logo
२०८१ बैशाख १३ बिहीवार



मातृभाषामै शिक्षा किन ?

विचार/दृष्टिकोण |




प्रा.डा. दिनबहादुर थापा

हात्तीको बल, डल्फिनको बुद्धि, कुकुरको घ्राण शक्ति, गिद्धको दूरदृष्टि, सर्पको भूकम्पीय पूर्वज्ञान लगायतको क्षमता मानिसमा हुँदैन । तैपनि सबै प्राणीलाई मानिसले नै आफ्नो अधीनमा राखेको छ । यसको मुख्य कारण भाषिक सामथ्र्य हो । यही सामथ्र्यले गर्दा मानिस आफ्ना भावनाहरू अभिव्यक्त र अरूका भावनाको बोध गर्नसक्छ । चिकित्सक पाउल ब्रोका (सन् १८६१) ले मानिसको बायाँ मस्तिष्कमा चोट लागेमा वा अफाजिया रोग लागेमा भाषिक समस्या आउने तथ्य पत्ता लगाए । नोम चोम्स्की (सन् १९६०) ले बायाँ मस्तिष्कलाई भाषाप्राप्ति संयन्त्र (ल्याड) का रूपमा अथ्र्याए । चोेम्स्कीको भनाइमा मातृभाषा प्राप्ति (लन्र्र्ड) हो भने दोस्रो भाषा आर्जन (अक्वार्ड) । मानिसमा भाषाप्राप्ति र ल्याडको पूर्ण विकास शैशव वा बाल्यावस्थामै भइसक्छ । तसर्थ मातृभाषामा शिक्षा अनिवार्य हुन्छ । सपिर र होर्फको भनाइमा भाषिक सामथ्र्य र सम्प्रेषण सामथ्र्यका सापेक्षतामा मानिसले संसारलाई बुभ्mने र व्यक्त गर्ने क्षमताको विकास गरेको हुन्छ । यो क्षमता मातृभाषामा हुन्छ । भाषिक सामथ्र्यमा ह्रास आउँदा मानवीय व्यवहार र सभ्यतामा आउने विचलनलाई यो आलेखमा चर्चा गरिएको छ ।
आधुनिक उदारवादी शिक्षाले मातृभूमि र मातृभाषाको महŒवलाई कम गराएको छ । मानिसमा गाउँबाट सहर, सहरबाट पनि विदेशप्रतिको मोह जगाएको छ । यो प्रवृत्तिले हरेक मानिस प्रकृतिबाट विमुख त भयो नै परनिर्भरतामा बाँच्नुपर्ने पनि भयो । आधुनिक शिक्षाले सञ्चार, दूरसञ्चार, विद्युतीय सञ्जाल र भौगोलिक सूचना प्रणालीमा ज्ञान र विज्ञानका हरेक विषयवस्तु खोजेर भेट्टाउन त सक्छ तर आफ्नै गाउँमा पाइने निःशुल्क खाद्यान्न, फलफूल, तरकारी र औषधि (जडीबुटी) चिन्न, खोज्न र उपयोग गर्न नसक्ने बनायो । जीवनपद्धति नै यान्त्रिक र भौतिकमय बनायो । डिस्को र ब्रेक डान्स त सिकायो तर आफ्नै मौलिक सोरठी, सँगिनी, बालन, सिलोक, देउडा, घाटु, झ्याउरे, भजन, पुराण कुन चराको नाम हो ? थाहा भएन । कला, साहित्य, लोकसाहित्य र पुराण मानव जीवनका दर्पण हुन् । यिनै दर्पणमा आफ्नो भाषा, संस्कृति र प्रकृतिको संसार हुन्छ । यो संसार नबुझ्ने मानव र मानवेतर प्राणीमा कुनै फरक हुँदैन । आफ्नो भाषा, संस्कृति, प्रकृति र भूगोलको संरक्षण गर्न नसक्ने मानवको अस्तित्व कुनै पनि क्षणमा समाप्त हुनसक्छ ।
