम्पनी÷बेलायतले दुई सय वर्ष उपनिवेश बनायो । बेलायतले एक÷एक गर्दै ६३० वटाभन्दा अधिक राज्यलाई एकीकरण ग¥यो । अहिलेको भारतको जन्मचाहिँ ७३ वर्षअघि सन् १९४७ मा भएको हो । दासताबाट भारतीयलाई मुक्त गर्न नेपालीले निकै सघाए । स्वतन्त्रता सेनानीलाई नेपाली भूमिमा आश्रय पनि दिइयो । भारतको राष्ट्रगानको धून निर्माणमा समेत नेपालीको देन छ । गोर्खाली सिपाही क्याप्टेन रामसिंह ठकुरीले ‘जनगणमन...’ को धून बनाएका हुन् । २००२ अप्रिल १५ मा उनी लखनउमा दिवङ्गत भए । भारतलाई बाह्य तथा आन्तरिक सुरक्षा दिने काममा होस् वा अन्य क्षेत्रमा नेपाल र नेपालीको देन कम छैन । वैदिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक योगदानको सही मूल्याङ्कन हुने हो भने कटुता रहने छैन ।
अतः नेपाल भारतबीच छिट्टै वार्ताद्वारा सीमा, डुबान, असमान सन्धि, सम्झौता, व्यापारघाटा लगायत तमाम समस्या छुमन्तर गरी अभूतपूर्व सम्बन्ध विस्तारमा जोड लगाउनु दुवैका हकमा श्रेयष्कर हुनेछ ।
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?