डा. भीमलाल गौतम
कोभिड–१९ को महामारीका कारण तीन महिनादेखि विश्वविद्यालयका कुनै पनि कार्यक्रम नियमित हुन सकेका छैनन् । बन्दाबन्दीको सुरुका दिनमा अन्योल भए पनि अब बिस्तारै त्रिविले आफ्नो लयमा फर्कने प्रयास गर्न थालेको अनुभूति हुँदैछ । व्यक्तिगत छलफलमा आधारित भएर गरेको जुम बैठकले व्यापकता पाउँदा आज त्रिविले अनलाइन प्रविधिमा नेपालका मै हुँ भन्ने निजी र सार्वजनिक संस्थालाई पनि पछाडि पारेर ठूलो प्रगति गरेको देखिन्छ । त्रिवि नेतृत्वले यस अवधिमा व्यापक छलफल र विश्लेषणसहित अनलाइन शिक्षाबारे आचारसंहिता निर्माण गर्नुका साथै माइक्रोसफ्ट कम्पनीको सहकार्यमा पाँच लाख डोमेन आई डी पहिलोचोटी त्रिविका आङ्गिक क्याम्पस, विभाग र अध्ययन संस्थानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरूमा वितरण गर्दैछ । यो क्रमशः अरू सम्बन्धनप्राप्त सार्वजनिक तथा निजी कलेजमा पनि विस्तार गर्ने योजनामा छ । बन्दाबन्दी र कोरोना महामारीको कारणले भौतिक दूरी कायम राख्नुपर्ने बेलामा त्रिविले गरेको यो काम र प्रविधि आगामी दिनमा महŒवपूर्ण शैक्षिक विकल्प हुनेछ ।
एम.ए, एम.फिल, पी.एच.डी. कार्यक्रमका थेसिस अनलाइन अन्तर्वार्ताको आधारमा मूल्याङ्कन गर्न सकिने परिपत्र जारी गरेर त्रिविले यसपटक फेरि नेपालको शैक्षिक क्षेत्रको नेतृत्वदायी भूमिका अवलम्बन गरेको देखिन्छ । लगभग चार लाखभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको त्रिविमा आठ हजारभन्दा बढी शिक्षक प्राध्यापक काम गर्छन् । विभिन्न विभाग, अनुसन्धान केन्द्र र देशभर फैलिएका ६१ वटा आङ्गिक क्याम्पसमा भएका सम्पूर्ण शैक्षिक गतिविधिलाई व्यवस्थापन गर्नु चानचुने कुरो छैन । भाडामा भवन लिएर दुई चार सय विद्यार्थीलाई निजी बोर्डिङ जस्तो गरी हातमा ललिपप देखाएर जागिर खान पल्केकाहरूले त्रिविलाई गाली गर्नु भनेको हत्केलाले सूर्य छेक्नुजस्तै हो तर यति हुँदाहुँदै पनि त्रिभुवन विश्वविद्यालयमा केही नीतिगत, केही परम्परागत र केही मनोगत कमीकमजोरी छन् । तिनलाई सुधार्न सकियो भने त्रिभुवन विश्वविद्यालय हाम्रो र राम्रो विश्वविद्यालय हुनेमा दुईमत छैन ।
परीक्षा प्रणालीमा सुधार
त्रिभुवन विश्वविद्यालयको स्थापनाकालदेखि नै बनेको परीक्षा नियन्त्रण कार्यालय अहिले भूमिकाविहीन जस्तो देखिएको छ । त्रिविले सेमेस्टर कक्षाहरू सञ्चालन नगरुञ्जेल परीक्षासम्बन्धी सबै काम पनिकाबाटै हुने गर्थे र त्यसले त्रिविको कामलाई व्यवस्थित बनाएको भान हुन्थ्यो । त्रिविमा नयाँ कार्यक्रम थपिनुका साथै एम्.फिल र पी.एच.डी.मा पनि पठनपाठन सुरु भएदेखि प्राज्ञिक कार्यक्रमहरू सञ्चालन गर्ने, योजना बनाउने, अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने र अनुसन्धानमा व्यस्त हुनुपर्ने डिन कार्यालय विभिन्न तहका परीक्षा सञ्चालन गरेर बसेका छन् । पनिकाले वार्षिक प्रणालीमा सञ्चालित स्नातक तहका परीक्षा सञ्चालन र प्रमाणपत्र वितरण गर्ने काम मात्र गरेको छ । पनिकाको तालिमप्राप्त जनशक्ति बेरोजगार भएको छ । त्रिविले आवश्यक कर्मचारीको उचित व्यवस्थापन गरेर एम्.