कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण न्यूनीकरण गर्न गरिएको लामो बन्दाबन्दी (लकडाउन) का कारण पर्यटन व्यवसाय, व्यवसायी, त्यसमा आबद्ध श्रमिक अति प्रभावित छन् । चैत ११ देखि सुरुका हप्ता अत्यावश्यक सेवाबाहेक मुलुकभर पूर्ण बन्दाबन्दी गरिएको भए पनि विकसित घटनाक्रमको अध्ययन तथा विशेषज्ञहरूको रायअनुसार स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिएर क्रमशः कृषि, निर्माण, परियोजना, ठूला उद्योग सञ्चालन खुकुलो बनाइँदै आएको छ । क्रमशः सार्वजनिक सेवा, पसल, व्यवसाय सञ्चालनका लागि सरकारले क्षेत्रगत कार्यविधि जारी गरेको छ । महामारी नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण पर्यटनक्षेत्र सङ्कटग्रस्त भएपछि नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसाय सञ्चालन कार्यविधि, २०७७ जारी गरेको छ । बाह्य पर्यटकको आगमन तत्कालका लागि सम्भव नदेखिए पनि आन्तरिक पर्यटन व्यवसाय सञ्चालनको उद्देश्यसहित कार्यविधि तयार गरिएकाले यस क्षेत्रलाई केही राहत मिल्ने देखिन्छ । कार्यविधिमा होटल, रेस्टुराँ, पर्यटनसम्बन्धी कार्यालय व्यवस्थापन र पर्यटन सवारी सञ्चालनका लागि छुट्टाछुट्टै मापदण्ड तोकिएको छ । कार्यविधिमा पर्यटक तथा श्रमिकको ज्वरो जाँच, निर्मलीकरण, मास्क प्रयोग र सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले पर्यटकलाई विश्वस्त बनाउन सकिनेछ । पर्यटकलाई स्वास्थ्य सुरक्षामा पूर्णतः विश्वस्त बनाउन सकिएन भने व्यवसायीको सञ्चालन खर्च पनि उठ्न नसक्ने अवस्थामा खुला गरिनु पर्यटनक्षेत्रका लागि थप प्रत्युत्पादक हुनेछ ।
कोरोना सङ्क्रमण लामो समय रहन सक्ने अवस्थामा मुलुकलाई निरन्तर बन्दाबन्दीमा राख्नाले जनजीवन मात्र होइन, राज्यका नियमित कामकारबाही प्रभावित हुनेछन् । यस्तो अवस्थामा बन्दाबन्दीमा रहेका विभिन्न क्षेत्रलाई क्रमशः खुला गर्नुपर्ने हुन्छ । यसैका लागि बोर्डले पाहुनाले ल्याउने सामान निर्मलीकरण गर्नुपर्ने, पाहुनाको पछिल्लो ३० दिनको यात्रा विवरण र सम्पर्क नम्बर राख्नुपर्नेलगायतका सुरक्षात्मक विधि अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्न पाउने गरी कार्यविधि बनाइएको हो । यसलाई आवश्यक र स्वाभाविक भन्नुपर्छ । कोरोनाका कारण पर्यटन व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आश्रित लाखौँ व्यक्ति प्रभावित छन् । नेपाल भ्रमणवर्षका सम्भावना हेरी पर्यटन व्यवसायीले गरेको लगानी जोखिममा छ । आर्थिक गतिविधि ठप्प रहेको अवस्थामा पर्यटनक्षेत्रलाई जीवन प्रदान गर्नुपर्ने आवश्यकता कार्यविधिले सम्बोधन गरेको छ । सरकारले यसअघि उडानसँग सम्बन्धित कार्यविधि जारी गरेको र क्रमशः अन्य क्षेत्र पनि खुला गर्नुपर्ने अवस्थामा कार्यविधिको कार्यान्वयनमा सबै पक्षले ध्यान दिनुपर्छ । पर्यटन क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थाको सहभागितामा कार्यविधि तयार गरिएकाले सम्बन्धित सबैले यसको पालना गरे व्यवसाय पनि सञ्चालन, श्रमिक तथा पर्यटक सुरक्षित हुनेछन् । कार्यविधिको कार्यान्वनमा सार्वजनिक यातायातदेखि ढुवानी सेवा पनि सुरक्षित गरिनुपर्छ ।
विश्वकै आर्थिक, सामाजिक जीवन प्रभावित भइरहेको अवस्थामा नेपाल मात्र कोरोना सङ्क्रमणको प्रभावबाट मुक्त हुनसक्ने अवस्था छैन । यसको दुष्प्रभावलाई कमभन्दा कम गरी सार्वजनिक जीवन खुला हुनुपूर्व थप होसियारी गर्नुपर्ने अवस्थालाई भने नकार्न सकिँदैन । बन्दाबन्दी खुकुलो गर्नुको अर्थ जोखिम समाप्त भएको होइन बरु थप सतर्कताको खाँचो पर्नेछ । कार्यविधिले पर्यटनक्षेत्रलाई तत्कालीन राहत दिनेछ तर कोरोनापछिको पर्यटनक्षेत्रको सुदृढीकरणका लागि थप ध्यान दिनु आवश्यक छ । यस क्षेत्रमा सरकार तथा निजीक्षेत्रको ठूलो लगानी रहेकाले पर्यटनक्षेत्रको सुदृढीकरणले दुवै पक्ष लाभान्वित हुनेछन् । वर्तमान अवस्थामा होमस्टे तथा साना पर्यटन व्यवसायी निकै मर्कामा छन् । उनीहरूको आर्थिक गतिविधि बढाउन आन्तरिक पर्यटकहरू सक्रिय हुनुपर्ने हुन्छ तर अहिलेकै अवस्थामा तत्काल आन्तरिक पर्यटकको भ्रमण गतिविधि बढ्न सक्ने अवस्था छैन । सरकारले ल्याएको आन्तरिक पर्यटन कार्यक्रमअन्तर्गत कर्मचारीलाई दिइने भनिएको बिदाका सम्बन्धमा थप स्पष्ट व्यवस्था गर्नु आवश्यक छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमणवर्ष मनाउँदै यो अवधिमा २० लाख बाह्य पर्यटक नेपाल भिœयाउने लक्ष्य राखेको थियो । कोरोनाका कारण हाल यो अभियान स्थगित छ । सरकारले सो अभियान सफल बनाउन पर्यटकीय पूर्वाधार विकास, प्रशासन तथा सेवाक्षेत्रमा नयाँ व्यवस्था गरेको छ, जसका कारण आगामी दिन नेपालको पर्यटकीय क्षेत्र सम्भावनापूर्ण बन्ने निश्चित छ तर तत्कालका लागि भने पर्यटनक्षेत्रलाई त्राण दिन विशेष पहल आवश्यक छ ।