logo
२०८२ असार ८ आईतवार



सङ्कटमा हवाई क्षेत्र

विचार/दृष्टिकोण |




सरोज नेपाल

सन् १९०३ देखि सुरु भएको विश्व हवाई यातायातको क्षेत्र अहिले चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका छ । कोभिड १९ को महामारीका कारण विश्वकै हवाई उडानहरू महिनौँदेखि ठप्प प्रायः हुँदा चौतर्फी असर देखिन थालेको छ ।
महामारीलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप विश्वका अधिकांश मुलुकले हवाई सेवामा प्रतिबन्ध र सीमा कडाइ गरेका हुन् । सामान्य अवस्थाभन्दा ७० देखि ७५ प्रतिशत विमान अहिले भूमिस्थ छन् । अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन सङ्गठनका अनुसार गतवर्षको यही समयमा भन्दा अहिले करिब ६५ प्रतिशत उडानमा गिरावट आएको छ । कोरोना सङ्क्रमण छोटो अवधिमा अत्यधिक फैलिनुमा हवाई यातायात कारक तत्वको रूपमा रहेकाले जोखिममा धकेलिएको हो । संसारभर करिब छ करोडभन्दा बढी प्रत्यक्ष रूपमा हवाई सेवासँग सम्बन्धित जनशक्ति अहिले जोखिममा छन् । हवाई क्षेत्र र यात्राको प्रतिबन्धसँगै पर्यटन तथा व्यापार क्षेत्र समेत मारमा परेका छन् ।
नेपालको हवाई यातायातको ७० वर्षे इतिहासमा पहिलोपटक पूर्णरूपमा हवाई सेवा ठप्प गरिएको छ । देशभर सञ्चालनमा रहेका एक अन्तर्राष्ट्रियसहित ३४ वटा विमानस्थलमा अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द छन् । केही आकस्मिक उद्धार, राहत, कार्गो तथा चार्टरबाहेक सम्पूर्ण उडान निषेध गरिएका छन् । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको नेपालमा दैनिक करिब ४० भन्दा बढी अन्तर्राष्ट्रिय र सोभन्दा बढी सङ्ख्यामा आन्तरिक उडान हुने गरेकोमा दुई महिनायता विमानस्थल सुनसान छ । भूपरिवेष्टित राष्ट्र र कठिन भौगोलिक बनोट रहेको नेपालमा हवाई व्यवसाय गर्दै गरेका कतिपय वायुसेवा कम्पनी र हेलिकप्टर सेवा प्रदायक ठूलो आर्थिक सङ्कटबाट गुज्रिनुपरेको छ । सरकारले समेत हवाई क्षेत्र र पर्यटनको माध्यमबाट प्राप्त हुने करोडौँको राजस्व गुमाइरहेको छ भने ठूलो जनशक्ति रोजगारबाट वञ्चित भइरहेका छन् । विशेषगरी विदेशी पर्यटकमा निर्भर अधिकांश नेपाली वायुसेवा प्रदायक अबको लामो समय चरम आर्थिक मन्दीबाट गुज्रिनुपर्ने देखिन्छ ।
हवाई क्षेत्र उच्च प्रविधियुक्त, विशिष्टीकृत र संवेदनशील यातायातको साधन हो । जसको सञ्चालनका लागि ठूलो धनराशि आवश्यक पर्ने भएकोले अन्य व्यवसायभन्दा फरक प्रकृतिको हुन्छ । नेपालमा पर्याप्त हवाई जनशक्ति नभएकाले खर्चिलो रकममा विदेशी जनशक्तिको प्रयोग हुने गर्दछ । सम्बन्धित जनशक्तिलाई धेरै लगानी गर्नुपर्दछ । अन्तर्राष्ट्रिय मापदण्डबमोजिम निरन्तर तालिम, अध्ययन तथा सिमुलेसनको आवश्यकता पर्दछ । जहाजलाई भूमिस्थ राख्दा पार्किङ शुल्क, उडान अवतरण शुल्क, अन्तर्राष्ट्रिय हवाई क्षेत्र प्रयोगको शुल्क आदिले हवाई यातायातलाई अत्यधिक आर्थिक भार वहन गर्नुपर्ने देखिन्छ । जसले गर्दा लामो बन्दाबन्दी खुले पनि तत्कालै पूर्णरूपमा हवाई यातायात सुचारु हुने अवस्था देखिँदैन । लामो समयको बन्दाबन्दी र हवाई प्रतिबन्धपछि पनि विमानचालक, इन्जिनियर, क्याबिन क्रुको लाइसेन्स र रेटिङको नवीकरण तथा जहाजको नियमित चेक जाँचमा समेत समय व्यतित हुने देखिन्छ ।
यात्रा प्रतिबन्ध खुकुलो बनाइएको अवस्थामा समेत यात्रुहरूको यात्रा सतर्कता र स्वास्थ्यसम्बन्धी मापदण्डले गर्दा पूर्ण यात्रु चापका साथ हवाई सेवा सञ्चालन गर्न सकिने देखिँदैन । अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा सुरुका दिनमा केही यात्रु चाप बढे पनि बिस्तारै एकतर्फी यात्रुको मात्र बाहुल्य रहने अनुमान गर्न सकिन्छ । जसले गर्दा हवाई भाडामा वृद्धि हुनसक्छ । यद्यपि हवाई इन्धनको मूल्यमा आउन सक्ने आंशिक गिरावटले भने हवाई भाडामा केही राहत प्रदान गर्न सक्छ ।
हवाई क्षेत्र राज्यको आर्थिक गतिविधि र मानवीय जीवनको सहजतासँग प्रत्यक्ष जोडिएको व्यवसाय हो । नेपालका सन्दर्भमा सुगम यातायातबाट वञ्चित जनताका लागि न्यूनतम आधारभूत आवश्यकता, खाद्यान्न, औषाधोपचार र आवागमनको निम्ति हवाई क्षेत्र महŒवपूर्ण छ । समग्र अर्थतन्त्रकै मेरुदण्डका रूपमा रहने हवाई क्षेत्र यो महामारीको चरम सङ्कटसँग जुध्दै अगाडि बढ्नु चुनौतीपूर्ण छ । यो सङ्कटले हवाई कम्पनीहरू नराम्ररी थलिएका छन् । यसर्थ हवाई क्षेत्रको वर्तमान अवस्थालाई सम्बोधन गर्न सरकार तथा अन्तर्राष्ट्रिय सङ्गठनले निश्चित मापदण्ड र मार्गदर्शनसहित सहयोगका थप प्याकेज ल्याउनु जरुरी देखिन्छ । सङ्कटग्रस्त विमान कम्पनीलाई ऋण तथा अनुदान सहयोग, विमानस्थल शुल्क, लाइसेन्स नवीकरण दस्तुरमा मिनाहा, इन्धनको मूल्यमा छुटलगायत सहुलियतको व्यवस्था गर्न सकिन्छ । यसबाहेक वायुसेवा प्रदायकहरूले समेत सङ्कटको उचित व्यवस्थापन, आवश्यक रणनीति निर्माण, आपसी साझेदारीसहित व्यावसायिक अभिवृद्धि गरे मात्र थिलथिलो बन्दै गएको हवाई क्षेत्रलाई जीवन्त राख्न सकिएला ।

(लेखक नेपाल वायुसेवा निगममा कार्यरत हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?