फिल र पी एच डी बाहेक परीक्षाका कार्यक्रमलाई पनिकामार्फत सञ्चालन गर्न सकेमा डिन र पनिकाबीचमा देखिएका शङ्का–उपशङ्का पनि निवारण हुन्छन् र सम्बन्धित शिक्षक–विद्यार्थीले सहज महसुस गर्छन् । त्रिवि नेतृत्वले यो कुरामा व्यापक छलफल गरी सुझाव अनुसारको व्यवस्थापन गर्नु राम्रो हुन्छ ।
अनुसन्धानमा आधारित शैक्षिक प्रणाली
वर्तमान समयमा त्रिविले अँगालेको शैक्षिक प्रणाली पुरानो र सिद्धान्त केन्द्रित छ । त्रिविका धेरै कार्यक्रम सेमेस्टर प्रणालीमा जाने क्रममा रहेकाले अब अनुसन्धान र क्रियाकलापमा आधारित शैक्षिक कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । त्रिविका हरेक पाठ्यक्रममा अनुसन्धान र क्रियाकलापलाई जोड्न सकिएन भने हामीले उत्पादन गरेको जनशक्ति विश्व बजारमा काम नलाग्ने हुनसक्छ । त्यसैले हरेक शिक्षक र विद्यार्थी अनुसन्धानमा जोडिनु आवश्यक छ । एम्. ए, एमे. फिल, पी. एच. डी.को थेसिस लेख्ने कामलाई मात्र अनुसन्धान ठान्ने पुरानो प्रवृत्तिलाई परिवर्तन गर्नु जरुरी छ । कम्तीमा विश्वविद्यालयमा अध्यापन गर्ने शिक्षक–प्राध्यापकले वर्षमा कम्तीमा एउटा अनुसन्धान गर्नुपर्ने र त्यसमा आफ्ना विद्यार्थी सहभागी गराउने र सोही अनुसार लेख प्रकाशन गर्नुपर्ने बाध्यकारी नियम तथा सोही अनुसारको वातावरण सिर्जना गर्न सके नेपालजस्तो आविष्कार र अनुसन्धानका लागि बहुउपयोगी मुलुकको आर्थिक, सामाजिक एवं सांस्कृतिक विकास हुनेछ । विश्वविद्यालयले गरेका अध्ययन र अनुसन्धानहाई नेपाल सरकार र अन्य निकायले पनि विश्वास गर्न सक्ने वातावरण बनाउन त्रिविले आफ्ना अनुसन्धान केन्द्रलाई निर्देशन दिन सक्छ । हाल सञ्चालित सेरिड (शिक्षा सम्बन्धी अनुसन्धान केन्द्र), सेडा (व्यवस्थापनसम्बन्धी अनुसन्धान केन्द्र), रिकाष्ट (व्याबहारिक विज्ञानसम्बन्धी अनुसन्धान केन्द्र) र सिनास (मानविकी तथा सामाजिक शास्त्रसम्बन्धी अनुसन्धान केन्द्र) लाई तिनको उद्देश्यपूर्ति हुने गरी पुनः संरचना र व्यवस्थापन गरेर त्रिविलाई अनुसन्धानको केन्द्र बनाउन सकिन्छ । यी अनुसन्धान केन्द्रमा कक्षाकोठामा असफल भएका र अनुसन्धानबारे वर्षमा एउटा पनि लेख प्रकाशन गर्नसमेत नसक्ने पुराना सोचाइका शिक्षक–प्राध्यापकलाई अवकाश दिएर नयाँ र अनुसन्धानमा भिजेका जनशक्तिलाई प्रवेश गराएर विश्वसनीय कामको थालनी गर्न सकिन्छ ।
प्रविधिमैत्री वातावरण