‘मातृभाषामा शिक्षा’ भन्ने नारा अन्तर्राष्ट्रिय कानुनको मौलिक हकअन्तर्गत पर्दछ । युनेस्को लगायत नेपालका २०४७ पछिका सबै संविधानले बालबालिकाको मातृभाषामा शिक्षा पाउने हकलाई सुनिश्चित गरेका छन् तर यी कानुन हात्तीको देखाउने दाँतजस्तै हुन् । संसारमा करिब छ हजारभन्दा बढी भाषा छन् । यिनीहरूमध्ये चार प्रतिशत भाषा ९६ प्रतिशत मानिस बोल्न बाध्य छन् । नेपालको सन्दर्भमा पनि ग्राइम्स, क्रस, वाटर्स, गोर्डन जस्ता विदेशीहरूले गरेको अध्ययनमा नेपाली, मैथिली लगायत १७ वटा भाषा मात्र सुरक्षित अवस्थामा भए पनि अन्य मातृभाषा क्षयोन्मुख, मरणासन्न र लोपोन्मुख अवस्थामा रहेको जानकारी पाइन्छ । केही भाषाहरू लोप भइसके भने केही भाषान्तरण हुँदैछन् । भाषिक मृत्युले निम्त्याउने परिणाम भनेको भाषासँगै इतिहास, संस्कृति र प्रकृतिसँग सम्बन्धित ज्ञान, सीप, अनुभव र अनुभूति पनि मर्दछन् । परम्परित ज्ञान, सीप, बोध र दक्षताको संरक्षण र संवद्र्धन गर्ने सामथ्र्य भातृभाषी वक्तामा मात्र हुन्छ । जसरी आमाको मृत्युले एउटा बालकलाई टुहुरो बनाउँछ, त्यसैगरी मातृभाषाको मृत्युले पनि मानिसलाई संस्कार, संस्कृति र प्रकृतिबाट विमुख बनाउँछ अथवा सिङ र पुच्छर नभएको पशुतुल्य बनाउँछ ।
भाषासँग जातीय, सांस्कृतिक र भौगोलिक पहिचान अवश्य जोडिएको हुन्छ । सबै परिवेशमा जातिभाषा र मातृभाषाको एउटै अर्थ हुँदैन । जातिभाषा पहिचानसँग जोडिए पनि प्रयोगमा नआउन सक्छ तर मातृभाषा पहिलो भाषाका रूपमा प्रयोगमा आएको हुन्छ । एक जातिको एक भाषा, धेरै जातिको एक भाषा र एक जातिका धेरै भाषा हुन पनि सक्छन् । जातिभाषा पहिचानसँग जोडिए पनि मातृभाषा आवश्यकतासँग सम्बन्धित हुन्छ । भाषा आफैँमा साधन पनि, साध्य पनि हो । जातिभाषा विषय वा साधन हो भने मातृभाषा माध्यम वा साध्य हो । भाषा आफैँमा साध्य वा साधन के हो भन्ने विषय नबुझेर नै नेपालमा भाषिक विवाद बढेको वा जानीबुझी बढाइएको छ ।
मातृभाषालाई अतिवादीले कुनै जात, धर्म, भूगोल र संस्कार–संस्कृतिसँग जोडेर हेर्ने गरेको पाइन्छ । वास्तवमा भाषा, रगत र पानीलाई कुनै जात, धर्म र पेशासँग जोडेर हेर्नुुको कुनै अर्थ छैन । यी जसले उपयोग गर्दछ, उसैका विषय हुन् । एउटा बालकले अन्जानमा आमाकै काख वा घरपरिवारमै जुन भाषाका माध्यममा व्यावहारिक ज्ञान प्राप्त गर्ने अवसर पाउँछ, उसका लागि त्यही मातृभाषा हो । मातृभाषामा समय र सन्दर्भअनुसार बालकलाई आफ्नो संस्कृति, प्रकृति र भूगोलका विषयमा शिक्षा दिइन्छ । मातृभाषामा शिक्षा भएन भने दैवी प्रकोप, युद्ध, महामारी जस्ता महाविपत्तिमा मानवको जातीय र मानवीय पहिचान वा अस्तित्व नै समाप्त हुनसक्छ ।