कोभिड– १९ को महामारीले संसारभर भौतिक दूरी कायम राख्नुपर्ने बाध्यता भयो । युरोप र अमेरिकाका धेरै विश्वविद्यालयले शिक्षालाई प्रविधिसँग जोडेर भर्चुअल कक्षा सञ्चालन गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयले पनि पहिलोपल्ट अनलाइन शिक्षाको निर्देशिका तयार पार्ने, सम्पूर्ण शिक्षक(बिद्यार्थीलाई त्रिविको आफ्नै ठेगाना उपलब्ध गराउने र त्रिवि पुस्तकालयलाई सबैको पहुँचमा पु¥याउने योजनालाई मुक्त कण्ठले प्रशंसा गर्नैपर्छ । योसँगै प्रविधिमैत्री वातावरण बनाउनका लागि आवश्यक पर्ने तालिम, विश्वसनीय इन्टरनेट सेवा र यसले नेपाली समाजमा सिर्जना गर्ने वर्गीय विभेदलाई कसरी रोक्ने भन्नेतर्फ ध्यान जानु जरुरी छ । कुनै पनि नयाँ कुरा आउँदा आँखा चिम्लेर समर्थन गर्ने अनि त्यसका परिणामका बारेमा ध्यान नपु¥याउने धेरै नेपालीको बानी छ । एउटा माइक्रोसफ्ट टिम वा गुगल मिट वा जुम कक्षा सञ्चालन गर्नु मात्र प्रविधि होइन, सोही अनुसारको पाठ्यक्रम, तालिम, भौतिक तथा प्राविधिक कुराको विकास एवं व्यवस्थापन पनि आवश्यक हुन्छ । विदेशी मुलुकहरू (खासगरी युरोप र अमेरिका) मा पुस्तकालयबाट पुस्तक प्रयोग गरेजस्तै ल्यापटप र अन्य प्रविधिक उपकरण शिक्षक र विद्यार्थीले प्रयोग गर्न पाउँछन् । हाम्रो विश्वविद्यालयले यस बारेमा के सोचेको छ ? विश्वविद्यालय र सबै शिक्षक–प्राध्यापक पनि प्रविधिमैत्री हुन जरुरी छ ।
राजनीतिकरणको अन्त्य
त्रिविलाई स्थापनाकालदेखि नै गिजोलेको महŒवपूर्ण पक्ष राजनीति हो । देश गणतन्त्रमा प्रवेश गरेको डेढ दशक भइसक्दा पनि राजनीति र पुरानो शैलीले काम गरिरहेको छ । विश्वविद्यालयका हरेक नियुक्तिमा राम्राभन्दा पनि हाम्रा मान्छे नपरेको झोँकमा विद्यार्थी, कर्मचारी र प्राध्यापक सङ्घका नेताहरूले वक्तव्य जारी गरेर चेतावनी दिन पछि पर्दैनन् । विभाग र क्याम्पसहरूमा प्रमुखले कर्मचारीहरूलाई ढुक्कसँग काममा लगाउन सक्दैन । ऊ यति निरीह छ कि उस्तै परे नेता कर्मचारीले नै उसलाई नै विभाग वा क्याम्पसबाट सरुवा गराइदिने हैसियत राख्छन् । मुलुकको समग्र कर्मचारीतन्त्रको व्यापक छायाँ त्रिभुवन विश्वविद्यालयमा देखिन्छ । संसारमा कहीँ नभएको जात्रा त्रिविमा छ जहाँ एउटा विभागमा काम गरेको कर्मचारीले अरू विभागमा सहयोग गर्नुप¥यो भने ३० प्रतिशत भत्ता खोज्छ । नेपालमा राजनीतिक परिवर्तनका लगभग सबै एजेण्डा सकिएका छन् । अब देश आर्थिक सामाजिक परिवर्तनतिर लम्कनुपर्ने हो । भ्रष्टाचार र ढिलासुस्तीले जकडिएको मुलुकलाई परिवर्तन गर्न नारा र नेताहरूको बोलीले मात्र सम्भव छैन । राष्ट्रसेवकहरू पनि निष्पक्ष भएर आफ्नो कार्यक्षेत्रमा खटिनु आवश्यक छ ।
त्रिभुवन विश्वविद्यालयलाई राम्रो, सफल बनाउने र जनताको विश्वविद्यालय बनाउने जिम्मा पनि यहाँका शिक्षक, कर्मचारी र विद्यार्थीको भएकाले अब पुरानो शैलीमा हिँडेर मात्र यो सम्भव छैन । वैधानिक र अवैधानिक सङ्घ सङ्गठनलाई विश्वविद्यालयको भौतिक तथा प्राज्ञिक उन्नयनको काममा लागाउनु बेस हुन्छ । योग्य, अनुभवी र लगनशील जनशक्तिलाई प्रोत्साहन गर्ने र राजनीतिक छत्रछायाँबाट आफूलाई मुक्त पार्ने कार्यमा वर्तमान त्रिवि नेतृत्व लाग्नुपर्छ । त्रिभुवन विश्वविद्यालय राम्रो बन्छ, बनाउन सकिन्छ र हामी सबैमा त्यो क्षमता र आँट छ ।
(लेखक त्रिविमा प्राध्यापन गर्नुहुन्छ ।)