आज हरेक नेपालीमा पूर्वीय कि पाश्चात्य, परम्परित कि आधुनिक, गाउँ कि सहर, स्वदेश कि विदेश भन्ने द्वैध मानसिकताको विकास भएको छ । यसमा विशेषगरी नयाँ पुस्ता क्रमशः पश्चिमी हावामा बहकिएको छ । पश्चिमी शैली र सभ्यताप्रति लहसिनुको एउटा कारक तत्व अङ्ग्रेजी माध्यमको शिक्षा हो । अङ्ग्रेजी भाषा र विदेशप्रति मोह राख्ने नयाँ पुस्तामा नेपालीपन क्रमशः गुम्दै गएको छ । अङ्ग्रेजी माध्यमको शिक्षा र सीपलाई विज्ञान हो भन्ने भ्रम उत्पन्न भएको छ । पश्चिममा भाषाका कारण विषयको महŒव बढेको छ भने नेपालीमा भाषाकै कारण त्यही विषयको ज्ञान अवमूल्यन भइरहेको छ । दुःखको कुरा, आफ्नो स्वत्व गुम्दै गएको छ ।
बहस ज्ञान र विज्ञान, अध्यात्म र भौतिक, पूर्व र पश्चिमको होइन । बहस त पूर्वीय ज्ञान कसरी पश्चिमी विज्ञान भयो ?, पूर्वीय सभ्यता किन ढल्यो ? र पश्चिमी भौतिक सुविधाप्रति नेपालीहरूको आकर्षण किन बढ्यो ? भन्ने प्रश्नको उत्तर खोज्नु हो । पूर्वीय साहित्यमा चार युग (सत्य, त्रेता, द्वापर र कलि) र चार वर्गका ‘स्वेदज (जुम्रा वर्ग), अण्डज (पक्षी वर्ग), उद्भिज (वृक्षादि) र जरायुज (मनुष्यादि)’ प्राणीहरूको जीवनचक्रको व्याख्या भएको छ । सूर्यचन्द्र ग्रहणको भविष्यवाणी, खगोलविद्या, सङ्गीत, कला, साहित्य आदि विषयवर्णित ठूलाठूला ग्रन्थ लेखिएका छन् । कैलाशपर्वत, मानसरोवर, गौरीकुण्ड, चारधाम (यमुनोत्री, गङ्गोत्री, केदारनाथ, बद्रीनाथ), मुक्तिक्षेत्र, वराहक्षेत्र, पाशुपतक्षेत्र आदि तीर्थस्थलको रहस्यमय वर्णन छ । यी पूर्वीय ज्ञानका आकर्षण हुन् ।
नेपालीले गर्व गर्ने पूर्वीय सभ्यताको पूर्ण विकास त इसापूर्व पाँच सय वर्ष पहिले नै भइसकेको रहेछ । पूर्वीय सभ्यतामा शौनकको ‘व्योमयानतन्त्र’, गर्गको ‘यन्त्रकल्प’, नारायणको ‘विमानचन्द्रिका’, वाचस्पतिको ‘यानबिन्दु’, वाल्मीकिको ‘स्वतः सिद्धिन्याय’, भोजको ‘समराङ्गणसूत्रधार’, अगस्त्यको ‘शक्तिसूत्र’, शाकटायनको ‘वायुतत्वप्रकरण’, नारदको ‘वैश्वानरतन्त्र’ आदि ग्रन्थमा यन्त्र, मन्त्र र तन्त्र विद्याको संस्कृत भाषामा विशद व्याख्या छ । पञ्चतत्व (पृथ्वी, जल, तेज, वायु, आकाश), पञ्चप्राण (प्राण, अपान, व्यान, उदान, समान) र अष्टाङ्ग योग (यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि) को पूरै व्याख्या संस्कृतमै छ तर दुःखको कुरा यी विषयको महŒव बुझ्ने र बुझाउन सक्ने संस्कृत मातृभाषी महापुरुष यो पृथ्वीमा छैनन् । कोही हुँदो हो त पूर्वीय आकाशमा ‘व्योमयान’ र ‘पुष्पकविमान’ उड्दा हुन् । देश स्वर्ग र मानव देवता हुँदा हुन् । कोभिडसँग लड्ने सञ्जीवनी बुटी भेटिँदो हो । हात्ती र बोकाको टाउको मानव शरीरमा जोड्ने चिकित्सा पद्धतिको विकास हुन्थ्यो होला ।
मातृभाषाको सामथ्र्य कति हुन्छ भन्दा हिमालमा बस्ने मानिस आफ्नो मातृभाषामा एक हजार शब्दमा हिउँको प्रकृति छुट्याउन सक्छ । अरबी मातृभाषीले उँट प्रजातिका एक हजार अर्थ बताउन सक्छ । राजेन्द्रप्रसाद सिंह (२००४) ले गरेको खोजअनुसार संस्कृत भाषामा शिव र रुद्रका संयुक्त नाम तीन हजार ४११, विष्णुका एक हजार ६७६, इन्द्रका ४५१, कृष्णका ४४१ सम्म पर्यायवाची शब्द भएको पाइन्छ । नेपालीमा ‘दृश्’ धातुको अर्थ आँखाले हेर्नु वा देख्नु भन्ने अर्थबोध गर्नसक्ने मातृभाषीले ‘दृश्य, दृश्याङ्कन, दृश्यात्मक, दृश्यावली, दृश्यावलोकन, दृष्टान्त, दृष्टांश, दृष्टि, दृष्टिकोण, दृष्टिगत, दृष्टिपथ, दृष्टिपात, दृष्टिभ्रम, दृष्टिबिन्दु, दृष्टिहीन, दृष्टिभेद’ आदि शब्दको सहजै अर्थबोध गर्नसक्छ तर दोस्रो भाषामा यी पर्यायवाची अर्थ सिक्न÷सिकाउन सम्भवै हुँदैन । तसर्थ बालबालिकालाई आफ्नो इतिहास, भूगोल, संस्कृति र प्रकृतिका विषयमा सहज ज्ञान दिन मातृभाषामा शिक्षाको आवश्यकता हुन्छ ।
भारतवर्षमा आर्यभाषाको विकास इ.पू. पन्ध्र सयदेखि इ.पू. पाँच सय (३५ सय) वर्ष पहिले भएको मानिन्छ । यही अवधिको पहिलो चरण (सात सय वर्ष) मा ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद लगायत ब्राह्मण, उपनिषद् आदि ग्रन्थ लेखिए भने दोस्रो चरण (तीन सय वर्ष) मा रामायण, महाभारत, रघुवंश, उत्तररामचरित लगायतका साहित्यिक र साहित्येतर ग्रन्थहरू लेखिए । निघण्टु, निरुक्त, महाव्युत्पत्ति, त्रिकाण्ड जस्ता शब्दकोश पनि इसा जन्मनु आठौँ शताब्दी पहिले नै तयार भएका हुन् । कालिदास, माघ, बाणभट्ट, भवभूति, पाणिनि, पतञ्जलि, कात्यायन जस्ता विद्वान् पनि इसापूर्व नै संसार प्रसिद्ध थिए ।
करिब एक हजार वर्षसम्म वैदिक र लौकिक संस्कृत भाषामा प्रचुर वाङ्मयको विकास भयो । इ.पू. पाँच सयदेखि इस्वी हजारसम्मको करिब १५ सय वर्षसम्म संस्कृत भाषा र सभ्यतामा विचलन आयो । यही अवधिमा अनेकौँ महामारी र प्रलय पनि भए होलान् । संस्कृत भाषामा आएको विचलनका कारण अशोकीय पालिलगायत विभिन्न प्राकृत र अपभ्रंश भाषा जन्मिए । पूर्वीय सभ्यतामा मातृभाषा मात्र होइन कला, साहित्य र विज्ञानले समेत निरन्तरता पाउन सकेन । पूर्वीय सभ्यता वा भारत वर्षको विलयसँगै आधुनिक नेपाल, भारतलगायतका राष्ट्र र नेपाली, हिन्दी लगायतका भाषा जन्मिएका हुन् ।
संस्कृतभाषामा आएको विचलनसँगै एघारौँ शताब्दीदेखि आधुनिक आर्यभाषा (हिन्दी, मैथिली, भोजपुरी, नेपाली) हरू विकसित हुँदै आए । मूल भाषाको ज्ञानलाई भाषिका वा पछि जन्मिएका भाषामा आपूmखुसी व्याख्या गर्न थालियो । सारलाई बिर्सेर रूपमा बहस गरियो । धर्मको अपव्याख्या भयो । जातीय र वर्गीय भेद उपभेदको सिर्जना गरियो । इतिहास र भूगोललाई बङ्ग्याउने र प्राकृतिक जडीबुटीलाई बिर्सिने काम भयो । यसैको परिणामस्वरूप भाषामा विचलन, संस्कृतिमा विविधता र धर्ममा विकृतिले बढोत्तरी पायो । समग्र पूर्वीय सभ्यता भूकम्पपछिको धरहरा जस्तै भयो । समयमै यो शिक्षाबाट नचेत्ने हो भने नेपालीमा पनि इतिहासको पुनरावृत्ति नहोला भन्न सकिन्न ।
आर्यहरूले संस्कृतभाषालाई जातिवाद र कर्मकाण्डमा खुम्च्याउँदा पूर्वीय सभ्यता खाए, जनजाति (मङ्गोलियन) हरू आफ्नो भाषालाई सम्प्रेषणको माध्यम नबनाई जातीय नारा बनाउँदा भाषिक पहिचान गुमाउँदैछन् भने नेपालीभाषामा नाक खुम्च्याउनेहरूले नेपालीपन गुमाउँदैछन् । भोलि नेपालको पहिचान र राष्ट्रियता नै नगुम्ला भन्न सकिन्न । भाषा सिद्धान्त होइन व्यवहार हो, कुनै जातविशेषको नभई प्रयोग गर्ने व्यक्तिको हो । पशुले माया गरेर पनि बच्चालाई दूध नखुवाएमा आउने परिणाम मृत्यु हो । जातिवादीले मातृभाषाको माया गरेर पनि प्रयोग नगरेमा निस्कने परिणाम भाषिक मृत्यु नै हो ।
विद्युतीय सञ्जालको अनुहारमा होस् या व्यावहारिक प्रयोजनमा प्रतिक्रिया मातृभाषामा जनाउन नसक्ने वा नचाहनेहरू भाषाप्रेमी वा जातिवादी होलान् तर मातृभाषी हुँदै होइनन् । मातृभाषाको दुहाइ दिएर दोस्रो भाषामा प्रतिक्रिया जनाउनेहरू ढोँगी हुन् । यिनै छद्मभेषी ढोँगीबाट भाषा जोगाउनुपर्छ । तसर्थ आफ्नो भाषिक, सांस्कृतिक, प्राकृतिक र भौगोलिक ज्ञानलाई पुस्तान्तरण, हस्तान्तरण र निरन्तरता दिन मातृभाषामै शिक्षाको अति आवश्यकता छ । भाषिक अनुरक्षण एवं मानवीय ज्ञान, सीप र अनुभवको संरक्षण तथा संवद्र्धन गर्न मातृभाषाको महŒव बुझाउन अति नै जरुरी छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?